२०७७ पुष २४, शुक्रबार | २०७७ माघ १३ | ourtourismnews@gmail.com

खप्तड पर्यटनको गन्तब्य

२०७७ पुष २४, शुक्रबार

के.वि.मसाल
फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । ग्रामीण पर्यटकहरु अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । ग्रामीण पर्यटनको विकासका लागी संस्कृति, धार्मिक र प्रकृति उत्तिकै महत्वका विषय हुन्छन ।

डोटीको भूगोल उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे श्रृंखलासम्म फैलिएको छ । डोटीको अधिकांस भूभाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन । यस जिल्लामा खप्तड लेक, सकार लेक, महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी सम्पदा साथै दिपायल, वानेडुग्रीसैन तथा नारीदाङ जस्ता प्राकृतिक भूवनोट र नदी किनारामा समथल खेतियोग्य जमिन पनि रहेको छ । डोटी जिल्ला प्रकृति प्रेमीहरुको लागी रमणिय मानिन्छ । उच्च लेकाली भेगमा पाइने खर्सु, बाँस, धुपी सल्ला जस्ता वनस्पति देखि लिएर उष्ण प्रदेशीय भेगमा पाइने साल, सिसौं, जस्ता वनस्पतिहरु यस जिल्लाका वनस्पतीय विविधता हुन । यस जिल्लाको भौगोलिक विविधताले गर्दा केही दुरीकै फरकमा आँप तथा स्याउ फलेको देख्न सकिन्छ । चराचुरुंगीको विविधतामा पनि यो जिल्ला धनी रहेको छ ।

ग्रामीण पर्यटकीय गन्तव्यहरुको धनी डोटी जिल्ला सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको प्रतिबिम्बमात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा यात्रागर्ने ग्रामीण र वाह्य पर्यटकहरुका लागि भूस्वर्ग मानिन्छ । रामारोशन, बझाङ र दार्चुलामा अवस्थित अपी सैपाल हिमाल, बाजुराको बडीमालिका जस्ता धार्मीक एवं प्राकृतिक सम्पदा सुदुरपश्चिममा प्रख्यात मानिन्छ । डोटीको बडीकेदार अथवा खप्तड लेक सबैको लागी आकर्षक गन्तव्य मानिन्छ । खप्तड लेक अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगम स्थलमा रहेको छ । खप्तड क्षेत्र धार्मिक तथा पुरातात्विक दृिष्टकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । यहाँ अनेकथरी देवताका अनेकथरी मन्दिरहरु छन् । आजभन्दा ५३ बर्र्ष अघि खप्तड आएका, फकिर खप्तडबाबाले खप्तड नामलाई प्रसिद्ध बनाएका हुन् । खप्तडको उकालो चढेपछि डाँडाबाट हरियाली फाँटैफाँटको मैदान देख्न सकिन्छ । हरियाली मैदानबीचका खोल्साको दृश्य पनि मनमोहक मानिन्छ । जताततै रंगीचंगी फूल र डाँफे, मयुरको चलखेलले खप्तडको दृश्यलाई रोमाञ्चक बनाइदिन्छन ।

खप्तड लेकमा २५ मैदान र वरिपरि ५३ वटा थुम्का छन् । पैदलयात्रा गर्नेहरुका लागि डोटी जिल्लाबाट मात्र नभएर अछाम,बाजुरा र बझाङका विभिन्न क्षेत्रबाट खप्तड पुग्न सकिन्छ । यात्रामा परिचित रुट गाईडको आवश्यकता भने अनिवार्य हुन्छ । सरल पदमार्ग नै खोज्ने हो भने डोटीको सिलगढीबाट खप्तड उक्लने पदमार्ग अरु वैकल्पिक पदमार्गको तुलनामा निकै सजिलो पदमार्ग पर्दछ । पैदलयात्राबाट नै खप्तड पुग्ने हो भनेपनि सिलगढीबाट पैदलयात्रा थालेको तेस्रोे दिनमा खप्तड पुगिन्छ । खप्तड पुगिसकेपछि घासे मैदान, थुम्का, जंगलहरु, घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी भ्युटावर, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहर्षलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो खप्तडका मुख्य घुम्ने ठाउ हुन् ।

डोटीको खप्तडमा ५० वर्ष बिताउँनु भएका खप्तडबाबा,आध्यात्मिक गुरु र विचारकका रुपमा चिनिनुहुन्छ । सन १८८० मा भारतको कश्मीरको नेहरु परिवारमा जन्मनुभएका खप्डतबाबा विक्रम संवत १९८६ मा नेपाल आउँनु भएको थियो । संन्यास लिनु पूर्व उहाँ प्रतिभावान डाक्टर हुनुहुन्थ्यो । उहाँले कोलकाता स्थित ट्रपिकल मेडिकल कलेजबाट एम.बी.बी.एस. र बेलायतबाट सर्जनको अध्ययन गर्नुभएको थियो । भने काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पश्चात गहन साधनाका लागि नेपालको खप्तड लेक रोज्नु भएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन । भने प्रकाशित हुन नसकेका उहाँकै हस्तलिखित अरु थुप्रै कृतिहरु पनि खप्तडबाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरहरुमा रहेका छन । खप्तडबाबाको विक्रम संवत २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको हो ।

खप्तडबाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान, समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, मधुर वाणी भएका महान व्यक्तित्व हुनुहुन्थ्यो । जसले उहाँको दर्शन, सत्सङ्ग र उहाँको उपदेश सुन्ने सौभाग्य पाए तिनिहरुले आफ्नो जीवनलाई नै अर्को मोडतिर लगेको थुप्रै घटना सुनिएको छ । उहाँका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान सार संक्षेप म र मेरो कर्तव्य, नारीधर्म र पुरुष धर्म, योग विज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान, एवम तीनओटा अग्रेजी पुस्तकसहित जम्मा १६ ओटा पुस्तक प्रकाशित भइसकेका छन । यी ग्रन्थहरुले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेको छ । वैदिक सिद्धान्त र दर्शन अनुरुपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरुमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन भन्ने स्पष्ट हुन्छ । विचार विज्ञान त यति लोकप्रिय ग्रन्थ बनेको छ सामान्य पढे लेखेका नरनारीदेखि लिएर ठूलाठूला दार्शनिक, वेदान्ती पनि यो ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका छन ।

खप्तड बाबाले महान तपस्वी, ज्ञानी, त्यागी, योगी, लेखक, साधक हुनुहुन्थो । खप्तड लेकमात्र थियो, पहाडमात्र थियो, जगल मात्र थियो । अहिले खप्तडसँग बाबा गाँसिनुभएको छ । बाबासँग खप्तड गाँसिएको छ । खप्तडमा चेतना पलाएको छ । खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ बाबाका कारणले । अनि बाबाको ज्ञानज्योति, तपोधन, नाम ख्याति, ग्रन्थमूर्ति, योगधारा, त्यागकीर्ति चारैतिर फैलिएको छ खप्तडका कारणले । आज बाबाकै कारणले खप्तडको ख्याति, सम्मान, इज्जत र लोकप्रियता बढेको छ ।

खप्तड लेकमा दुईसय ६० प्रजातीका चराहरु, पाचँसय किसिमका जडिबुटी, बिभिन्न किसिमका फूलहरुले सिंगारिएको खप्तड धर्तिकै स्वर्ग भूमि भन्दापनि हुन्छ । जैबिक बिबिधताले भरिपूर्ण यो ठाँउ प्रकृति प्रेमि, अनुसन्धानकर्ताका लागि महत्वपूर्ण छ । यसको संरक्षण गर्न सरकारले सन १९८४ मा खप्तड राष्ट्रिय निकुञ्जको घोषणा गरेको छ । अहिले नेपाली सेनाले यसको संरक्षण गरी राखेको छ । खप्तड क्षेत्रलाई अझ ब्यवस्थित गर्न र पर्यटन बिकासका पूर्बाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन बिकास समिति गठन गरेको हो । खप्तड आश्रम, त्रिवेणी, सहस्रलिङ्ग, खडुली, डडुली, माईको थान, खापर मष्टा माण्डु, खापर दह, नागढुङ्गा, डाँफेकोट यहाँका धार्मिक तथा पौराणीक स्थलहरु हुन । यस ठाउँमा ब्रहमलिन १००८ खप्तड स्वामी श्री सच्चिनानन्द सरस्वतीले तपस्या र साधना गरेकाले यस क्षेत्रको महत्व बढाएको छ । यतिखेर खप्तडस्वामीको आश्रमस्थललाई संग्राहालय बनाईएको छ । त्यहाँ उनले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन हेर्न पाईन्छ । समग्रमा खप्तड आफै प्रकृतिको एक जीबित संग्राहालय पनि हो ।

यहाँ हरेक बर्ष पूर्णीका दिन गंगा दशहरा मेला लाग्दछ । जुन मेलामा सुदूरपश्चिमका सांस्कृतिक रितीरिवाज, भेषभुषा, देउडा देख्न पाईन्छ । सुदूरपश्चिमका ९ जिल्ला र भारत उत्तराअंचलका तिर्थयात्री उक्त मेलामा भेटीन्छन । पूर्णीमाका दिन त्रिबेणीमा नुहाउँदा चार धाम अर्थात गयाँ, काशी, प्रयाग, बद्री नुहाए सरह हुने, पाप नासिने र पितृ देवता खुशी हुने मान्यता रहि आएको छ । यतिखेर खप्तड जान डोटीको सिलगढी र अछाम साँफेबाट दुई दिन, बझाङको चैनपुर बाट एकदिनको पैदल यात्रा यात्रामा पुग्न सकिन्छ । सबैभन्दा छोटो आरामदायी, सुरक्षीत बाटो बझाङको तमैल जहाँ सम्म बस यातायातको सुबिधा छ । यहाँबाट ५ घण्टामा खप्तड सजिलैसगँ पुगिन्छ ।

खप्तड साँस्कृतिक, प्राकृतिक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा जति पर्यटन बिकासको सम्भावना छ, त्यति नेपालको अन्य ठाउँमा छैन भन्दा पनि हुन्छ । किनभने सुदूरपश्चिम भन्दा पूर्बी नेपालतिर पर्यटकहरुले धेरै घुमिसकेका छन र त्यहाँ नौलोपन छैन । तर सुदूरपश्चिममा पर्यटकले नयाँ चिजहरु देख्न र अनुभव गर्न पाउँछन । खप्तड क्षेत्रमा त्यसको दाँजोमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन बिकास समिती र नेपाली सेनाबाट यात्रीहरुलाई धेरै सुबिधाहरु दिईदै आईएको छ । खप्तड क्षेत्रको साथै रामारोशन, बडिमालिका, मालीकार्जुन आदि ऐतिहासिक, धार्मिक, प्राकृतिक स्थलको सम्भाब्यता अध्ययन गरेर ग्रमाण पर्यटन स्थलको बिकास हुन पर्दछ । योजनाबद्ध ढंगले त्यस क्षेत्रको पर्यटन बिकासमा राज्य, स्थानीय सरकार, समाजसेवी, राजनैतीक नेता, कार्यकर्ता, बुद्धिजिबी, कर्मचारी सबैले काम गरेमा खप्तड क्षेत्र मात्र हैन सुदूरपश्चिमका जनताको आर्थिक स्तर माथि उठाउँन पर्यटन ब्यवसायले ठूलो टेवा दिने छ ।

खप्तडक्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिल्ऽे पनि निकै महत्वपूर्ण छ । खप्तडबाबाको तपोभूमि यही क्षेत्र थियो । वि.सं.२०१५ सालतिर खप्तडबाबाले आश्रम बनाएपछि यस क्षेत्रको ख्याति बढन गएको हो । उनको आश्रम भने त्रिवेणीमा थियो । खप्तडक्षेत्रमा सुर्मा काली, बढीमालिका र अन्य मन्दिरहरु पनि छन । यहाँ पुराना मठमन्दिरका भग्नावशेषहरु पनि प्रशस्तै पाइन्छन । खप्तड स्वामीले यहाँ साधना गरेपछि यसको सांस्कृतिक र धार्मिक महत्वको ज्यादा प्रचार–प्रसार भएको हो । शैलेश्वरी मन्दिर डोटी जिल्लाको लागी मात्र नभएर हिन्दुहरुको आस्थाको केन्द्र मानिन्छ । डोटीको सिलगढी नगरमा रहेको प्रसिद्ध शैलेश्वरी देवीको मन्दिर प्राचीन मन्दिर मानिन्छ । मन्दिरको वर्तमान स्वरुप वि सं २०२८ मा योगी नरहरिनाका सक्रियतामा निर्माण भएको हो । यहाँ देवीको नित्य पूजा सिलगाउँ निवासी भट्ट ब्राह्मणद्धारा गरिन्छ । प्रत्येक वर्ष जेष्ठ र कार्तिक पूर्णिमाका दिन विशेष पूजा र प्रत्येक १२ वर्षमा लक्षहवन महायज्ञ परम्परागत रुपमा प्राचीनकालदेखि हुदै आएको छ ।

त्यसैगरी सिलगढीमा राधाकृष्णको मन्दिर रहेको छ । राधाकृष्णको यो मन्दिर वि सं १९९८ मा निर्माण गरिएको हो । बासुधारा दिपायल क्षेत्रस्थित दिलीपेश्वर मन्दिरदेखि पश्चिम फेदीमा सेती सीता नदीको तटमा अवस्थित रहेको छ । यहाँ चुने ढुङ्गाबाट निर्मित पाकृतिक पर्वतबाट पवित्र जलको सहस्र धाराहरु झरिरहेको देखिन्छ । सेती नदी तटको पावन यस स्थललाई बासुधारा भनिन्छ । यहि क्षेत्रमा त्रेतायुगमा राजा दिलीपले तपस्या,उपासना गरेकाले यस क्षेत्रलाई तपत वा तपोकुण्ड पनि भन्ने गरिन्छ ।

डोटी जिल्लामा विशेषगरी गौरा पुजाको महत्व मानिन्छ । गौरा पुजाको लागी देश विदेशमा गएका मानिसहरु पनि गाउँमा फर्किने क्रमपनि हुन्छ । प्रत्यक भाद्र कृष्ण पञ्चमीका दिन घरमा राखिएको गौरा सप्तमीमा मन्दिरमा भित्रयाइएपछि गौरा पर्व सुरु हुन्छ । श्रद्धालुले गौरालाई पूजा गरेर ब्रत पनि बस्ने गर्दछन् । गहुँ , केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाएर राखेको अन्नको सम मिश्रण बिरुडालाई भक्तजनहरुले गौराको प्रतिमाका रुपमा पूजाआजा गर्छन् । शिव र पार्वतीको प्रतिकका रुपमा गौरा र महेश्वरलाई पूजा गरी धार्मिक बिधि अनुसार गौरा पर्व मनाइन्छ । गौराको पूजा गर्दा मनोकाँक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । गौराको पूजा सकिएपछि बाजागाजा सहित नाचगान, देउडा, चैत, हुडकेउली, धमारीलगायत खेल खेलिन्छ ।

जो कोहि खप्तड पुग्यो भने खप्तडबाट फर्कन सायदै मन गर्दैन । जुन कारण हो सुन्दर, शान्त र पुण्य भूमि । प्रदेश ७ को सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये बझागं, बाजुरा, डोटी र अछामको सिमानामा पर्दछ खप्तड । खप्तड जादा चारवटै जिल्लामा पाईला राख्न सकिन्छ । स्कन्द पुराणमा खप्तडलाई खेचराद्री भनिएको छ । खेचरको अपभ्रंश हुँदै जाँदा खप्तड भएको मानिन्छ । खप्तडमा नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम जस्ता पवित्र स्थल रहेका छन । त्रिवेणीघाटमा नुहाए पाप पखालिन्छ भन्ने मान्यता पनि रहेको छ । त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम स्थल हो । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने धारणा छ । जेठ–असारमा खप्तड जादा बुकी फूलले पाटन ढकमक्क भएको देखिन्छ । मानौ खप्तड लेकमा फूलैफूलको गलैंचा बिच्छ्याएको हो की भन्ने भान हुन्छ ।

नेपालगन्ज र धनगढीबाट सिधै बस चढेर डोटीको सदरमुकाम सिलगढी पुगिन्छ । सिलगढीबाट एक दिनको हिँडाइमा निकुञ्जको प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिंग्राना बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ । झिंग्रानादेखि देखिन थाल्छन मनोरम दृश्य । अनि विश्वमै दुर्लभ हरिया रङका छेपाराहरु । त्यहाँबाट घना जंगलै जंगल पाँच घन्टा हिँडेपछि बीचपानीमा बस्नुपर्छ । बीचपानीमा एउटा सानो होटल छ । त्यहाँ तीनओटा खोलाको संगममा त्रिवेणी मन्दिर छ । त्रिवेणी मन्दिरबाट खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडादाउने पाटन, सहस्रलिंग, नागढुंगा, केदारढुंगा तथा खप्तड बाबाको आश्रम स्थल हेर्न पाइन्छ । खप्तडमा दुईओटा साना होटल छन् । ती होटल खप्तड मेलामा मात्र खुल्छन् । यहाँ बास बस्नका लागि चारओटा धर्मशाला छन् । खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालय नजिक पर्यटक बस्ने दुईओटा घर बनाएको छ ।

खप्तडमा बर्षैभरी घुम्न सकिन्छ । जेठ,असार साउनमा खप्तडका पाटनहरु भुईफुलले ढक्कमक्क हुन्छन । रंगिचंगी अनगिन्ति फूलहरु पाटनमा कार्पेट बिच्छ्याईसरी लाग्छन । असोज, कार्तिक, मंसिर, पुष, माघ, फागुन सम्म हिउले ढाकिएर खप्तड कम सुन्दर देखिदैन । तराईबाट यति नजिक हिउमा खेल्न पाईने अर्को ठाँउ नै छैन । चौतर्फी फूलेका लाली गुरासले फागुन चैत,बैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डप झै लाग्छ । खप्तडमा सात थरीका लाली गुरास फुल्छन । खप्तडको डाँफे कोट र भ्यु टावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिका लगायत एक दर्जनभन्दा बढि हिमाल हेर्न पाइन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर