२०७७ फाल्गुन २९, शनिबार | २०७८ आश्विन ३० | ourtourismnews@gmail.com

ल्वाङ गाउँमा चिया बारी

२०७७ फाल्गुन २९, शनिबार

तिलकप्रसाद पुन ‘पुर्जा’
भिरालो पाखोको दक्षिणतर्फ झुरुप्पको बस्ती । ढुँगाको आँगन अनि ढुँगाकै छानो । सेतो र गेरु रङका भित्ता । आँगनमा बौद्ध ध्वजा फरफर गरेको दृश्य । मौलिकता र आधुनिकताको गज्जबको मिश्रण छ, भवन निर्माणमा । सिङ्गो गाउँ नै मिलेर बसेको एउटै घर झै भान हुने । आँगनमा पाइला टेक्नै भ्याइएको छैन आइपुग्छन् बिछ्याउनलाई लामा गुन्द्री र राडी । घरमा भएका खानेकुरा पाहुनालाई हाँसी–हाँसी खुवाउन पाए हुन्थ्यो भन्ने मनका धनी । दिल खोलेर गफिन पाउँदा दिन ढल्केको पत्तै हुन्न । गाउँमा पहिलो चोटि पुग्नेले अर्को चोटि पनि नपुगी धरै पाउदैन । हाँस्यो, खेल्यो, रम्यो आखिर के छ र दुई दिनको जिन्दगीमा ।

गाउँ नजिककैको वन जंगलमा चराचुरुङ्गीका धून एकाविहानै सुन्न पाउँदा मनै प्रफुल्ल भएर आउछ । चरासँगै मितेरी गाँसु झै हुन्छ । साँच्ची यी चराचुरुङ्गी नहुने भए कति निरस हुन्थ्यो मनुष्यको जीवन । त्यसैले त लोकले उहिल्यै देखि गीतका फँुदामा चराचुरुङ्गीलाई प्रयुक्त गरेका भेटिन्छ ः–

आफू त जुरेली हाँगामाथि बसेर, डाली डाली चालेर
टिकुली ट्याक टिकुली ट्याक भन्छ है चरीले
माया मा¥यो च्याट्टै

न्याउली बास्यो त्यो रानी वनैमा
सम्झना नाच्यो यो मेरो मनैमा

बिहान उठ्नासाथ हिउँचुली, अन्नपूर्ण साउथ र माछापुच्छ्रेले खिसिक्क हाँसीदिँदा मनै चञ्चल बनिदिन्छ । उषाले प्रभात किरण ती हिमाल माथि ठोकाउदा पहेल्पुर सुन झै लाग्छ । मुन्तिर पूर्वको अग्लो रिभान डाँडामाथि एक चोक्टो कालो बादलले एकैछिन ग्वाम्लाङ्ग ढाकिदिँदा मन ठुस्केर आउँछ । दक्षिणतिर मैदानमा मर्दी र इदी खोलाले फेरो मारेर मित लाएको देख्दा खुशियालीमा पररर ताली बजाउ झै लाग्छ ।

ल्वाङ गाउँको होमस्टेमा गत साता एकरात बस्न पाउँदा समेत यति विघ्न मोहनी नै लाउँला भनेर कदापि सोचेकै थिइनँ । टाढैबाट कैयन चोटि दूर पाखाको ल्वाङ बस्तीलाई दृष्टिगोचर गरेता पनि सम्मुख मै आएर लुटपुटिन कतै भने अवसर हात परेकै थिएन । इदी र मर्दी खोलामा धेरै नै पानी बगी सकेपनि कतै मेरो ल्वाङको सपना साका र नहुने त हैन भनी निराशाका पुलिन्दाहरु चुलिँदै जान्थे । पुर्खाको यही उक्तिले शायद काम ग¥यो यसपालि– ‘सबै चिज खानु हरेस नखानु ।’

पोखरादेखि धुम्पुसको डाँडो धेरै चोटि उक्लिदा सिरानमा सोम गुरुङले सञ्चालन गरेको होटल होलिडेमा बास बस्थेँ । उत्तर पूर्वतिर इदी खोला र पाखोमा ल्वाङ गाउँ प्रष्टै देखिन्थ्यो । ल्वाङमा होमस्टे छ, चिया बगान छ भन्ने समाचारले त एकतमासले मन आकर्षित नै गरिराख्यो ।
महेन्द्रपुलमा पत्रिका किनेर आर्ट ग्यालरीतिर लम्कदै गर्दा बाटैमा भेटिए लालबहादुर परियारजी । हिजो कुनै समय हामी दुबैजना एमाले कास्कीको जिल्ला कमिटी सदस्य थियौँ । तर्कनापूर्ण शैलीमा मिठास लवजका साथ प्रस्तुत हुने, मसिनो गरी मिहिनतका साथ योजना बनाउने उनको विशेषता थियो । तावेदारी गरेर नेता रिझाउन भन्दा पनि दिइएको जिम्मेवारी इमानका साथ सम्बन्धित क्षेत्रमा खटिएर फत्ते गर्ने उनको प्रवृत्ति थियो । त्यसैले छिनभरमै उनी मेरा मनका असल साथी बनेर बस्न सफल भएका हुन् । धेरैले भन्ने गर्छन् मलाई ‘कति घुमफिर गर्न सकेको ? हामीलाई पनि लानुस्न ?’ लालबहादुरजीलाई फुत्त बिसाइँहाले– ‘कतै घुम्न जाउँ न सर, मनभरिका गफका तर् मारुँला ।’ उनले सहमति जनाइहाले मेरै गाउँ ल्वाङ जाउँ न त ! ‘के खोज्छस् कानो आँखो’ भनेझै भो मलाई । अब भने ल्वाङको सपना साकार होलाझै छ । तुरुन्त मन मिल्ने साथीहरुलाई सम्झेँ– प्रकाश सिग्देल, धनप्रसाद तामाङ र पत्रकार श्रीराम सिग्देल । अन्तिममा काम विशेषले प्रकाशजी भने छुट्नुभो ।

दुईटा बाइकमा हामी चारजना । हेम्जा गुम्बाको उकालो कट्न पाइएको छैन पानीका बाछिटाले चुट्नसम्म चुटिहाल्यो । बिसियौँ हामी । बिदो हुन पनि घन्टौ नै लाग्यो । बेलुकीको ५ बजे बल्ल मर्दीको किनारै किनार गुड्यौँ ।

धितालको खहरेमा पुग्दा घ्याच्च रोक्यौ बाइक । निर्वाचित जनप्रतिनिधि नवीन रानामगरको रहेछ हिमालयन रेष्टुरेण्ट । इदी खोलाको पश्चिमतर्फ मोटरबाटो नेर । शान्त वातावरणमा गफिँदै ब्ल्याक टिको चुस्की लियौँ । ‘ऊ त्यही मास्तिरको पाखोको बस्ती हो ल्वाङ । त्यसैको उत्तरतर्फ परको घलेल ।’ लालबहादुरजीले बेलिबिस्तार गरे । इदी खोलाको पूर्वतर्फ रिभान डाँडाको काखमै रहेछ डाँडाको गाउँ । पूर्व सांसद सीता गिरीको माइतीघर ।

गतवर्ष घलेल गाउँ जाँदा इदी खोलामा पुल निर्माण हुँदै थियो । अचेल भने पुलमाथि नै बाइक गुडाउन पायौँ । पुल तर्नासाथ आइपुग्यो खोराको मुख । यो पुरानो बजार रहेछ ।

अब भने ल्वाङ जाने उकाली बाटोतर्फ मोड्यौँ बाइक । ल्वाङ पुग्दा झिमिक्क साँझ खस्नै आँटेको थियो । गाउँको मुखैमा रहेछ स्वागत द्वार ।
गाउँमा बीसौँ लाख खर्चेर देउराज गुरुङ र डमरकुमारी गुरुङ दम्पत्तीले होमस्टे सञ्चालन गरेका छन् । उनका छोराछोरी पोखरा र बिदेशतिर छन् । आगामी पुस्ताले आफ्नो व्यवसायलाई गाउँ फिरेर निरन्तरता नदिने हो कि भन्ने पिरलो रहेछ । उनका घर निकै कलात्मक लाग्छन् । आँगनमै बाथरुम छ । दलिनमा छानो अड्याइएका काठको खम्बामा कलात्मक बुट्टा खोपिएको छ । यो दम्पत्ती मिजासिला छन् । हामीलाई त्यही बस्न अग्रह भएपनि पूर्व सूचना दिइसकिएकाले टोल सुधार समितिका अध्यक्ष बोनी गुरुङको होमस्टेतर्फ पाइला बढायौँ ।

बोनी गुरुङको होमस्टेमा हामी पुग्नासाथ डोकोले छोपेर राखेका रातो लोकल भाले भान्छामा तैयारी गर्न थाले । धनप्रसादजी र मेरो नौ बजै नै घुप्लुक्क हुने बानी । लालबहादुरजी विगतमा स्थानीय निकाय समेत सम्हालेर बसेका हुनाले बजेटको फाँटबारी कसरी मिलान गर्ने कुन योजनालाई पहिलो प्राथमिकता दिने भन्ने बारेमा राम्रो दख्खलता राख्थे । बोनी गुरुङ र उनीबीच गाउँको समस्या कसरी हल गर्ने भन्ने बारेमै केन्द्रित थियो । विकास र समृद्धिको बहसमा केन्द्रीत भएकाले यहाँ भने श्रीराम भाइले राजेश हमालको डायलग भन्न भुसुक्क बिर्सन पुगे । साँढे नौ बजेतिर बल्ल चरेशका थालमा लोकल जर्नली चामलको भात, चरेशकै खुट्टे बटुकीमा लोकल कुखुराको झोल मासु आइपुग्यो । सिल्टुङको दाल, गोलभेडाको अचार पनि कम्ती स्वादिलो त थिएन । ट्वाक्क–ट्वाक्क जिब्रो फड्कार्दै मीठो मानी–मानी खायौँ । गार्मी याम, गर्मीनै लोकल कुखुराको मासु लोकलले नै ज्यान तताएका र प्रेसरको बिरामी समेत भएकाले कोदोको ढिँडो खाने प्रस्तावलाई सर्वसम्मत रुपबाट अस्वीकृत ग¥यौँ ।

माछापुच्छ्रे गाउँपालिकाको ८ नं. वडामा अवस्थित छ ल्वाङ टोल । जहाँको कुल घरधुरी १ सय साठी छ । ल्वाङटोलमा दलितका ६० गुरुङका २५ र मगर राना, छन्त्यालका १÷१ घर छन् । बाँकी बाहुन÷क्षत्रीका छन् । वडा नं. ८ मा ल्वाङ टोल, इदीखोला, तीजको पाखा, कर्मु, साखु, लुम्रे, कोलेली चाउजे टोल अवस्थित छन् । ७ घरमा होमस्टे संचालन गरेका थिए ल्वाङ टोलवासीले । हाल भने १२ घरमा होमस्टे छन् । जसमा एकघर छन्त्याल र बाँकी सबै गुरुङका छन् । होमस्टे प्रवद्र्धनमा एक्यापले समेत उत्तिकै सघाउ पु¥याएको ल्वाङ सामुदायिक होमस्टेकी अध्यक्ष हिमकुमारी गुरुङ बताउछिन् ।

झुरुप्पको बस्ती भएकाले समूहमा आउने पाहुनालाई बाँडेर होमस्टेमा राख्दा पनि एके होमस्टेमा बसेझैँ भान हुने निर्वाचित जनप्रतिनिधि वडा सदस्य पुष्पा गुरुङले बताइन् । हालसम्म देशी÷विदेशी ६ हजार जति पाहुनाले पाइला टेकेका छन् । विदेशीमा बढी फ्रान्सका छन् भन्ने कुरा होमस्टेका सचिव थमन छन्त्यालले जानकारी दिए । आन्तरिक पर्यटकमा बढी पोखराकै छन् । शुक्रबार त होमस्टेमा पाहुनाको चाप थेगी नसक्नु हुन्छ ।

होमस्टेमा बारीकै उत्पादन खुवाउँछन् । जर्नली, नौली, सिजाली, धम्पुुसे, ठिमा, अन्दी (रातो) रैथाने चामलको भात खान पाउँदा स्वाद नै अर्कै हुन्छ । बारीकै हरिया सागसब्जी, घरकै लोकल कुखुरा र कोदो, मकैको ढिँडोसँग कुलुक–कुलुक निल्न पाउँदा जङ्क फूडलाई माथ खुवाउछन् । बेलुकी जाडोमा कोदोको नारेपाले रनक्क जिउ रन्काउँदा उर्जा नै थपिन्छ । सुख दुःखका गफ गाम्लेसँग अवेरसम्म चल्छन् । पाहुनालाई आफन्तकहाँ बास बस्न पुगेझैँ अनुभूत हुन्छ ।

हाँका कृषक औघी मेहनती छन् । गोलभेडा, नास्पती, आरु, आरुबुखडा, खुर्पा, प्याज, लसुन, निबुवा, सुन्तला, सिजनमा बारीमै लटरम्म फलाउँछन् । ती सबै गाउँमै खपत हुन्छ । व्यवसायिक रुपले भने खेती गर्दैनन् । बेसार भने भारीको भारी शहरतिर निर्यात गर्छन् । त्यसै भट्ट, मास, गहत, सिल्टुङ पनि राम्रो उब्जनी हुन्छ । ताङग्रा, टुसा, कुरिलो जंगलतिर छ्यापछ्याप्ती पाइन्छ । बगाले, सिंगलन जस्ता १२ प्रजातिका च्याउ वनजंगलमा उपलब्ध हुन्छ ।

गाउँ मास्तिरको भिरालो पाखोमा १३ सय रोपनीमा चिया बगान छ । चिया गाउँमै प्रशोधन हुन्छ । चिया बगान सामुदायिक भएपनि फ्याक्टङी भने निजी हो । ३० वर्ष अघि चियाको बोट रोपिएको थियो । रोपेको ५ वर्षपछि टिप्न मिल्छ । सातामा एकचोटि मुना नटिपे अग्लो भएर आउँछ । काँटछाँट गरेर फ्याक्नुपर्ने हुन्छ । विगतमा १ नं. को चिया जर्मनी, अष्ट्रियामा निर्यात हुन्थ्यो । प्रति किलो ४ हजार रुपैयाँमा । माग बमोजिमको पूर्ति गर्न नसक्नाले हाल निर्यात बन्द छ । स्वदेशभित्रै नै खपत हुन्छ । हाल अन्नपूर्ण अग्र्यानिक चियाको नामबाट प्याकिङ्ग गरी स्वदेशभित्र नै खपत भएपनि बजारीकरण अपेक्षा मुताविकको हुन सकिरहेको छैन । बोनी गुरुङको निर्देशनमा त ‘ल्वाङ गाउँ राम्रो चिया बारी’ भन्ने गाउँ चिनारी गीतको भिजुअल नै बनेको थियो । त्यसको ३ वर्षपछि गुरुङभाषी फिल्म कर्ममा ‘ल्वाङ गाउँमा फूलै फुलेको’ भन्ने गीत नै थियो । चियाबारी माथि प्याराग्लाइडिङ स्पट छ । त्यहाँबाट ग्लाइड उडाएर फेवाताल किनारमा अवतरण गर्न सकिन्छ ।

गाउँ मुन्तिरको घट्टेखोलामा दुईटा ठूल्ठूला ३९ मिटर ७० मिटर छन् झारना । ड्रिमल्याण्ड ल्वाङ क्यानोनिङ कम्पनीले दुवैमा क्यानेनिङ गराउँछ । डोरीमा तुर्लुङ्ग झुण्डिएर झरनासँगै माथिबाट तल झर्ने सहासीक खेल नै क्यानोनिङ हो । ३ वर्षअघि सञ्चालित क्यानोनिङमा हालसमम्म ५ हजार जना जतिले मज्जा लिइसकेका छन् । लामो दूरीकोमा विदेशीलाई ४५ सय र नेपालीलाई ३५ सय रुपैयाँ कायम गरिएको छ । असार देखि कार्तिकसम्म उपयुक्त समय हो यो खेललाई । दशैँ, तिहार र जेठमा पनि क्यानोनिङ गर्नेको संख्या बृद्धि भएको देखिन्छ । शुरुवातीमा कम्पनीले १३ लाख लगानी गरेको बोनी गुरुङले जानकारी दिए ।

डाँडामा चाबिसे राज्यकालको गढी छ । गाउँ प्रवेश गर्नुवरै बाटैनेर खेतका गरामा विशाल ढुँगाको स्तम्भ गाडिएको अद्यपि देख्न सकिन्छ । चौबिसे राजाको साँध किल्ला हुनसक्ने गाम्ले अनुमान लगाउछन् । उक्त ढुँगालाई सत्यगुगमा हिमालबाट सुत्केरी महिलाले फ्याँकेको किंवदन्ती समेत प्रचलित छ । ती सुत्केरी महिलाले एक छाकमा ७ माना चामलको भात खाने गरेको बताउँछन्, ल्वाङवासीहरु । उसो त सँस्कृतिकर्मी, साहित्यकार धनप्रसाद तामाङले यस्ता गाडिएको ढुँगे स्तम्भहरु पूर्वी नेपालमा समेत देख्ने गरेका सुनाउछन् । सुत्केरीले त यत्रो ढुँगा फ्याके भने युवाहरुले झन हरेश नखाइ जाँगर चलाउनु पर्ने सन्देश दिएको उनको ठहर छ ।

गाउँमा हेर्नुपर्ने अरुपनि धेरै चिज छन्, गुम्बा, छोर्तेन, शिव मनिदरको दर्शन गर्न समेत पाइन्छ । गाउँको मास्तिर पश्चिमतर्फ विशाल बृक्षको फेदनेर छेताक्यु बहार मन्दिर छ । सो पुरानो धारामा बाह्रैमास मूलको पानी रसाएर आउँछ । गर्मीमा चिसो र जाडोमा न्यानो पानी आउने गर्छ । जहाँ छैतक्यु बराह युवा क्लबको समेत साइनबोर्ड देख्न सकिन्छ ।

पहिले पुर्खाहरुले डाँडा, भिरालो र समथथरमा आएर कुन बुटामुनि कस्तो स्वादको जरुवा पानी रसाएर आएको छ भनी चाख्ने गर्थे । पानी शुरुमा जिब्रोको टुप्पाले मात्र चाख्ने गर्थे । त्यसपछि घाँटीमा अड्काएर अनुभूत गर्थे । त्यसपटि बल्ल घुटुक्क निल्थे । जमिनको माटो कोट्याएर हेर्ने गर्थे । कस्तो बालीको निम्ति उपयुक्र छ यो माटो भनी खुट्याउँथे । पानी चाख्नुपूर्व हावालाई छालाले स्पर्श गरेर कस्तो हावा बहेको छ, अनुभूत गर्ने गर्थे । वैज्ञानिक कुनै यन्त्रको अविष्कार नभएको त्यस बखतमा पनि कति वैज्ञानिक रहेछन् हाम्रा अनपढ पुर्खाहरु । यो चाख्ने काम चिवीले गर्थे । चिवीनै कालान्तरमा मुखिया कहलिए । अझै पनि गाउँघरतिर कुन खोलाको पानी खान हुन्छ र हुन्न भन्ने मान्यता विद्यमान छ ।

ल्वाङ गाउँ ६०० वर्ष पुरानो भएको अनुमान लाउछन् गाम्लेहरु । २ सय वर्ष अघिसम्म त यहाँ गुरुङ मात्र थिए । विगतमा ६ सय ल्वाङ भनेर समेत चिन्ने गरिन्थ्यो । ल्वाङको नामाकरण कसरी भयो भन्ने सम्बन्धमा आ–आफ्नै तर्कहरु छन् । ल्वाङको बोटबाट नै गाउँको नामाकरण भएको बूढापाकाको उखानलाई प्रस्तुत गर्छन् स्थानीयवासी । ल्वाङलाई गुरुङ भाषामा लोगोनास भन्ने गरिन्छ । यसै सेरोफेरोमा फ्रान्सेली छात्राले त पिएचडीको थेसिस नै लेखिछिन् । उसो त यसको पुरानो नाम ल्हो गाउँ समेत हो । धेरै पहिले ल्वाङमा १२ घरमात्र बस्थे भने छिमेकमा ६ घरमात्र थिए । अन्य गाउँका यो गाउँमा आउँदा तान बुनेको चोयाले डोको बुनेको देखेछन् । उनीहरुले गुरुङ भाषामा यहाँको मान्छे त ल्हो त मात्र गर्ने भनेछन् । त्यसैबाट पछि अपभ्रश भइ ल्वाङ रहन गएको हो ।

यहाँबाट धम्पुस, धिताल, रिभान, मर्दी हिमाल, माछापुच्छ्रे, हिउँचुली, अन्नपूर्ण साउथ, सराङकोकट, लामाचौर, पुरुन्चौरको समेत भू–भाग देख्न सकिन्छ । सूर्योदय हेर्नको निम्ति समेत उपयुक्त स्थल हो । मर्दी र इदी नदीलाई दूधे बादलले ग्वाम्लाङ्ग छोपेको देख्दा बन्दीपुरबाट डुम्रे, याम्पाफाँटलाई बादलले ढाकेझै झल्को दिन्छ । धम्पुस भन्दा न्यानो छ ल्वाङ । ल्वाङबाट मर्दी पदयात्रा गर्न सकिन्छ । उत्तरतिर अवस्थित कोकाराफेदी गौँडा दुई दिनमा आउजाउ गर्न सकिन्छ । जहाँ स्लेटको ढँुगाखानी छ ।

थुप्रै सम्भावना हुँदाहुँदै पनि चुनौति समेत उत्तिकै छन् ल्वाङमा । मर्दी पदयात्राकै निम्ति भनी झाँगिएको झाडी फडानी गरेपनि अचेल जस्ताको तस्तै छ । ल्वाङ देखि पितम देउराली हुँदै मर्दी हिमालको पदयात्रा सहज हने थियो । यहाँबाट पितम देउराली पुग्न २ घन्टाको बनेली बाटो छिचोल्नुपर्ने हुन्छ । गाउँमै गुरुङ संग्रहालयको स्थापना गर्नुपर्ने देखिन्छ । हेम्जादेखि ल्वाङ पुग्ने मोटरबाटो पिच गर्नलाई अत्यावश्यक नै छ । रैथाने प्रजातिका वीउविजनहरु विश्वबाट नै लोप हुने खतरा छ । यसप्रति सचेत बन्नुपर्दछ ल्वाङवासी । सकभर पाहुनालई गाम्ले परिवेशमा अग्र्यानिक खाना खुवाउन जोड दिनुपर्छ । मौलिक सँस्कृति नाचगान लोप भएकाछन् यहाबाट, त्यसैले पुनर्जीवित गर्नुपर्छ । नव पुस्तालई पुर्खाको नासो हस्तान्तरण गर्नमा कुनै कञ्जुसाइ गर्नुहुन्न । स्थानीय सीप, कलाको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । ल्वाङ गाउँको चिनारी ब्राण्ड अन्नपूर्ण अग्र्यानिक चियाको परिमाण र परिमाणमा जोड दिँदै प्रचार–प्रसारमा व्यापकता गर्नुपर्छ । जसबाट समुदाय भविष्यमा राम्ररी लाभान्वीत हुन सकुन । पशुपालनमा समेत जोड गर्नुपर्ने देखिन्छ ।

अन्यत्र गाउँबाट विस्थापित भइ शहर पस्ने महामारी नै चलेको छ । ढुँगेघरहरु बस्ने मानिसका अभावमा जिर्ण भइ भत्कने अवस्थामा पुगेका छन् । खेतबारीका पाटाहरु बाँझो छन् । ज्यालादारी गर्ने मान्छे नै पाउन मुश्किल छ । परन्तु, यी समस्याहरुबाट धेरै हदसमम भने ल्वाङबासी मुक्त भएको भेटियो । स्थानीयबासी र सामाजिक अभियन्ताहरुमा गाउँका मुहार कसरी उज्यालो तुल्याउन सकिन्छ भनी चिन्तन र चासो भएको पाइयो, जुन सकारात्मक पक्ष हो ।

‘नजिकको तीर्थ हेला’ भनेझैँ अझै नजिक भएर पनि कतिपय नगएका हुनसक्छन्, ल्वाङ होमस्टेमा । जानुस अविलम्व त्यहाँ, अग्र्यानिक खाना पाइन्छ । परम्परागत ढुँगेघरमा केही आधुनिकता थपेको देख्दा तपाईका आँखा त्यतै मोहित भइ एकटकले ठोक्किन्छन् । आँगनमै बसी–बसी चराचुरुङ्गीले रनवन घन्काएको सुन्दा बारुले कम्मर मरक्क मर्काउदै आँगनमै फन्फनी नाँचुनाँचु झै लाग्छ । गाम्लेसँग भलाकुसारी गर्दा पीर–बेदना पखालिएर मन सङ्लो भएर आउँछ । उकालिदा केही पसिनाका धारा छुटेता पनि सिरसिरे बतासले एकै छिनमा शीतलता प्रदान गर्छ । पर मैदानमा इदी र मर्दी नदीले मित लाएको देख्दा समाजमा मिलेर बस्ने सद्भावको विकास हुन्छ । छिनभरमै पखेटा हालेर उडेर पुगु झै भन्ने कल्पनामा बहकिन मन लाग्छ । कति गुनगान गाउनु हौ ल्वाङको ? जति गाए पनि अपुरो नै हुन्छ । हामी त पुगेर आयौँ तपाईं नि ?

प्रतिक्रिया

सम्बन्धित खवर