आज    |   

रोकिएन साना वन्यजन्तुको तस्करी, नेपाल घुम्न आउने पर्यटकले हेर्ने के ?



नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन । सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो विश्वभर कायम रहँदा वन्यजन्तु चोरी तस्करीमा कमी आउन नसकेको हो ।
एक तथ्याङ्क अनुसार विश्वभर २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुने गरेको छ । जसमध्येको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकमार्फत हुने गरेको छ । अवैध गतिविधि रोक्दै संरक्षणमा भारतसँग साझेदारी गर्न नेपाल र भारतबीच दुई देशीय सम्झौता गर्ने तयारी भएको छ तर सीमापार समस्या समाधान गर्ने विषयका केही मुद्दामा दुई देशको मत मिलाउने प्रयास भइरहेको छ ।
सम्झौताको दस्तावेज वन तथा वातावरण मन्त्रालयमा पुगे पनि भारतले नेपालको तर्फबाट थप गरिएका केही बुँदापछि जवाफ नदिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले बताउनुभयो । चीनसँग भने सन् २०१० मा सम्झौता भएर काम अगाडि बढेको छ । उहाँका अनुसार ठूला वन्यजन्तुको चोरी सिकार नेपालमा पछिल्लो समय फाट्टफुट्ट भए पनि एकसिङे गैँडाको चोरी सिकार ठ्याक्कै रोकिएको छ । उहाँका अनुसार केही दिनअघि दाङमा बाघ मारेर छाला र हड्डी भेटिएको पछिल्लो एउटा मात्र घटना हो ।

साना वन्यजन्तुप्रति अपराध
नेपालमा भने सशस्त्र द्वन्द्वताका र उच्च राजनीतिक तरलता कायम रहेका बेला वन्यजन्तु तस्करी र अपराधका घटना निकै उच्च रहेको देखिन्छ तर विस्तारै स्थिरता बढ्दै जाँदा वन्यजन्तु तस्करी र ओसारपसारका घटनामा समेत न्यून हुँदै तथ्याङ्कले बत(ाउँछ । आर्थिक वर्ष २०७४÷७५ मा वन र वन्यजन्तुसम्बन्धी जम्मा १०७ वटा मात्र मुुद्दा दर्ता भएका थिए । त्यसमा वन्यजन्तुसम्बन्धी ६३ वटा र वनसम्बन्धी ४४ वटा मुद्दा रहेका थिए । जस अनुसार ३०३ जनामाथि कारबाही भइरहेको छ ।
तराई जोडिएका संरक्षण क्षेत्र, निकुञ्ज र आरक्ष क्षेत्रबाट बढी मुद्दा परेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ  । सगरमाथा, रारा, खप्तड राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा, कृष्णसार, मनास्लु, अपिनाम्पा संरक्षण क्षेत्रमा वन्यजन्तु अपराधका कुनै पनि मुद्दा दर्ता भएका छैनन् । त्यसअघि अघिल्लो आर्थिक वर्षमा कुल ११४ वटा मुद्दा दर्ता भएका थिए  ।
सशस्त्र द्वन्द्वको दस वर्ष र त्यसपछिका पाँच वर्ष ताका दुर्लभ एकसिङे गैँडा, पाटेबाघ, हात्तीलगायतका ठूला वन्यजन्तुको चोरी सिकार बढी हुने गरेका थिए । पछिल्लो समय त्यस्ता ठूला दुर्लभ वन्यजन्तुको चोरी सिकार शून्यजस्तै बनेको छ तर साना दुर्लभ वन्यजन्तुको चोरी सिकारमा भने कमी आउन नसकेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा माछा मार्ने, बर्दियामा चित्तल, जरायो, दुम्सीजस्ता वन्यजन्तु चोरी सिकार गर्ने क्रम जारी छ । त्यस्तै मकालु, बरुण र लाङटाङ क्षेत्रमा कालो भालु, रेडपाण्डा, कस्तुरी मृगलगायतका वन्यजन्तुको अङ्ग ओसारपसार गर्ने गिरोह अझै सक्रिय रहेको छ ।
वन्यजन्तु अपराध नियन्त्रण शाखाका अनुसार संरक्षित क्षेत्रबाहेक जिल्ला वन कार्यालयमा समेत वन्यजन्तु अपराधका मुद्दा दर्ता हुने गरेका छन् । जसअनुसार विभिन्न वन कार्यालयमा ४९ वटा मुद्दा दर्ता भए । काठमाडौँस्थित वन कार्यालयमा भने ५९ वटा छुट्टै मुद्दा दर्ता भएको पाइन्छ । रेडपाण्डाको छाला, सालकको खपटा विभिन्न प्रजातिका जीवित चरा र मृगको छाला ओसारपसार, भालुको पित्त, बाघको छाला, बँदेलको सिकार र गँैंडाको खाग ओसारपसार, गौरीगाईको सिङ र कस्तुरीको बीना ओसारपसार भएका देखिन्छन् ।
विगतको तथ्याङ्कसँग तुलना गर्ने हो भने सशस्त्र द्वन्द्वताकाका तथ्याङ्क कमै मात्र उपलब्ध रहे ।

देशमा शान्ति कायम भएपछि उपलब्ध आर्थिक वर्ष २०६५÷६६ मा १८ वटा गैँडामध्ये नौवटा चोरी सिकारीको सिकार भएका थिए । दुईवटा कसरी मारियो भन्ने पत्ता लागेको थिएन । बाँकी सातवटा भने कालगतिले मरेको दाबी छ । आर्थिक वर्ष २०६७÷६८ मा दुर्लभ एकसिङे गैँडा २५ वटा मरेकामा १० वटा चोरी सिकारीले मारेको पुष्टि भएको थियो । त्यसबेला प्रतिवादी पक्राउ न्यून थियो । जम्मा ६७ जना मात्र पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०६७÷६८ ताका साउथ एसियन वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्कको गठन र विज्ञ कार्यदलको गठन समेत अन्तर्राष्ट्रिय स्तरमा भइरहेको वन्यजन्तु चोरी सिकार नियन्त्रणका लागि थियो । त्यही साल बाघ संरक्षण समिति गठन गरेर संरक्षण थालियो । त्यो साल १८ वटा गैँडा मरेकामा दुईवटा चोरी सिकारीले मारेको, दुईवटाको पुष्टि हुन नसकेको जनाइएको थियो ।
एउटा पाटेबाघ समेत चोरी सिकारीले मारेको थियो । हिउँचितुवा, मस्कडियर, कालो भालुसहितका वन्यजन्तुको सिकार भएका थिए । आर्थिक वर्ष २०६८÷६९ मा भने शून्य चोरी सिकार वर्ष घोषणासँगै संरक्षणमा कडाइ गरिएको थियो । गैँडाको सिकार भएको घटना बाहिर नआए पनि हिमाली कालो भालु, घोरल, सालक, जङ्गली हात्ती, गौरीगाई, दुम्सीलगायतका वन्यजन्तुको सिकार भएको तथ्य आएको थियो । कुल १३८ जना पक्राउ गरी कारबाही अघि बढाइएको थियो । विभिन्न स्थानबाट १३५ थान भरुवा बन्दुकसहितको हतियारसमेत जफत भएका थिए । विभिन्न १९ जिल्लामा वन्यजन्तु अपराध ब्युरो गठन गरेर नियन्त्रण प्रयास यही वर्ष सुरु भयो । संरक्षणमा आधुनिक ड्रोन, कुकुरको थप प्रयोगलाई बढावा दिइयो ।
आर्थिक वर्ष २०७०÷७१ मा संरक्षण क्षेत्रमा चोरी सिकार निमिट्यान्न पार्न ‘महाहन्ट अपरेसन’ नै सुरु गरियो । सन् २०११÷१३ मा जस्तै शून्य चोरी सिकार वर्ष २०१५ सम्म मनाउन पहल सुरु भयो तर त्यही साल एउटा गैँडा चोरी सिकारीले मारेको थियो । कुल १६० मुद्दा दर्ता भएका र १६४ जना पक्राउ परी कारबाहीको दायरामा आएका थिए ।
आर्थिक वर्ष २०७१÷७२ मा आइपुग्दा १४ वटा गैँडा मरे पनि सबै कालगतिले मरेको पाइएको छ । चोरी सिकारीले गैँडा मार्ने क्रम रोकिएको देखिन्छ । त्यस्तै मरेका चारवटा बाघ, तीनवटा हात्ती पनि कालगतिले नै मरेको जनाइएको छ ।
त्यही आधारमा २०७४÷७५ को विश्लेषण गर्दा चितुवा, सालक, रतुवा, चित्तल, नीरबिरालो, लाटोकोसेरोजस्ता वन्यजन्तु मार्ने क्रम रोकिएको छैन । घुमी हिँड्ने बन्जारा समूहले समेत वनबिरालो, न्याउरी मुसा, मलसाप्रो, सालक, सर्प, लोखर्के, चरा आदि मार्ने क्रम रोकेका छैनन् ।
नियन्त्रणको दाबी
विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले ठूला वन्यजन्तुको चोरी सिकार केही नियन्त्रणमा आएको दाबी गर्नुभयो । मुद्दा दायर नहुँदा घटेको हो वा वास्तवमै घटेको हो त्यो भने थप अनुसन्धान र विश्लेषणको विषय रहेको उहाँ बताउनुहुन्छ । “यसरी चोरी सिकार घट्नु खुसीको कुरा हो तर घट्यो भनेर सन्तुष्ट भएर बस्ने अवस्था छैन,” उहाँ भन्नुहुन्छ, “चोरी सिकारी गर्ने गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल सक्रिय छ जतिखेर पनि यो बढ्न सक्छ ।”
चुनौतीपूर्ण बनेको वन्यजन्तु चोरी सिकार न्यून हुनुमा भने संरक्षणकारी निकाय, नेपाली सेना, प्रहरी र समुदायको सामूहिक प्रयास कारक रहेको उहाँ प्रस्ट्याउनुहुन्छ । “सङ्क्रमणकालीन अवस्थामा सुरक्षा र देशकै ध्यान मानिसको ज्यान जोगाउनमा केन्द्रित रह्यो, त्यसैले वन्यजन्तुको चोरी सिकारमा गिरोहको सक्रियता बढ्यो”, उहाँ थप्नुहुन्छ । जनताले पनि सामूहिक हातेमालो गरेर सूचना र संरक्षणमा साथ दिन नसक्ने अवस्थाका कारण विगतमा चोरी सिकारले सफलता पाएको उहाँको भनाइ छ ।
उहाँका अनुसार हरेक वन्यजन्तुको अस्तित्व प्रकृतिमा बराबर हुन्छ । त्यसैले पनि पछिल्लो समय भइरहेको वन्यजन्तु र तिनका अङ्गको ओसारपसार ठूला जनावरको जत्तिकै निन्दनीय रहेको छ । हिउँचितुवा, सालक, कछुवाजस्ता वन्यजन्तु बारम्बार तस्करी भएको खबर आउनु दुःखद रहेको उहाँ बताउनुहुन्छ । रेडपाण्डा र चराको तस्करी पनि विगतका तुलनामा कम भएको अनुमान भट्टराईको छ ।

वन्यजन्तु अपराध
वन्यजन्तुको अपराधअन्तर्गत वन्यजन्तुको अवैध सिकार र अवैध व्यापार दुवै पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, (पाँचौँ संशोधन)अनुसार वन्यजन्तु भन्नाले घरपालुवाबाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पन्छी, घस्रिने जन्तु, माछा, भ्य(ागुता र कीरा फट्याङ्ग्रालाई सम्झनु पर्दछ । त्यसैगरी सिकार भन्नाले कुनै वन्यजन्तु जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दुःख दिने, मार्ने वा सो गर्न प्रयत्न गर्ने वा त्यसको शरीरको कुनै अङ्ग झिक्ने वा नष्ट गर्ने वा त्यसको फुल, गँुड झिक्ने, नष्ट गर्ने वा खलबल गरिदिने कामलाई जनाउँछ । सोही ऐनको दफा ५ (१) (क) अनुसार अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्र वन्यजन्तुको सिकार गर्न वा आखेटोपहार ओसारपसार निषेध गरेको छ । त्यसैगरी वन ऐन २०४९, (दोस्रो संशोधन)अनुसार राष्ट्रिय वनमा सिकार गरेमा र सो गर्ने गराउने उद्योग गरेमा कसुर गरेको मानिनेछ भनेको छ । त्यसैगरी सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐनमा दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुने उल्लेख छ ।
नेपालमा मुख्यतया बाघ, गैँडा, हिँउचितुवा, ध्वाँसेचितुवा, कस्तुरी, मृग, हिमाली कालो भालु, काठे भालु, सालक तथा हाब्रेको चोरी सिकारी तथा अवैध व्यापार हुने गरेका छन् ।

चोरी सिकार हुने क्षेत्र
चितवन, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई गैँडा, पाटेबाघ तथा चितुवाको अवैध चोरी सिकार हुने क्षेत्र मानिन्छ । मकालु बरुण, सगरमाथा, लाङटाङ, से–फोक्सुण्डो, खप्तड, रारा राष्ट्रिय निकुञ्ज तथा कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण र अपिनाम्पा संरक्षण क्षेत्र हिउँचितुवा र कस्तुरी, मृगको चोरी सिकार हुने क्षेत्र हो । कोसीटप्पु वन्यजन्तु आरक्षलाई चित्तल, बँदेल तथा सालकको अवैध चोरी सिकार हुने क्षेत्रको मानिन्छ ।

नाका र मार्ग अनेक
ओलाङ्चुङगोला, किमाथान्का, लामाबगर, मनास्लु, रसुवागढी, टिमुरे, कोरला, तातोपानी, हिल्सा, डोल्पा, बाजुरा, दार्चुला, टिङ्कर, इलाम, काँकडभिट्टा, विराटनगर, हरिपुर, वीरगञ्ज तथा महेन्द्रनगरबाट वन्यजन्तुका आखेटोपहार अवैध रूपमा भारत तथा चीन जाने शाखाले जनाएको छ ।
भारततर्फ धार्चुला, पिथौरागढ, टनकपुर, लखिमपुर, बहराइच, रुपैडिया, सुनौली, वाल्मीकि, रक्सौल, वीरपुर, जोगवनी, दार्जीलिङ, पानीट्याङ्की, सिलिगुढी र खरिबारी मुख्य नाका हुन् । चीनतर्फ भने ताक्लाकोट, खासा, केरुङ र खाम्जिङ नाका मुख्य मानिन्छ । वन्यजन्तुको अवैध व्यापार मार्गमा कोसी ब्यारेजबाट भीमनगर र भारतको वीरपुर, भारदह हँुँदै कुनौली र निर्मली भारतको मधुवन, त्यस्तै हिले–चैनपुरबाट किमाथान्का, पाँचथर हुँँदै ताप्लेजुङबाट ओलाङ्चुङगोला, काठमाडौँबाट रसुवागढी, तातोपानी र लाम(ाबगरको मार्ग पहिचान भएको छ ।
ठोरी र भिखना ठोरीहुँँदै त्रिवेणीबाट भारतको भैँसालोटन, बझाङहुँदै तिब्बत चीनको बुराङ, महेन्द्रनगर–धनगढीहुँदै गौरीफन्टाबाट भारतको पलिया, कोठियाघाटबाट धनौरा, निशानगाँडा, मूर्तिया, मग घोटनाहँुँदै भारतको रुपैडियामा वन्यजन्तुको अवैध व्यापार हुने गरेको छ । शुक्लाफाँटाबाट भारतको लग्गाबग्गासम्म तस्कर पुग्ने गरेको दाबी गरिन्छ । आजको गोरखापत्रमा चाँदनी हमाल ले समाचार लेख्नुभएको छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी