ताजा समाचार

आज    |   

धरानमा इष्ट टुरिजम मार्ट सुरु, नेपाल भ्रमण बर्षको आधार तयार हुने – मुख्य मन्त्री शेरधन राई



प्रदेश नम्बर १ का पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्धेश्य सहित सुन्सरी जिल्लाको धरानमा शनिबारबाट दोस्रोे इष्ट टुरिजम मार्ट २०१९ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको समन्वयमा इष्ट टुरिजम मार्ट आयोजना भएको हो ।

मार्टको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० का लागि आधार तयार गर्न उक्त मार्ट प्रमुख आधार हुने विश्वास व्यक्त गर्नुभयो । पर्यटनबाट मात्र समृद्धि संभव भएको भन्दै उनले प्रदेश १ को पर्यटन प्रबद्र्धनमा मार्टले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्र्नु भयो । मुख्यमन्त्री राईले पर्यटकीय अनुभव र व्यापारिक आदानप्रदानका लागि समेत मार्ट महत्वपूर्ण हुने विश्वास व्यक्त गदै राईले मार्टका स्टलहरुको अवलोकन गरी सहभागीसँग तस्वीर समेत खिचाएका थिए । कार्यक्रमका अवसरमा बंगलादेश, भुटान र भारतबाट आएका पाहुनाहरुलाई ढाका टोपि लगाएर सम्मान गरिएको थियो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पर्यटन सम्बन्धी व्यापार बढाउन र संस्कृतिको संरक्षणको लागि समेत मार्ट महत्वपूर्ण हुने भनाई उनको छ । यो मार्ट पब्लिक प्राइवेट पार्टनरसिपको गतिलो नमुना हो, उनले भने । पर्यटनको विकासका लागि पूर्वाधार निकै महत्वपूर्ण पाटो भएको भन्दै उनले सरकारले विकास निर्माणका कामलाई उत्तिकै महत्व दिएर तिव्रता प्रदान गर्नुपर्ने बताए ।

धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर मञ्जु भण्डारीले मार्टले धरानको पर्यटकीय विकासमा नयाँ इटा थप्ने विश्वास व्यक्त गर्नुभयो । उपमहानगरपालिका नगरको पर्यटकीय विकासका लागि दत्तचित्त भएर लागि परेको भन्दै उनले अभियानमा नगरवासीको सहयोगको अपेक्षा पनि गर्नुभयो ।
१ नम्बर प्रदेश सरकार र स्थानीय पर्यटन व्यवसायीले मार्टलाई सघाएका छन् । मार्टमा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायी, भारत, भुटान र बंगलादेशका टुर अपरेटर्स र सरोकारवालाको सहभागिता रहेको मार्टका संयोजक भविशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मार्ट स्थानीय सिद्धि नेवा परिषद्को हलमा आयोजना भइरहेको छ । मार्टमा १ सय हाराहारीमा स्टल रहेका छन् । मार्टका अवसरमा सगरमाथा बेस क्याम्प, हलेसी, वराहक्षेत्र, सखडा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्ष, प्राचीन हरिद्वार वराहक्षेत्र, ऐतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथीभरा लगायतका क्षेत्रलाई प्रचार गरिएको छ । पूर्वको मुन्दुम पदयात्रा मार्ग, प्याराग्लाइडिङ, हस्तकलाका सामग्रीको प्रचार र प्रदर्शनी पनि कार्यक्रमको आकर्षण रहेका छन् । मार्ट असोज ६ गते सम्म संचालन हुने छ ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी