ताजा समाचार

आज    |   

सम्झना चिनियाँ पाहुनाको समस्या – कोरना भाईरसको



बार्है महिना चिनियाँ पर्यटकको सबैभन्दा ठूला जमात भेटिने काठमाडौ, पोखरा, नगरकोट, चितवन, लुम्बिनी लगायतका पर्यटकीय थलो थला परेका छन् यतिखेर । ब्यापार सुकेरपछि गहनाबिहिन बिधवा जस्ता फिक्का बनेका छन् ।

अरु ठाउँको के कुरा ? ‘मिनी चाइना’ जस्तो लाग्ने प्रमुख पर्यटकीय थलो ठमेलसमेत ठप्प भएको छ । पोखराबाट पुगिने अन्नपूर्ण आधार शिविरसम्मका पदयात्रामा देखिने/भेटिने चिनियाँ पर्यटकको सबैभन्दा ठूलो जमात पनि उसैगरी सुनसानमा परिवर्तन भएकोछ । एकाध चिनियाँ प्रदायक कम्पनी त निश्चित मिति नै तोकेर कार्यलय बन्द गरिसकेका छन् । चौतर्फी सबैलाई नकारात्मक असर खेप्न बाध्य पार्नुको एउटै कारण हो- चीनमा अचानक सङ्क्रामक रूपमा फैलिन पुगेको कोरना भाइरस ।

उता नेपालीको आतिथ्य अंगालोमा कसिन चाहने कतिपय चिनियाँ पाहुनाहरू त्यसैगरी बिलखबन्धको भुमरीमा परेका छन् । बुकिङ रद्द भएपछि आ-आफ्नो सुरक्षामा सतर्कता अपनाउन मै हैरान छन् । अर्थात् कोरोना भाइरससँग जुधिरहेका छन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्यको रोमाञ्चक घुमघामको आनन्द बटुल्ने धोको बोकेकाहरूलाई ठूलो धोकामा परिणत भैदियो । कतिपय घरभित्रै थुनिएर/अलग्गिएर बस्न बाध्य भए । सर्वाधिक महत्त्वपूर्ण र ठूलो चाड छुन चिए अर्थात् वसन्त उत्सव)को रौनकलाई मात्र गुमाएनन् तिनीहरूले । चिनियाँ नागरिक बसन्त चाडको बेला पारिवारिक पुनर्मिलनबाट आपसमा आत्मीक सुख साट्नुको सट्टा टेलीफोन, भिडियो लगायतका ईन्टरनेटका बिधाहरूमा खुम्चन बाध्य भए, टाढै रहेर । प्राप्त सर्वाधिक बढी छुट्टी सदुपयोगका निम्ति नेपाल लगायत बिदेश भ्रमणको अपूर्व अवसर पनि चुकाउनु पर्यो ।

भर्खरैको अध्यावधिक समाचारनुसार- चीनको उहान शहरबाट सुरु भएको कोरना भाइरसले त्यहाँ हालसम्म करिब २ हजार ७४७ जनाको ज्यान लिइसकेको छ । यो लेख प्रकाशित गर्दाको समयसम्म चीनमा जम्मा ७८ हजार ४९९ निश्चित भैसकेको संक्रमितमध्ये ३२ हजार ५८० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमितको संख्या अझै थामिएको छैन । तर केही समय यता संक्रमित हुनेको तुलनामा निको हुने संख्याले तीब्रता लिदैछ । जसको जस भाइरसको प्रतिरोध र रोकथामका निम्ति चीनले स्वास्थ्य प्रति संबेदनशील भएर सम्हालेको नेतृत्वलाई जान्छ । कार्यान्वयनमा कुनै कसर नराखि देखाएको प्रभावकारी दुरदर्शीतालाई जान्छ ।

गत डिसेम्बरमा चीनमा देखापरेको यो नरसंहाररुपी भाइरस अहिले बाहिरी मुलुकहरूमा फैलने क्रममा छ । गत सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण फेला पर्यो । हिजो बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डले कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताए । त्यस्तै स्पेन, जर्मनी र फ्रान्समा पनि थप सङ्क्रमणका घटना सार्वजनिक भएका छन् । चीनको एक तथ्याङ्कनुसार- ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको छ । बिरामी तथा वयोवृद्धमा बढी जोखिम भएको देखाइएको छ ।

आजसम्म चीन बाहेकका ४८ मुलुकमा पुगिसकेको आधिकारिक पुष्टि भएको छ । दक्षिण कोरियामा १ हजार ९५ संक्रमितमध्ये १३, जापानमा १ सय ८९ संक्रमितमध्ये ३, इटालीमा ४ सय ७० संक्रमितमध्ये १२, इरानमा १ सय ३९ संक्रमितमध्ये १९, हङकङमा ८९ संक्रमितमध्ये २, फ्रान्समा १८ संक्रमितमध्ये २ ब्याक्तिको ज्यान लिइसकेको छ । त्यसैगरी अमेरिकामा ६०, ताइवानमा ३२ र फिलिपिन्समा ३ संक्रमितमध्ये प्रत्येक मुलुकमा १/१ ब्याक्तिको मृत्यु भैसकेको छ ।

अर्को वाक्यमा, ४८ बाहिरी मुलुकमा फैलिएको कोरना भाइरसले थप ३ हजर भन्दा ६८६ भन्दा बढीलाई संक्रमण गरिसकेको छभने ५७ भन्दा बढी मानवको ज्यान लिइसकेको छ ।स्वासप्रस्वासको समस्या उत्पन्न गराउने यो कोभिड-१९को प्रकोप पहिलो पटक दक्षिण कोरिया, इरान र इटली लगायत पश्चिमी मुलुकहरूमा तीब्र गतिमा वृद्धि भैरहेको छ । भाइरस विश्वभर महामारीका रूपमा फैलन सक्ने सम्भावना पनि देखिएको छ । जसले मानव जगतमा थप चिन्ता र चुनौती बढाएको छ ।

म भने यतिबेला पुनर्जागृत गरेर भरपूर आनन्द लिदैछु । चिनियाँ पाहुनासंगका पूर्व मिलनलाई । ती संगसंगै घुमेका तस्वीरहरूमा हराएर, ती मीठा बातहरूमा पुरिएर, ती उठबसहरूमा उडान भरेर । ती ताजगी काउकुतिहरूमा उर्जा बटुलेर, ती सम्झनाका कुराहरूमा साटिएर । अहिले तिनै संगालिएका अनुभव नियाल्दै आफ्नै दुनियाँमा आनन्दविभोर बनिरहेकोछु । एकपछि अर्को अतीतका अविस्मरणीय क्षणको सुन्दर फूल फक्राउदैछु । राज गराउदैछु, मन र शरीर दुबैमा भावनात्मक रोमान्चकताको ।

दराज खोल्दा पुराना फाइलभित्र थुप्रिएका थरीथरीका कागजपत्रझै स्मृतिले भरिएका पात्रहरू पाइरहेकोछु । चिनियाँ पाहुनासंगको सम्झना मेरो जीवनसंग नङ र मासु जत्तिकै नजीक भएकोरहेछ । सम्झना न हुन्, कहिले आत्मीय आफन्त भएर सर्लक्क मनमुटुमा टासिन्छ्न् । कहिले बलियो जन्जिर बनेर फनफनी आफैमा बेरिन्छन् । कहिले अमूल्य गहना बनेर टलक्क गलामा बेरिन्छन् । सम्झना त समुन्द्र रहेछ, जति पानी उबाए पनि कहिल्यै नरित्तिने । जति ताने कहिल्यै नसकिने, बतास पनि त रहेछ सम्झना । रुमानी मनलाई आफैले छुदा पनि मन परेको मान्छेले छोएजस्तो आनान्दको अनुभूति कोपिलाउनुमा पो अपार आनन्द रहेछ कि क्या हो ?

पाहुनाका रुपमा चिनियाँलाई दिलैदेखिको सेवासत्कारमा हतारिने होटेल, रेस्टुरेन्ट मात्र होइन । पर्यटक घुमघाम कर्ममा प्रमुख भूमिका निर्वाह गर्ने पर्यटक प्रदर्शक(गाइड), पर्यटक बस, सवारी चालक, ट्राभल कम्पनी, हरेक स्वदेशी-विदेशी सामान उपलब्ध गराइदिने बिक्रेता, साथै माउन्टेन फ्लाइट, प्यारा ग्लाइडिङ जस्ता साहासिक तथा रोमाञ्चकारी चिजबिज उपलब्ध गराउने कम्पनी लगायतका संबंधित सबै क्षेत्र नराम्रोसंग प्रभावित भएका छन् ।

नेपालको पर्यटनका लागि ठूलो बजार मानिएको चीनमा अपर्झट देखापरेको यस जटिल संकटले नेपाली पर्यटन क्षेत्रमा सीधा असर देखा परेको छ । चीनबाट नेपाल आउने र नेपालबाट चीन जाने हवाई उडानमा कटौती हुनासाथ चिनियाँ पर्यटक घटेसँगै आन्तरिक विमान सेवाको पनि आम्दानी घटेकोछ ।

चिनियाँ पर्यटकले धमाधम बुकिङ रद्द भएपछि पोखराका होटलहरूमा पर्याप्त पर्यटक छैनन् । झन्डै शतप्रतिशत चिनियाँले बुकिङ रद्द गरेको अनुमान छ । होटलहरूको व्यवसाय अहिले करीबकरीब ठप्प छ । कोरोनाको असर लुम्बिनी र आसपासको पर्यटन व्यवसायमा पनि परिसकेको छ । लुम्बिनीमा बौद्ध धर्मावलम्बी आउने सिजन हो यो । तर त्यहाँ पनि बुक गरिएकामध्ये ५० प्रतिशत कोठा रद्द गरिएको समाचार आइरहेका छन् । सौारहामा भने आंशिक असर परेको बताइन्छ ।

पर्यटन क्षेत्र लगायत अन्य व्यवसायलाई धक्का लाग्ने मात्र होइन । कोरोनाको संक्रमण लम्बियोभने आर्थिक र वित्तीय जोखिम अझै बढ्ने देखिन्छ । स्थल, समुद्र र हवाईमार्गबाट हुने व्यापार सबै ठप्प जस्तै छन् । अहिले सुन, लसुन लगायत केही आयातित वस्तुमा मात्रै महँगी बढेको छ । यो समस्या थप केही हप्तासम्म पनि नियन्त्रणमा आएन भने चीनबाट आयात हुने अन्य सामानको कमी हुन जानेछ । जसको कारण मूल्य पनि आकाशिने निश्चित छ ।

नेपालको मात्र के कुरा ? कोरोनाभाइरसको प्रकोपबाट प्रभावित बाहिरी मुलुकहरूको अवस्था पनि त्यस्तै छ । शैक्षिक संस्थाका साथै सिनेमा हल बन्द गरिएका छन् भने कैयौँ सार्वजनिक कार्यक्रमहरू भकाभक रद्द भएका छन् । रातमा पनि चहलपहल भैरहने शहरहरू दिउसै सुनसानमा परिणत हुदैछन् । यसबाट अवस्य अन्तरास्ट्रिय आर्थिक वृद्धिमा पनि गिरावट ल्याउने नै छ ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी