ताजा समाचार

आज    |   

नेपाल घुम्न आउने पर्यटक बढे तर आम्दानी घट्यो, यस्तो छ कारण



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साता सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ मा नेपाल आएका पर्यटकले गरेको दैनिक खर्च अघिल्लो वर्षको तुलनामा १० डलरले घटेको छ ।

सन् २०१७ मा पर्यटकले दैनिक औसत ५४ अमेरिकी डलर खर्चिएकोमा २०१८ मा ४४ डलरमा सीमित भएको थियो । जबकि गत वर्ष पर्यटकको बसाइ अवधि अघिल्लो वर्षको तुलनामा औसतमा ०.२ दिनले मात्र घटेको थियो । गत वर्ष पर्यटकले गरेको प्रतिदिन खर्च पछिल्लो पाँच वर्षयताकै सबैभन्दा कम हो । (हे. इन्फो)

चालु आर्थिक वर्ष २०७५/७६ को १० महीनामा पर्यटन क्षेत्रले रु.६३ अर्ब २८ करोड आम्दानी गरेको छ । पर्यटकको संख्या तुलनात्मक कम रहेको गत आवको यही अवधिमा पर्यटनको आम्दानी रु.५७ अर्ब थियो ।

तर, यस वर्ष पर्यटक वृद्धिदर करीब ३० प्रतिशत हुँदा पनि खर्चको वृद्धिदर ११ प्रतिशतमा सीमित छ । बढी खर्च गर्ने गुणस्तरीय पर्यटकको कमीका साथै अनौपचारिक माध्यमबाट हुने कारोबार बढ्दा पर्यटन क्षेत्रको आम्दानी घटेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

‘टुर प्याकेज’ बिक्री बापत विदेशी एजेन्सीले दिने सबै रकम केही नेपाली एजेन्सीले देशमा नल्याउने प्रवृत्ति बढ्दो छ । सरकारलाई कर छल्न केही व्यवसायीले विदेशमै रकम जम्मा पारी रेमिटेन्स भनेर ल्याउने अवैध काम भइरहेको एक पर्यटन व्यवसायी बताउँछन् । “उक्त रकम आफन्त र साथीहरूको सहयोगमा रेमिटेन्स भन्दै भित्र्याउने गरिन्छ”, उनी भन्छन् ।

संख्याका हिसाबले गत वर्ष पर्यटक आगमन २४.७७ वृद्धि भई पहिलो पटक १० लाखको आँकडा पार भएको थियो । तर, पर्यटन क्षेत्रको आम्दानी १४.६ प्रतिशत मात्र बढेको थियो । पर्यटकको संख्या बढाउने प्रयास सरकारी तहबाट भए पनि पर्यटन क्षेत्रको आम्दानी बढाउने विषय अझै पनि प्राथमिकतामा परेको छैन ।

संख्या बढे पनि यथेष्ट खर्च गर्ने गुणस्तरीय पर्यटक भित्र्याउन नसक्दा पनि यस क्षेत्रको आम्दानी घटेको हो । आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भ्रमण वर्ष २०२०’ को तयारी भइरहँदा सरकारका सामु गुणस्तरीय पर्यटकको आगमन कस्तो रहला भन्ने प्रश्न पेचिलो बनेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटकको संख्या पनि आवश्यक रहेकोमा जोड दिन्छन् । “पूर्वाधार विकास गरेर सेवाको स्तर सुधार्दै गुणस्तरीय पर्यटक आकर्षित गर्नुपर्छ”, उनी भन्छन् ।

विदेशमा महँगो, नेपालमा सस्तो
अनलाइन बुकिङ गर्न सकिने भएकाले पर्यटन व्यवसायमा जति सहजता छ, त्यति नै यो फस्टाउँदो छ । तर, पर्यटकहरूले विदेशकै ट्राभल कम्पनीमा पैसा तिरेर आउने क्रम बढ्दा पर्यटनमा देशको आम्दानी घटिरहेको पर्यटन क्षेत्रका अधिकारीहरू बताउँछन् ।

इटालीको ट्राभल कम्पनी रुबी ट्राभलले आफ्नो वेबसाइटमा काठमाडौं उपत्यका, नगरकोट, पोखरा, बन्दीपुर र चितवनको १२ दिनको भ्रमण प्याकेज २ हजार १० यूरोमा बिक्रीका लागि राखेको छ । हवाई भाडा करीब ८०० यूरो छुट्याउँदा प्याकेजको मात्र मूल्य करीब १२०० यूरो हुन्छ ।

तर नेपाली ट्राभल कम्पनीले यो प्याकेजमा पर्यटकलाई घुमाउँदा विदेशी एजेन्सीले बढीमा ८०० यूरो मात्र दिन्छन् । यदि पर्यटक इटालीबाट भारत हुँदै नेपाल आए नेपाली एजेन्सीले पाउने रकम झनै घट्ने ट्राभल स्मिथका प्रमुख कार्यकारी अधिकृत विवेकराज अधिकारी बताउँछन् ।

बेलायतको कम्पनी एक्सोडस ट्राभलले आफ्नो वेबसाइटमा रसुवाको लाङटाङ र गोसाइँकुण्ड पदयात्राको मूल्य २ हजार २४९ पाउण्ड, सगरमाथा आधार शिविरको १७ दिनको प्याकेजको मूल्य २ हजार ५७९ पाउण्ड र २३ दिनको अन्नपूर्ण सर्किट प्याकेजको मूल्य २ हजार ४९९ पाउण्ड तोकेको छ ।

पर्यटकले गर्ने सबै खर्च नेपाल नआउनुमा नेपाली पर्यटन व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धालाई कारण मान्नेहरू पनि छन् । नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका पूर्व अध्यक्ष चन्द्र रिजाल विदेशी कम्पनीसँग मूल्य घटाएर काम गर्ने प्रवृत्तिले देशले पर्यटनबाट धेरै लाभ लिन नसकेको टिप्पणी गर्छन् । उनी जोड दिन्छन्, “आफ्नो सामानको मूल्य कति तोक्ने भन्नेमा हामी नै सजग हुनुपर्ने हो ।”

हवाई भाडा करीब ९०० पाउण्ड घटाउँदा अधिकांश नेपाली कम्पनीले पर्यटकले तिर्ने रकमको ६० प्रतिशतमा प्याकेज संचालन गर्छन् । बेलायतको सेज ट्राभलले लक्जरी सुविधा सहित १३ दिनको अन्नपूर्ण पदयात्रा प्याकेजको मूल्य २ हजार ९०० पाउण्ड तोकेको छ । तर नेपाल कम्पनीले लक्जरी प्याकेजमा पनि हवाई भाडा बाहेक ६०–७० प्रतिशत रकम मात्र पाउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

अमेरिका, न्यूजिल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया लगायत देशका ट्राभल एजेन्सीले पर्यटकबाट लिने प्याकेजको मूल्य नेपाली एजेन्सीले पाउने भन्दा कम्तीमा एक हजार अमेरिकी डलर बढी हुने गरेको व्यवसायीहरू बताउँछन् ।

विदेशी कम्पनीले महँगोमा प्याकेज बिक्री गर्दा पनि नेपाल भित्रिने रकम किन कम हुन्छ त ? नेपाल पर्यटन बोर्डका सीईओ जोशी भन्छन्, “धेरैजसो नेपाली ट्राभल एजेन्सीको अन्तर्राष्ट्रिय बजारमा पहुँच नै छैन । जसले गर्दा प्याकेज बनाउने र बिक्री गर्ने बाहिरका कम्पनीले धेरै रकम कमाइरहेका छन् ।”

अर्कातिर, पर्यटकले गर्ने सबै खर्च नेपाल नआउनुमा नेपाली पर्यटन व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धालाई कारण मान्नेहरू पनि छन् । नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका पूर्व अध्यक्ष चन्द्र रिजाल विदेशी कम्पनीसँग मूल्य घटाएर काम गर्ने प्रवृत्तिले देशले पर्यटनबाट धेरै लाभ लिन नसकेको टिप्पणी गर्छन् । उनी जोड दिन्छन्, “आफ्नो सामानको मूल्य कति तोक्ने भन्नेमा हामी नै सजग हुनुपर्ने हो ।”

नेपाली वायुसेवा कम्पनी कमजोर हुँदा पनि असर परेको रिजालको भनाइ छ । यसका कारण एकातिर नेपालमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीहरूले मनग्य कमाइरहेका छन् भने अर्कातिर पर्यटकले तिरेको रकमको ठूलो हिस्साबाट विदेशका ट्राभल एजेन्सीले मुनाफा कमाउँछन् ।

गन्तव्य नेपाल भए पनि बाहिरका व्यवसायीले बढी लाभ पाइरहेका छन् । जस्तोः भारतको राजधानी नयाँदिल्लीबाट संसारका धेरै देशमा सीधा उडान छ । दिल्लीबाट करीब डेढ घण्टाको उडान अवधि रहेको काठमाडौंमा सहजै आउजाउ गर्न सकिने भएकाले भारतीय ट्राभल एजेन्सीले युरोप, अमेरिका लगायतका देशमा प्रचारप्रसार गर्दा नेपालको प्याकेज पनि बिक्री गर्छन् ।

जसका कारण ती देशबाट केही पर्यटक भारत हुँदै आउँछन् । पर्यटकले तिरेको मूल्य विदेशी ट्राभल कम्पनी मार्फत भारतका एजेन्सी हुँदै यहाँ आउँदा थोरै हुने पर्यटन बोर्डका सदस्य तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष दीपक महत बताउँछन् ।

केही पर्यटन व्यवसायीको भनाइमा भारतीय एजेन्ट हुँदै धेरैजसो नेपाली कम्पनीले उपलब्ध प्याकेज संचालन गर्ने ‘ग्राउण्ड ह्याण्डलिङ’ को मात्र काम गरिरहेका छन् । आई ट्रेक नेपालका श्रीप्रसाद कोजुका अनुसार विदेशी एजेन्सीले भविष्यमा बिजनेस दिने लोभमा नेपाली व्यवसायीले सस्तो रकममै काम गर्छन् । “यसबाट नेपालीले सस्तोमै काम गर्छन् भन्ने सन्देश गएको छ”, उनी भन्छन् ।

नेपाल ट्रेकिङ कम्पनीले आफ्नो वेबसाइटमा सगरमाथा आधारशिविर पदयात्रा प्याकेजको मूल्य ९०० देखि १००० अमेरिकी डलर मात्र तोकेको छ । गन्तव्य कसरी र कुन मूल्यमा बिक्री गर्ने भन्नेमा टुुर अपरेटरको भूमिका महत्वपूर्ण हुन्छ ।

कुनै पनि अपरेटरले सस्तोमा प्याकेज बिक्री गर्दा गन्तव्यको ब्राण्ड भ्यालु मर्ने चाइना आउट बाउण्ड टुरिजम रिसर्च इन्ष्टिच्यूटका निर्देशक प्रा.डा. वोल्फग्याङ गेयोर्ग अर्ल्ट बताउँछन् ।

“सस्तोमा प्याकेज बिक्री गर्नुहुन्न भन्नुको अर्थ मूल्य बढाउनुपर्छ भन्ने होइन” पहिलो एशियाली रिजिलेन्स समिटमा सहभागी हुन गत जेठ दोस्रो साता नेपाल आएका समयमा हिमाल सँग उनले भने, “प्याकेजको मूल्य सेवाको स्तर अनुसार हुनुपर्छ । टुर अपरेटर र सेवा प्रदायकको जोड सेवाको गुणस्तर बढाउनेमा हुनुपर्छ ।”

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशीले नेपालमा ट्रेकिङ र ट्राभल कम्पनी खोल्न पाउँदैनन् । तर, पछिल्लो समय विदेशी ट्राभल एजेन्सीले नेपालीका नाममा ट्राभल कम्पनी खोलेर व्यवसाय र व्यवस्थापनमा नियन्त्रण जमाउने क्रम चलिरहेको छ ।

जस्तोः अमेरिकन कम्पनी आई ट्रेकले नेपाली व्यवसायी श्रीप्रसाद कोजुको नाममा आई ट्रेक नेपाल स्थापना गर्दै काम गरिरहेको छ । नेपालको प्याकेज अमेरिकाबाट बिक्री गर्ने कम्पनीले नेपालमा पर्यटकबाट लिने रकमको केही अंश मात्र पठाउन थालेपछि पछिल्लो समय कम्पनीसँग विवाद बढेको कोजु बताउँछन् ।

“नेपालको प्राकृतिक र सम्पदाहरूको टुर प्याकेज बिक्री गर्ने र नाफा अमेरिकी कम्पनीले मात्र कमाउने कुरा मान्य हुँदैन” कोजु भन्छन्, “नाफा विदेशमा राख्दै कम्पनीले लागत रकम मात्र पठाउने गरेकाले आई ट्रेकको प्रतिनिधिको रूपमा काम नगर्ने अवस्थामा पुगेको छु ।”

खर्च गर्ने क्षेत्र खै ?
खर्चालु पर्यटक आकर्षित गर्न एकातिर हामीसँग त्यसै अनुसारको उत्कृष्ट सेवा–सुविधा छैन, अर्कातिर बढी खर्च गर्ने पर्यटक आए पनि उनीहरूको बसाइ अवधि लम्ब्याएर खर्च गराउने कार्यक्रम र योजना छैन । पर्यटकबाट मनग्गे खर्च गराउन पूर्वाधार विकासमा जोड दिनुपर्ने थर्ड पोल ट्रेकका प्रबन्ध निर्देशक दीपक महतको तर्क छ । “पर्यटकको संख्या बढाउने कार्यक्रमसँगै हामीले गुणस्तरीय पर्यटक ल्याउन खर्च गर्ने क्षेत्र पनि विकास गर्नुपर्छ”, उनी भन्छन् ।

व्यवसायीहरू सीधा हवाई उडान नहुँदा लामो ट्रान्जिट समय, पूर्वाधार र सेवाको कमजोर स्तर, खर्च गर्ने सीमित क्षेत्र आदिलाई गुणस्तरीय पर्यटक नआउनुको प्रमुख कारण मान्छन् । ट्रेकिङ एजेन्सी एसोसिएसनका पूर्व अध्यक्ष चन्द्र रिजाल विमानस्थलमा रहेका ट्याक्सीदेखि होटल, रिसोर्ट र अन्य पूर्वाधार लक्जरी पर्यटक ल्याउने किसिमको हुनुपर्ने बताउँछन् ।

अन्नपूर्ण, धौलागिरी आदि पदमार्गमा वर्षेनि धेरै विदेशी पर्यटकको लर्को लाग्ने गर्छ । तर, हाम्रा धेरैजसो पदमार्गमा खान र बस्न बाहेक अन्य क्षेत्रमा खर्च गर्न कुनै पनि क्षेत्र विकास नगरिंदा पर्यटकको खर्च बढ्न सकेको छैन ।

शहरी क्षेत्रमा पनि पर्यटकीय आकर्षणका लागि गर्न सकिने धेरै काम हुन बाँकी नै छ । ऐतिहासिक सम्पदा स्थलहरूमा सूचना–प्रविधिको प्रयोग गरी श्रव्य–दृश्य सामग्रीबाट जानकारी र मनोरञ्जन पस्किन सकिने सुझाउँदै नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) का वरिष्ठ प्रशिक्षक शुभम् पौडेल भन्छन्, “पर्यटकको खर्च बढाउन हाल बिक्री गरिरहेको सेवामा केही नयाँ कुरा थप्नैपर्छ ।” उनको भनाइमा पर्यटनको लाभ स्थानीय जनताले पनि पाउने गरी खर्च बढाउन सके दिगो पर्यटनको लक्ष्य हासिल हुनेछ ।

नयाँ चीज दिन सके पर्यटकले गर्ने खर्च बढ्न सक्ने उदाहरण हो, पोखरा महानगरपालिकाको पुम्दीभुम्दी चिसापानीमा रहेको पर्यावरणमैत्री रिसोर्ट प्याभिलियन्स हिमालयज । विभिन्न देशमा सञ्जाल भएको प्याभिलियन ब्राण्डलाई इन्सुबा तामाङ र उनका श्रीमान् बेलायती नागरिक डोग्लस म्याक्लेगनले साढे तीन वर्षअघि नेपाल भित्र्याएका हुन् ।

“अन्नपूर्ण र माछापुच्छ्रे शृंखलाका हिमाल नदेखिने ठाउँमा रिसोर्ट कसरी चल्ला र भन्नेहरू धेरै थिए”, संचालक म्याक्लेगन भन्छन्, “प्रकृतिको शान्त वातावरणमा रमाउन चाहने र अर्गानिक खाना रुचाउने पर्यटकलाई लक्षित गरेका कारण रिसोर्ट कसरी चलाउने भनेर हामीले आजसम्म सोच्नुपरेको छैन ।”

आफ्नै फार्म हाउस रहेको रिसोर्टले एक रातको २०० देखि ५०० अमेरिकी डलर लिन्छ । १४ कोठाको रिसोर्टमा खर्चालु पर्यटक भित्र्याइरहेका म्याक्लेगन उत्कृष्ट सेवा–सुविधा दिन नसकेकै कारण देशका अन्य भागमा लक्जरी सेवा खोज्ने पर्यटक आउन नसकेको बताउँछन् ।

“बढी पैसा तिर्ने पर्यटकलाई अनुमानयोग्य र प्रभावकारी सेवा चाहिन्छ” उनी भन्छन्, “कुनै पनि कारणले पूर्वनिर्धारित कार्यक्रम रद्द हुने संभावना देखे पर्यटक आउँदैनन् ।” बन्द–हडताल आदिका कारण लक्जरी पर्यटक ल्याउन कठिन हुने व्यवसायीहरू बताउँछन् ।

पर्यटकलाई खर्च गर्ने क्षेत्र भए खर्चिला पर्यटकको संख्या बढ्ने सगरमाथा क्षेत्रमा बढिरहेको ‘हेली टुर’ ले देखाएको छ । यस्तै, ढोरपाटन शिकार आरक्षमा शिकार खेल्न जाने पर्यटकले कम्तीमा रु.१० लाख खर्च गर्ने गरेका छन् ।

बढी खर्च गर्ने पर्यटक भित्र्याउन नयाँ–नयाँ पूर्वाधार निर्माण गर्दै प्रदेश र स्थानीय सरकारले स्थानीय खानपान, संस्कृतिलाई समेटेर ग्रामीण पर्यटनमा जोड दिनुपर्ने पर्यटन क्षेत्रका जानकारहरू सुझाउँछन् ।

प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) का प्रमुख कार्यकारी अधिकृत डा.मारियो हार्डी पर्यटनको अधिकतम लाभ लिन धेरै खर्च गर्ने पर्यटक ल्याउनमै केन्द्रित हुनुपर्ने बताउँछन् । “त्योभन्दा पनि महत्वपूर्ण धेरै खर्च गर्ने क्षेत्र विकास गर्नुपर्छ”, उनी भन्छन् ।सभार शरद ओझा/हिमालखबरपत्रीका

Write your Comment


Related News
  • मौलिकता जोगाउदै गोसाईकुण्डमा युवा
  • कर्णालीको समृद्धिमा रारातालको योगदान
  • एकै पटक १६ सचिवको सरुवा, पर्यटन मन्त्रालयमा केदारबहादुर अधिकारी
  • पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी