२०७८ कार्तिक ७, आईतवार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

पर्यटनको लागि भुजुङ उत्कृष्ट गन्तव्य

२०७८ कार्तिक ७, आईतवार

पर्यटनको लागि भुजुङ उत्कृष्ट गन्तव्य

के.बि.मसाल
लमजुङ हिमालको काख, मिदीम खोलाको उदगमस्थलमा प्रकृति तथा सांस्कृतिले भरिर्पूण भुजुङ गाउँमा ४०० घरधुरी एकै ठाउँमा गुजुमुज्ज परि बसेका छन् । परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानी, लोपोन्मूख कुुुसुण्डा घाँटु, कृष्णचरित्र, सेर्गा, ध्याप्री, पच्यू, सोरठी जस्ता सांस्कृतिक नृत्य भुजुङमा देख्न पाइन्छ । छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक घुमाउने घर पनि भुजुङमा देख्न सकिन्छ । भुजुङ पुग्ने पर्यटकले लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि चाहाना हुनेका लागी कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन पाउछन । भुजुङबासीले देशको कानुन मान्दछन तर आफैले बनाएको गाउँको कानुन प्रयोग गर्दछन ।

अहिले नेपालको गण्डकी प्रदेशमा पर्ने भुजुङ पुगेपछि पर्यटकहरु प्रकृतिसंग रमाउन थाल्दछ । प्राकृतिक छटाले भरिपुर्ण घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण पाइन्छ भुजुङमा । हिमाली स्वच्छ हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरु, दक्षिणतर्फ नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरना यो दृष्यले कस्को मन आनन्दित नहोला ? भुजुङ गाउँवाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरुले वास्तवमा भुजुङ गाउँलाई स्वर्ग जस्तै बनाएको छ । कला संस्कृतिलाई नजीकवाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा पु¥याउनको लागी एक पटक भुजुङ गाउँ पुग्नै पर्दछ ।

भुजुङ अहिले अहिले क्व्होलासोथार गाउँपालिका–४ मा पर्दछ । अहिले धेरै स्थानीय तहहरुनाम जनजाती, प्राकृतिक, ऐतिहासिक जस्ता नाम बाट राखिएको छ । बिभिन्न भूगोलमा रहने जनजातीहरुको आफ्नो भाषा हुने हुदा फरक भूगोलकाले ती शब्द नबुझने मात्र होइन, जनतातीको भाषा देवनागरिक लिपिमा लेख्दा उच्चारण गर्न नै मुश्किल पर्दछ । झन त्यसको अर्थ कसरी बुझने ? क्व्होलासोथार को शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो ।

गुजुमुज्ज परेका चिटिक्क परेका घरहरु । गाउँ भित्रका ढुँगा विछ्याइएका सफा बाटाहरु । एउटै गाउँले परिचित लमजुङको भुजुङ गाउँ अन्य गाउँहरु भन्दा रमाइलो र भिन्न देखिन्छ । ग्रामीण पर्यटकीय भुजुङ गाउँमा आफैँ कानुन बनाइन्छ र लागु गरिन्छ । हरेक वर्ष भदौ महिनाको अन्तिम सातामा गाउँमा ‘भदौ सभा’ बसेर एक वर्षका लागि गाउँमा कानुन निर्माण गरिन्छ । सभाले नीति नियम बनाउनुको साथै विभिन्न बस्तुको मुल्य समेत तोक्दछ । भुजुङगाउँले आफैंले गाउँमा उत्पादित जुनसुकै बस्तुहरुको भाउ अर्थात मुल्य भदौ सभाले तोक्छन र कार्यन्वयन गर्छन । स्थानीय रीतिस्थिति व्यवस्थापनको लागी आयोजना हुने भदौ सभामा प्रत्येक घरधुरीबाट १÷१ जना सहभागी हुुन अनिवार्य गराइन्छ ।

भुजुङ गाउँ लोडसेडिङमुक्त गाउँ हो । उनीहरुलाई लोडसेडिङको चिन्ता छैन । गाउँमा कुनै पनि बेला बिजुलीको लाइन जाँदैन । सहर बजारको लोडसेडिङ भुजुङ गाउँका लागि नयाँ र नौलो विषय बन्छ । यदाकदा सञ्चार माध्यममा सुनिने लोडसेडिङ शब्द उनीहरुले सहर बजार झरेपछि मात्र थाहा पाउदछन् । गाउँमा लोडसेडिङको न कुनै चर्चा छ न कुनै चिन्ता नै । गाउँलेहरुले ०५६ सालमा आफ्नै श्रमदान र विभिन्न सघं÷सस्थाबाट सहयोग जुटाएर गाउँकै मिदिम खोलाबाट ८० किलोवाट क्षमताको बिजुली निकालेका छन । विकासका लागि आफ्नो श्रम र सीपलाई सदुपयोग गरेका भुजुङबासीले १७ वर्षदेखि बिजुली उपभोग गर्दै आएका छन् ।
भुजुङ गाउँ लमजुङको ग्रामीण भेकमा पर्ने सुन्दर बस्ती हो । यो गाउँ लमजुङ हिमालको काखमा छ । समुद्री सतहदेखि १ हजार ६०० मिटर उचाइमा भुजुङ गाउँ रहेको छ । मिदिम खोलाको पारिपट्टि रहेको कमा गाउँबाट भुजुङलाई रातको समयमा नियाल्दा झिलिमिली सहरजस्तो देखिन्छ । यहाँ समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ । यो गाउँ पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोँजे गाउँसम्म फैलिएको छ । गाउँको उत्तर दिशातर्फ चाहिँ हिमाली काखमा रहेको ठूलो खर्क छ । यहाँबाट विभिन्न हिमशृंखला पनि देख्न सकिन्छ । ९८ प्रतिशत गुरुङको बसोबास रहेको भुजुङ गाउँ करिब ७०० वर्ष पुरानो भएको मानिन्छ ।
हिम शिखरबाट बग्ने मिदिम खोलाको किनारमा खेतका ठूला फाँट, झरना, चिया बगान, गुरुङ संग्रहालयले भुजुङ गाउँलाई थप आकर्षण बनाएको छ । मिदिम खोलाको शिर मानिने यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्छ । भुजुङ पुग्ने पर्यटकहरुले त्यहाँको प्राकृतिक दृष्यलाई आँखा र क्यामरामा कैद गर्दैमा समय बितेको पत्तोनै पाउँदैनन् । सुन्दा कुनै कथाजस्तो लाग्ने भुजुङमा गोलाकारका परम्परागत घरहरु, घना जंगलभित्र रहेका विभिन्न प्रजातिका चराचुरुङीको मिठो चिरबिर र सिरसिर बग्ने चिसो हावाले निकै आनन्द गराउछ । सिजनमा गरिने भीर माहुरीको सिकार, सन्तानेश्वर महादेव, हरिया फाँटहरु गाउँका आकर्षणका केन्द्र हुन् ।
सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय गाउँ घलेगाउँबाट डेढ घण्टाको पैदल यात्रापछि भुजुङ पुग्न सकिन्छ । गाउँलेले गरेको सामूहिक चियाखेतीले पश्चिमाञ्चलमै इलामको झल्को दिन्छ भने सेता काइयो झरनाको संगीतमय झन्कार र वनपाखामा लोपोन्मुख काँडे भ्याकुरहरु सजिलै हेर्न सकिन्छ । कालिज, लुइँचेजस्ता चरा र मृग, कस्तुरीजस्ता जनावर देख्न पाउँदा जो–कोही पर्यटक लोभिने गर्दछन । ग्रामीण पर्यटन गाउँ भुजुङको आकर्षण, सांस्कृतिक सम्पदा र कला संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ भुजुङबासीले गाउँको प्रचारप्रसार गरिरहेका छन् । भुजुङका १८ घरमा सुविधासम्पन्न होमस्टे छन् । यहाँका बासिन्दाले पशुमा भैंसी, बाख्रा, भेडा र पन्छीमा कुखुरा पाल्छन् । यहाँ वन्यजन्तु तथा पशुपन्छीको चोरीसिकारी गर्न बन्देज लगाइएको छ । सदरमुकाम बेंसीसहरबाट अहिले भुजुङसम्म जिप चल्छ । वेसिशहरबाट करिब ३६ किलोमिटर बाटो दुरीमा भुजुङ पर्दछ । सुबिधाको लागी ४ घन्टामा जिप चढेर अथवा ७–८ घन्टाको पैदल यात्रामा भुजुङ पुग्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले भुजुङको ग्रामीण पर्यटन प्रर्वद्धनका लागि सघाउँदै आएको छ । होमस्टे सर्वे, अवधारणा, खानाका परिकार बनाउने तालिम, सरसफाइ, खानेपानी, शौचालय निर्माण र होमस्टे व्यवस्थापन अवलोकन भ्रमणलगायत कार्यमा एक्यापले सहयोग गर्दै आएको छ ।

यतिखेर भुजुङ ग्रामीण पर्यटनको केन्द्र बनेको छ । आन्तरिक पर्यटन मात्र होइन लमजुङको बेसिशहर पुगेपछि वाह्य पर्यटकहरु पनि घलेगाउँ र भुजुङ जान रुचाउछन । चिटिक्क परेको सुन्दर गुरुङ जातीको बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम, गुरुङ भाषामा बोलीचाली पाउदा भुजुङ पुग्ने पर्यटकहरुलाई नौलो अनुभुति हुन्छ । भुजुङगाउँ पुगिसके पछि साच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव गर्ने सबै पर्यटकलाई मौका मिल्छ । यहाँको संस्कृति, कला र गाउँलेहरुको ब्यवहारले सबै दगं पर्दछन । भुजुङगाउँमा पुग्न सबै पर्यटकहरुलाई गाउँका सबैजना मिलेर स्वागत सत्कार गर्ने गर्दछन् । स्वागत गर्ने बेलामा स्थानीय भाषाका बिभिन्न किसिमका गुरुङ भाषामा गित गाउदै स्वागत गरिन्छ । त्यस पछि गाउँमा कसको कसको घरमा कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ ।

भुजुङको इतिहासलाई हेर्दा गुरुङहरूको मूल थलो क्होला पतन पश्चात् गुरुङ जातिका पम र प्हज्यू भाइखलक चिसा हुँदै विजोँ (भुजुङको माथिल्लो डाँडा) मा आइपुगेको भनाइ छ । यो करिब ५०० वर्षभन्दा पहिलेको भन्ने अनुमान छ । चैँबर प्रजातिका गुरुङसँग पम र प्हज्युको विजोँमा भेट भएपछि आपासमा कुरा बाझियो । कहिल्यै नभेट्ने बाचासहित कालो पोथी कुखुरा काटेर चैँबर र दुई भाइले आ–आफ्नो बाटो तताएका थिए । चैँबर जातिका गुरुङ डाँडैडाँडा (घनपोखरा, घलेगाउँ तर्फ) गए भने प्हज्यू र पम पन्यूमा आएर बसे । केही दैनिक असुविधाका कारण त्युजू भन्ने ठाउँमा बसाइँ सरे । जीवन गुजार्ने क्रममा पश्चिमका स्योँड म्हिगी गुरुङहरुले तिनका घरपालुवा जनावरलार्ई काटेर खाइदिने, लुटपाट गर्ने, कुटपिट गर्नेलगायतका अत्याचार गर्न थाले । त्यो सहन नसकी दुई गुरुङहरुले लेम प्रजातिका गुरुङलाई खोजेर ल्याए । लेमले भक्यौँलाका चिल्ला खुकुरी तथा तरबार बनाएर शत्रुलाई देखाएपछि उनीहरु पसगाउँ र सिङदीतर्फ भागेको इतिहास छ । ती दुई त्युजूमा बस्न उचित नठानी अहिलेको भुजुङमा बसोवास गरे ।

गुरुङ भाषामा मृगलाई ‘फो’ र व्यापारलाई ‘छोँ’ भन्ने गरिन्छ । त्यतिबेला भुजुङमा मृगको व्यापार हुन्थ्यो । मृगको व्यापार फोछोँबाट अपभ्रंश भएर प्होजोँमा परिणत भएको भुजुङका बासिन्दा बताउछन । प्होजोँ गुरुङ भाषाको नाम हो भने भुजुङ नेपाली भाषाको नाम हो । जलस्रोत, कृषि, पर्यटनका बिकासको लागी लमजुङ महत्व मानिन्छ । लमजुङ जिल्लामा यतिखेर धेरै गाउँहरुमा होमस्टे को बिकास भएको छ । जुन कारणले गुरुङ सस्कृति र प्रकृतिको आनन्द लिने गन्तब्य बनेको छ भुजुङ । भुजुङ गाउँ मात्र होइन लमजुङमा पर्यटकहरुलाई घुमघाम गर्ने धेरै गाउँहरु छन । पर्यटकहरुले आफ्नो यात्राको समय अनुसार अन्यगाउँमा समेत पुग्ने    गर्दछन ।

लमजुङ भौगोलिक रुपमा अति रमणिय र पहाड देखि हिमाल सम्म फैलिएको जिल्ला हो । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीयस्थलको दृष्टीकोणले पनि लमजुङ धनी मानिन्छ । गुरुङ जातिको वाहुल्यता रहेको लमजुङ जिल्ला ऐतिहासिक, धार्मिक तथा सास्कृतिक महत्वको हिसावले पनि प्रमुख स्थानमा मानिन्छ । नेपाललाई चिनाउने सस्कृति मध्य लोकदोहोरी गीतको उदगम स्थल लमजुङलाई लिने गरिएको छ । लमजुङ जिल्लाको उत्तर तथा उत्तर पश्चिमी भूभागका अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरुले आजभोली पर्यटकहरुलाई होमस्टेको सुबिधा दिएर गाउँमा पर्यटकहरु भित्राउने काम गर्दै आएका छन ।

लमजुङ जिल्लामा अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको कारण पर्यटकहरु गाउँगाउँमा पुग्ने गर्दछन । हिम नदी देखि लिएर पहाडी भागबाट निस्किएका दर्जनौ नदी र खोलाहरुले प्राकृतिक सम्पदानै रमणिय देखिन्छ । मनाङ जिल्लाबाट बग्दैआएको मस्र्याङदी नदीको नागवेली आकारको दृष्यले पर्यटकहरु रमाउने गर्दछन । अर्कोतर्फ सदरमुकाम बेसिशहर जाने मार्गमा पर्ने मध्य मरस्याङदीको बाध फलिया साघु अर्थात दलालको झोलुङ् पुल तर्ना साथ लमजुङ जिल्लाको चिती प्रवेश गर्न सकिन्छ । चिती तिलाहर हुदै उत्तरी भेगमा रहेको गुरुङ बस्ती हिले बन्सारको बाटो सिमी ताजे पुगेपछि हिमाली जडिबुटीहुने हिम श्रृखलाको पाटनक्षेत्रमा पुग्न सकिन्छ । ताजे गाउँ बाट एक दिनको पैदल मार्गमा हिमालको काखमा रहेको दुध कुण्ड वरपर हजारौ जातीका हिमाली फुलहरु र बहुमुल्य जडिवुटी देख्न सकिन्छ ।

लमजुङ पुग्ने पर्यटकहरुले दुधपोखरी, वाह्रपोखरी, मेमेपोखरी,जस्ता प्राकृतीक हिम पोखरीहरु अवलोकन गर्न सक्यो भने मात्र उसको भ्रमण पूर्णहुन्छ । यो मात्र होइन लमजुङमा घलेगाउ, घनपोखरा, उस्ता जस्ता गुरुङ जातीहरु रहेको ऐतिहासिक गाउँहरुमा पर्यटकहरुको लागी होमस्टे समेत सन्चालनमा ल्याएका छन । लमजुङमा पुरानोकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय स्थलहरु रहेका छन । लमजुङ जिल्लाको सबैभन्दा ठूलो प्राकृतकि सम्पदाको रुपमा रहेको मनास्लु हिमाल, अन्नपूर्ण हिमाल दोस्रो, मनास्लु हिमाल दक्षिण पट्टी, हिमालचुली हिमाल, लमजुङ हिमाल, बुद्धहिमाल जस्ता सुन्दर हिमाल रहेको छ । हिमाल र हिम ताल पोखरी हेर्न विदेशि र स्वदेशि पर्यटकहरु लमजुङ पुग्ने गर्दछन ।

लमजुङ पुग्ने पर्यटकहरुलाई अध्यन अनुसन्धानको लागी महत्वपूर्ण मानिने आदीबासी गुरुङ समुदायको बस्ती घलेगाउ घनपोखरा, सिउरुङ, भुजुङ, खासुर, पसगाउ गिलुङ, गौंडा, हिलेटक्सार, दुवार, टापा, बंसार, लप्सीबोट, सिमी, ताजे, कर्दी, किर्तीपुर, फुलुङगिरी, घुम्लीचौर, तस्यो जस्ता अति रमणिय गाउँहरु रहेका छन । काठमाण्डौ–पोखरा जाने पृथ्वी राजमार्गको डुभ्रेबाट ४० किलो मिटरको यात्रामा बेसिशहर पुग्न सकिन्छ । लमजुङका अधिकाशं गाउँहरुमा सडक यातायात सन्चालनमा आएका छन । कुनैपनि गाउँमा पुग्दा पर्यटकहरुले खाना बस्नको सुबिधा छ । यातायात खर्च बाहेक दैनिक एक हजार रुपयाँको खर्चले लमजुङ भ्रमण गर्न सकिन्छ । फुर्सदको समयमा तपाई पनि एक पटक लमजुङको यात्रा तय गर्नुहुन्छ की ?

प्रतिक्रिया

सम्बन्धित खवर