ताजा समाचार

आज    |   

आफ्नै विमानस्थलमा नियतवश होल्ड गराइन्छन् निगमका जहाज



अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरले विदेशी जहाजलाई प्राथमिकता दिएर अवतरण गर्न दिन्छ, तर राष्ट्रिय ध्वजावाहक जहाजलाई नियतवश आकाशमै होल्ड गराउँछ दुई महिनामा जहाज १५० घन्टा होल्ड हुँदा निगमलाई करिब २५ करोड नोक्सान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि प्राथमिकता नपाउँदा नेपाल एयरलाइन्सले मासिक करोडौँ नोक्सान व्यहोर्नुपरिरहेको छ । आफ्नै विमानस्थलमा निगमका जहाजलाई नियतवश होल्ड गराउने गरिएको छ । सेप्टेम्बर र अक्टोबर महिनामा मात्र दुईवटा वाइडबडी आकाशमा १२८ घन्टा र दुईवटा न्यारोबडीले ९० घन्टा होल्ड हुनुपरेको त्रिभुवन विमानस्थलको तथ्यांक छ । ‘विमानस्थलले विदेशी जहाजलाई प्राथमिकता दिने र निगमका जहाजलाई होल्ड गराउने कारणले सो अवधिमा २४ करोड ७६ लाख रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ,’ निगम स्रोतले बतायो । नेपालमा रहेको एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा ३८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गर्नेगरेका छन् । ‘प्राविधिक समस्या भएको अवस्थाबाहेक पहिला आइपुग्ने विमानले अवतरणको पालो पनि पहिला नै पाउनुपर्ने हो, तर निगमका जहाजको सन्दर्भमा त्यस्तो छैन,’ एक वरिष्ठ क्याप्टेनले बताए ।

सिजनमा होल्ड हुन्छन् निगमका जहाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विशेषगरी पर्यटकीय सिजनमा निगमका वाइडबडी होल्ड गराउने गरेको पाइएको छ । सिजन सुरु भएपछि विदेशी वायुसेवा कम्पनीले पनि वाइडबडी ल्याउँछन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीका लागि दुईवटा मात्रै पार्किङ छ । त्यसैले विमानस्थलले निगमका वाइडबडीलाई आकाशमा होल्ड गराएर अन्तर्राष्ट्रिय कम्पनीका वाइडबडीलाई प्राथमिकताका साथ अवतरण गराउने गरेको स्रोतले बताएको छ । आकाशमा होल्ड नगराएबापत विदेशी कम्पनीहरूले विमानस्थलका कर्मचारीलाई हवाईटिकटलगायतका अन्य उपहार दिने गरेकोसमेत स्रोतको दाबी छ ।

एकपटकमा औसत ३८ मिनेट होल्ड हुन्छ वाइडबडी
गत सेप्टेम्बर र अक्टोबरमा निगमका वाइडबडी १२८ घन्टा होल्ड भएका छन् । फलस्वरूप निगमले करिब २३ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ । गत सेटेम्बरमा निगमको वाइडबडी एकपटकको अवतरणमा औसत ३८ मिनेट होल्ड भएको छ । जहाज औसतमा २८ दिन सञ्चालन हुने मान्दा एकपटक अवतरण गर्दा महिनामा करिब १४ घन्टा होल्ड हुन्छ । निगमका अनुसार दुईवटा जहाज हरेक दिन ४ पटक अवतरण हुन्छ ।

निगमको वाइडबडीले प्रतिघन्टा ५.५ टन इन्धन खपत गर्छ । नेपालमा हवाईइन्धनको मूल्य प्रतिटन १ हजार डलर छ । जसअनुसार सेप्टेम्बर महिनामा होल्ड भएकै कारण एकपटकमा १ करोड १० लाख रुपैयाँबराबरको इन्धनको नोक्सानी हुन्छ । यो रकम भनेको विमान सञ्चालनको ३५ प्रतिशत मात्रै हो । आकाशमा होल्ड हुँदा हुने अन्य खर्चलाई पनि हिसाब गर्ने हो भने ३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । प्रायः निगमका वाइडबडी प्रत्येक दिन चारवटा गन्तव्यबाट काठमाडौं अवतरण गर्छन् । यसलाई आधार मान्ने हो भने सेप्टेम्बर महिनामा ७० घन्टा जहाज होल्ड भएको छ । जसका कारण निगमले १२ करोड ५९ लाख रुपैयाँ नोक्सानी भएको छ ।

अक्टोबरमा भने एउटा वाइडबडी एकपटकको अवतरणमा औसत १४ घन्टा होल्ड भएको छ । सो अवधिमा जहाजले ८९ लाख ९१ हजार रुपैयाँबराबरको इन्धन खपत गरेको छ । यसलाई ३५ प्रतिशत मानेर अन्य खर्चलाई गणना गर्ने हो भने सो अवधिमा निगमको २ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । चारपटक अवतरण भएको संख्यालाई आधार मानेर गणना गर्ने हो भने सो महिनामा ५७ घन्टा होल्ड भएको छ भने निगमलाई १० करोड २७ लाख रुपैयाँ नोक्सानी भएको छ । नेपालमा चाडपर्व सकिएसँगै पर्यटकीय सिजन पनि सुरु हुन्छ । अगस्ट, सेप्टेम्बर नोभेम्बर, अक्टोबर, मार्च, अप्रिल र मेमा नेपालमा धेरै पर्यटक भित्रिने गर्छन् । यो अवधिमा निगमका वाइडबडी धेरै होल्ड हुने गरेको स्रोतको दाबी छ । निगमका न्यारोबडी पनि औसतमा प्रत्येक अवतरणमा १५ मिनेट होल्ड हुने तथ्यांक छ ।

सिजन वाइडबडी ल्याउँछन् अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले
पर्यटकीय सिजनमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा वाइडबडीले ल्याउने हुँदा निगमका वाइडबडीले अवतरणका लागि प्राथमिकता पाउँदैनन् । निगमसँग दुईवटा वाइडबडी छ । निगमका वाइडबडी बेलुका र बिहान काठमाडौं अवतरण गर्छन् । निगमको वाइडबडी दोहाबाट बिहानको ८.३० मा काठमाडौं आइपुग्छ । दुबईबाट बिहान ८.५० मा आइपुग्छ । दिल्लीबाट साँझ ६.२० मा र जापानबाट साँझ ५ बजे आइपुग्छ । सोही अवधिमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका वाइडबडी पनि काठमाडौं आइपुग्छन् । तर, विमानस्थलमा पार्किङ कम भएका कारण निगमका वाइडबडीलाई आकाशमा नै होल्ड गराइने स्रोतले बताएको छ ।

नेपालमा नियमित वाइडबडी ल्याउने कम्पनी कम छन् । टर्किस, क्याथेड्र्यागन, कोरियन र थाई एयरलाइन्सले नेपालमा नियमित रूपमा वाइडबडी ल्याउँछन् । तर, कतार, इतिहाद, मलेसियन, चाइना साउदर्नलगायतका एयरलाइन्सले सिजनको समयमा वाइडबडी ल्याउँछन् । निगमका वाइडबडी र अन्तर्राष्ट्रिय कम्पनीका वाइडबडीको अवतरण समयमा एउटै पर्छ । त्यसैले सो अवधिमा अन्तर्राष्ट्रिय कम्पनीलाई न्यारोबडी मात्र पठाउन अनुरोध गर्ने हो निगमका वाइडबडीले होल्ड हुन नपर्ने स्रोतले बताएको छ । त्रिभुवन विमानस्थलमा दुईवटा रिमोट पार्किङ छन् । एउटा पार्किङ मर्मतमा छ । सञ्चालनमा ८ वटा छन् । जसमध्ये २ वटा वाइडबडीका लागि ६ वटा न्यारोबडीका लागि हो ।

न्यारोबडी होल्ड हुँदा पौने २ करोड नोक्सान
निगमको न्यारोबडी एकपटक अवतरण गर्दा औसतमा १५ मिनेट होल्ड हुने विमानस्थल स्रोतले जनाएको छ । निगमसँग भएका दुईवटा न्यारोबडीले औसतमा महिनामा ९० उडान भर्छन् । यसरी एक महिनामा न्यारोबडीले औसतमा २१ घन्टा आकाशमै होल्ड भएर बस्नुपर्छ । सो अवधिमा एकपटकको अवतरणमा होल्ड हुनुपर्दा २० लाख ५६ हजार रुपैयाँबराबरको इन्धन बढी खर्च हुन्छ । इन्धन खर्चलाई ३५ प्रतिशत मानेर अन्य खर्च जोड्दा एक अवतरणमा महिनामा ५८ लाख ७६ हजार नोक्सानी हुने देखिन्छ । तीन उडानलाई आधार मान्दा महिनामा निगमले जहाज होल्डबाट मात्रै १ करोड ७६ लाखभन्दा बढी नोक्सान व्यहोर्नुपरेको छ । निगमका न्यारोबडीले बैकक, हङकङ, बेङ्लोर र मुम्बई उडान गर्छन् ।

चालू आवमा १७ अर्ब आम्दानी गर्ने निगमको प्रक्षेपण
नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्ष २०७६/०७७ मा १७ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । निगमले अन्तर्राष्ट्रिय, राष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डलिङबाट आम्दानी गर्ने प्रक्षेपण गरेको हो । निगमले अन्तर्राष्ट्रिय उडानबाट १२ अर्ब ७५ करोड आम्दानी गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै, राष्ट्रिय उडानबाट ३२ करोड ३८ लाख, ग्राउन्ड ह्यान्डलिङबाट ४ अर्ब १६ करोड आम्दानी बताएको छ । गत आवमा निगमले १५ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, चालू आवको असोज मसान्तसम्म निगमले ४ अर्ब २९ करोड आर्जन गरेको छ ।

निगमले मार्चदेखि जापानको नारितामा उडान भर्ने तयारी गरेको छ । त्यस्तै, चीनका बेइजिङ, सांघाई, बंगलादेशको ढाका, म्यानमारको याङअन, भियतनामको हनोई, कम्बोडियाको नोमफिन र श्रीलंकाको कोलोम्बो उडानका लागि अध्ययन गरिरहेको जनाएको छ ।

तल्लो तहको जहाजलाई अवतरणमा प्राथमिकता
सीताराम भण्डारी
प्रमुख, एटिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

जहाज नियन्त्रण गर्दा कुन कम्पनीको जहाजको भन्ने गणना हुँदैन । हाम्रो मुख्य लक्ष्य भनेको सुरक्षित रूपमा जहाजको उडान र अवतरण गर्ने हो । सैद्धान्तिक रूपमा हामीले जहाज अवतरण गराउँदा निकटता, तह (कति तल छ) र गतिलाई आधार बनाउँछौँ । साधारणतया हामीले जुन जहाज तल्लो तहमा छ त्यसलाई पहिला अवतरण गराउँछौ । निगमलाई मात्रै होल्ड गराउने भन्ने हुँदैन ।आजको नयाँपत्रिका दैनिकमा मुना कुँवरले समाचार लेख्नुभएको छ ।

Write your Comment


Related News
  • कर्णालीमा पर्यटन प्रर्बधन गर्न अन्तरक्रिया कार्यक्रम
  • काण्डै काण्डमा नेकपाका नेता, पर्यटन राज्य मन्त्रीद्धारा राजीनामा
  • बर्दियामा पर्यटक भित्राउन पर्यटन वोर्ड र व्यवसायी विच छलफल
  • कर्णाली पुलमा सेल्फी खिच्ने पर्यटकको भीड
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी