आज    |   

पर्यटकीय स्थल सौराहा : नेपाल भ्रमण वर्ष सन् २०२० मा पर्यटक आकर्षित गर्न नयाँ अभियान



अनुज न्यौपाने, सौराहा

चितवन रत्ननगरको राप्ती किनारमा रहेको पर्यटकीयस्थल सौराहा । यहाँ सूर्यास्त दृश्यावलोकन र वन्यजन्तु अवलोकनका लागि पर्यटकको भीड लाग्ने गर्दछ । चितवनको सौराहा, निकुञ्ज, गैंडा, हात्ती, थारु समुदाय यी एक अर्कासँगै जोडिएका नाम हुन् । सौराहा आउने जो केहीले कम्तीमा पनि यी विषयसँगको अनुभव लिएर मात्र आफ्नो यात्रा टुङग्याउने गर्दछन् ।

आन्तरीक तथा बाहिय पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा परिचित छ । भरतपुरदेखि करिव १८ किलोमिटर पूर्व–दक्षिण अवस्थित यस क्षेत्रमा बाघमारा सामुदायिक वन तथा निकुञ्जमा हात्तीसयर, राप्ती नदिमा हात्तिसँगै नुहाउने एवम् डुगांसयर, थारु सांस्कृतिक संग्राहलय तथा जैविक सूचना केन्द्र अवलोकन, हात्ती प्रजनन केन्द्र एवम् गाउँ भ्रमण जस्ता क्रियाकलापहरुबाट पर्यटकहरुले मनोरञ्जन प्राप्त गर्छन् । निकुञ्ज स्थापना हुनुभन्दा आठ वर्ष पहिलेदेखि नै सो क्षेत्रमा जंगल सफारी सुरु भएको हो ।

हात्ती चढेर जंगल सफारी
सौराहाको मूख्य आकर्षण हात्ती सफारी आमसर्वसाधारणका लागि नयाँ स्वाद चखाउने चिज हो । निकुञ्जभित्र निजी हात्ती लैजान बन्देज लगाइएपछि हात्तीबाट निकुञ्ज सफारी गर्न नपाएपनि व्यवसायीहरुले नजिकैको सामुदायिक बनमा सफारी गराउँछन् । अहिले सौराहामा ५२ वटा निजी क्षेत्रका हात्तीले पर्यटकलाई जंगल सफारी गराउँदै आएका छन् ।

सौराहामा हात्ती सहकारीमार्फत हात्ती सफारी सञ्चालन गरिदैँ आएको छ । सहकारीले हात्तीबाट जंगल सफारी गरेको स्वदेशी पर्यटकलाई १२५० सय पचास रुपैयाँ, भारतीय पर्यटकलाई १४६० रुपैयाँ र विदेशी पर्यटकलाई १६ सय साठी रुपैयाँ लिने गरेका छन् । यी हात्तीले बागमारा जंगलमा सफारी गराउँछन् ।

हात्ती सफारी गर्न ५ वर्षको बच्चादेखि ८० र ९० वर्षसम्मका बुढा बुढीहरु समेत पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छी हेर्न पाइन्छ । साथै, जंगलभित्र देखिने घाँसे मैदानहरुले पनि मन आकषिर्त पार्छन् ।

डुङ्गा सयर
सौराहामा डुङ्गा चढेर सफारी गर्नु आकर्षक पक्ष हो । राप्ती नदिमा डुङ्गा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी हेर्न तथा अवलोकन गर्न पाइन्छ । साथै, सूर्यास्त पनि देख्न पाइन्छ । डुङ्गा सेयर गरिरहँदा गोही देख्न पाउनु अर्को आकर्षक पक्ष हो । दुई किसिमको गोही घोडियाल र मगडको समेत अवलोकन गर्न पाइन्छ । चर्को घाम लागेको बेला गोही बाहिर आएर घाम ताप्ने भएका कारण प्रस्शस्तै मात्रामा बाहिर देख्न पाइन्छ ।

छुट्टै कल्चर
थारु संस्कृती, परम्परा, रहनसहन बारेमा पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ । सौराहाको अर्को अकर्षण हो, थारु कल्चरल डान्स । सौराहा पुग्ने मान्छे थारु कल्चरल डान्स नहेरि फर्किएमा उसको भ्रमण अधुरो नै रहने बुझिन्छ । सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिने गरेका छन् । थारूको मौलिक नृत्य, रहनसहन र गीत–संगीतमा पर्यटकको मोह हुने गरेको थारू अगुवा वासुदेव चौधरी बताउँछन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० मा पर्यटक आकर्षित गर्न नयाँ अभियान

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सघ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा होटलको बुक नगन्य मात्रामा हुने गरेको बताउँदै प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाउने अभियान चलाउन लागिएको जानकारी दिनुभयो । सौराहामा लामो समयदेखि होटलले एउटै खाले सेवा दिइरहेकाले सौराहामा आकर्षण बढ्न सकेको छैन ।

नयाँ वर्षको समयमा सौराहामा कोठा नपाएर आन्तरिक पर्यटक फर्किन्छन् तर अन्य समयमा सुनसानजस्तै हुन्छ । त्यसैले बाह्रैमास पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न नयाँ प्याकेज ल्याउनेबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

“सौराहामा धेरै पर्यटक राख्न सकिन्छ”, रेवन सौराहाका अध्यक्ष युवा व्यवसायी गोकर्ण गिरीले भन्नुभयो, “नयाँ प्याकेज ल्याए मात्रै बाह्रैमास पर्यटक सौराहा भित्र्याउन सकिन्छ ।” सौराहामा पर्यटकलाई हात्ती तथा जीप सफारी, थारू संस्कृति अवलोकन र जङ्गल पदयात्रालगायतका प्याकेज मात्रै छ ।

विगत वर्षमा भारतका केही सीमावर्ती शहरमा सौराहाका बारेमा प्रचारप्रसार गरे पनि त्यसपछि खासै कार्यक्रम गरिएको छैन । पर्यटन बोर्डसँगको समन्वयमा भारतका केही शहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने अध्यक्ष गिरीको योजना छ । सौरहामा हाल साना ठूला गरी ११० होटल छन् । यहाँ वार्षिक दुई लाख पर्यटक आउने गरेका छन् ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • Mardi Himal Trek-The Best Short Trek in Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी