२०७९ कार्तिक २९, मंगलवार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

२०७९ कार्तिक २९, मंगलवार

हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् ।

लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित हुँदा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने चासो नदिएको गुनासो छ । ‘सुगममा हवाई उडान गर्ने कम्पनीहरूले एकातिर हवाई नीतिको व्यवस्था र अर्कोतर्फ सामाजिक उत्तरदायित्वको नियमअनुसार दुर्गम क्षेत्रमा उडान भर्नुपर्ने हो,’ जुम्लाका हरि बुढाले भने, ‘तर, नेपालमा सुगम रुटमा उडान गरेर मस्त कमाइरहेका कम्पनीलाई न नीति न सामाजिक उत्तरदायित्वले नै निर्देशित गर्न सक्यो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल दुर्गम क्षेत्रमा उडान गर्नुपर्छ भन्ने पर्यटन मन्त्रालयको नीति रहेको उल्लेख गर्दै यस्तो नीति कार्यान्वयनमा मन्त्रालयकै भूमिका बढी प्रभावकारी हुने बताउँछन् । ‘उड्डयन प्राधिकरण ऐनमा वायुसेवा कम्पनीले दुर्गम क्षेत्रमा उडान गर्नैपर्ने उल्लेख गरिएको भए त्यसको कार्यान्वयन गर्ने जिम्मा प्राधिकरणको हुन्थ्यो,’ उनले भने, ‘नीति र ऐनमा अन्योल भएका कारण यस्तो भइरहेको हो ।’

देशभर हवाई सेवा दिँदै आएका ९ विमान कम्पनीमध्ये बुद्ध, श्री, सौर्य, यतीलगायतले दुर्गममा सेवा दिएका छैनन् । यतीको अर्को कम्पनी तारा एयरलाइन्ससँगै समिट र सीता तथा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले भने दुर्गमका विमानस्थलमा उडान भर्ने गरेका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने एयरलाइन्सलाई दुर्गममा उडान भर्न बाध्य गराउन नसकिने बताउँछन् । ‘दुर्गममा चलाउन भनेजस्तो सहज छैन, निकै खर्चिलो छ,’ उनी भन्छन् । दुर्गममा सेवा दिन वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘नयाँ विमान कम्पनीलाई विमान आयातदेखि विमान ल्यान्डिङरपार्किङमा छूट दिएर प्रोत्साहन गर्नुपर्छ,’ उनी भन्छन् ।

जहाज संख्याका आधारमा नेपालमा आन्तरिक हवाई सेवा दिने सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरले दुर्गमका नाममा कर्णाली प्रदेशको पहाडी जिल्ला सुर्खेतमा उडान गर्ने गरेको छ । बुद्धको जहाज सुर्खेत–काठमाडौं रुटमा दैनिक एकपटक आउजाउ गर्छ ।

प्राधिकरणका अधिकारी वायुसेवा कम्पनीले दुर्गममा उडान गर्न नचाहेको बताउँछन् । ठूला जहाज भएकोले पनि वायुसेवा कम्पनीहरूलाई अहिलेको अवस्थामा दुर्गममा सेवा दिन समस्या रहेको उनको भनाइ छ । सर्वसाधारण भने सुगममा उडान भर्ने विमान दुर्गममा जान सक्दैनन् भने साना जहाज खरीद गरेर भए पनि दुर्गममा उडान हुनुपर्ने माग गर्छन् ।

‘अहिले हवाई कम्पनीले दुर्गममा उडान गर्न नसक्नुको कारण नयाँ ठाउँमा उडान थप्दा खर्च बढ्ने भएकाले पनि हो,’ उनले भने, ‘नयाँ सेक्टरमा उडान गर्दा कर्मचारी, त्यसअनुसारका उपकरण राख्नुपर्‍यो, जसले हवाई कम्पनीको खर्च बढ्छ,’ ती अधिकारीले भने । दुर्गममा उडान गर्दा सुगमको तुलनामा यात्रुको संख्या पनि थोरै हुने बताइन्छ । विमान कम्पनीहरूले अहिले चलिरहेकै ठाउँमा राम्रो मुनाफा गरेकाले अन्यत्र जान नखोजेको ती अधिकारीको भनाइ थियो ।

तर, वायुसेवा कम्पनीका अधिकारी भने पहाडी क्षेत्रमा छोटो धावनमार्ग र यात्रु अभावले उडान गर्न नसकिएको दाबी गर्छन् । ‘हाम्रा जहाज उडान–अवतरणका लागि १६ सय मिटरको धावनमार्ग चाहिन्छ । पहाडी जिल्लाका विमानस्थलमा छोटो धावनमार्ग भएकाले उडान गर्न सकिएको छैन,’ एक निजी वायुसेवा कम्पनीका अधिकारीले भने ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर पनि दुर्गममा विमानस्थलको धावनमार्ग सानो भएकाले उडान गर्न नसकिएको बताउँछन् । ‘अहिले हामीले चलाइरहेका जहाजबाट ती क्षेत्रमा उडान सम्भव छैन, यसका लागि नयाँ विमान ल्याउनुपर्ने हुन्छ,’ उनी भन्छन् । दुर्गम क्षेत्रमा उडानका लागि नयाँ विमान किन्ने तयारीमा रहेको पनि उनले सुनाए । सौर्य एयरलाइन्सका अधिकारी मुकेश खनालको जवाफ पनि उस्तै छ । दुर्गमका विमानस्थलमा धावनमार्ग सानो भएकाले त्यस क्षेत्रमा उडान गर्न नसकिएको उनी बताउँछन् । दुर्गममा जहाज सञ्चालनका लागि जहाज किन्ने योजना रहेको उनले बताए । ‘नयाँ जहाज किन्ने प्रक्रियामा छौं, यही आर्थिक वर्षमा किनिसक्छौं,’ उनले भने ।

ती क्षेत्रमा सानो जहाज मात्रै चल्ने र आफूहरूसँग त्यस्ता जहाज नभएकाले उडान हुन नसकेको निजी वायुसेवा कम्पनीहरूको भनाइ छ ।

प्राधिकरणका एक अधिकारीले विमान कम्पनीका पुराना जहाज बिग्रिनु र नयाँ जहाज किन्न नसक्नुले दुर्गममा सेवा शुरू हुन नसकेकोे बताए । ‘कोभिडअघि केही एयरलाइन्सको जहाज थप्ने योजना थियो ।

बुद्ध एयरले पनि स्टल एयरपोर्टमा उडान गर्ने खालको एयरक्राफ्ट अर्डर गरेको थियो । तर, कोभिडले गर्दा सबै योजना रद्द गरायो,’ उनले भने, ‘पुराना जहाज बिग्रिए । सामान नपाउँदा बिग्रिएका जहाज पनि मर्मत हुन सकेनन् । कतिपयका त सामान विश्वबजारमै उपलब्ध हुन सकेनन् ।’ आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर