ताजा समाचार

आज    |   

यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन विधेयक २०७७ ल्याउदै छ । मन्त्रालयले पयर्टन क्षेत्रसंग सम्वन्धित विभिन्न संघ संस्थाहरूलाइ पर्यटन विधेयक २०७७ को मस्यौदा दिएको छ । तर केहि पर्यटन संस्थाहरूले छलफल नै नगरी नयाँ पयर्टन विधेक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

यस्तो छ नयाँ पर्यटन विधेयक २०७७

 

पर्यटन विधेयक, २०७6

प्रस्तावनाः नेपालको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा तथा नवीन पर्यटकीय उपजहरुको पहिचान, संरक्षण, एवं प्रबर्द्धन मार्फत पर्यावरणमैत्री पर्यटन उद्योगको विकास एंव नियमन गर्न,
पर्यटकको सुरक्षा, स्वास्थ्य, सुविधा र हित अभिबृद्धि गरी मुलुकमा पर्यटन संस्कृतिको विकास गर्दै गुणस्तरीय पर्यटकको आगमनमा बृद्धि गर्न, र
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्य, निजी एवम् सामुदायिक साझेदारी मार्फत पर्यटकीय उपज, पर्यटन पूर्वाधार एंव पर्यटकीय गन्तव्यको विकास गर्न, मनोरञ्जनात्मक क्रियाकलाप एवं क्यासिनोको नियमन गर्न र दिगो पर्यटन विकासको माध्यमबाट पर्यटनलार्इ राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा विकास गरी यस क्षेत्रबाट प्राप्त हुने लाभमा स्थानीय जनताको अधिकाधिक सहभागिता गराउन बाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा १०९ बमोजिम संघीय संसदले यो ऐन बनाएको छ ।

परिच्छेद – १
प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “पर्यटन ऐन, २०७६” रहेको छ ।
(२) यो ऐन तत्काल प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा;-

(1) आधार शिविर”भन्नाले पर्वतारोहणको लागि बन्दोवस्तीका सामाग्री, खाद्यवस्तु, औषधी लगायतका आवश्यक मालसामान सहित पर्वतारोहण सम्बन्धी निर्देशन, समन्वय र सहजीकरणका लागि प्राविधिक कठिनार्इ बिना व्यवस्थापन गर्न सकिने पर्वतारोहणको आधारस्थल जनाउँछ ।
(2) क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा वा मेशिन, उपकरण वा प्रविधिको माध्यमबाट इजाजत प्राप्त स्थलमा बाजी (वेट) राखी रकम जित वा हार हुने गरी खेलिने खेल सम्झनु पर्छ ।
(3)क्यासिनो स्थल” भन्नाले क्यासिनो खेल्न इजाजतपत्रमा तोकेको स्थान, संरचना र सोको परिसर सम्झनु पर्छ । सो शब्दले नेपाल सरकारले तोकिदिएको क्यासिनो क्षेत्र (क्यासिनो जोन) समेतलाई जनाउने छ ।
(4) घरबास (होमस्टे)” भन्नाले गाउँपालिका र नेपाल सरकारले तोकेका नगरपालिकाका निश्चित क्षेत्रमा पर्यटक वा आन्तरिक पर्यटकलार्इ समुदायको मौलिकता झल्किने गरी साँस्कृतिक गतिविधि सहित स्थानीय उत्पादनको उपभोग गरार्इ खाना तथा बसोबासको उचित व्यवस्था मिलाइएको प्रचलित कानून वमोजिम दर्ता भई संचालन गरिएको आवासलार्इ सम्झनुपर्छ ।
(5) ट्राभल एजेन्सी”भन्नाले पर्यटक वा अन्य व्यक्तिका लागि शुल्क लिई भ्रमण तथा बसोबास लगायतका सेवा सुविधाको प्रवन्ध मिलाउने फर्म वा कम्पनी सम्झनु पर्छ ।
(6) ट्रेकिङ्ग एजेन्सी”भन्नाले पर्यटकलाई प्राकृतिक, भौगोलिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलहरुको दृष्यावलोकन एवम् विविध मनोरञ्जन गराउने उद्देश्यले शुल्क लिई पदयात्रा वा पर्वतारोहण वा साहसिक गतिविधिको प्रबन्ध मिलाउने इजाजत प्राप्त फर्म वा कम्पनी सम्झनु पर्छ ।
(7) पर्यटक”भन्नाले विदेशी मुलुकबाट पर्यटकीय उद्देश्य लिई नेपालमा कम्तिमा चौवीस घण्टा एवम् बढीमा एकवर्ष समय विताउने गरी आउने गैर नेपाली नागरिकलाई सम्झनुपर्छ ।
(8) पर्यटन उद्योग / पर्यटन क्षेत्र” भन्नाले अनुसूची १ मा उल्लेखित पर्यटन सम्बन्धी व्यवसाय सम्झनुपर्नेछ ।
(9) पथ प्रदर्शक”भन्नाले सम्बन्धित पर्यटकीयस्थल वा पदमार्गको बारेमा राम्रो ज्ञान भएको, आवश्यक भाषाको दक्षता भएको, पर्यटकको सुविधा एवम् सुरक्षाको विषयमा जानकारी सहित तोकिए बमोजिमको योग्यता तथा तालिम प्राप्त गरी तोकिएको निकायबाट इजाजत प्राप्त नेपाली नागरिक सम्झनु पर्छ ।
(10) पर्वतारोहण”भन्नाले मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट इजाजत लिई नेपालमा रहेका हिमश्रृंखलाको कुनै निश्चित हिमालचुली पुग्ने उद्देश्यबाट कुनै व्यक्ति वा आरोहण दलले त्यस्तो हिमालको आरोहण गर्ने कार्य सम्झनु पर्छ ।
(11) पर्वतारोही”भन्नाले मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पर्वतारोहणको अनुमति प्राप्त व्यक्ति वा दललाई सम्झनु पर्छ ।
(12) पर्वतारोहण सहयोगी”भन्नाले आधार शिविर भन्दा माथि पर्वतारोहीका लागि आवश्यक वन्दोवस्तीका काम गर्ने नेपाली नागरिक व्यक्तिलार्इ सम्झनु पर्छ ।
(13) प्रदेश मन्त्रालय”भन्नाले प्रदेश सरकारको पर्यटन हेर्ने सम्बन्धित मन्त्रालय सम्झनुपर्छ ।
(14) विभाग”भन्नाले नेपाल सरकारको पर्यटन विभाग सम्झनु पर्छ ।
(15) वित्तीय जानकारी इकाई” भन्नाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको वित्तीय जानकारी इकाई सम्झनु पर्छ ।
(16) मन्त्रालय”भन्नाले नेपाल सरकारको पर्यटन हेर्ने सम्बन्धित मन्त्रालय सम्झनु पर्छ ।
(17) रिसोर्ट”भन्नाले प्रकृति, इतिहास वा संस्कृति प्रतिविम्बित हुनेगरी निर्माण गरिएको आधुनिक सुविधा सहितको मौलिक पर्यटकीय आवासलाई सम्झनुपर्छ ।सो शब्दले एउटै स्थानमा एकीकृत रुपमा बसोबास, खानपिन एवम् मनोरञ्जन लगायतका सेवाहरु दिने एकीकृत रिसोर्ट (Integrated Resort) समेतलाई जनाउँछ ।
(18) र्याफ्टिङ्ग एजेन्सी”भन्नाले निश्चित शुल्क लिर्इ नदी, ताल तथा झरनामा र्याफ्टिङ्ग, क्यानोनिङ, फिसिङ्ग, जलयात्रा, नौका बिहार र त्यस्तै प्रकृतिको सेवाको प्रबन्ध मिलाउने फर्म वा कम्पनी सम्झनुपर्छ ।
(19) सम्पर्क अधिकृत”भन्नाले पर्वतारोही व्यक्ति वा दलको साथमा खटिई जाने दफा ११ बमोजिमको व्यक्ति वा समूह सम्झनु पर्छ ।
(20) सरदार”भन्नाले दफा १२ बमोजिम खटिई जाने पर्वतीय पथ प्रदर्शकको काम गर्ने समूह नेता सम्झनु पर्छ ।
(21) सहयोगी”भन्नाले आधार शिविरसम्म पर्वतारोहीको निम्ति आवश्यक वन्दोवस्तीका काम गर्ने नेपाली नागरिक सम्झनु पर्छ ।सो शब्दले आधार शिविरसम्म जान आवश्यक सहयोगी नपुग भई तत्काल स्थानीयस्तरबाट लिईने थप नेपाली कामदारलाई समेत जनाउँछ ।
(22) होटल”भन्नाले खानपिन, बसोबास तथा स्वदेशी कला, संस्कृति झल्किने गतिविधिका माध्यमबाट मनोरञ्जन समेत प्रदान गर्न प्रचलित कानून अनुसार नेपालमा दर्ता भई तोकिएको मापदण्ड बमोजिमको सुविधायुक्त आवास सम्झनुपर्छ । सो शब्दले पर्यटकीयस्तर, बुटिक, पर्यटक लज, पर्यटक इन, मोटेल, होटल अपार्टमेण्ट, समय बेच्नेगरी दर्ता भएका होटल, बेड एण्ड ब्रेकफास्ट, रिसोर्ट र तारेस्तरका होटलहरु समेतलाई बुझाउनेछ।
(23) तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, कार्यविधि वा आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद – २
होटल, रिसोर्ट, तथा रेष्टुराँ सम्बन्धी व्यवस्था

३. अनुमति सम्बन्धी व्यवस्था : (१) कुनै व्यक्ति, फर्म वा कम्पनीले होटल, रिसोर्ट तथा रेष्टुराँ सम्बन्धी कुनैपनि कार्य गर्नुपूर्व विभागबाट अनुमति लिनुपर्नेछ ।पर्यटकीय–स्तरको होटल, रिसोर्ट तथा रेष्टुराँ अनुमति, नवीकरण तथा खारेजी सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(२) यस ऐन र यस ऐन अन्तर्गत मन्त्रालयले तोकेको शर्त एवम् मापदण्ड अनुरुप हुने गरी तीनतारा सम्मको होटल एवम् रिसोर्ट र रेष्टुराँको अनुमति तथा नवीकरण सम्बन्धित प्रदेश कानूनमा व्यवस्था भए वमोजिम हुनेछ ।
(३) चारतारा र सो भन्दा माथिल्लो स्तरका होटल, रिसोर्ट तथा बुटिक होटलको अनुमति तथा नविकरण विभागले गर्नेछ ।
(४) बन तथा वातावरण मन्त्रालय वा सम्बन्धित निकायको सहमति लिई राष्ट्रिय निकुन्ज, आरक्ष, संरक्षित क्षेत्रभित्र विशेष पर्या–पर्यटकीय होटल, रिसोर्ट तथा रेष्टुराँ संचालन गर्न विभागले तोकिए बमोजिम अनुमति दिन सक्नेछ ।
स्पष्टीकरण – यस प्रयोजनका लागि विशेष पर्या पर्यटकीय होटल भन्नाले सिमेण्ट छड कंक्रिट रहित पर्यावरणमैत्री सामाग्रीबाट निर्मित संरचना सम्झनुपर्नेछ ।
(५) उपदफा (३) वा (४) बमोजिमको अनुमती, दर्ता एवम् नवीकरण सम्बन्धी शुल्क तथा यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
४. स्तर निर्धारण तथा वर्गीकरण : (१) मन्त्रालयले दफा (३) बमोजिमको पर्यटकीय स्तरको होटल, रिसोर्ट तथा रेष्टुराँको स्तर निर्धारण तथा बर्गीकरण गर्न मापदण्ड निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको मापदण्ड अनुसार स्तर निर्धारण तथा वर्गीकरणको सिफारिस गर्न तोकिए बमोजिम समिति रहनेछ ।
५. निरीक्षण तथा परीक्षण गर्नुपर्ने : (१) विभागले दफा ३ को उपदफा (३) र (४) बमोजिमका होटल एवम् रिसोर्टको अनुमति लिनुपूर्व वा संचालन गर्नुपूर्व निरीक्षण तथा परीक्षण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गरिने निरीक्षण तथा परीक्षण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६. अनुगमन गर्नुपर्ने : (१) विभागले यस ऐन बमोजिम अनुमति लिएका होटल एवम् रिसोर्टको सेवाको गुणस्तर तथा मापदण्ड सम्बन्धमा अनुगमन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा तोकेको सेवा र मापदण्ड पूरा नगरेको देखिएमा अवधि तोकी त्यस्तो सेवा र मापदण्ड पूरा गर्न निर्देशन दिनेछ ।
(३) उपदफा (२) बमोजिमको निर्देशन पालना गर्नु सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीको कर्तव्य हुनेछ ।
(४) होटल एवं रिसोर्टको उपलब्ध गराउने खाद्यपदार्थको गुणस्तर कम्तीमा वर्षमा एक पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गत निकायबाट अनुगमन गर्नुपर्नेछ ।
७. मुल्यसूची प्रकाशित गर्नु पर्ने : दफा ३ बमोजिम अनुमति प्राप्त होटल, रिसोर्ट एवम् रेष्टुराँले आफूले प्रदानगर्ने सेवा सुविधाको अधिकतम दर वा मूल्यको सुचना ग्राहकले देख्ने र बुझ्ने गरी प्रकाशन गर्नुपर्नेछ ।

परिच्छेद – ३
हिमाल आरोहण सम्बन्धी व्यवस्था

. अनुमति लिनु पर्ने : (१) यस ऐन बमोजिम विभागबाट अनुमति प्राप्त नगरी कुनै पनि व्यक्ति वा दलले कुनै पनि हिमालचुली आरोहण गर्न पाउनेछैन ।
(२) नेपाल सरकारले खुला गरेको कुनै हिमालचुली आरोहण गर्न चाहने पर्वतारोही दलले इजाजत प्राप्त ट्रेकिङ्ग कम्पनी मार्फत तोकिए बमोजिमको निकायमा तोकिए बमोजिम अनुमतिका लागि दरखास्त दिनु पर्नेछ ।
(३) पर्वतारोहीले पर्वतारोहणको अनुमति माग गर्दा आफ्नो दलका सदस्यहरू, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण सहयोगी र सहयोगीको विभागले तोकेको स्वास्थ्य संस्थाहरुबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरेको प्रमाण पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यस्थिति सन्तोषजनक नदेखिएका व्यक्तिहरुलाई पर्वतारोहण सम्बन्धी कार्यमा खटाइने छैन ।
(५) निश्चित उचाइ भन्दा बढिका हिमाल आरोहणका लागि आवश्यक पर्ने पर्वतारोहीको अनुभव, क्षमता एवं स्वास्थ्य अवस्था, उमेर, हिमाल आरोहणमा उपलब्ध हुनुपर्ने सेवा र सोको प्रकार तथा गुणस्तर एवम् सम्पर्क अधिकृत सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(६) नेपालमा दर्ता भई आरोहणको जिम्मा लिएको सम्बन्धित एजेन्सी आरोहण दलको कानूनी प्रतिनिधि हुन सक्नेछ ।
(७) अनुमति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
९. रोयल्टी सम्बन्धी व्यवस्था : (१) दफा ८ बमोजिम पर्वतारोहण गर्न अनुमति प्राप्त गर्ने पर्वतारोहीले तोकिएको उचाईको हिमालचुलीको लागि तोकिएको रोयल्टी परिवर्त्य विदेशी मुद्रामा विभागमा बुझाउनु पर्नेछ । तर नेपाली पर्वतारोही वा विदेशी पर्वतारोहीसंग संयुक्त रुपमा आरोहण गर्ने नेपालीले बुझाउनु पर्ने रोयल्टी नेपाली मुद्रामा बुझाउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै एक पर्वतारोहीले तिरेको रोयल्टी अर्को पर्वतारोहीको लागि हस्तान्तरण गर्न सकिने छैन ।
(३) दफा 23 बमोजिम अनुमति रद्द गरिएमा वा दफा 22 बमोजिम अभियान परित्याग गरेमा त्यस्तो पर्वतारोही दलले बुझाएको रोयल्टी रकम फिर्ता हुनेछैन ।
तर, विशेष प्राकृतिक विपत्तिको कारणबाट पर्वतारोहण कार्य हुन नसकेमा मन्त्रालयले तत्पश्चात्‍को बढीमा दुई वर्षभित्र पर्वतारोहण कार्य गर्नेगरी रोयल्टी रकम मिलान गरिदिन सक्नेछ ।
(४) पर्वतारोहण रोयल्टी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१०. पर्वतारोहण मार्ग : (१) पर्वतारोहीले पर्वतारोहणको निमित्त विभागबाट जारी भएको अनुमतिमा उल्लेखित मार्गबाट मात्र पर्वतारोहण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विभागले तोकेको पर्वतारोहणको मार्ग बदल्नु पर्ने आवश्यकता परेमा त्यस्तो कारण समेत उल्लेख गरी विभागको पूर्व स्वीकृति लिनु पर्नेछ । तर आकस्मिक कारण परी त्यस्तो पूर्व स्वीकृति लिन असम्भव भएमा त्यसको कारण सहित सम्पर्क अधिकृतमार्फत विभागलाई यथाशीघ्र सूचना दिनुपर्नेछ ।
(३) पर्वतारोहणका क्रममा पर्वतारोहीलाई सहजताको लागि गरिने डोरी टाँग्ने (रोप फिक्सिङ्ग) सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
११. सम्पर्क अधिकृत : (१) पर्वतारोहीले पर्वतारोहणमा जाँदा विभागले खटाएको सम्पर्क अधिकृत सहित जानुपर्नेछ । सम्बन्धित हिमालको आधार शिविर सम्म पुगी सम्पर्क अधिकृतले पर्वतारोहणको आवश्यक समन्वय र सहजीकरण गर्नुपर्नेछ । सम्पर्क अधिकृतले दैनिक आरोहण गतिविधिको सूचना राख्ने तथा त्यसको जानकारी विभागमा गराउनु पर्नेछ ।
तर, निश्चित उचाइभन्दा कमका हिमालचुली आरोहण गर्दा मन्त्रालयले सम्पर्क अधिकृत लैजानु नपर्ने गरी हिमालचुलीहरु तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम साथमा खटिई जाने सम्पर्क अधिकृतलाई सम्बन्धित पर्वतारोही दलले पर्वतारोहण अभियानको लागि प्रस्थान गरेको मितिदेखि पर्वतारोहण समाप्त गरी विभागले तोकेको स्थानमा नफर्कुञ्जेलसम्म तोकिए बमोजिमको सुविधा दिनु पर्नेछ ।
(३) सम्पर्क अधिकृत खटाउने व्यवस्था, योग्यता, विशेष प्रबन्ध तथा सम्पर्क अधिकृतको काम, कर्तव्य, अधिकार र जिम्मेवारी तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) अनुसार आधार शिविरसम्म नपुग्ने तथा पर्वतारोहणमा आवश्यक समन्वय एवं सहजीकरण नगर्ने सम्पर्क अधिकृत उपर प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ ।
१२. सरदार, पथ प्रदर्शक र सहयोगी सम्बन्धी व्यवस्था : (१) पर्वतारोहीले पर्वतारोहणको लागि प्रस्थान गर्दा आवश्यक पर्ने सरदार, पर्वतारोहण सहयोगी र सहयोगीको विभागबाट अनुमति प्राप्त गरी साथमा लैजानुपर्नेछ । पर्वतारोहीले त्यस्ता व्यक्तिहरूलाई काममा लगाए वापत प्रस्थान गरेको मितिदेखि पर्वतारोहण कार्य सम्पन्न गरी तोकेको स्थानमा नफर्कुञ्जेलसम्मको लागि तोकिए बमोजिमको सुविधा दिनुपर्नेछ ।
(2) पर्वतारोही दलका साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण सहयोगी र सहयोगी नेपाली नागरिक हुनुपर्नेछ ।
(3) सरदार, पर्वतारोहण सहयोगी र सहयोगीको काम, कर्तव्य र जिम्मेवारी तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१३. व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्ने : (१) सम्बन्धित एजेन्सीले पर्वतारोही, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण सहयोगी र सहयोगीलाई पर्वतारोहण सम्बन्धी कार्य शुरु हुनु अघि मान्यता प्राप्त बीमा कम्पनीबाट तोकिए बमोजिमको रकमको व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने व्यक्तिलाई बीच बाटोमा लिएको वा अन्य कुनै कारणले त्यस्तो व्यक्तिको बीमा गराउन नपाउँदै काममा लगाइएको बखत दुर्घटनामा परी मृत्यु भएमा वा चोट पटक लागेमा व्यक्तिगत दुर्घटना बीमा गराइएको भए निजले जे जति रकम पाउने थियो सोही बराबरको रकम निज वा निजको हकवालालाई सम्बन्धित पर्वतारोही दलले क्षतिपूर्तिको रूपमा दिनु पर्नेछ ।
स्पष्टीकरण – यस परिच्छेदको प्रयोजनको लागि
(क) “दुर्घटना” भन्नाले आकस्मिक वा प्राकृतिक दुर्घटनाका अतिरिक्त हिउँ वा उचाईबाट हुने स्वास्थ्य सम्बन्धी जटिलता वा चोटपटक लागेको अवस्थालाई जनाउँछ ।
(ख) “काममा लगाइएको बखत”भन्नाले काममा लगाउन बोल कबूल वा नियुक्त गरिएको ठाउँ र मितिदेखि काम सम्पन्न गरी सोही ठाउँमा फर्की आउने मिति सम्मलाई जनाउँछ ।
१४. पर्वतारोहण सम्बन्धी उपकरण र अन्य मालसामान मात्र ल्याउन पाउने: (१) दफा ८ बमोजिम अनुमति प्राप्त पर्वतारोहीले पर्वतारोहणको कार्यमा आवश्यक उपकरण र अन्य मालसामान पैठारी सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१५. वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी व्यवस्था : (१) पर्वतारोहीले पर्वतारोहण गर्दा त्यस क्षेत्रमा फोहोर हुन तथा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन तोकिएका शर्तहरु पालना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएका शर्तहरुको पालना नगरेबाट कसैको जिउ–ज्यानमा वा कुनै सरकारी वा गैर–सरकारी सम्पत्तिमा हानी नोक्सानी हुन गएमा सम्बन्धित पर्वतारोहीले तोकिए बमोजिम क्षतिपूर्ति तिर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको रकम असुल उपर भएपछि मात्र पर्वतारोहणको प्रमाणपत्र उपलब्ध गराइनेछ ।
(४) पर्वतारोहणको व्यवस्थापन गर्ने एजेन्सीले पर्वतारोही र साथमा जाने सरदार, पर्वतारोहण सहयोगी र सहयोगीले लगेका तोकिए बमोजिमका वस्तुहरू विभागले तोकेको स्थानसम्म फिर्ता ल्याउनुपर्नेछ ।
(५) विभागले हिमालचूली आरोहण गर्न जाने उपदफा (४) बमोजिमका पर्वतारोही र साथमा जाने सरदार, पर्वतारोहण सहयोगी र सहयोगीले फोहोरमैला व्यवस्थापनको लागि तोकिए बमोजिमको पर्वतीय सरसफार्इ शुल्क अग्रीम रुपमा लिनुपर्नेछ ।
(६) उपदफा (५) बमोजिमको सरसफाइ शुल्क दफा ६२ बमोजिमको कोषमा जम्मा गरिनेछ ।
(7) उपदफा (४) बमोजिमका बस्तुहरू फिर्ता नल्याएमा त्यस्तो फोहोर संकलन गर्न लाग्ने खर्चको मापदण्ड बनाई विभागले असुल गर्नुपर्नेछ ।
(८) फोहोर संकलन तथा व्यवस्थापनका लागि विभागका महानिर्देशकको अध्यक्षतामा तोकिए वमोजिम सम्बन्धित संस्थाका विज्ञ प्रतिनिधि रहेको समिति गठन गरिनेछ ।
(९) प्रत्येक पर्वतारोहण सिजनको आरोहण अवधि समाप्त भएपश्चात् उपदफा (८) वमोजिमको समितिले उपदफा (५) वमोजिमको रकम समेतबाट तोकिए बमोजिम फोहोर व्यवस्थापन आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।
(१०) पर्वतीय पर्यावरणको संरक्षणको लागि नेपाली सेना, नेपाल प्रहरी, प्रदेश मन्त्रालय, स्थानीय तह, निजी क्षेत्र लगायतका निकायको सहयोग लिन सकिनेछ।
१६. पर्वतारोही दलको नेता, पर्वतारोही तथा एजेन्सीको दायित्व र जिम्मेवारी : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा दफा ८ अनुसारको अनुमति पत्रमा तोकिएका शर्तहरु पालना गराउने मुख्य दायित्व र जिम्मेवारी पर्वतारोही दलको नेताको हुनेछ ।
(२) यस ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लेखित दायित्व र जिम्मेवारीका अतिरिक्त पर्वतारोही दलको नेता तथा पर्वतारोहीको देहाय बमोजिमको दायित्व र जिम्मेवारी हुनेछ
(क) दफा ८ बमोजिमको अनुमतिमा उल्लेखित कृयाकलापहरु बाहेक अन्य कृयाकलाप गर्न नहुने,
(ख) पर्वतारोहणको अवधिमा कुनै प्रकारको अनैतिक आचरण वा व्यवहार गर्न गराउन नहुने,
(ग) वातावरण संरक्षणका लागि तोकिएका शर्त पालना गर्नुपर्ने,
(घ) पर्वतारोहण सकिएपछि तोकिएको दायित्व तोकिएको अवधि भित्र विभागमा बुझाउनुपर्ने,
(३) पर्वतारोहण सम्बन्धी प्रबन्ध मिलाउने एजेन्सीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको पर्वतारोहण सम्बन्धी कुनै कुराको उल्लंघन गर्ने वा उल्लंघन गर्न कसैलाई दुरुत्साहन गर्नु गराउनु हुँदैन ।
(४) पर्वतारोही दलको नेता, पर्वतारोही वा एजेन्सीले पर्वतारोहण सम्बन्धी गलत प्रतिवेदन दिनु हुँदैन ।
(५) पर्वतारोही दलको नेता, पर्वतारोही तथा एजेन्सीको दायित्व र जिम्मेवारी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१७. पर्वतारोहण सम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने : पर्वतारोहीको नेता वा निजको सट्टामा काम गर्ने अधिकार प्राप्त सदस्यले तोकिए बमोजिम पर्वतारोहण सम्बन्धी प्रतिवेदन बुझाउनु पर्नेछ ।
१८. पर्वतारोहणको प्रमाणपत्र उपलब्ध गराइने : (१) अनुमति प्राप्त गरी सफलतापूर्वक आरोहण गर्ने पर्वतारोहीलाई आरोहण गरेको हिमचुली र त्यसको उचाइ उल्लेख गरी विभागले प्रमाणपत्र उपलब्ध गराउनेछ ।
(२) कुनै आरोहण दलले पर्वतारोहणको क्रममा कुनै कीर्तिमानी राख्न चाहेको भए आरोहण स्वीकृति लिनुपूर्व सोको बिस्तृत जानकारी विभागलाई दिनुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम पूर्व स्वीकृति लिएको र उक्त कीर्तिमान राखेको पर्याप्त आधार/प्रमाण देखिएमा विभागले आरोहण प्रमाणपत्र उपलब्ध गराउँदा उक्त कीर्तिमान उल्लेख गर्न सक्नेछ ।
(४) उपदफा (१), (२) र (३) वमोजिम प्रमाणपत्र उपलब्ध गराउँदा विभागले सरदार, सम्पर्क अधिकृत र एजेन्सीको प्रतिवेदन, हिमचुलीमा पुगेको फोटो एवम् उपलब्ध भएसम्मका अन्य आधुनिक प्रविधिको समेत प्रयोग गरी अध्ययन र पुष्टीकरण गर्नुपर्नेछ ।
(५) पर्वतारोहीका साथ जाने सरदार वा पर्वतारोहण सहयोगी समेतले हिमालचुलीको आरोहण गरेको पुष्टी भएमा निजको भूमिका खुलाई विभागले आरोहणको प्रमाणपत्र दिनेछ ।
(६) यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१९. जानकारी गराउने : (१) पर्वतारोहणको सिलसिलामा पर्वतारोही, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण सहयोगी वा सहयोगी दुर्घटनामा परेमा वा बेपत्ता भएमा वा अन्य कुनै कारणले मृत्यु भएमा सो सम्बन्धी विवरण सहितको प्रतिवेदन पर्वतारोही दलका साथ खटिई जाने सम्पर्क अधिकृत, सम्बन्धित एजेन्सी तथा पर्वतारोही दलको नेताले विभाग समक्ष पेश गर्नुपर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको प्रतिवेदनको आधारमा कुनै व्यक्तिको मृत्यु भएको वा बेपत्ता भएको भनी विभागले सम्बन्धित व्यक्तिको हकवाला तथा अन्य सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेछ ।
२०. पर्वतारोहणका लागि विशेष व्यवस्था : नेपाल सरकारले आवश्यक देखेमा निश्चित उचाइसम्मका तोकिएका हिमालचुलीको तोकिएको अवधिका लागि आरोहण अनुमति दिने तथा यसको व्यवस्थापन एवम् प्रबर्द्धन गर्ने जिम्मेवारी तोकिएको शर्तको अधीनमा रहने गरी नेपाल पर्वतारोहण संघलाई दिन सक्नेछ ।
२१. पर्वतारोही दललाई छुट दिन सकिने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपाली पर्वतारोही तथा अन्य कुनै पर्वतारोहीलाई वा नेपाली नागरिकलाई पर्वतारोहण दलमा सदस्यको रूपमा सम्मिलित गराउने विदेशी पर्वतारोही दललाई नेपाल सरकारले छुट वा सहुलियत दिन सक्नेछ ।
२२. पर्वतारोहणको परित्याग : कुनै पर्वतारोही दलले आफ्नो पर्वतारोहण अभियान जुनसुकै बेला परित्याग गर्न सक्नेछ । त्यसरी परित्याग गरेको अवस्थामा सम्पर्क अधिकृत मार्फत वा सिधै विभागमा जानकारी गराउनुपर्नेछ ।
२३. अनुमति रद्द गर्न वा प्रतिबन्ध लगाउने सकिने : एजेन्सी वा पर्वतारोही दलको नेता वा कुनै सदस्यले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा पर्वतारोहणको अनुमति पत्रमा तोकिएको कुनै शर्तको उल्लघंन गरेमा विभागले यस ऐन बमोजिम प्रदान गरेको अनुमति जुनसुकै बखत रद्द गर्न सक्नेछ ।
२४. रोयल्टी छुट दिन सकिनेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै हिमाल आरोहणको लागि निश्चित अवधि तोकी रोयल्टी छुट दिन सक्नेछ ।

परिच्छेद – ४
ट्राभल तथा टूर एजेन्सी सम्बन्धी व्यवस्था
२५. अनुमति लिनुपर्ने : (१) ट्राभल तथा टूर एजेन्सीको अनुमति, नवीकरण तथा रद्द सम्बन्धी व्यवस्था सम्बन्धित प्रदेश कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि तोकिए बमोजिमका आधारहरु रहेको तथा अन्तर्राष्ट्रिय रुपमा भ्रमण प्याकेज सञ्चालन गर्ने एजेन्सीलाई विभागले अनुमति दिन सक्नेछ। यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (२) बमोजिम विभागमा दर्ता हुने ट्राभल तथा टूर एजेन्सीले विभागको स्वीकृति लिई प्रदेशहरुमा शाखा खोल्न सक्नेछन् ।
(४) ट्राभल तथा टूर एजेन्सीले पालना गर्नुपर्ने शर्त, धरौटी तथा यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२६. अयोग्यता सम्बन्धी व्यवस्था: (१) दफा २५ अनुसारको अनुमति देहायका व्यक्ति वा कम्पनीलार्इ दिइने छैन ।
(क) करार सम्बन्धी प्रचलित कानुन बमोजिम करार गर्ने योग्यता नभएको व्यक्ति वा
(ख) साहुको दामासाहीमा परेको व्यक्ति वा
(ग) अनुमति खारेज भएकोमा सो अवधिले दुर्इ वर्ष भुक्तान गरि नसकेको व्यक्ति
२७. ट्राभल एजेन्सीको बर्गीकरण: (१) ट्राभल/टूर सम्बन्धी व्यवसायलाई आन्तरिक (इनबाउण्ड), बाह्य (आउटबाउण्ड), कार्गो, टिकेटिङ्ग वा अन्य कार्यक्षेत्रगत उपयुक्तताका आधारमा तोकिए बमोजिम वर्गीकरण गर्न सकिनेछ ।
(२) सम्बन्धित प्रदेश मन्त्रालयले ट्राभल एजेन्सीको अनुमति दिँदा वा नवीकरण गर्दा उपदफा (१) बमोजिमको बर्गीकरण अनुरुप हुनेगरी गर्नुपर्नेछ ।

परिच्छेद – ५
पदयात्रा सम्बन्धी व्यवस्था

२८. अनुमति लिनुपर्ने : (१) पदयात्रा सम्बन्धी कार्य गराउने ट्रेकिङ्ग एजेन्सीको अनुमति, नवीकरण तथा अनुमति रद्द सम्बन्धी व्यवस्था सम्बन्धित प्रदेश कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमका एजेन्सीले पालना गर्नुपर्ने शर्त, धरौटी तथा यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) विशेष नियन्त्रित क्षेत्रमा पदयात्रा गर्न विभागको अनुमति लिनुपर्नेछ।
(४) निषेधित क्षेत्रमा पर्यटकले भ्रमण गर्न सक्नेछैनन् । तर विभागले गृह मन्त्रालयको सहमति यस्ता क्षेत्रमा निश्चित समयकालागि भ्रमण अनुमति दिन सक्नेछ।
(5) विशेष नियन्त्रित वा निषेधित क्षेत्र वा मन्त्रालयले तोकेको उचाइभन्दा माथिका क्षेत्रमा पदयात्रा गर्दा पर्यटकले इजाजतप्राप्त ट्रेकिङ्ग एजेन्सी मार्फत पथप्रदर्शक साथमा लिई जानुपर्नेछ ।
(6) नियन्त्रित वा निषेधित क्षेत्रमा लाग्ने अनुमति दस्तुर तथा यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
२९. पथ प्रदर्शक सम्बन्धी व्यवस्था : (१) ट्रेकिङ्ग, ट्राभल, टूर, र्‍याफ्टिङ्ग वा यस्तै प्रकृतिका पथप्रदर्शन आवश्यक पर्ने पर्यटकीय गतिविधिका लागि तोकिए बमोजिम योग्यता पुगेको तालिम प्राप्त नेपाली नागरिकले विभागबाट पथप्रदर्शकको इजाजत लिन सक्नेछन् ।
(२) पथप्रदर्शकको इजाजतपत्रको दर्ता, नवीकरण, शर्त तथा इजाजत दस्तुर सम्बन्धी व्यवस्था तोकिए वमोजिम हुनेछ ।
३०. पथ प्रदर्शकको अयोग्यता : देहायको व्यक्तिलाई पथ प्रदर्शकको इजाजतपत्र दिइने छैन :
(क) शारिरिक असक्तता वा मानसिक वा सरुवा रोग लागेको,
(ख) पथ प्रदर्शकको इजाजतपत्रको म्याद समाप्त भएको तोकिएको अवधिसम्म नवीकरण नगरेको,
(ग) विदेशी नागरिक, र
(घ) विभागबाट सजाय पाएकोमा त्यस्तो सजाय पाएको मितिले ३ वर्ष पूरा नभएको।

३१. पथ प्रदर्शकको वर्गीकरण : विभागले पथप्रदर्शकको योग्यता र स्वीकृत मापदण्डका आधारमा उच्च पर्वतीय पथप्रदर्शक, पदयात्रा पथप्रदर्शक, साँस्कृतिक पथप्रदर्शक, नगर पथप्रदर्शक, स्थानीय पथप्रदर्शक वा अन्य यस्तै स्तरमा वर्गीकरण गर्न सक्नेछ ।
३२. पथ प्रदर्शकले गर्न नहुने कामहरू : पथ प्रदर्शकले देहायको कुनै काम गर्नु हुँदैन :
(क) आफूले पथप्रदर्शन गरेको पर्यटकलाई कुनै मालसामान खरीद गर्ने वा अरू कुनै सेवा उपलब्ध गर्ने काममा
मद्दत गर्दा सो कामसंग सम्बन्धित विक्रेता वा अरू कुनै व्यक्तिसंग नगदी वा अरू कुनै चीज वस्तु माग्न वा
लिन,
(ख) आफूलाई पथप्रदर्शक बनाउन कुनै पर्यटकलाई बाध्य पार्न,
(ग) आफ्नो इजाजतपत्र अरूलाई दिई पथप्रदर्शकको काम गर्न लगाउन,
(घ) पदयात्रीको स्वास्थ्यमा असर पर्ने कुनै काम गर्न गराउन,
(ङ) पथप्रदर्शकको आचरण विपरितको कार्य गर्न, र
(च) समय समयमा विभागले जारी गरेको निर्देशन विपरित कार्य गर्न ।
३३. इजाजतपत्र खारेज गर्न सकिने : (१) देहायको कुनै अवस्थामा विभागले पथप्रदर्शकको इजाजतपत्र खारेज गर्नेछ :
(क) दफा ३० बमोजिम अयोग्य भएमा, वा
(ख) दफा 3२ बमोजम गर्न नहुने काम गरेमा, वा
(ग) पर्यटकको उद्धार तथा उपचार सम्बन्धमा बेमुनासिव कार्य गरेमा, वा
(घ) यस ऐन वा यस ऐन वमोजिम बनेका नियम, कार्यविधि, मापदण्डको उल्लंघन गरेमा ।
(२) उपदफा (१) बमोजिम कुनै पथ प्रदर्शकको इजाजतपत्र खारेज गर्नु अगाडि निजलाई आफ्नो सफाई पेश गर्नको लागि कम्तिमा सात दिनको म्याद दिनु पर्नेछ ।

परिच्छेद ६
क्यासिनो सम्बन्धी व्यवस्था

३4. इजाजतपत्र नलिई क्यासिनो सञ्चालन गर्न गराउन नपाइने: (१) कसैले पनि यस ऐन बमोजिम इजाजतपत्र नलिई क्यासिनो सञ्चालन गर्न वा गराउनु हुँदैन ।
३5. पूर्व स्वीकृति लिनुपर्नेः (१) क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले सो प्रयोजनका लागि छुट्टै कम्पनी संस्थापना गर्नुपर्नेछ र त्यस्तो कम्पनी संस्थापना गर्नु अघि तोकिए बमोजिमका विवरण तथा कागजात सहित पूर्व स्वीकृतिका लागि विभाग समक्ष निवेदन दिनुपर्नेछ ।
तर, यो ऐन प्रारम्भ हुँदाका बखत क्यासिनो संचालन गर्न इजाजत प्राप्त कम्पनीले पुनः कम्पनी स्थापना गर्नुपर्ने छैन ।
(२) उपदफा (१) अनुसार इजाजत लिन चाहने व्यक्तिले कम्तिमा पाँचतारे होटल वा सो सरहको रिसोर्टको आफ्नो स्वामित्व भए सोको प्रमाण र आफ्नो स्वामित्व नभएमा संचालकले आफ्नो परिसरमा कम्तिमा पाँच वर्षको लागि क्यासिनो संचालन गर्न दिएको लिखित सम्झौता पेश गर्नुपर्नेछ ।
तर, आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तिमा चारतारे स्तरको होटल स्वामित्व भएको वा त्यस्तो होटलको संचालकसंग कम्तिमा पाँच वर्षको सम्झौता पेश गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिएमा मन्त्रालयले निवेदकलाई क्यासिनो सञ्चालनको लागि कम्पनी संस्थापना गर्न पूर्व स्वीकृति दिन सक्नेछ ।
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा मन्त्रालयले क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा कम्पनी संस्थापना गर्नको लागि पूर्व स्वीकृति दिनेछैनः
(क) प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा,
(ख) प्रस्तावित कम्पनीको तोकिए बमोजिमको चुक्ता पूँजी नभएमा,
(ग) धार्मिक वा साँस्कृतिक महत्वका दृष्टिले संवेदनशिल मानिएको क्षेत्र भएमा,
(घ) प्रस्तावित क्यासिनो संचालन गर्ने स्थान अन्तर्राष्ट्रिय सिमाना क्षेत्रबाट तीन किलोमिटरको दूरीभित्र रहेमा,
(ङ) क्यासिनो संचालन गर्ने स्थान पर्यटकीय सम्भाव्यताको दृष्टिले उपयुक्त नदेखिएमा,
(च) प्रस्तावित कम्पनीको कुनै संचालकको सम्बन्धमा देहाय बमोजिम कुनै अवस्था विद्यमान भएमा-
(1) कुनै कारोवारको सम्बन्धमा प्रचलित कानून बमोजिम कालोसूचीमा परेमा,
(2) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई कुनै कर, शुल्क रकम वा अदालतबाट तोकिएको दण्ड, जरिवाना तिर्न बुझाउन बाँकी भएको,
(३) साहुको दामासाहीमा परेको पाँच वर्ष ननाघेको,
(४) सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ विरुद्धको कसुरमा वा कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको ।
(६) कम्पनी संस्थापना तथा पूर्व स्वीकृति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
३६. इजाजतपत्र, इजाजत दस्तुर र रोयल्टी सम्बन्धी व्यवस्था : (१) दफा ३५ बमोजिम पूर्व स्वीकृति प्राप्त कम्पनीले तोकिए बमोजिको विवरण, कागजात र दस्तुर सहित इजाजतपत्रको लागि मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निवेदन तोकिए बमोजिम जाँचबुझ तथा निरीक्षण गर्दा व्यहोरा मनासिव देखिएमा मन्त्रालयले आवश्यक शर्त तथा मापदण्ड तोकी पूर्व स्वीकृति प्राप्त कम्पनीलाई क्यासिनो संचालन गर्न इजाजतपत्र प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त कम्पनीले एउटा भन्दा बढी स्थानमा र एउटा भन्दा बढी क्यासिनो संचालन गर्न पाउनेछैन ।
तर, यो दफा प्रारम्भ हुँदाका बखत एउटा कम्पनीले एउटा भन्दा बढी स्थानमा एउटा भन्दा बढी क्यासिनो संचालन गरेको रहेछ भने तीन महिना भित्र आफूले रोजेको एकस्थानको क्यासिनो कायम गरी अन्य क्यासिनो बन्द गर्नुपर्नेछ ।
(४) उपदफा (२) बमोजिम प्रदान गरिएको इजाजतपत्रको अवधि पाँच वर्षको हुनेछ ।
(5) उपदफा (२) बमोजिम इजाजपत्र प्रदान गर्नु अघि मन्त्रालयले सम्बन्धित कम्पनीलाई तोकिए बमोजिमको रकम जमानत बापत नगद वा सो बरावरको बैंक ग्यारेन्टी पेश गर्न लगाउनेछ ।
(6) मन्त्रालयले तोकेको अवधिभित्र उपदफा (5) बमोजिमको जमानत पेश नगरेमा त्यस्तो कम्पनीलाई इजाजतपत्र प्रदान गरिनेछैन ।
(7) यस ऐन बमोजिम इजाजत प्राप्त कम्पनीले आफूले प्राप्त गरेको इजाजत पत्र अरु कसैलाई कुनै किसिमले प्रयोग गर्न दिनु हुँदैन । कसैले पनि अरु कसैको इजाजत पत्र लिई क्यासिनो संचालन गर्नु हुँदैन ।
(८) यस ऐन बमोजिम इजाजत पत्र प्राप्त कम्पनीको शेयर कसैले खरिद वा बिक्री गर्दा वा त्यस्तो कम्पनीको शेयर धनी वा वास्तविक धनी अन्य कम्पनी वा संस्था रहेछ भने त्यस्तो कम्पनी वा संस्थामा तोकिएको प्रतिशतभन्दा बढीको शेयर वा स्वामित्व रहेको कुनै कम्पनी वा संस्थाको शेयर वा स्वामित्वको खरिद वा बिक्री गर्नु अघि विभागबाट तोकिए बमोजिम स्वीकृत लिनुपर्नेछ ।
(९) क्यासिनोको इजाजत दस्तुर अनुसूची -३ बमोजिम हुनेछ ।
(१०) क्यासिनो संचालन गर्दा अनुसूची -४ बमोजिमको रोयल्टी बुझाउनुपर्नेछ ।
(११) उपदफा (१०) बमोजिम हुने रोयल्टी रकम आर्थिक वर्ष प्रारम्भ भएको मितिले दुई महिना भित्र दाखिला गर्नुपर्नेछ ।सो अबधि नाघेको तीन महिनासम्मको लागि रोयल्टी रकमको पन्ध्र प्रतिशतका दरले शुल्क र सो अबधिभित्र समेत नबुझाएमा रोयल्टी रकममा तीस प्रतिशतका दरले वार्षिक थप शुल्क लगाई त्यस्तो रकम असुल गरिनेछ ।
(१2) क्यासिनोको इजाजत तथा रोयल्टी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
३७. क्यासिनो क्षेत्र (क्यासिनो जोन) वा घोडादौड बेट जोन तोक्न सक्ने: (१) दफा ३६ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले एक प्रदेश एक क्षेत्रको अवधारणा अनुरूप निश्चित क्षेत्रमा तोकिए बमोजिम इजाजत, नवीकरण, शुल्क तथा रोयल्टी एवं सेवा सुविधा र मापदण्ड पूरा गर्नेगरी क्यासिनो क्षेत्र (क्यासिनो जोन) वा घोडादौड सहितको बेट जोन वा दुबै क्षेत्रको रूपमा तोक्न सक्नेछ ।
(२) क्यासिनो क्षेत्र सञ्चालन सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
३८. इजाजतपत्रको नवीकरण : (१) यस ऐन बमोजिम प्रदान गरिएको इजाजत पत्रको म्याद समाप्त हुनुभन्दा साठी दिन अगावै तोकिए बमोजिमको दस्तुर तिरी नवीकरण गराउनु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा छ महिना अगावै इजाजतपत्र नवीकरणको लागि तोकिए वमोजिमका कागजात संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको निवेदन प्राप्त भएपछि आवश्यक निरीक्षण गरी मन्त्रालयले नवीकरण गर्न सक्नेछ ।
(४) इजाजतपत्रको नवीकरण गर्दा अनुसूची-३ बमोजिमको दस्तुर बुझाउनुपर्नेछ।
(५) नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
३९. विदेशी मुद्रा कारोवारको इजाजत लिनुपर्ने : (१) सम्बन्धित कम्पनीले दफा ३6 बमोजिम इजाजत प्राप्त गरेपछि क्यासिनो व्यवसाय संचालन गर्नुपूर्व अनिवार्य रुपमा विदेशी मुद्रा कारोवार गर्ने अनुमति लिनुपर्नेछ ।
(२) क्यासिनो खेलाडिले विदेशी मुद्रा सटही गरेको प्रमाणको अभिलेख सम्बन्धित क्यासिनो कम्पनीले राख्नुपर्नेछ ।
(३) विदेशी मुद्रा सम्बन्धी अन्य विषय यस सम्बन्धी कानून तथा नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन वमोजिम हुनेछ ।
४0. निरीक्षण, सुपरिवेक्षण तथा नियमन सम्बन्धी व्यवस्थाः (१) मन्त्रालयले क्यासिनो संचालन सम्बन्धी काम कारवाहीको जुनसुकै बखत निरीक्षण, सुपरिवेक्षण सहित नियमन गर्न गराउन सक्नेछ ।
तर मन्त्रालयले कम्तिमा अर्धवार्षिक रूपमा तोकिए बमोजिम समितिबाट क्यासिनोको निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निरिक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले क्यासिनो संचालकसंग क्यासिनो सम्बन्धी कुनै विवरण, कागजात, सूचना तथा विद्युतीय माध्यमबाट सिर्जना गरिएका अन्य विवरण तथा सो सम्बन्धमा कुनै जानकारी लिखित रुपमा माग गर्न सक्नेछ । त्यसरी माग गरिएको विवरण, कागजात, सूचना तथा जानकारी सम्बन्धित अधिकारीलाई उपलब्ध गराउन सम्बन्धित क्यासिनो संचालक, पदाधिकारी वा कर्मचारीको कर्तव्य हुनेछ ।
(३) निरिक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले निरिक्षण तथा सुपरिवेक्षणको क्रममा क्यासिनो संचालकलाई आवश्यक निर्देशन दिन सक्नेछ । निरिक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले दिएको निर्देशनको पालना गर्न सम्बन्धित क्यासिनो संचालकको कर्तव्य हुनेछ ।
४१. नेपाली नागरिकले क्यासिनो स्थलमा प्रवेश गर्न र क्यासिनो खेल्न नपाउने : (१) नेपाली नागरिकले क्यासिनो स्थलमा तोकिए बमोजिम बाहेक प्रवेश गर्न र क्यासिनो खेल्न पाउने छैन । इजाजत प्राप्त कम्पनीले नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गराउन तथा क्यासिनो खेलाउन पाउने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पदीय कर्तव्यको सिलसिलामा देहायका नेपाली नागरिक क्यासिनो स्थलमा प्रवेश गर्न पाउनेछन् ।
(क) क्यासिनो सञ्चालनसँग सम्बद्ध व्यक्ति तथा कर्मचारी,
(ख) मन्त्रालयले अनुगमन तथा निरीक्षण गर्न तोकेका कर्मचारी ।
(३) उपदफा (1) को प्रतिबन्धात्मक बाक्यांश बमोजिम र उपदफा (२) बमोजिम क्यासिनोमा प्रवेश गर्ने नेपाली नागरिकको छुट्टै अभिलेख इजाजत प्राप्त कम्पनीले राख्नुपर्नेछ ।
४२. क्यासिनो संचालनका लागि पालना गर्नुपर्ने शर्त सम्बन्धी व्यवस्थाः (१) विदेशी लगानीमा क्यासिनो संचालन गर्दा नेपालीको लगानी कम्तिमा पच्चीस प्रतिशत हुनुपर्नेछ । यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(2) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस अघि स्वीकृति लिएका कम्पनीको हकमा विदेशी लगानीकर्ताको हिस्सा बढि रहेछ भने पाँच वर्षभित्र शेयर बिक्री गरी विदेशी लगानीको हिस्सा बढीमा पचहत्तर प्रतिशत कायम गर्नुपर्नेछ ।
(३) क्यासिनो सञ्चालनका लागि अनुसूची-2 मा उल्लेख भए बमोजिमको चुक्ता पूँजी हुनुपर्नेछ ।
(४) क्यासिनो संचालकले पालना गर्नुपर्ने शर्त, यस सम्बन्धी पूर्वाधार, अभिलेख व्यवस्थापन, सूचना तथा प्रतिवेदन व्यवस्था, भुक्तानी अनुपात, बाजीको सीमा, नगद सुरक्षण, क्यासिनोमा जितेको रकमको भुक्तानी सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(५) क्यासिनो संचालनका लागि पालना गर्नुपर्ने शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
४३. इजाजत खारेज गर्न सक्नेः (१) देहायको कुनै अवस्थामा मन्त्रालयले यस ऐन बमोजिम प्रदान गरेको इजाजत पत्र जुनसुकै बखत खारेज गर्न सक्नेछ ।
(क) झुटा विवरण पेश गरी इजाजत पत्र प्राप्त गरेको पाइएमा,
(ख) यो ऐन यस ऐन अन्तर्गत बनेको नियमावली वा इजाजत पत्रमा तोकिए बमोजिमका शर्त तथा मापदण्ड गम्भीर रुपमा उल्लंघन गरेमा,
(ग) यो ऐन यस ऐन अन्तर्गत बनेको नियमावली वा अन्य प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने कर, दस्तुर, शुल्क, रोयल्टी वा जरिवाना नबुझाएमा,
(घ) क्यासिनो खेल्ने ब्यक्तिको कारोवारको सम्बन्धमा गलत विवरण दिएको वा तयार गरेको पुष्टी भएमा,
(ङ) दफा ४० बमोजिम मन्त्रालयले दिएको आदेश, जारी गरेको निर्देशन वा सूचनाको पालना नगरेमा ।
(२) उपदफा (१) बमोजिम इजाजत पत्र खारेज गर्नुअघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मनाशिव मौका दिनुपर्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजत पत्र प्राप्त कम्पनीको इजाजत पत्र स्वतः खारेज हुनेछ । त्यसरी इजाजत पत्र खारेज भएकोमा इजाजत पत्र प्राप्त कम्पनीलाई उपदफा (२) बमोजिम सफाइ पेश गर्ने मौका दिनुपर्ने छैन ।
(४) क्यासिनो इजाजत खारेजी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
४४. सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्था : क्यासिनो व्यवसायमा देहायका काम कारवाही कानून बमोजिम दण्डनीय हुनेछः-
(क) सम्पत्तिको गैर कानूनी श्रोत (इलिसिट अरिजिन) लुकाउने वा कसूरमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीवाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरवाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउंदा पाउंदै वा विश्वास गर्नु पर्ने मनासिव आधार हुंदा हुंदै त्यस्तो सम्पत्ति कुनैपनि प्रकारले क्यासिनो व्यवसायसंग सम्वन्धित क्षेत्रमा रुपान्तरण वा हस्तान्तरण गर्ने,
(ख) कसूरवाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदा हुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोवार (मुभमेण्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने,छल्ने वा बदल्ने कार्य गर्ने गराउने,
(ग) कसूरवाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिव आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने कार्य गर्ने गराउने, र
(घ) उल्लेखित (क), (ख) र (ग) बमोजिको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मत सल्लाह वा उद्योग गर्न वा सम्वद्धता वा सहभागिता जनाउने कार्य गर्ने गराउने ।

परिच्छेद – ६
नयाँ पर्यटकीय गतिविधि सम्बन्धी व्यवस्था

४५. अनुमति लिनुपर्ने: (१) पर्यटक यातायात, बेलुनिङ्ग, क्यानोनिङ्ग, जंगल सफारी, क्याम्पिङ, हाईकिङ, बर्डवाचिङ, स्कीइङ, जिप फ्लायर, हण्टिङ्ग, बञ्जीजम्पिङ्ग, योगा जस्ता पर्यटकीय गतिविधि तथा कृषि पर्यटन, शिक्षा पर्यटन एवम् स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, पर्यटकीय खेलकुद लगायतका मनोरञ्जनात्मक, साहसिक र नवीन पर्यटकीय व्यवसायको दर्ता, नवीकरण र अनुगमन सम्बन्धी व्यवस्था तोकिएको मापदण्डको आधारमा सम्बन्धित प्रदेश कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि पर्यटकीय उपजको रुपमा विकास गरिने प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइडाइभिङ्ग र यस्तै प्रकृतिका विशेष साहसिक पर्यटकीय गतिविधिको अनुमति मन्त्रालयले दिनेछ ।
४६. जलयात्रा (र्याफ्टिङ्ग) सम्बन्धी व्यवस्था : (१) नेपालका नदीनालाहरुमा पर्यटकीय गतिविधिको रुपमा संचालन हुने र्याफ्टिङ्ग व्यवसायको दर्ता, नवीकरण तथा अनुगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम प्रदेश मन्त्रालयबाट हुनेछ ।
(२) र्याफ्टिङ्ग व्यवसायका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध एवं आचरण सम्बन्धी व्यवस्था र मापदण्ड तोकिए बमोजिम हुनेछ ।
४७.बास (होमस्टे) सम्बन्धी व्यवस्था : घर (१) ग्रामिण क्षेत्रमा पर्यटक तथा आन्तरिक पर्यटकलार्इ आफ्नो समुदायको मौलिकता झल्किने गरी साँस्कृतिक गतिविधि सहित स्थानीय उत्पादनको उपयोग गर्ने गरी खाना तथा बसोबासको व्यवस्था गर्नको लागि तोकिए बमोजिम मापदण्ड पुरा गरी सम्बन्धित प्रदेश कानूनमा व्यवस्था भए बमोजिम अनुमति प्राप्त गरेको हुनुपर्नेछ ।

(२) घरबास (होमस्टे) पर्यटनको लागि आवश्यक पर्ने पूर्वाधार, सुरक्षा प्रबन्ध एवं आचरण सम्बन्धी मापदण्ड तोकिए बमोजिम हुनेछ ।
४८. पर्यटक प्रहरी सम्बन्धी व्यवस्था : (१) नेपाल आउने पर्यटकको उचित सुरक्षा, उद्धार तथा गुनासोको तत्काल सम्बोधन गर्न विभाग अन्तर्गत एक केन्द्रीय पर्यटक प्रहरी र्इकार्इ रहनेछ । यसमा आवश्यक जनशक्ति नेपाल प्रहरीबाट खटाइनेछ ।
(२) पर्यटक प्रहरीलाई पर्यटकको सुरक्षा, स्वास्थ्य तथा गुनासो उपरका मुद्दाको अनुसन्धान,छानविन, तहकिकात गर्ने एवम् यस सम्बन्धी मुद्दा दायर गर्ने सम्मको नेपाल प्रहरीलाई भए सरहको अधिकार रहनेछ ।
(३) पर्यटक प्रहरीको कार्यसम्पादन मुल्यांकन विभागका महानिर्देशकबाट समेत हुने व्यवस्था मिलाइनेछ ।
(४) पर्यटक प्रहरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
४९. पर्यटकीय उपज (टुरिजम प्रोडक्ट) को विकास सम्बन्धी व्यवस्था : (१) मन्त्रालयले प्रदेश सरकारसँगको समन्वयमा संघ, प्रदेश तथा स्थानीय सरकार एवं निजी क्षेत्र सहितको सहलगानीमा पर्यटकीय उपज (टुरिजम प्रोडक्ट) को विकास गर्नेछ ।
(२) एकीकृत पर्यटकीय उपज (टुरिजम प्रोडक्ट) को विकास सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
५०. विशेष पर्यटकीय क्षेत्रको घोषणा : (१) मन्त्रालयले नेपालका पर्यटकीय आकर्षण भएका क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको पर्यटकीय क्षेत्रभित्र बस्ने पूर्वाधार र भौतिक संरचनाको ढाँचा, मापदण्ड मन्त्रालयले तोके बमोजिमको हुनेछ ।
(३) उपदफा (२) बमोजिमको ढाँचा, मापदण्ड निर्धारण गर्न तोकिए बमोजिम पर्यटन क्षेत्र पूर्वाधार मापदण्ड निर्धारण समिति रहनेछ ।
(४) यस्ता पर्यटकीय क्षेत्रको विकास, प्रबर्द्धन तथा व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसंग सहकार्य गरिनेछ ।

परिच्छेद – ७
संरचनागत व्यवस्था

५१. उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषद्: (१) मुलुकको समग्र पर्यटन विकासका लिग एकीकृत नीतिगत मार्गदर्शन गर्न देहाय वमोजिमको उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषद् रहनेछ ।
प्रधानमन्त्री अध्यक्ष
1. मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उपाध्यक्ष
2. मन्त्री, अर्थ मन्त्रालय सदस्य
3. मन्त्री, गृह मन्त्रालय सदस्य
4. मन्त्री, रक्षा मन्त्रालय सदस्य
5. मन्त्री, परराष्ट्र मन्त्रालय सदस्य
6. मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सदस्य
7. मन्त्री, कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय सदस्य
8. मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सदस्य
9. मन्त्री, संचार तथा सूचना प्रविधि मन्त्रालय सदस्य
10. मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सदस्य
11. मन्त्री, वन तथा वातावरण मन्त्रालय सदस्य
12. मन्त्री, सहरी विकास मन्त्रालय सदस्य
13. मन्त्री, युवा तथा खेलकुद मन्त्रालय सदस्य
14. मुख्यमन्त्रीहरु, प्रदेश सरकार सदस्य
15. उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य
16. मुख्य सचिव, नेपाल सरकार सदस्य
17. गभर्नर, नेपाल राष्ट्र बैंक सदस्य
18. पर्यटन मन्त्रीहरु, प्रदेश सरकार सदस्य
19. अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
20. अध्यक्ष, नेपाल उद्योग परिसंघ सदस्य
21. अध्यक्ष, नेपाल हस्तकला महासंघ सदस्य
22. अध्यक्ष, महिला उद्यमी महासंघ सदस्य
23. पर्यटन क्षेत्रका व्यवसायी एवं संघसंस्थाका प्रतिनिधिमध्येबाट अध्यक्षले सदस्य
मनोनयन गरेका पाँच जना
24. नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने कार्यकारी समितिका सदस्यहरु सदस्य
25. सचिवहरु, अर्थ, गृह, वन तथा वातावरण र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय सदस्य
26. कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड सदस्य
37. सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदस्य सचिव

(२) परिषदले देहाय वमोजिमका कार्यहरु समेत गर्नेछ-
(क) पर्यटन क्षेत्रको विकास सम्बन्धी नीतिगत मार्गदर्शन गर्ने,
(ख) पर्यटन सम्बन्धी योजना तथा विकास कार्यक्रमको समीक्षा गर्ने,
(ग) विशेष पर्यटकीय क्षेत्रको स्वीकृति दिने,
(घ) पर्यटन पूर्वाधारको दीगो विकास, पर्यटन क्षेत्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य एवम् मुलुकको पर्यटन प्रवर्द्धन तथा बजारीकरणका लागि आवश्यक निर्देशन दिने ।
(ङ) मुलुकको पर्यटन क्षेत्रको एकीकृत समग्र विकासको लागि आवश्यक नीतिगत निर्देशन दिने ।
(३) परिषदको बैठक अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षको अध्यक्षतामा बस्नेछ ।
(४) परिषदको बैठक वर्षमा कम्तिमा एकपटक बस्नेछ ।
५२. पर्यटन विकास समन्वय समिति : (१) पर्यटकीय उपज, पर्यटन पूर्वाधार तथा पर्यटन उद्योगको विकासमा संघीय सरकार, प्रदेश सरकार एवम् स्थानीय तह तथा निजी क्षेत्र सहितको सहकार्य, समन्वय र सहजीकरण गर्न देहाय वमोजिमको पर्यटन विकास समन्वय समिति रहनेछ ।
1. मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अध्यक्ष
2. प्रदेश मन्त्रीहरु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सदस्य
3. सदस्य, राष्ट्रिय योजाना आयोग सदस्य
4. सचिव, अर्थ मन्त्रालय सदस्य
5. सचिव, गृह मन्त्रालय सदस्य
6. सचिव, रक्षा मन्त्रालय सदस्य
7. सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सदस्य
8. सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सदस्य
9. सचिव, संचार तथा सूचना प्रविधि मन्त्रालय सदस्य
10. सचिव, वन तथा वातावरण मन्त्रालय सदस्य
11. सचिव, सहरी विकास मन्त्रालय सदस्य
12. सचिव, युवा तथा खेलकुद मन्त्रालय सदस्य
13. सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सदस्य
14. सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदस्य
15. सचिव भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय सदस्य
16. महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण सदस्य
17. महानिर्देशक, पुरातत्व विभाग सदस्य
18. महानिर्देशक, पर्यटन विभाग सदस्य
19. अध्यक्ष, गैर आवासीय नेपाली संघ सदस्य
20. पर्यटन क्षेत्रका संघसंस्थाका प्रतिनिधिमध्येबाट अध्यक्षले सदस्य मनोनयन गरेका तीन जना महिला सहित बढीमा सात जना
21. पर्यटन क्षेत्र सम्बद्ध विज्ञमध्येबाट अध्यक्षले मनोनयन गरेका २ जना सदस्य
22. कार्यकार प्रमुख, नेपाल पर्यटन बोर्ड सदस्य
23. सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदस्य-सचिव

(२) समितिले देहाय वमोजिमको कार्य समेत गर्नेछ:
(क) प्राकृतिक, साहसिक तथा साँस्कृतिक पर्यटनका अतिरिक्त कृषि पर्यटन, स्वास्थ्य पर्यटन, शैक्षिक पर्यटन, व्यवसायीक पर्यटन, बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी पर्यटन (MICE Tourism), ग्रामीण पर्यटन, धार्मिक पर्यटन, पर्यापर्यटन, जल पर्यटन, चलचित्र पर्यटन, क्यासिनो पर्यटन, पर्यटन यातायात, पर्यटन बसपार्कको स्थापना, पर्यटन व्यवसायको क्षेत्रगत आचार संहिता, पर्यटन क्षेत्रको सहजीकरण तथा आन्तरिक पर्यटन लगायतको विकास र प्रबर्द्धनमा सरकारी निजी क्षेत्रसंग सहकार्य गर्ने,
(ख) पर्यटन क्षेत्रको नीतिगत मार्गदर्शन तयार गरी उच्चस्तरीय पर्यटन परिषद्‍मा सिफारिस गर्ने,
(ग) पर्यटन क्षेत्रलाई थप सुरक्षित बनाउँदै पर्यटकको सुरक्षा तथा पर्यटन क्षेत्रमा आइपर्ने संकट/विपत व्यवस्थापनलाई मार्गदर्शन गर्ने,
(घ) सरल र एकद्वार प्रणालीमार्फत पर्यटकीय क्रियाकलाप र पर्यटन व्यवसायलाई सहजीकरण गर्दै यस क्षेत्रको लाभ ग्रामीण स्तरसम्म पुर्याउन भुमिका खेल्ने,
(ङ) ऐनको दफा ५१ अनुरुप गठित राष्ट्रिय पर्यटन परिषद्ले दिएको मार्गदर्शनको परिपालना गर्ने र
(च) तोकिए वमोजमका अन्य कार्यहरु गर्ने ।
५३. अन्य संस्थागत व्यवस्था : (१) नेपाल सरकारको पर्यटन सम्बन्धी नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, समन्वय तथा नियमनको कार्य मन्त्रालयले गर्नेछ ।
(२) आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रबर्द्धन, बजारीकरणको कार्य नेपाल सरकारले नेपाल पर्यटन बोर्ड मार्फत गर्नेछ ।
(३) कुनै खास क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि नेपाल सरकारले निश्चित अवधिको लागि विशेष संरचना वा समिति गठन गर्न सक्नेछ ।

परिच्छेद – ८
कसूर, दण्ड सजाय र पुनरावेदन सम्बन्धी व्यवस्था

५४. पर्यटन सम्बन्धी कसूर गरेको मानिने : कसैले यो ऐन वा यो ऐन अन्तर्गत बनेको नियममा अन्यथा व्यवस्था भएकोमा वाहेक देहायका काम कारवाही गरे वा गराएमा वा सो को उद्योग गरेमा यस ऐन वमोजिमको पर्यटन सम्बन्धी कसूर गरेको मानिनेछः-
(क) दफा ३ वमोजिम अनुमति नलिई कुनै व्यवसाय सञ्चालन गरे वा गराएमा,
(ख) दफा ६ बमोजिम मन्त्रालय वा विभागबाट खटिएका कर्मचारीलाई होटल, लज, रेष्टुराँ तथा रिसोर्ट वा बार निरीक्षण, परीक्षण तथा अनुगमन कार्यमा बाधा विरोध गरेमा,
(ग) दफा ७ बमोजिम मूल्यसूची प्रकाशित नगरेमा,
(घ) दफा ८ बमोजिम अनुमति नलिई कुनै पर्वतारोही वा एजेन्सीले हिमालचुली आरोहण गर्ने गराउने प्रयास गरेमा, आरोहण गरे गराएमा वा यस्तो कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरे गराएमा,
(ङ) दफा १६ बमोजिम पर्वतारोहणको क्रममा गर्न नहुने कार्य गरे गराएमा
(च) दफा २५(२), 2८(३) र 2८(4) बमोजिम व्यवसाय गर्ने एजेन्सीले पदयात्रा, ट्राभल एवं टूर प्याकेज बिक्री गरी सो बमोजिम सेवा नदिएमा,
(छ) दफा २९ वमोजिम इजाजतपत्र प्राप्त नगरी वा नवीकरण नगराई पथ प्रदर्शकको काम गरेमा,
(ज) दफा ६० वमोजिम पर्यटकको खोज उद्धार र उपचारको कार्यमा तोकिएको कार्यविधि अवलम्बन नगरेमा,
(झ) यस ऐन वमोजिम पेश गर्नुपर्ने प्रतिवेदन तोकिए बमोजिम पेश नगरेमा,
(ञ) यस ऐन वमोजिम दिइएको निर्देशन पालना नगरेमा,
(ट) दफा ४३(२) बमोजिमको पर्यटन व्यवसाय गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा नेपाल सरकारले दिएको निर्देशन वा आदेश उल्लंघन गरेमा
५५. क्यासिनो सम्बन्धी कसूर गरेको मानिने : कसैले यो ऐन वा यो ऐन अन्तर्गत बनेको नियममा अन्यथा व्यवस्था भएकोमा वाहेक देहायका काम कारवाही गरे वा गराएमा वा सो को उद्योग गरेमा यस ऐन वमोजिमको क्यासिनो सम्बन्धी कसूर गरेको मानिनेछः-
(क) क्यासिनो संचालकले दफा ४० बमोजिमको कर्तव्य पालना नगरेमा,
(ख) क्यासिनो संचालकले दफा ३६(२) बमोजिमको इजाजत नलिई क्यासिनो संचालन गरेको पाइएमा वा दफा ३६(३), (७) वा (८) को पालना नगरेमा ।
५६. सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूर गरेको मानिने : कसैले यो ऐन वा यो ऐन अन्तर्गत बनेको नियममा अन्यथा व्यवस्था भएकोमा वाहेक देहायका काम कारवाही गरे वा गराएमा वा सो को उद्योग गरेमा यस ऐन वमोजिमको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूर गरेको मानिनेछः
(क) दफा ४४ को खण्ड (क), (ख) वा (ग) बमोजिम गर्न नहुने कार्य गरे गराएमा,
(ख) दफा ४४ को खण्ड (ग) बमोजिम गर्न नहुने कार्य गरे गराएमा,
५७. सजाय तथा जरिवानाः– (१) दफा ५४(क) बमोजिम को कसूरमा विभागले प्रथम पटकका लागि रु. बीस हजारदेखि एक लाख जरिवाना गरी दर्ता गर्न आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिम विभागले तोकेको अवधिभित्र पनि अनुमति नलिई ब्यवसाय गरेमा विभागले बन्द गर्न आदेश दिन सक्नेछ ।
(३) दफा ५४(ख) वा 5४(ग) बमोजिमको कसुरमा विभागले रु. बीसहजार देखि एकलाख सम्म जरिवाना गर्न सक्नेछ ।
(४) कुनै पर्वतारोहण दल वा त्यसको सदस्यले दफा ५४(घ) वा (ङ) अनुसारको कसुर गर्ने व्यक्तिलाई मन्त्रालयले पाँच वर्षसम्म नेपालभित्र प्रवेश गर्न नपाउने वा दश वर्षसम्म नेपालका हिमचुलीहरुमा पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउन र त्यस्तो हिमालचुली आरोहण गर्न लाग्ने रोयल्टी रकमको दोब्बर रकम जरिवाना गर्न सक्नेछ।
(५) कुनै एजेन्सीले दफा ५४(घ) बमोजिमको कसूर गर्ने कार्यमा सहयोग गरे गराएमा त्यस्तो हिमालचुली आरोहण गर्न लाग्ने रोयल्टी रकम बराबर मन्त्रालयले जरिवाना गर्न वा उक्त एजेन्सी खारेज गर्न वा दुवै सजाय गर्न सक्नेछ ।
तर, यस्तो कसूरमा एकपटक सजाय पाइसकेको भएमा मन्त्रालयले जरिवाना गरी उक्त एजेन्सी खारेज गर्न सक्नेछ।
(6) कुनै एजेन्सीले दफा ५४(ङ) बमोजिम कसुर गरेको देखिएमा मन्त्रालयले कसूरको मात्रा हेरी दुई वर्षदेखि पाँच वर्षसम्म पर्वतारोहण सम्बन्धी कुनै कार्य गर्न नपाउने गरी रोक लगाउन र रु. पाँच लाखदेखि रु. दश लाखसम्म जरिवाना गर्न वा दुवै सजाय गर्न सक्नेछ ।
(7) कुनै व्यक्तिले दफा ५४(घ) बमोजिमको कार्यमा सहयोग गरेमा वा पर्वतारोहीको आरोहण सम्पन्नता सम्बन्धी झुट्टा विवरण दिएको प्रमाणित भएमा त्यस्तो सरदार, पर्वतारोहण सहयोगी र सम्बन्धित एजेन्सीको इजाजत विभागले खारेज गर्न सक्नेछ। साथै सम्बन्धित सम्पर्क अधिकृतलाई प्रचलित कानून वमोजिम विभागीय कारवाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनेछ।
(8) कसैले दफा ५४(च) बमोजिमको कसूर गर्ने एजेन्सी वा व्यक्तिलाई विभागले प्याकेज वापत लिएको रकम फिर्ता गराई त्यसको शत प्रतिशत जरीवाना गर्न सक्नेछ ।त्यस्तो कसुर पुन: दोहोर्याएको पाइएमा विभागले दोब्बर जरीवाना गर्ने वा इजाजत खारेज गर्ने वा दुवै सजायँ गर्न सक्नेछ ।
(9) कसैले दफा ५४(छ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई विभागले पटकै पिच्छे रु. पचास हजार रूपैयाँ सम्म जरिवाना गर्ने वा इजाजत खारेज गर्ने वा दुवै सजायँ गर्न सक्नेछ ।
(10) दफा ५४(ज) बमोजिम कसूर गर्ने ट्रेकिङ्ग एजेन्सी, हवाई कम्पनी वा अस्पताललाई विभागले प्रथम पटक रु. एक लाख र तत्पश्चात् पटकैपिच्छे रु. दुई लाख जरिवाना गर्न सक्नेछ ।
(११) कसैले दफा ५४(झ) वा (ट) बमोजिम कसुर गरेमा विभागले पटकैपिच्छे रु. पचास हजारसम्म जरिवाना गर्न सक्नेछ ।
(१२) क्यासिनोको संचालकले दफा ५५(क) बमोजिमको कसुर गरेमा मन्त्रालयको सचिवले पहिलोपटकका लागि रु. पच्चीस लाखदेखि रु. पचास लाख सम्म जरिवाना र त्यसपछि पहिलोपटक गरेको सजायँ भन्दा कम नहुने गरी पटकै पिच्छे रु. एक करोडसम्म जरिवाना गर्न सक्नेछ ।
(१३) क्यसिनो संचालकले दफा ५५(ख) बमोजिमको कसुर गरेमा मन्त्रालयको सचिवले त्यस्तो क्यासिनो तत्काल बन्द गराई संचालन अवधिमा लाग्ने सबै रोयल्टी तथा दस्तुर र सो को दोब्बरसम्म जरिवाना गर्न सक्नेछ ।
(१४) दफा ५५(ख) बमोजिमको कसूरमा प्रमुख भई काम गर्ने व्यक्ति वा सो को मुख्य भई काम गर्ने संचालकलाई एक वर्षदेखि तीन वर्षसम्म कैद हुनेछ ।
(१५) उपदफा (१३) बमोजिम बन्द गरिएको क्यासिनोमा प्रयोग गरिएका जुनसुकै प्रकारका यन्त्र, उपकरण, नगद रकम वा सो संग सम्बन्धित जुनसुकै वस्तुलाई कसुरजन्य सम्पत्ति मानी प्रचलित कानून बमोजिम जफत गरिनेछ ।
(1६) यस ऐन बमोजिम बाहेक क्यासिनो सञ्चालन गर्ने वा निर्धारित राजस्व वा जरीवाना नतिर्ने कम्पनी वा त्यसका सञ्चालकको जमाननबाट असुल गर्ने, सम्पत्ति रोक्का गर्ने, लिलाम विक्रि गर्ने, विदेश भ्रमणमा बन्देज गर्ने तथा सार्वजनिक सुबिधाबाट बन्देजको आदेश दिई मन्त्रालयले कालो सूचीमा समेत राख्न सक्नेछ ।
(१७) उपदफा (१२), (१३), (१५) वा (१६) बमोजिमको कारवाही गर्नुअघि सम्बन्धित व्यक्ति वा कम्पनीलाई सफाई पेश गर्ने मौका दिनुपर्नेछ ।
(१८) दफा ५६(क) बमोजिमको कसुर गरेको देखिएमा कसुर गर्ने व्यक्तिलाई मन्त्रालयले विगोको दोब्बर सम्म जरिवाना गर्न सक्नेछ । यस्तो कसूरमा कसूरको मात्रा हेरी दुई वर्ष देखि दश वर्ष सम्म कैद गर्न सक्नेछ ।
(१९) दफा ५६(ख) बमोजिमको कसुरको षडयन्त्र गर्ने व्यक्तिलाई उपदफा (१८) वमोजिमको सजाय हुनेछ र कसूर गर्ने अन्य व्यक्तिलाई उपदफा (१८) मा उल्लेखित सजायको आधा सजाय हुनेछ।
(२०) उपदफा (१४) (१८) र (१९) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा परेको मानिनेछ ।

५८. पुनरावेदन सम्बन्धी व्यवस्था: यस ऐन बमोजिम गरिएको जरिवाना तथा कारवाहीको आदेश उपर चित्त नबुझेमा जरिवाना वा कारवाहीको आदेश थाहा पाएको मितिले पैंतीस दिनभित्र सम्वन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सकिनेछ ।

परिच्छेद – ९
विविध

५९. आन्तरिक पर्यटन प्रबर्द्धन सम्बन्धी व्यवस्थाः (१) नेपाल सरकारले नेपालको आन्तरिक पर्यटन प्रबर्द्धनको लागि सार्वजनिक तथा संगठित निकायमा विदा पर्यटनको अवधारणा कार्यान्वयनमा ल्याउन सक्नेछ । यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६०. आपतकालीन खोज, उद्धार तथा उपचार सम्बन्धी व्यवस्था: (१) दुर्घटनामा परेका, सम्पर्क विहिन भई वेपत्ता भएका वा गम्भीर स्वास्थ्य अवस्था भएका पर्यटकको खोज, उद्धार तथा उपचार सम्बन्धी व्यवस्थापनको जिम्मेवारी सम्बन्धित एजेन्सीको हुनेछ ।
(२) खोज तथा उद्धारका लागि विभागले आवश्यक उपकरण सहितका तालीम प्राप्त अनुभवी व्यक्ति परिचालन गर्नेछ ।
(३) पर्यटकको खोज, उद्धार तथा उपचारमा संलग्न निकायको अनुगमन विभागले गर्नुपर्नेछ ।
(४) पर्यटकको खोज, उद्धार तथा उपचार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६१. पर्यटकीय सेवाको गुणस्तर र पर्यटकको सुरक्षा सम्बन्धीः पर्यटकलाई लक्षित गरी उपलब्ध गराइने सेवा सुविधाको मन्त्रालयले निश्चित मापदण्ड बनाई गुणस्तरीयताको सुनिश्चितता गर्न सक्नेछ ।
६२. कोषको व्यवस्था : (१) पर्यटकको सुरक्षा, खोज, उद्धार, उपचार तथा संकटको उचित व्यवस्थापन गर्न पर्यटक सुरक्षा, वातावरण संरक्षण र पर्वतीय सरसफाईको नाममा एक कोष स्थापना गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा नेपाल पर्यटन बोर्डको आम्दानीबाट बार्षिक पाँच प्रतिशत रकम र दफा 15(6) बमोजिमको रकम नियमित रुपमा जम्मा गरिनेछ ।
(३) यस कोषमा नेपाल सरकारले समय समयमा रकम जम्मा गर्न सक्नेछ ।
(४) यस कोषको परिचालन दफा 5२ बमोजिमको समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) कोषको व्यवस्थापन तथा संचालन विभागले गर्नेछ ।
६३. पदयात्रा तथा पर्वतारोहण सम्बन्धी समाचार, फिल्म तथा वृतचित्र प्रसारण सम्बन्धी व्यवस्था: (१) पदयात्रा तथा पर्वतारोहणको क्रममा पर्यटकहरुबाट तयार गरिने गैर व्यवसायिक तथा नेपालको पर्यटन प्रवर्द्धन हुने बृत्तचित्रको लागि कुनै शुल्क लिइनेछैन ।
(२) पर्यटकले विभागको पूर्व स्वीकृति लिई तोकिएको शर्त पालना गर्नेगरी पदयात्रा वा पर्वतारोहण सम्बन्धी कुनै समाचार, फिल्म वा वृतचित्र संचार माध्यमबाट प्रकाशन वा प्रसारण गर्न सक्नेछ ।
(३) नेपालको पर्यटन प्रबर्द्धन हुनेगरी तयार हुने बृत्तचित्र वा चलचित्र निर्माण सम्बन्धी कार्यको लागि एकल विन्दु सेवा उपलब्ध गराइनेछ ।
६४. अनलार्इन सेवा सम्बन्धी व्यवस्था : (१) नेपालमा पर्यटक तथा आन्तरिक पर्यटकलार्इ उपलब्ध गराइने होटल, टिकटिङ्ग लगायत सेवा अनलार्इन प्रणालीबाट उपलब्ध गराउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको सेवा दिनु भन्दा अगाडि यस्तो सेवा प्रदायक नेपालमा प्रचलित कानून बमोजिम दर्ता भई विभागबाट सेवा संचालनको अनुमति लिनुपर्नेछ ।
६५. एकिकृत सेवा दिन सकिने : (१) मन्त्रालयले नेपालको विभिन्न प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुमा प्रवेश लगायतका सेवा सुविधा उपलब्ध गराउने कार्य एकिकृत रुपमा गर्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उठार्इने शुल्क तथा त्यसको बाँडफाँड सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६६. सहुलियत तथा सुविधाहरु : (१) पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सरह सहुलियत तथा सुविधाहरु उपलब्ध गराइनेछ ।
(२) नेपाल सरकारद्वारा तोकिएका ग्रामीण क्षेत्रहरुमा खोलिने वर्गीकृत होटल तथा रिसोर्ट लगायतका पर्यटन उद्योगलार्इ संचालनमा आएको पाँच वर्षसम्म पूर्ण र थप पाँच वर्ष पचास प्रतिशत आयकर छुट दिइनेछ ।
६७. पर्यावरणमैत्री पर्यटन उद्योग सम्बन्धी व्यवस्था : (१) तोकिएको मापदण्ड पुरा गरेका पर्यावरणमैत्री पर्यटकीय उद्योगलार्इ मन्त्रालयले वन तथा वातावरण मन्त्रालय सँगको समन्वयमा पर्यावरणमैत्री व्यवसायको प्रमाणपत्र प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संचालन भएको पर्यटन उद्योगलार्इ नेपाल सरकारले तोके बमोजिम थप सुविधा, सहुलियत तथा छुट प्रदान गर्न सक्नेछ ।
६८. पर्यटन सम्बन्धी तालिम दिने संस्था दर्ता : (१) मन्त्रालयले पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने अध्ययन प्रतिष्ठान, प्राविधिक विद्यालय वा तालिम केन्द्रको लागि आवश्यक पूर्वाधार तथा मापदण्ड तोक्न सक्नेछ ।
(२) यस ऐन जारी भएपछि प्राविधिक विद्यालय वा तालिम केन्द्रले त्यस्तो संस्था खोल्नुअघि पूर्वाधार तथा मापदण्डका सम्बन्धमा सहमति लिनुपर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी हुनुअघि स्वीकृति पाएका अध्ययन प्रतिष्ठान, प्राविधिक विद्यालय वा तालिम केन्द्रले ३ वर्षभित्र तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ ।
(४) मापदण्ड नपुगेका वा मापदण्ड विपरित संचालित अध्ययन प्रतिष्ठान, प्राविधिक विद्यालय वा तालिम केन्द्रको अनुमति खारेज गर्न वा निलम्बन गर्ने सकिनेछ ।
६९. पर्यटकले ल्याएको मालसामानहरूको खरीद विक्रीमा प्रतिबन्ध लगाउन सक्ने : (१) पर्यावरणमा नकारात्मक असर पार्ने प्रकृतिका वस्तु पर्यटनकले विदेशवाट नेपालमा ल्याई विक्री वा दान दातव्य वा अरू कुनै प्रकारबाट हक हस्तान्तरण गर्न नपाउने र सँगै फिर्ता लैजानुपर्ने गरी नेपाल सरकारले नेपाल राजपत्रको सूचना प्रकाशन गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेशको विपरित कसैले कुनै मालसामान लिए दिएमा प्रमुख जिल्ला अधिकारीले लिनेबाट सम्बन्धित मालसामान जफत गरी दिनेलाई विगो बमोजिमसम्म जरिवाना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
७०. प्रतिवेदन वा विवरण पेश गर्नुपर्ने: यस ऐन वमोजिम इजाजतपत्र प्राप्त व्यक्तिले तोकिए बमोजिम सूचना वा आवधिक विवरण तोकिएको निकाय समक्ष पेश गर्नुपर्नेछ ।
७१. विवरणमा हेरफेर भएमा सूचना दिनु पर्ने : यस ऐन वमोजिम इजाजतपत्र प्राप्त व्यक्तिले दर्ताको लागि दरखास्त दिंदा खुलाएको विवरणमा कुनै हेरफेर भएमा सो भएको पन्ध्र दिनभित्र सो को सूचना दर्ता गर्ने निकाय समक्ष दिनु पर्नेछ ।
७२. व्यवसाय बन्द गर्नु परेमा सूचना दिनु पर्ने : यस ऐन वमोजिम इजाजतपत्र प्राप्त व्यक्तिले आफ्नो व्यवसाय बन्द गरेमा बन्द गरेको मितिले पन्ध्र दिनभित्र विभाग समक्ष सूचना दिनु पर्नेछ ।
७३. निर्देशिका बनाई लागू गर्न सक्ने: (१) सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनमा भएको व्यवस्था अनुरुप नियामक निकायको रुपमा मन्त्रालयले निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) यस ऐन वा अन्तर्गत बनेको नियम कार्यान्वयनको लागि मन्त्रालयले इजाजत प्राप्त व्यक्तिलाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु त्यस्तो व्यक्तिको कर्तव्य हुनेछ ।
७४. अधिकार प्रत्यायोजन गर्न सक्ने : यो ऐन बमोजिम मन्त्रालय वा प्रदेश मन्त्रालयलाई प्राप्त सबै वा कुनै अधिकार नेपाल नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै कार्यालय, निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सकिनेछ ।
७५. आदेश जारी गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी तवरबाट संचालित पर्यटन व्यवसायका सम्बन्धमा यस ऐनको कुनै वा सबै व्यवस्था लागू नहुने गरी आदेश जारी गर्न सक्नेछ ।
७६. अनुसूचीमा परिवर्तन गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस ऐनका अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।
७७. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।
७८. खारेजी र बचाउ: (१) पर्यटन ऐन, २०३५ खारेज गरिएको छ ।(२) पर्यटन ऐन, २०३५ अन्तर्गत भएका सवै कामकारवाहीहरु यसै ऐन अन्तर्गत भए गरे सरह मानिने छ ।

अनुसूची – १
(दफा २ (ञ) संग सम्बन्धित)
पर्यटन उद्योग / पर्यटन क्षेत्र

1.  पर्यटक वा आन्तरिक पर्यटकको नेपालमा आवास, विश्राम, खानपिनको सेवा दिने होटल,
2. रिसोर्ट,
3. पदयात्रा व्यवसाय,
4. पर्वतारोहण तथा साहसिक पर्यटकीय गतिविधि,
5. नागरिक उड्डयन सेवा,
6. पर्यटक बसपार्क,
7. पर्यटकीय केवुलकार,
8. मनोरञ्जनात्मक पार्क,
9. क्यासिनो,
10. ऐनको दफा ४५, ४६,47 र 49 बमोजिमका व्यवसाय,
11. पर्यटकको आकर्षणका लागि विकास गरिने गन्तव्य ।

अनुसूची – २
(दफा ४2(2) संग सम्बन्धित)
चुक्ता पूँजी सम्बन्धी व्यवस्था

1. क्यासिनोको हकमा रु. पच्चीस करोड,
2. आधुनिक मेशिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको हकमा रु. पन्ध्र करोड ।

अनुसूची – ३
(दफा 36(९) संग सम्बन्धित)
इजाजत/नविकरण दस्तुर सम्बन्धी व्यवस्था

1. क्यासिनोको हकमा रु. दुई करोड पचास लाख,
2. आधुनिक मेशिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको हकमा रु. एक करोड पचास लाख ।

अनुसूची – ४
(दफा 36(१०) संग सम्बन्धित)
क्यासिनो रोयल्टी सम्बन्धी व्यवस्था

1. क्यासिनोको वार्षिक रोयल्टी रू. चार करोड।
2. आधुनिक मेशिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको वार्षिक रोयल्टी रु. एक करोड।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी