२०७८ आश्विन २१, बिहीबार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

जाउँ है कोरिखा हामस्टे

२०७८ आश्विन २१, बिहीबार

तिलकप्रसाद पुन ‘पुर्जा’
कोरिखा गाउँमा होमस्टे सञ्चालनको जानकारी पाउनासाथ मन बेचैन बन्यो । उसो त जाने भनेपछि कुदिहाल्ने बानी । झन् साह्रो होमस्टे सञ्चालक लिलबहादुर गुरुङले बन्दीपुर आउनुस् सवारी साधनमा पु¥याइदिन्छु भनेपछि त ‘के खोज्छस् काना आँखा’ भने झैँ भो । रानागाउँका होमस्टेमा सँगै गएका साथी श्रीराम भाइ र धनबहादुर सुब्बा दाइलाई पोखरा फर्कनै चटारो । आफू भने बिन्दास बनिदिन्छु, भ्रमणमा । अझ ग्रामीण पर्यटन र लोक संस्कृति त छापामा मेरो बिट नै हो ।

बन्दीपुरको कक्षा क्याफेमा रहेछन् लिल भाइ । युवाको रोजाईमा पर्ने अग्लो बाइक रहेछ । मलाई भने पैदल मार्च गर्न नै मनपर्छ । एक घन्टाको कच्ची मोटरबाटो उकाली ओराली छैनभने पछि त मन फुरुङ्ग नै भो, एक तमासले । खल्खल्ती पसिना बगाउँदा जिउ हल्का हुन्छ । गाउँ घुम्दा मुड रिफ्रेस बन्छ । नयाँ–नयाँ साथीसँग आत्मीयता बढ्छ । प्रकृतिसँगको सामिप्यतामा मन चङ्गा बन्छ । ग्रामीण परिवेशको सङ्लोपनमा रमाउँदा दिन ढल्केको पत्तै पाइन्न ।

ठीक मध्यान्हको समय । माघ महिनाको याम । तुवाँलोले हिमाल राम्ररी खुल्न सकिरहेको छैन । रातभर दर्केर झमझम पानी परेको भएपनि आँखैमा टाँसिन आइपुथे स्निग्ध हिमालका लर्कन । कालावाङ, घरेडी र रानागाउँ होमस्टे जाँदा पनि यस्ते भो । कोरिखामा पनि चहकिलो हिमाल देख्ने लालसा मनबाट टाढा पारिसको थिएँ ।

बन्दीपुरलाई छाडेर दक्षिणतिर मोटरबाटो समाउदा केही पर मुन्तिर झपरीका बिशाल फाँट देखियो । करिब चालिस वर्षअघि यही ठाउँबाट ब्राम्हण जातिहरु बसाई सरी बन्दीपुर उक्लेका रहेछन् । झपरीको पश्चिमतर्फ जूनडाँडा रक्षा कवच बनी ठिङ्ग उभिएको थियो । बाटो मास्तिर रानीवन । रानीवनमा मन्दिर समेत छ । पहिले जहाँ राजा बस्ने गर्थे त्यही मन्दिर हुन्थ्यो । रानीवन वर्षमा एकचोटि मात्र खुल्छ । स्थानीयले कुकाठ मात्र काट्न पाउँछन् । रानीवनमा साल, कटुस, चिलाउनेका वन लछप्पै छन् । साठी प्रजातिका त चरा नै छन् । चराका चिरविर आलापले त्यहाँ विचरण गर्दा स्वर्गीय आनन्द नै प्राप्ति हुन्छ ।

रानीवनको मुन्तिर मोटरबाटो खनिएको छ । पहिले पुर्खाहरु यही पैदलबाटो ओहोरदोहोर गरेको लिल भाइ बताउछन् । बाटो मास्तिरको ढुङ्गे खानी समितिद्वारा सञ्चालित छ । एक ट्रेक्टर स्लेट खानीको १५ सय रुपैयाँ पर्छ । बाटो मुन्तिरको स्लेट खानी भने व्यक्ति विशेष जग्गाधनीको हो ।

पहिलेका मानिसले ठाउँठाउँ आँप रोपेकाले अझै पनि आँपका बूढा रुख हरु भेटिन्छन् । डिन्ठोक पुग्दा बाटो मुन्तिर बन्द अवस्थामा रहेको गोठ देखियो । ३ वर्षअघि बन्द रहेको यो गोठमा भूईँ तलामा पशु बाँध्ने र आँटीमा गोठाला सुत्ने रहेछन् । बर्माबाट आएका कुनै प्रवासी नेपाली बस्ने भएर हो कि बर्मेली गोठ समेत भन्दा रहेछन् ।

एकै घन्टामा बाहुन भञ्ज्याङको कन्यादेवी माई मन्दिर पुग्दा ८० वर्ष पहिले निर्माण भएको जानकारी पाइयो । प्रत्येक महिनाको पूर्णिमामा र पञ्चमी अष्टमी तिथीमा मन्दिरमा पूजाआजा गरिन्छ ।

बाहुनभञ्ज्याङ विगतमा मोटरबाटो खुल्नु अघि देउराली, हिले, खर्क, जालभञ्ज्याङ, पुर्लुङ र ढेडे गाउँको प्रमुख व्यापारिक केन्द्र थियो । ७० घरधुरी छन् । परन्तु, ठाउँको नाम बाहुनभञ्ज्याङ भएपनि यहाँ ब्राम्हण जातिका मानिसको बसोबास छैन । मोटरबाटो खुलको १५ वर्ष यता भने यसको चमक दमक मन्द हुँदै गएको छ ।

डुम्रेबाट ३ बजे छुटेको बस बाहुनभञ्ज्याङ, देउराली, हिले, खर्क हुँदै डेढ घन्टामा धरमपानी पुग्छ । धरमपानीमा समेत गुरुङ जातिका होमस्टेमा बास बस्न पाइन्छ । डुम्रेबाट नै २÷४ बजेसम्म ७ वटा जिप समेत छुटिरहन्छन् ।

बाहुनभञ्ज्याङबाट उत्तरतिर देखिने पहाडको ढिस्को समेत रानीवनको क्षेत्रफल हो । बाहुनभञ्ज्याङमा २०३० सालमा स्थापित त्रिभूवन प्रावि समेत छ ।
भञ्ज्याङको मोटरबाटोलाई छोडेर १० मिनेट हिडेमा कोरिखा गाउँ पुगिन्छ । गाउँ पुग्नु वरै वनको बुधवारे थानमा गाउँलेले वर्षको एकचोटि कुखुराको भालेले पूजा गर्छन् ।

कोरिखाको शुरुवातीको नाम ‘करफा’ रहेछ । गुरुङ भाषमा महादेवको नाम जनाउँछ । कालान्तरमा अपभ्रंश भएर कोरिखा भन्न थालिएको हो । डाँडाको भिरालो पाखोमा सबै घर गुरुङका झुरुप्पको बस्ती । बन्दीपुर स्लेटले छाइएका छाना । ढुङ्गाका गारोलाई माटोले सिनित्त पारी लिपपोत गरेका । ढुङ्गाकै आँगन । फल्याक र खम्बाले दालिनलाई अड्याएका । होचा लाग्ने घरका कोठा–चोटा–खोपी समेत सानै आकारका । अग्ला मान्छे घरभित्र छिर्ने हो भने त कति चोटि निधारले छानोलाई ढोग गर्दा हुन् ।

कोरिखाका ३२ घरमा हाल २६ घर मात्र बसोबास गर्छन् । उनीहरु सबै गुरुङ जातिका हुन् । साना ठूला सबैले मातृभाषा रहर लाग्दो पाराले बोल्दछन् ।
बन्दीपुरमा दशैंताका पर्यटकको चाप बढदा थामिनसक्नु हुन्थ्यो । कोरिखा स्थित सूर्योदय युवा क्लब र देउराली आमा समूहले जुक्ति निकाल्न थाले । यिनै पाहुनालाई आफ्नो गाउँ भित्राउन सके दुईचार पैसा हातपार्न सकिन्थ्यो । नजानेका कुरा सिकिन्थ्यो । गाउँलाई चिनाउन सकिन्थ्यो । लगत्तै भिटोफको सहयोगमा एकवर्ष अघि ७ घरमा होमस्टे सञ्चालन गरे ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखाबाट मुन्तिर आँखा डुलाउने हो भने याम्पाफाँट, मस्र्याङ्गदी नदीको बेशीमात्र हैन, घरको झ्यालबाटै अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, हिमालचुलीलाई म्वाइँ खान मिल्छ । सफा मौसममा सफेद हिमालसँग आँखा जुधाइ रहुँ लाग्छ । विदेशी त हर्षले बुर्कुसी मार्दै आँगनमा चिच्याउँदै हाम पो फाल्छन् । स्वदेशी पनि लठ्ठिएर फेरि–फेरि आउनेबाचा गाउँलेलाई दिन्छन् ।

गाउँलेले होमस्टेका पाहुनालाई अग्र्यानिक खाना खुवाउछन् । ढिकीमा कुटेको घैयाको भात, जाँतोमा पिँधेको कोदो, मकै र फापरको ढिंडो सम्झदै भोक जागेर आउँछ । गोठमा टन्नै लैना भैँसी पालेका छन् । बाक्लो दूघ र दहीभन्दा बाक्लो मोही घटघट पिउँदा शरीरलाई उर्जा मिल्छ । अगेनमा दाउराको आगोमा भुटेको मकैका फुलमा आँखा पर्दा लुब्ध बनिदिन्छ, छिनभरमै । गाउँमा खसी–बोका र लोकल कुखुराको छेलोखेलो छ । ब्रोइलर र काइलर कुखुराको त्यहाँ कल्पनै नगरे हुन्छ ।

गाउँले औधी मेहनती छन् । साँगुरा गरामा हलोसँगै गोरु नारेर खनजोत गर्छन् । बढीमा एक घरको हकमा २० रोपनीसम्म जग्गाजमिन छ । भिरालो पाखो जमिन भएकोले उब्जनीले ६ महिना मात्र खान पुग्छ । आलु खेती भने हुदैन । यहाँ बेसार, अदुवा भने घरलाई आवश्यक पर्ने मात्र उत्पादन गर्छन् ।

गाउँमै लिल गुरुङका चौरासी टेकेका बाजे धनबहादुर गुरुङ छन् । उनले कृषिलाई आवश्यक पर्ने सामाग्री हलो, खुर्पेटो, हसियाँ र कोदालीका बिंड आफै तयार गर्छन् । उसो त डोका, डाला, नाम्ला, थुन्से समेत आफै बुन्छन् । ३० वर्षको उमेरमै अरुको देखासिकी गरी बुन्न जानेका हुन् । गाउँमा भित्रिने पाहुनाले उनका सीपलाई कोसेलीका रुपमा खरिद गर्न सके युवाहरुलाई समेत प्रोत्साहन मिल्ने थियो ।

महिलाहरुले कोदोको तीनपान पार्छन् । बोतलको ७० रुपैयाँ मात्र कति सस्तो । यतिखेर बारीमै हजारी, मालुङ्गे र मुंग्रे केरा पसाएका छन् । अम्बाका बोट समेत देख्न सकिन्छ । विगतमा कफी खेती गरेतापनि बजार नपाउनाले लगाउन चटक्क छाडेका छन् । बरु सबै कफीका बोट पो मासेका छन् ।

यहाँका खेतबारीका कान्ला–कान्लामा सुन्तलाका बोट सबै मर्दै गएका छन् । सुन्तलाका पाकेका स–साना दाना देखिएता पनि खानमा बेस्वादका छन् । तीनवर्ष अघिसम्म गाउँलेका मुख्य आयश्रोत सुन्तला बिक्री गरी हुने आम्दानी नै थियो । सुन्तला खेती बाटनै गाउँको चिनारी दिन कमर कसेर लागि परेका थिए । बोटमा भाइरस लागेर बोट मर्न थालेपछि कृषिविज्ञहरुले जरै देखि उखेलेर फाल्नुपर्ने सुझाव दिएका छन् । सुन्तलाका बोट सुक्न थालेपछि युवाहरु पनि विदेश तिर पलायन हुन थालेका छन् ।

गाउँलेको अर्को आम्दानी घिउ बिक्री गर्नु हो । विगतमा दूघ बिक्री गर्ने गरेता पनि अचेल भने मोही पारी नौनी घिउ निकाल्न थालेका छन् । लोकल कुखुरा ७ सय प्रति किलोको दरले बिक्री गरी घर खर्ची चलाउछन् ।

कोरिखा गाउँ मुन्तिरका बस्तीमा उत्तरतिर बाच्छे गाउँ पर्दछ जहाँ मगरका ३० घर छन् । उत्तरमै छरिएको बस्ती छ, थुम्का जहाँ ब्राम्हण जातिका ७० घर छन् । कोरिखा उचाइमा भएकोले यहाँको हावापानी चिसो छ । भौतिक पूर्वाधारको विकास गर्न सकेको खण्डमा बन्दीपुरको विकल्प पनि बन्न सक्छ , यो गाउँ । बन्दीपुरको टुँडिखेलबाट देखिने सबै दृश्य यहाबट समेत देख्न सकिन्छ । बन्दीपुर देखि कोरिखा गाउँ आउने रानीवनको पुरानो पदमार्ग पहिल्याएर चल्तीमा ल्याउन आवश्यक छ । बन्दीपुर आउने पर्यटकलाई छोटो दूरीको पदयात्रा कोरिखा सम्म गराउन सकिन्छ । भञ्ज्याङमा सूचना बोर्ड राख्नलाई भुल्नु हुन्न ।

प्रकृतिकी खानी कोरिखाले माल पाएर चाल पाउन जान्नु पर्छ । ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नलाई स्थापित संस्था भिटोफले समावेशीरुपले पर्यटकलाई गाउँ जाने वातावरण सुजना गर्नुपर्छ । पर्यटनसँग सरोकार राख्ने संघ–संस्थाले पनि यस कार्यमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्दछ , स्थानीय कला, सीप उत्पादनमा जोड दिनुपर्छ । लोकसँस्कृतिलाइ पुनर्जीवित गर्नुपर्दछ । कोरिखा होमस्टेकी अध्यक्ष साबित्री गुरुङ र युवा लिलबहादुर गुरुङ जस्ता सोच र सकृयता भएका व्यक्तिलाई सबैले सघाएको खण्डमा गाउँको मुहार फेरिन धेरै दिन पर्खनुपर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर