ताजा समाचार

आज    |   

पर्यटन व्यवसायमा महामारी



 

डा. बिपी बडाल

डा. बिपी बडाल

कोभिड–१९ को महामारी अन्त्यपछि आन्तरिक पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारले सम्पूर्ण सरकारी तथा संगठित निजी क्षेत्रका कर्मचारीलाई एक महिनाको तलब दिएर घुम्न पठाउने महत्त्वाकांक्षी कार्यक्रम तर्जुमा गरिरहेको छ | यस्तै चीनमा नोवेल कोरोना भाइरस संक्रमण क्रमिक रूपमा घटदैगए पछि सरकारले पर्यटन व्यवसायलाई उकास्न हप्तामा २ दिन बिदा दिने प्रणालीको घोषणा गरेको छ।यसैगरीमहामारीबाट पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरु गरेका छन् ।यसबाट नेपालको पर्यटनको अवस्था छिट्टै यथा स्थानमा आउने देखिन्छ |

महत्वपुर्ण कुरा केहो भने, महामारीले जनजीवन अस्तव्यस्त पारेको हो | अस्तब्यस्त जीवनले मानवीय जीवनका हरेक पक्षलाई असर पारेकै हुन्छ | जब मानवीयजीवन सही मार्गमा आउँछ, तत्काल नै  मानिसलाई घुमफिर र मनोरंजन चाहिन्छ | महामारीको अन्त्य पछी मानिस लक्डाउनमा बस्नै सक्दैन| ऊ अवस्य निस्किन्छ |  घुमफिर सुरु भैहाल्छ | त्यसैले पर्यटनमा महामारीको प्रभाब सुन्य हुन्छ | महामारीको केहि प्रभाब पर्दैन पर्यटनमा | महामारीको अन्त्य पछी बिस्तारै जसरि जीवन पद्दति अगाडी बढ्दछ यसैको आधारमा पर्यटन अगाडी बढ्दछ |  पर्यटन नितान्त सुरक्षा र मनोविज्ञानमा आधारित हुन्छ | पर्यटन व्यवसायीले पर्यटकको सुरक्षा र मनोविज्ञान गम्भीर तरिकाले बुझ्नु जरुरि छ | पर्यटकको मनोविज्ञान र सुरक्षाको ग्यारेन्टी पर्यटन व्यवसायी, स्थानीय सरकार तथा अन्य सरोकारवालाले लिनु पर्दछ | पर्यटन व्यवसाय मर्यादित, जिम्मेवारर जवाफदेही हुनु पर्दछ |

परिभाषा

सामान्य भाषामा घुमफिर गर्ने मान्छेलाई पुर्याउने सेवा संग सम्बन्धित व्यवसाय नै पर्यटन व्यवसाय हो | विश्वपर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटक भन्नाले “आफ्नो सामान्य परिवृत्ति  भन्दाबाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेकअरू उद्देश्यका लागि यात्रा गरि बस्ने” मान्छेलाई बुझाउँछ |विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ।आफ्नो थातथलो – जन्मभुमि छाडेर कम्तिमा २४ घण्टा नेपालमा बिताएका जोसुकै पनि पर्यटक हुन् । उक्त पर्यटकले गर्ने खर्च पर्यटन आयका रुपमा गणना हुन्छ| तरआफ्नै सवारी साधन लिएर भैरहवा, नेपालगन्ज, विराटनगर र वीरगन्जका तारे होटेलमा आउनेरातभर क्यासिनो खेल्ने र खुलेर खर्च गर्ने भारतीय नागरिक नेपालको नजरमा पर्यटक हुन सकेका थिएनन् । बिहारमा रक्सीमा प्रतिवन्ध लागेपछि सीमावर्ति नेपालकाा होटेल तथा रेष्टुरेन्टमा भारतीयहरु खचाखच हुनेगरेका छन् ।यो महामारी सकिने बितिक्कै लक्डाउनमा बन्द मानिसहरुघुमफिरमालागिहाल्ने छन् | फेरी उक्त होटलहरु चकाचक हुने नै छन् |

पर्यटन के हो भन्ने सम्बन्धमा सर्वप्रथम परिभाषा सन १९१० मा अस्ट्रियन अर्थशास्त्री हरमयानन वन स्कुर्लाडले गरेका हुन्  । उनका अनुसार पर्यटन भन्नाले कुनै पनि निश्चित राष्ट्र सहर वा क्षेत्रभित्र र बाहिर विदेशीहरूको बसोबास, आवतजावत र प्रवेश, आर्थिक प्रकृतिसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण कार्यक्रम हो | यसरी परिभाषित गरिएता पनि विश्वमा पर्यटन व्यवासायले औपचारिक रूप धारण गरेको चैंसन् १८४१ मा  मात्रहो । यहि बर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपमा निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरेका थिए  । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटन क्षेत्रको पिता नै मान्ने गरिएको छ ।यसरीआन्तरिक रुपमा सुरुभएको पर्यटन अहिले अन्तर्राष्ट्रिय पर्यटनले जितेको थियो अब अन्तर्राष्ट्रिय पर्यटन सुस्ताएको समयमा आन्तरिक पर्यटनले स्थान लिनु पर्दछ | हामी सबै घुम्न निस्किनु पर्दछ |

नेपालमा राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार  ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, र्‍याफ्टिङका साथै क्याम्पिङ, टुर अप्रेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज,  स्पा, होटल, पर्यटन आवास, मोटेल, ग्रामिण पर्यटन, होमस्टे, रिर्सोट तथा रेष्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षलाई पर्यटन उद्योगभित्र समेटिएको छ।  यसैगरीमनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन, चलचित्रका साथै स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढि, हात्तिचढि, बञ्जी जम्पिङ, हिमाल आरोहण तथा अवलोकन पनि पर्यटन क्षेत्रभित्र समेटिएको छ।गल्फ कोर्ष, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउण्टेन फ्लाइट सञ्चालन र केवलकार पनि पर्यटन क्षेत्रभित्र समेट्दै राष्ट्र बैंकले सांस्कृतिक, धार्मिक तथा खेलकुद पर्यटनभित्रै समेटेको छ। काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्बजनिक सहरी यातायात सेवा सञ्चालन गर्ने संगठित संस्था  पनि पर्यटन क्षेत्रभित्रै पर्ने छन्। लकडाउनका बन्दिहरु लकडाउन खुल्ने बितिक्कै खुल्ला पन्छी झैँ घुम्न निस्कने छन् |

पर्यटन व्यवसाय  पूर्णरुपलेमान्छेले किन घुम्छ भन्ने मनोविज्ञानमा आधारित हुन्छ | हो मान्छे रमाउन घुम्छ, पैसा खर्च गर्न कोहि पनि घुम्दैन | पर्यटन मानवीय गुणको चाल सम्बन्धि नियमसंग सम्बन्धित मनोबैज्ञानिक बिषयबस्तु हो |

शाब्दिक रुपमा “पर्या + टन” मिलेर पर्यटन बनेको देखिन्छ | पर्या भन्नाले जैविक वातावरण र टन भन्नाले घुमफिर भन्ने बुझिन्छ | यसैगरी पर्यटन, तीर्थाटन, देशाटन जस्ता शब्द पनि पर्यटनसंग मिल्दाजुल्दा देखिन्छन |  नेपालका सुन्दर हिमाल, पहाड, लेक देउराली, चौतारी घुम्ने र रमाउने कार्य नै  नेपालकोपर्यटन हो | यसरी घुम्न रमाउन चाहने व्यक्तिलाई अर्थात् पर्यटकलाई सेवा सुबिधा पुर्याउने व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ | जैविक वातावरणलाई जीवन्तता प्रदान गर्न संस्कृतिक अयावय थप गरिन्छ र पर्यटन पूर्ण हुन्छ | सभ्यताको आदिकाल देखिनै पर्यटनको सुरुवात भएको मानिन्छ किनभने पर्यटनले नितान्त रुपमा मानवीय मनोविज्ञान र सुरक्षासंग प्रतक्ष्य सरोकार राख्दछ |नेपाल आउने पर्यटकहरू हिमाल आरोहण, पदयात्रा, पर्वतीय शृङ्खलाको दृश्यावलोकन, र्याफ्टिङ, प्याराग्लाइडिङ, कायाकिङ, साइक्लिङ, बोटिङ, प्राकृतिक सम्पदाहरूको अवलोकन, मठमन्दिर, पाटीपौवा, गुम्बा,पुराना दरबारहरू,अन्य प्राकृतिक तथा मानवनिर्मित संरचनाहरूको दृश्यावलोक नलगायतका कार्यक्रमहरूकोप्याकेज नै समग्रमा पर्यटन व्यवसाय हो | यो समयमा पर्यटकीय प्याकेजहरु हतियारमा साँध लगाए झैँ चुस्त दुरुस्त पारेर राख्नु पर्दछ | महामारीको अन्त्य हुने बितिक्कै पर्यटन जुर्मुराएर उठ्ने छ |

नेपालको संविधान २०७२ को धारा ५१ मा राज्यका नीतिअन्तर्गत उपधारा (ठ) ले पर्यटनसम्बन्धी नीति भन्ने शीर्षकमा नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, सम्बर्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा पर्यावरणअनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने भन्ने ऐतिहासिक व्यवस्था गरेको छ | जब लाभ स्थानीयलाई छ भनेर संबिधानले नै भने पछी जिम्मेवारी र दायित्व पनि स्थानीय सरोकारवालाको बढी नै हुन्छ | त्यसैले सबै स्थानीय सरकार तयार बस्नु पर्दछ | प्रचार प्रसार सुरु गर्नु पर्दछ |
पश्चिमी दर्शन अनुरुप प्राचीन समयमा रोमन रिपब्लिककै समयदेखि ठूला भवनहरु हेर्न, कलाकौशलको मजा लिन, नयाँ भाषा सिक्न, नयाँ संस्कृतिहरुको अनुभव लिन र विभिन्न प्रकारका स्वादिष्ट खानाहरुको स्वाद लिन सम्पन्न मानिसहरु आफ्नो घरबाट टाढाका ठाउँहरुमा जानका लागि निस्कन्थे । यस्ता व्यक्ति नै पर्यटक हुन् भन्न सकिन्छ | के के छन् त हाम्रा स्थानीय गाउँ सहरमा ?पर्यटक के हेर्न, खान, रगर्न आउने ? यो समय हामी सबै सबै तयार भएर बस्नु पर्ने अवस्था हो | आ-आफ्नोहतियार साँधलगाएर बस्नु पर्ने समय हो |

अवस्था

कोरोना महामारी अघिको सन्दर्भमा, नेपालमा वार्षिक करिब १३ लाख विदेशी पर्यटक नेपाल भित्रएका थिए । उनीहरुबाट नेपालले वार्षिक औसत ६५-७० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गरिरहेको थियो।नेपालकोआर्थिक सर्वेक्षण ०७२/७३ तथा पर्यटन तथ्यांक २०१७ अनुसार विभिन्न उद्देश्य लिएर नेपाल आएका पर्यटकहरूमा, मनोरञ्जनका लागि ५०.१० प्रतिशत, पदयात्रा र पर्वतारोहणमा १३.३ प्रतिशत, कार्यालय प्रयोजन ४.१ प्रतिशत, धार्मिक १२.६ प्रतिशत, सभासमारोह १.७ प्रतिशत र अन्य १६.२ प्रतिशतको संख्यामा पर्यटकहरू नेपाल भित्रिएको तथ्याङ्क छ भने भारतबाट १४ प्रतिशत, चीनबाट १२ प्रतिशत, श्रीलंकाबाट ८ प्रतिशत, अमेरिकाबाट ८ प्रतिशत, बेलायतबाट ६ प्रतिशत, रहेका छन् | ५० प्रतिशत भन्दा बढी पर्यटक मात्र यी ५ मुलुकबाट आउने गरेका छन् | यसैगरी नेपालकोचौधौं योजना (०७३/७४–०७५/७६) ले पर्यटन विकासका लागि नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोच राखेको छ ।प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभर कम्तीमा १ सयवटा नयाँ पर्यटकीय गन्तव्य स्थल पहिचान गरी विकास तथा प्रवद्र्धन गर्न बजेट छुट्ट्याइएको छ ।०७५/७६ को बजेट वक्तव्यमा समग्र पर्यटन क्षेत्रको विकासका लागि भनेर रु. ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको छ ।सरकारले १५ औं योजनाको अन्त्यसम्म वार्षिक ३५ लाख पर्यटक नेपाल आउने आंकलन गरेको छ ।हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष १ लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ।अत्यन्त उत्साहित नेपाल भ्रमण बर्ष २०२० स्थगित गर्नु परेको कारण नेपाललाई ठुलो धक्का लागेको छ | संस्कृति मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स २०१८’ का अनुसार हाल नेपालमा आउने पर्यटकले एक दिनमा ४५ अमेरिकी डलर खर्च गर्छन् भने पर्यटकको औसत बसाइ १२ दशमलव ६ दिन हुने गरेको छ।कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ ।

नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोरम छ । यही प्राकृतिक मनोरम दृश्यलाई बढीभन्दा बढी उपयोग गरेर देशलाई सम्पन्न बनाउन सकिने बलियो सम्भावना छ । अनुपम प्राकृतिक विविधता, भू–धरातलीयस्वरुप, सांस्कृतिक सम्पदा आदिको अद्वितीय आकर्षणले नेपाल पर्यटनका लागि विश्वमै उत्कृष्ट गन्तव्य मानिन्छ । हिमाल आरोहण, पदयात्रा, धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन भ्रमण गर्न विदेशी पर्यटक आउने गर्छन् । त्यतिमात्र नभई नेपालीको जीवनशैली र आतिथ्य सत्कारमा उनीहरु मोहित हुन्छन् । नेपाल प्रकृति र संस्कृतिको बेजोड संयोजन हो |यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै पनि छैन । यिनै प्राकृतिक र जैविक सम्पदालाई पर्यटकीय बस्तु बनाएर बेच्न सक्नु नै पर्यटन हो नसके होइन | यो अवस्था हाम्रा पर्यटकीय बस्तु चुस्त दुरुस्त बजारीकरण गर्न योग्य बनाउनु पर्ने अवस्था हो |

इतिहाँस

नेपालको इतिहाँसमासन् १९५० भन्दा पहिलाको राणाशासनकालमा विदेशीलाई पर्यटकको रुपमा आमन्त्रण गर्ने नीति नै नभएको हुनाले यसको विकास हुने कुरै भएन । यसै गरि सन् १९७० को दशकमा आएर नेपालमा विभिन्न ठुला राजमार्गहरु बन्न थालेपछि मात्र पर्यटनले व्यवसायिक रुप लिन थालेको हो । सन् १९९० मा राजनैतिक व्यवस्था परिवर्तन भएर बहुदलिय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा आयोजना गरिने बन्द, हड्तालले प्रभावित भएकै थियो । सन् २००० तिर आइपुग्दा इन्डियन एयरलाइन्सको अपहरण, दरबार हत्याकाण्ड, राज्य र माओवादीबीच जनयुद्धकालमा भएको हिंसा, प्रति हिंसा, जनआन्दोल, मधेस जनआन्दोल लगायतका कारणले गर्दा पर्यटनमैत्री वातावरण बन्न सकेन । सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात पुनः घुँडा टेक्न थालेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीहरुको तर्फबाट चुनाबि घोषणापत्रमा प्रतिबद्दता प्राथमिकता प्राप्त क्षेत्र मानिएको थियो । सन् २०११को नेपाल भ्रमण बर्षनयाँ पर्यटन रणनीति, र भ्रमण बर्ष २०२०को तयारीले नेपालको पर्यटन क्षेत्रको बिकासमा अतुलनीय योगदान गरेको छ | तर यो महामारीको कारणले स्थगित गरियो |

नेपालमा सरकारी तवरबाट पर्यटन विकासका लागि गरिएका प्रयासहरुयस प्रकार छन् | वि.सं. २०१६ मा पर्यटन बोर्ड स्थापना, वि.सं.२०१८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन, वि.सं. २०२९ मा पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, वि.सं.२०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना, वि.सं.२०३९ मा निर्माण तथा यातायात मन्त्रालयको हवाई विभागलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राख्ने निर्णय, वि.सं.२०५५ मा हवाई विभागलाई नेपाल नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभाग खारेज गरी नेपाल पर्यटन बोर्ड बनाइयो, वि.सं. २०५७ मा संस्कृत क्षेत्रको समेत कार्य गर्ने गरी सो मन्त्रालयको नयाँ नामकरण गरियो ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’, वि.सं २०७१ भाद्रमा पर्यटन विभागको कार्यक्षेत्र तोकियो। बि स २०७२ सालमा नयाँ संबिधान आयो १४ औं र १५औं योजना मुताबिक पर्यटन व्यवसाय अगाडी बढ्दै छ |

अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण अनुसार २०३२ पुससम्म अर्थात् सन् १९७५ मा पर्यटकको संख्या ९२ हजार ४ सय ४० थियो। २०४२ सालमा १ लाख ८० हजार ९ सय ९८ पुग्यो । त्यसको एक दशकपछि सन् १९९५ मा ३ लाख ६३ हजार ३ सय ९५ पुग्यो । सरकारले नेपालमा अत्याधिक पर्यटक भित्र्याउने उद्देश्यले सन १९९८ मा पहिलो पटक नेपाल भ्रमण वर्ष मनायो । उक्त वर्ष नेपालमा ४ लाख ६३ हजार ६ सय ८४ पर्यटकले भ्रमण गरे । त्यसको १० वर्षपछि सन् २००८ मा ५ लाख २ सय ७७ पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१७ मा भारतीय पर्यटकबाहेक ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका छन। नेपाल भित्रिने पर्यटकको संख्या बढेपनि लक्ष्य अनुसार पर्यटकको सरदर बसाइ अवधि भने उल्टै घटेको छ । ०३२ सालमा प्रति पर्यटकको सरदर बसाई १३.१ दिन थियो । त्यसपछि २०४२ सालमा त्यो बसाई घटेर ११.३ दिन मा झर्यो। २०५२ सालमा ११.२६ दिन, २०६२ सालमा ९.१ दिन प्रति पर्यटकको बसाइ रह्यो । सन् २०१४ मा १२.४४ दिन र सन् २०१७ मा १२.६ दिन प्रति पर्यटकको बसाई अवधि रहेको थियो। सन् २००२ मा प्रति पर्यटक प्रतिदिन खर्च ७९.१ डलर थियो । त्यो सन् २००८ मा ६० डलरमा झर्यो। सन २०१४ मा ४८ अमेरीकी डलर झर्यो भने सन २०१७ मा ५४ डलरमा उक्लिएको थियो। यो स्थिर छैन अर्थात् नेपालको पर्यटन आय अस्थिर छ | यो बन्दको समयमा यस सम्बन्धिसरोकारवालाहरुसंग अनलाइन गोष्ठी छलफल योजना र निर्णय गर्ने हो |

साहसिक पर्यटन

नेपालको साहसिक पर्यटनको इतिहास ६५ वर्ष पुरानो छ। सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । त्यसपछिसन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो (८८४८ मि.) चुम्न सफल भएका थिए । सगरमाथा आरोहण गर्ने प्रयाससन् १९२२ मै सातजना शेर्पाले गरेका थिए अर्थात् हिमाल चढ्न गएका थिए । तर, कोही पनि सकुशल फर्किन सकेका थिएनन्  ।बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले साठीको दशकको सुरुआतदेखि नै हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गराउन सुरु गरेका थिए | सन् ८० को दशकको सुरुआतमै त्रिशूली नदीमा र्‍याफ्टिङ सुरु भयो ।नेपालमा र्‍याफ्टिङ निकै लोकप्रिय छ । डब्लुडब्लुएफका अनुसार नेपालमा ६ हजार नदी तथा खोला ५ हजार ३ सय ५८ वटा ताल ३२ वटा हिमनदी २३ वटा हिमताल ५ हजार ताल १ हजार ३८० जलाधार ५ हजार १८३ वटा पोखरीसहितको सिमसार छन् । यी नेपालका पर्यटकीय सम्पत्ति हुन् |

नेपालका हिमाली पदमार्ग (ट्रेकिङ) विश्वमै चर्चित छ । पदयात्रा शब्दको सुरुआत नै नेपालबाट भएको थियो ।  हालनेपालको अन्नपूर्ण राउन्ड ट्रेल विश्वका उत्कृष्ट पदमार्गमध्ये अग्रस्थानमा पर्छ भने विश्वकै लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’ पनि नेपालमै छ । र्‍याफ्टिङका लागि भोटेकोसी नदी विश्वकै तेस्रो एडभेन्चर हो|हिमाल आरोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य हो । यहाँआठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । नेपाली पर्यटनको विकास हिमाल आरोहणबाटै सुरुआत भएको हो । बर्सेनि हजारौं पर्यटक हिमाल चढ्न नेपाल आउने गरेका छन् ।नेपालको हिमाली तथा पहाडी भेगमा ट्रेकिङका लागि लाखौं पर्यटक आउँछन् । खुम्बु (एभरेस्ट) पदयात्रा, अन्नपूर्ण सर्किट, मनास्लु, रोल्वालिङ, डोल्पा, हुम्ला, घोरेपानी, गोसाइँकुण्ड, बडिमालिका, खप्तड, रारा, फोक्सुन्डो लगायतका ठाउँ पदयात्राका लागि चर्चित हुन् ।१० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्षण एउटा शिकार आरक्षण, ६ वटा संरक्षण क्षेत्र, ११ वटा मध्यवर्ती क्षेत्र छन । नेपालको वन क्षेत्रभित्र पाटेबाघ, एकसिङ्गे गैडादेखि २०७ किसिमका स्तनधारी, ८६७ प्रजातिका चरा ४२ किसिमका उभयचर, १०० प्रजातिका सरिसृप नेपालमा पाइन्छन ।

नेपालमा जंगल सफारी, प्याराग्लाइडिङ, बाइक टुर, क्यानोनिङ, रक क्लाइम्बिङ, हन्टिङ, बन्जी, अल्ट्रा फ्लाइट, जिप फ्लाई, स्काई डाइभ, माउन्टेन फ्लाइट, पनि लोकप्रिय छन्। भारतीय प्रधानमन्त्री मोदीले भनेका थिए, “साहसिक पर्यटनमा रुचि राख्ने विश्वका नौजवानहरूलाई पागल बनाउने तागत नेपालसँग छ” यो सत्यको उजागर हुन बाँकी छ | भारतीयलगानीकर्ताहरुलाईआकर्षण गर्न सकिन्छ |अग्ला झरनामा गरिने क्यानोनिङ र पहाडमा गरिने रक क्लाइम्बिङ पनि उत्तिकै मनोरञ्जनात्मक गतिविधि हुन् । नेपालका विभिन्न ठाउँमा क्यानोनिङ र क्लाइम्बिङ गराइन्छ । यस्तै साइक्लिङ, हाइकिङ, केबुलकार, रिभर हाइक, हन्टिङमा पनि नेपाल चर्चित छ । त्यसैले यी सबै सम्पदाको बारेमा छलफल गरेर तयारी अवस्थामा बस्नु आवस्यक छ | फेक रेस्क्यु जस्तो जघन्य अपराधबाट पर्यटन उद्योग मुक्त हुनु पर्दछ |

ग्रामीण पर्यटन

पाउनाहरूलाई अतिथि देवोभवः भनेर पूजित गर्ने हाम्रो नेपाली संस्कृतिमा आ–आफ्ना घरमा उपलब्ध स्रोत र साधनले आतिथ्यता प्रदान गराउने परम्परा अहिलेसम्म चलिरहेको छ । नेपालको ग्रामीण पर्यटनको विकासबारे विचार गर्दा ग्रामीण क्षेत्रको आर्थिक विकाससम्बन्धी योजनाहरूको क्रिर्यान्वयनमा पनि उचित जोड दिनुपर्ने आवश्यकता छ । त्यसका लागि खास गरेर कृषिको आधुनिकीकरण र सहकारीतामा जोड दिनु जरुरि छ । त्यसरी आर्थिक आधार बलियो  बनाउनु पर्दछ  त्यसपछि मात्र ग्रामीण  पर्यटनविकासले ठोस रूप लिन सक्नेछ |  ग्रामीण क्षेत्रमा आर्थिक विकासको लागि सरकारी स्तरबाट विभिन्न योजनाहरू लागू गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यहरू अगाडि बढाउन प्रोत्साहित गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्दछ । होम–स्टेका नाममा सञ्चालित स्तरहीन गेस्ट हाउस, कटेज वा पाहुनाघरको कडा निगरानी गरी नियमन गर्ने तथा पर्यटकहरूलाई ठगिनबाट जोगाउनु जरुरि छ | स्थानीय सरकारको गहन भूमिका हुने छ |

नेपालको पर्यटन रणनीति २०१६-२०२५लेनेपालका ग्रामीण क्षेत्रहरुका प्राकृतिक, र्साँस्कतिक आर्कषणहरु, रहनसहन, रीतिरिवाज र आतिथ्यतालाई अन्र्तराष्ट्रिय र आन्तरिक पर्यटकहरु माझ प्रवर्धन गर्न, ग्रामिण र दुर्गम स्थानहरुमा बसोबास गर्ने स्थानीयहरुको आय आर्जन र रोजगारीमा अभिवृद्धि गर्न र पिछडिएको समुदायलाई पनि पर्यटन विकासको मूलप्रवाहमा ल्याएर गरीवी निवारणका लागि उपयुक्त मानिएको होम स्टे पर्यटनको विकास, प्रर्वधन र संचालनका लागि यो रणनीतिले विशेष जोड दिएको छ । होम स्टे पर्यटन दर्ताको प्रक्रिया सहज बनाउन पनि यस योजनाले सिफारिश गरेको छ । योजना मुताबिक स्थानीय सरकारबाटै धेरै पहल कदमी गर्नु आवस्यक देखिन्छ |

पर्यटकहरुको आगमन संख्या, बसाईंको अवधि, प्रति पर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र बस्तुहरुको बैज्ञानिक विविधीकरण तथा स्थानिय कला, साहित्य, धर्म, सँस्कृतिको संरक्षण एवंम् विकास गर्दै विश्वपर्यटन बजारमा बजारीकरण गर्नुपर्छ भने दक्ष जनशक्ति विकासमा पनि उतिकै ध्यान दिनुपर्छ । महामारी पश्चात पर्यटनको राम्रो वृद्धि विकास हुने देखिएको छ तर स्थानीय सरकारहरुको तयारी पटक्कै पुगेको छैन | नेपालमा लगभग ४५०० टुर गाइड  मध्ये करिब ६००   तथा १९००० ट्रेकिंग गाइड मध्ये करिब१००० मात्रै टुर तथा ट्रेकिंगको क्षेत्रमा कार्यरत देखिन्छन | अरु कता गए ? २० लाख पर्यटकलाई ६०० गाइडले पुग्छ ? सरोकारवालाहरु उत्साहित भएर तयारीमा जुट्न ढिला गर्नु हुँदैन | नेपाल घुम्फिरकोलागि सुरक्षित् गन्तब्य हो | पर्यटन क्षेत्रमा महामारीबाट सुरक्षित् बस्दै नेपाली संस्कृति अनुसारको नमस्कार स्वागत गर्ने परिपाटीको विकास गरौँ | टोइलेट पेपरको साथै पानी स्यनिटाईजरको प्रयोग गर्न उत्साहित गरौँ | नेपाल सरकारको कर्मचारीलाई खर्च दिएर घुम्न पठाउने योजना उत्कृष्ट योजना हो | यसले शिथिल देखिएको पर्यटन व्यवसायलाई ठुलो राहत मिल्ने छ | फेरी पनि ब्यवसयीको तयारी प्रमुख बिषय बस्तु हो |

जय पर्यटन !

लेखक डा. बिपी बडाल  त्रि. वि. ग्रामीण विकास बिभागमा कार्यरत , स्थानीयपर्यटन विकास योजना बिज्ञ हुनुहुन्छ |

 

Write your Comment


Related News
  • दक्षिणपूर्वी एशियामा पर्यटन किन यति ढिला छ ?
  • पर्यटन उद्योगमा कोभिड १९ ले कति क्षति गर्‍यो ?
  • यि १० देशहरुमा क्वारेन्टाइन बिना भ्रमण गर्न सकिन्छ ? (भिडियोमा हेर्नुहोस्)
  •  विदेशी पर्यटकलाई नेपाल आउन खुला
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी