२०७८ भाद्र २, बुधबार | २०७९ मंसिर २३ | ourtourismnews@gmail.com

सात महिनामा ६१ हजार विदेशी आए नेपालमा

२०७८ भाद्र २, बुधबार

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा असर परेको छ। गत मार्च, अप्रिलमा केही संख्यामा विदेशी नेपाल भित्रिए पनि त्यसपछिका महिनामा आगमन निकै घटेको छ। अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन्।

पर्यटन बोर्डका अनुसार सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये सबैभन्दा बढी अप्रिलमा २२ हजार ४५० जना आएका थिए। जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, मेमा १४ सय ६८, जुनमा ११ सय ४३ र जुलाईमा २९ सय ९१ जना विदेशी नेपाल आएका छन्।

पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार पर्यटन आगमनमा सुधारको संकेत देखिएको थियो। तर कोरोनाको तेस्रो लहरको हल्लाले गर्दा आएनन्। ‘पर्यटनमा सुधार देखिन थालेको त थियो। बीचमा केही समय आगमन पनि बढ्दै गएको हो, तर अहिले फेरि घट्न थालेको छ,’ लामिछानेले भने, ‘कोरोनाको तेस्रो लहरको डरले गर्दा पर्यटक आउन हच्किएका छन् ।’

उनका अनुसार नेपाल आउन चाहेका विदेशी पाहुनाको सोधपुछ भने बढिरहेको छ। तर नेपालमा असोजदेखि कोरोनाको तेस्रो लहर आउने हल्ला चलेपछि विदेशीले तत्काल आउने योजना बनाउन सकेका छैनन्। पर्यटकको सिजन सुरु हुने बेलामै तेस्रो लहरको हल्ला चलेपछि विदेशी स्वतः पर्ख र हेरको अवस्थामा रहेको उनले बताए। ‘संख्यात्मक हिसाबले खासै सुधार भइसकेको छैन। तर पनि पर्यटकमा नेपाल आउने चाहना भने छ,’ उनले भने, ‘संक्रमण रहिरहेकोले पनि त्रास छाउनु स्वभाविक हो ।’ पहिलेभन्दा अहिले हवाई उडान केही खुलिसके पनि सीमित उडानका कारण हवाई यात्रा महँगो पर्न जाँदा पनि सहज नभएको उनले बताए।

पर्यटन व्यवसायी भने डेढ वर्षदेखि पर्यटक आगमन ठप्प जस्तै हुँदा अत्तालिन थालेका छन्। कोरोना संक्रमणले गर्दा सन् २०२० को मार्चदेखि एकाएक पर्यटकको आगमनमा गिरावट आउन थालेपछि व्यवसायीले नोक्सान सहन थालेका थिए। २०२० को सुरुदेखि नै आगमन घट्दै गएकोमा मार्चदेखि लगभग ठप्प रह्यो।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘अहिले विदेशीको त आस थिएन, स्वदेशी आउने अनुमान हो। तर यस पनि अवरोध छ ।’ कोरोनाको पहिलो र दोस्रो लहरको मार खेपेको व्यवसायमा तेस्रो लहरले पनि उत्तिकै मार पार्ने उनको अनुमान छ। ‘अहिले विदेशी आगमनको त आसै छैन, स्वदेशीको आगमनमा केही सुधार हुन्थ्यो कि भन्ने लागेको थियो,’ उनले भने, ‘तेस्रो लहरको त्रासले झनै अप्ठेरो पारेको छ। आन्तरिक पाहुना घुम्न निक्सने बेला तेस्रो लहर आउने भनिएकोले त्रास छाएको छ ।’

यसअघि पहिलो लहर सकिएर दोस्रो लहर सुरु हुनुअघि २–३ महिना केही आन्तरिक पाहुनाको हिँडडुल भए पनि अहिले पुनः सुस्ताएको उनले बताए। ‘विदेशीहरू त चाहेर पनि आउन सक्दैनन्। हामीकहाँ मात्र नभई विदेशीकै मुलुकमा पनि समस्या छ। कतिपय मुलुकमा अझै पनि लकडाउन छ,’ उनले भने, ‘घुमघामका लागि निस्कन नपाएको भन्दै विदेशी अत्तालिएका छन् ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पर्यटनको अवस्था काबुबाहिर पुगेको बताउँछन्। अनुमान पनि गर्न नसकिने गरी पर्यटन व्यवसाय थला परेको उनले बताए। ‘पर्यटन क्षेत्र कहिले चल्ने भन्ने नै भएन। हामीले अनुमान पनि गर्न सक्दैनौं,’ भट्टराईले भने, ‘यो बेला विदेशी पाहुना चाहेर पनि आउन सक्दैनन ।’ दुई खेपसम्म खोप लगाएका मुलुकमा पनि संक्रमण अझै डरलाग्दो हुँदै जाँदा पर्यटन व्यवसायीले पाहुना आगमनको आस गर्न नसक्ने उनले बताए ।

कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको छ । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि भनेर विहीबार पहिलो खेपको केहीमात्रा खोप उपलब्ध गराइएको छ । खोप लगाएपछि पर्यटन क्षेत्र सुरक्षित हुने व्यवसायीको अपेक्षा छ ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष तथा खोप कार्यक्रमका संयोजक पोमनारायण श्रेष्ठका अनुुसार पोखराको पर्यटन क्षेत्रका लागि मात्र भनेर २५ सय जनाका लागि खोप उपलब्ध गराएको बताए । पर्यटन व्यवसायी र कार्यरत मजदुरले भेरोसेल खोप लगाएका छन । पर्यटन क्षेत्रमा खोप माग गर्दै व्यवसायीले कहिले प्रदेश सरकार त कहिले स्थानीय प्रशासनमा दवाव दिँदै आएका थिए ।

पहिलो खेपमा २५ सय व्यक्तिका लागि खोप पाएको श्रेष्ठले बताए । ‘पर्यटन क्षेत्रले लामो समय देखि कोरोना विरुद्धको खोप माग गर्दै आएको थियो । खोप माग्दै विभिन्न सरकारी निकायमा धाउँदा हामी नै थाकिसकेका थियौं,’ उनले भने, ‘अब भने केही राहत मिलेको छ । थप खोप भित्रिएपछि दोश्रो खेपमा अरु पनि उपलब्ध गराउने प्रदेश सरकारको वाचा छ ।’ पर्यटन व्यवसायी र कार्यरत मजदुरले विहीबार पोखराका विभिन्न पाँचवटा खोप केन्द्रबाट खोप दिइएको थियो । पहिलो आउनेलाई प्राथमिकताका आधारमा खोप दिइएको उनले बताए ।

होटल, रेस्टुरेन्ट, पदयात्रा, ट्राभल लगायतका क्षेत्रमा कार्यरत पर्यटन मजदुर र व्यवसायीका लागि खोप दिइएको उनले बताए । ‘हुन त हाम्रो अहिलेको तत्कालको आवश्यकता १५ हजारका लागि थियो । तर, सुरुवाती चरणमा २५ सय जनाका लागि खोप आएको छ,’ श्रेष्ठले भने, ‘मुलुकमा थप खोप भित्रिएपछि अरु उपलब्ध गराइनेछ ।’ अहिले अपुग भएका मजदुर र व्यवसायीका लागि वेटिङ लिष्टमा राखेर दोश्रो खेपमा खोप उपलब्ध गराउन पहल गर्ने उनले बताए । ‘यहाँका मजदुर र कामदारले खोप नपाउँदा आन्तरिक पर्यटक पनि पोखरा घुम्न आउन डराएका थिए । खोप लगाएपछि पर्यटन क्षेत्रले केही सुरक्षित महसुस गरेको छ,’ उनले भने, ‘अवस्था सहज भएमा अब पर्यटन क्षेत्र खुलाउन सकिने आधार तय भएको छ ।’

पर्यटन बोर्ड पोखराका निर्देशक काशिराज भण्डारी व्यवसायीले ठुलो दवाव दिएरै कोरोना विरुद्धको केही खोप हात पारेकोले अब पर्यटन क्षेत्रमा केही राहत मिल्ने बताउँछन । ‘खोप लगाएपछि केही न केही सुरक्षित हुने प्रमाणित भईसकेको छ । अब व्यवसायी र मजदुरको मनोवल बढेको छ,’ भण्डारीले भने, ‘आएका पाहुनालाई सेवा दिन पनि ढुक्क हुनेछ । पर्यटन व्यवसायीले अब व्यवसाय संचालन गर्ने माहोल बन्दै गएको छ ।’ काठमाडौं र चितवनका पर्यटन व्यवसायीले यसअघि नै खोप लगाएकोमा पोखरा भने पछाडि परेको थियो । ‘नेपालमा पर्यटन क्षेत्र सुरक्षित रहेको छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुग्नेछ । यसले आन्तरिक पाहुनालाई पोखरा भिœयाउन पनि सघाउनेछ,’ उनले भने ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीका लागि खोप लगाउने कामको सुरुवात मात्र भएकोले आगामि दिनमा थप खोप उपलब्ध गराउने प्रतिवद्धता जनाए । खोप नपाएको कारणले कोही पनि निराश हुनु नपर्ने उनले बताए । प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीले लामो समयदेखि नै कोरोना विरुद्धको खोपको माग गर्दै आएको बताए । थापाले व्यवसायीहरुको मागलाई निरन्तर रुपमा सम्बोधन गर्ने पनि प्रतिवद्धता जनाए । थापाले व्यवसायिक क्षेत्रमा कोरोनाको खोपको माग रहेको र त्यो मागलाई बिस्तारै पुरा गर्दै लैजाने बताए ।

परिषद्का पूर्व अध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि पर्यटन क्षेत्रमा खोप आवश्यक परेको बताए । पर्यटन क्षेत्रले खोप पाएको सन्देश पुगेपछि आन्तरिक पाहुनामा घुमघामको माहोल बन्ने उनले बताए । उमेर समुह अनुसार सर्वसाधारण नागरिकले पनि खोप लगाएकोले अहिलेको संक्रमण कम हुनासाथ घुमघाममा निस्कन सक्ने माहोल आन्तरिक पाहुनामा बन्ने उनले बताए ।

‘पोखराका होटलमा कार्यरत मजदुरले खोप पाएको सन्देश फैलिनासाथ पाहुना घुम्न आउनेमा हामी आशावादी बनेका छौ । पर्याप्त खोप उपलब्ध गराउने हो भने पर्यटन क्षेत्रले राहतको सास फेर्नेछ,’ भट्टराइले भने, ‘पोखरा लेकसाइडका पर्यटन व्यवसायीका लागि मात्र नभई पर्यटनमा अश्रित अन्य क्षेत्रका व्यवसायी र मजदुरका लागि खोपमा प्राथमिकता दिने हो भने पर्यटनमा राहत मिल्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर