ताजा समाचार

आज    |   

गोसाईकुण्ड कसरी पुग्ने  ?



के वि मसास

गाेसाइ कुण्ड, रसुवा

प्रदेश नम्वर ३ को रसुवा धेरै हिम कुण्ड भएको जिल्ला हो । रसुवामा १०८ हिम कुण्डहरु छन । हिम कुण्डहरु मध्य गोसाईकुण्ड तीर्थाटन पर्यटनको लागि गन्तब्य भएको छ । कतिपय हिम कुण्डहरु को नामाकरण समेत हुन सकेको छैन भने हिमपात हुने महिनामा जान पनि सकिन्न । गोसाईकुण्डको निलोपानी वरिपरि अग्ला पहाड, पहाड नजिक हिम श्रृखला स्वस्छन्द हावा, मनमोहक वातावरण, साच्चैनै स्वर्गको अनुभुति गर्न सकिने गोसाईकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरुका लागी उत्कृष्ट तपोभुमि मानिन्छ ।

गोसाईकुण्ड रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा पर्दछ । गोसाईकुण्ड समुन्द्र सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ । यसको लम्वाई ६२५.५५ मिटर र चौंडाई ३२० मिटर रहेको छ भने २६ मिटर गहिराई रहेको छ । गोसाईकुण्ड वरपर हिम चट्टानको पहाडले घेरेको छ । तीर्थाटन पर्यटकहरुको ओहिरो लाग्ने गोसाईकुण्डले देश भित्र मात्र नभएर विदेशिहरुलाई समेत आर्कषणको केन्द्र बनाएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत गोसाईकुन्ड लाङटाङ राष्ट्रिय निकुन्जक्षेत्र भित्र रहेको छ । निकुञ्जबाट संरक्षीत क्षेत्र भएकोले त्यस क्षेत्रको वातावरण अत्यन्त आकर्षक र मनोमोहोक मानिन्छ । गोसाईकुण्डमा घाम लागेको बेला शिवको आकृतिको मूर्ति जस्तो गेरु रंगको चट्टान देखिन्छ । त्यसैले गोसाईकुण्डलाई शिवकुण्ड पनि भनिन्छ ।

गोसाईकुण्ड जाँदा धुन्चेबाट पैदल यात्रामा पर्ने ३८ सय मिटरको उचाईमा रहेको लौरीविनाएकबाट लाङटाङ हिमाल गणेश हिमाल, रसुवा जिल्लाको स्याफु्वेशी धुन्चे, नुवाकोट जिल्लाको अधिकांस भुभाग र धादिङ जिल्लाको डाडाँ काडाँको दृष्श्यालोकन गर्न सकिन्छ । जनै पुर्णीमामा गोसाईकुण्ड पुग्ने तीर्थाटनका पर्यटकहरुले तमाङ सस्कृतिमा रहेको तमाङसेलो, मेन्दोमायाँ, ढाङ्ग्रे नाच, र अन्य सम्प्रदायबाट प्रर्दशन गरिएका भजन, कृतन, खैजरी नाच समेत हेर्न सक्दछन । गोसाईकुण्ड क्षेत्रमा १०० प्रजाती भन्दा बढि फूलफुल्ने बनस्पति, विष, जटामसी, पदमचाल जस्ता बनस्पति पाइन्छ । सदरमुकाम धुन्चे देखि ४ घन्टाको उकालो बाटोमा पर्ने घट्टेखोला, ढीम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौडा हुदै विभिन्न प्राकृतिक दृश्य र जंगली जनावरको दृश्यावलोकन गर्दै एक दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ ।

पौराणिक कालमा माहादेवले कालकुट वीष पान गरेपछि वीषको डाह शान्त पार्न पानीको खोजीमा हिडदा त्रिशूलले पहरामा प्रहार गरी पानीको सृष्टी गरेको दहमा डुवेर विष जलन शान्त पारेको कुण्डलाई गोसाईंकुण्ड भनिन्छ । महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको हुनाले पानी निस्किएको ठाउलाई त्रिशूल धाराको रुपमा चिनिन्छ र त्यस त्रिशूल धारावाट वगेर तालको रुप लिएको ठाउलाई गोसाईंकुण्डको नामले चिनिन्छ । त्रिशूली नदीको मुहानको रुपमा त्रिशूल धारालाई लिइन्छ । तीर्थाटनका पर्यटकहरुले यस धारामा त्रिशूल चढाउदछन भने दशहरा र ऋषि तर्पणी अर्थात जनै पूणर््िामाका दिन गोसाईकुण्डमा ठूलो मेला समेत लाग्ने गर्दछ ।

प्राकृति सौन्दर्यता, धार्मिक, जैविक, विविधता, ऐतिहासिक, पर्यटकिय र सांस्कृति महत्व सगैँ गोसाईकुन्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड र सुर्जे कुण्ड प्रख्यात कुण्डहरु मानिन्छन । तर रसुवा जिल्लाकै गोसाईकुण्डको भुगोलमा रहेका गतलाङको पार्वति कुण्ड टिमुरेको, रिभरकुण्ड, वृद्धिमको दुधकुण्डमा पनि तीर्थाटनको लागि धार्मीक पर्यटकहरु पुग्ने गर्दछन । रसुवा जिल्लामा रहेको लाङटाङ र गणेश हिमाल आसपासका दर्जनौ ताल र कुण्डहरुले त्यहापुग्ने सबैलाई आनन्द बनाइदिन्छ । हिमाली श्रृंखला र पहाडको उपत्यका रहेको गोसाईकुण्ड धार्मिक एवम पर्यटकिय दृष्टीकोणले पनि अतिनै महत्वपूर्ण मानिन्छ ।

गोसाईंकुण्ड कै नजिकमा भैरव कुण्ड पर्दछ । यस कुण्ड गोसाईंकुण्डको निकासवाट निस्केको पानीवाट दहको रुप लिई वनेको हो । यस कुण्ड गोसाईंकुण्ड जत्तिको फराकिलो रुपमा नभएपनि भैरव कुण्डमा रहेको पानी गाढा निलो र कालो देखिने भएको हुदा यो कुण्डको छुट्टै विशेषता रहेको छ । गोसाईंकुण्डको स्नांन पश्चात यस कुण्डलाई नहेर्नु भन्ने जनधारणा रहेको छ । भैरव कुण्डमा नुहाउने र पूजाआजा गरिने चलन भने छैन । सरस्वती कुण्ड भैरवकुण्डको निकासवाट गएको पानिवाट केहि तल वनेको कुण्ड सरस्वती कुण्ड हो । यो कुण्ड पनि गोसाईकुण्ड जस्तो फराकिलो चौडा र भैरवकुण्ड जस्तो गाढा निलो र गहिरो रुपमा पानीको मात्रा रहेको छैन ।

सूर्य कुण्ड गोसाईकुण्डवाट करिव १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । नुवाकोट जिल्ला भएर वग्ने तादीखोलाको उदगम स्थल सूर्यकुण्ड हो । सूर्य कुण्ड नुहाएर सूर्यको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जन विस्वास रहेको छ । त्यसैगरी पार्वती कुण्ड सदरमुकाम धुन्चे देखि उत्तर गतलाङ गाउँ नजिक रहेको छ । पार्वती कुण्ड घनाजंगलको काखमा रहेको छ । पार्वती कुण्डलाई स्थानीय भाषामा छेदीङ कुण्ड भनिन्छ । यस कुण्डमा प्रत्येक बर्षमा पर्ने जनै पुणर््िामाको दिन मेला लाग्ने गर्दछ । यस कुण्डको वरपर वोझो नामको जडीवुटी प्रसस्त पाइन्छ । सदरमुकाम धुन्चेवाट ३४ किलोमिटर को दूरीमा यो कुण्ड रहेको छ ।

यातायातको सुविधा भएपछि पछिल्लो समयमा गोसाइकुण्डमा पुग्ने पर्यटकहरु तिब्बतको सिमासम्म पनि पुग्ने गरेका छन । तिब्बतको सिमा केरुङ सम्म जान सदरमुकाम घुन्चे–स्याफ्रुबेंसी हुदै रसुवागढीसम्म २७ किलोमिटर को यात्रा गर्नु पर्दछ । रसुवागढी नेपाल तिब्बत सिमानामा पर्दछ भने सिमापारी तिब्बतीय ब्यापारीक केन्द्र केरुङ पर्दछ । ऐतिहासिक रसुवागढी नौहजार दुईसय सात फिटको उचाइमा रहेको छ । केरुङग आफैंमा सुन्दर र फराकिलो क्षेत्र हो । केरुङगथ्याङ खुला क्षेत्रभित्र सानो तर रमणीय उपत्यका मानिन्छ । नेपाल–चीन सीमाना रसुवाको टिमुरेमा रहेको रसुवागढी डेढ शताव्दी पुरानो ऐतिहासिक धरोहर हो । यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसग भएको लडाईमा यहि गढीबाट नेपाली पुर्खाहरुले लडेर तिब्बतसग युद्ध जितेका थिए । रसुवागढी प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यहि नाका हुदै घरमाईती गर्ने गरेकी थिइन । चीनसगको लडाईका बेला नेपाली लडाकुले आफ्नो सुरक्षाका लागि गढी बनाएका थिए । ठूला ढुंगा कुदेर बनाइएको अग्लो गढीको पर्खालमा स–साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बनाएका थिए ।
लाङटाङमा पर्यटक जान थाले
विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य मानिने रसुवाको लाङटाङमा पर्यटकहरु जान थालेका छन । स्वर्गजस्तै प्राकृतिक सुन्दरताको खानी लाङटाङलाई पहिलेजस्तै बनाउने प्रयास भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङ करिब तीन महिना मानवविहीन भएको थियो । अहिले लाङटाङ पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ  । भूकम्पपछि थातथलोमा फर्केका लाङटाङवासीले आफ्नै पुरानो पेसा–व्यवसाय सुरु गरिसकेका छन । लाङटाङ अहिले पुरानै स्वरुपमा आइसकेको छ । अझ त्यसभन्दा पनि बढी सुविधासम्पन्न भएको छ । पहिले बिजुली बत्ती थिएन, अहिले क्यान्जीङमा उत्पादित बिजुलीले क्यान्जीङ, सिन्धुम, मुन्डु, लाङटाङ गाउँ र गुम्बा डाँडा बत्ती बलेको छ । क्यान्जीङमा वाइफाई सेवा सुरु भएको छ ।

लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ । लाङटाङ ज्यादै आर्कषक एवंम मनमोहक सम्पदा हो । जुन कारणले यहा धेरै विदेशि पर्यटकहरु पुग्दछन । लाङटाङ लिरुङ हिमाल समुन्द्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाईमा रहेको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ । क्यान्जिङ उपत्यका पुग्नासाथ पर्यटकहरु रमाउछन । क्यान्जिङ उपत्यकामा वर्षेनी हजारौ स्वदेशी तथा विदेशी पर्यटहरु पुग्ने गर्छन् र अनुपम प्राकृतिक छँटाको आनन्द लिन्छन् । लाङटाङ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु मध्य धेरै क्यान्जिन उपत्याकामा नै बस्ने र हिमश्रृखलाको सान्दर्य संग रम्ने गर्दछन । लाङटाङ तिव्तीयन नामको रुप हो । तिव्वतीयन भाषामा “लाङ्ग” भनेको याक र “टेङ्ग” भनेको पछयाउनु भन्ने अर्थ लाग्छ । पहिले त्यस क्षेत्रमा रहेका लामाहरुले याकलाई पछयाउदै जाँदा त्यहाँ राम्रो उपत्यका भेटिएपछि पछि त्यसकै नामबाट ‘लाङटाङ’ नाम रहन गएको भन्ने भनाई पाइन्छ ।

लाङटाङ क्षेत्र जैविक विविधताले भरिपूर्ण भएको कारण यसकै नामाकरणबाट राष्ट्रिय निकुञ्जसमेत स्थापना भएको छ । वि.सं. २०३२ सालमा लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएको हो । लाङटाङ क्षेत्रमा वसन्त ऋतुमा पुल्ने राता, सेता, निला लालीगुराँससँगै अन्य जगली विभिन्न प्रकारका रङ्गीविरङ्गी फुलहरु फुल्दछन । यीनै प्राकृतिक सुन्दरताले पनि पर्यटकहरुलाई आकर्षण गर्दछ । निकुञ्जमा १५० भन्दाबढि चरा प्रजातीहरु र विश्वमै दुर्लभ मानिएको रेड पाण्डा (हाव्रे) पाइन्छ । लाङटाङ यात्रामा, लाङसिसाबाट उत्पन्न भएको लाङटाङ खोलाको तिरैतिर माथि चढने लाङटाङ पदमार्गमा बाटामा देखिने विभिन्न वनस्पतीले सबै पर्यटकलाई लोभ्याउँछ ।

रसुवाको नाम
रसुवा जिल्लाको नाम तिब्बती भाषाको “र“ “सोवा“ शब्दलाई उदृत गरिएको पाइन्छ । तिब्बती भाषामा “र“को अर्थ भेडा च्याङग्रा र “सोवा“को अर्थ चराउने वा राख्ने ठाउ भन्नेकुरा बुझाउछ । अर्थात प्रशस्त भेडा च्याङग्रा पाइने स्थान भएकोले “रसोवा“ भन्ने गरेको र त्यसको अपभ्रसभै स्थानीय वोलीचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ । जिल्लाको भूगोल अनुसार सदरमुकाम धुन्चे भन्दा माथीलाई उपल्लो र दक्षिण भागको भूगोललाई तल्लो रसुवा भन्ने पनि गरिन्छ । रसुवा जिल्ला पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । यस जिल्लामा रहेको गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क जस्ता प्राकृतीक स्थलको अवलोकन गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु रसुवा जाने गर्दछन ।

रसुवा जिल्ला भौगोलिक विकटाताले पछाडि रहेपनि यहाँ रहेको अनगिन्ती पर्यटकीय सम्पदाले गर्दा पर्यटनको गन्तब्य बनेको छ । विश्व मानचित्रमासमेत समावेश भएका कतिपय सम्पदाहरु रसुवामा छन् । रसुवाको धार्मिक एवंम् पर्यटकीय स्थलहरु जो नेपालीहरुको मात्र नभई विदेशी पर्यटकहरुको समेत आर्कषर्णको केन्द्र बनेका छन । लाङटाङ, गोसाईँकुण्ड, पार्वतीकुण्ड, लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका सम्पदा, विभिन्न धार्मिक एवंम् पर्यटकीय स्थलहरु रसुवाको प्रमुख आर्कषण र महत्वका क्षेत्रहरु हुन् । हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडिबुटीहरु, वन्य जन्तु र चराचुरुङ्गीलगायतले रसुवा पर्यटनको गन्तब्य बनेको छ ।

रसुवा जाने मार्ग
गोसाईकुण्ड जानको लागि अहिले काठमाण्डौबाट मात्र नभएर पृथ्वी राजमार्गमा पर्ने धादीङ जिल्लाको गल्छीबाट पनि यात्रा गर्न सकिन्छ । पृथ्वी राजमार्गको वैरेनी देखि विदुर सम्मको ३० किमि को दुरी रहेको छ । गोसाईकुण्डको लागि नारायणघाट, मुग्लीन भएर जाने पर्यटकहरुको लागि यो मार्ग छोटो र रमणिय मानिन्छ । गल्छीबाट नुवाकोट जिल्लाको रातामाटा, झिलटूङ हुदै प्रशिद्ध धार्मीकस्थल मानिने देवीघाटको अवलोकन गर्दै नुवाकोटको सदरमुकाम त्रिशुली विदुर पुगिन्छ । विदुरबाट त्रिशुली लज–विद्युतको बाधको दृष्यवलोकन गर्दै रसुवा र नुवाकोट जिल्लाको सिमाना वेत्रावती पुगिन्छ । वेत्रावती पनि धार्मीक स्थलकोरुपमा पहिचान भएको स्थल हो । प्रत्येक कुशे औसीको दिन बाबुको नाममा श्राद्ध र तर्पण गर्नेहरुको भिड हुने गर्दछ । उत्तर गया भनेर चिनिने वेत्रावतीको खोलालाई वेत्रगंगाको नामले चिनिन्छ । जस्लाई स्थानीय भाषामा सलाखु पनि भनिन्छ । यो खोलाको पानी पनि महादेवले विषपान गरेको वेलामा वेतको लौराले पहाडमा हान्दा निस्किएको पानी भएको हुदा पवित्र मानिन्छ । जुनखोला वेत्रावतीमा आएपछि त्रिशुली नदीमा मिसिन्छ ।

के के लैजाने ?
भूकम्पपछि पुनर्निर्माण भएपछि लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लज सन्चालनमा आएका छन । पर्यटकहरुलाई खानपिन र बसोबासमा कुनै समस्या आउदैन । तर पनि साथमा स्लिपिङ ब्याग, रेनकोट, न्यानो कपडा, ज्याकेट, पञ्जा, टोपी, ड्राई फुड, चकलेट, लसुन,अदुवा, सातु आदि साथमा लैजान पर्दछ । भमिट कन्ट्रोल गर्ने औषधि, सिटामोल र अल्टिच्युड सिकनेसका औषधिहरु पनि बोकिराख्नु राम्रो हुन्छ । थर्मस लैजान नभुल्नुहोला ।

खर्च कति लाग्छ ?
दिनको प्रतिव्यक्ति दुई हजार । यति पैसाले तपाईलाई खान र बस्न पुग्छ । ठाँउ अनुसार गाँस र वासको मुल्य फरक पर्छ । उपहार र अन्य खर्चका लागि थप रकमको बन्दोबस्त गर्नुपर्छ । यात्रा समुहमा गर्नु राम्रो मानिन्छ ।

Write your Comment


Related News
  • सौराहामा खुल्यो सामुदायीक होमस्टे, एक रात खान, बस्न १ हजार
  •  दिगो विकासको सारथीः दिगो पर्यटन
  • दैलेखको पहिचान के हो ? किन गुमनाम छन् पर्यटकीय स्थलहरु ?
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी