आज    |   

गण्डकी प्रदेशका १० उत्कृष्ट पर्यटकीय गन्तव्य



टंक रेग्मी

पोखरा

photo by welcome nepal

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानिको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै हुनुहुन्छ भने पोखरामा रहेका फेवाताल र बेगनास, माछापुच्छ्रे हिमालको दृश्य, विन्ध्यवासिनीको मन्दिर, शहरको बीचबाट साँगुरो र गहिरो भएर बगेको सेती नदी, महेन्द्र गुफा र डेबिड फल देख्न सक्नुहुन्छ । नेपालको प्रमुख पर्यटन केन्द्रको रूपमा प्रसिद्धि पोखराको अवलोकन भ्रमणलाई नेपाल आउने विदेशी पर्यटकहरूले पनि ठूलो प्राथमिकता दिने गरेका छन् । यो ठाउँ जानको लागि सिद्धार्थ राजमार्ग को बुटवल, तानसेन हुदै पोखरा पुग्न सकिन्छ भने पृथ्वी राजमार्ग काठमाडौँ, मुगलिङ हुदै पोखरा पुग्न सकिन्छ । हवाई मार्ग हुदै पनि पोखरा पुग्न सकिन्छ ।

मुस्ताङ (मार्फा, कागवेनी र मुक्तिनाथ)

photo by abhiyan

आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र हो मुस्ताङ । गण्डकी प्रदेशको मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा धेरै जसो आन्तरिक तथा वाह्य पर्यटक घुम्न जाने गर्दछन । यस ठाउँमा पुग्ने अधिकाश बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ अर्थात् लोमाङथाङ जाने गर्दछन् । मुस्ताङमा घुम्न जाँदै हुनुहुन्छ भने मार्फा नछुटाउनुहोस यहाँ वरिपरि पहाडले घेरिएर बिचमा गुजुमुजुक्क परेको यो गाउँ निकै सुन्दर छ । यस्तै अर्को ठाउँ दुई खोला बिचमा रहेका कागबेनी पनि निकै राम्रो छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको यो पवित्र तीर्थस्थल पनि हो । प्राकृतिक सुन्दरताको हिसाबले यो निकै राम्रो छ । यो ठाउँ अन्नपुर्ण पदमार्ग अन्तरर्गत पर्दछ । यस ठाउँमा ७०० बर्ष पुरानो काग छोंदे थुप्तेन साम्फेल लिड गुम्बा छ । यो ठाउँमा जानको लागि मुस्ताङ पुग्नलाई पोखरादेखि जोमसोमसम्म हवाईजहाजको यात्रा गर्नुपर्छ । त्यसपछि पैदल बाट जान सकिन्छ भने जिप पनि चल्छ । जोमसोमदेखि ३० मिनेटमा मार्फा पुग्न सकिन्छ । मार्फादेखि कागवेनी डेढ घन्टा लाग्छ ।

अन्नपूर्ण पदमार्ग

photo by hamro khabar

विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ । यसको प्रदेशद्धार लमजुङको बेंसीसहर बाट सुरु हुदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाड जिल्लाको ताल, बगरछाप,चामे, थोरङपास हुादै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।

घोरेपानी – अन्नपूर्ण आधारशिविर

photo by Sadrishya

धौलागिरी हिमाल नजिकैबाट हेर्ने उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । अन्नपूर्णको आधारशिविर पुग्न वाह्य तथा आन्तरिक पर्यटक यस घोरेपानी पुनहिलको पदयात्रा गदै पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरुको पनि आकर्षणा यस क्षेत्रमा परेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । घोरपानीबाट आधा घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ पुनहिल । घोरपानी हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ । अन्नपूर्ण हिमाल लगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । यो विशेषगरी स्वदेशी युवाहरुको गन्तब्य स्थल हो ।

पुनहिलबाट टाढापान, छोमरोङ्ग, हिमालय होटल हुँदै अन्नपुर्ण आधारशिविर पुग्न सकिन्छ । यहाँ पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ ।

बाग्लुङकालिका मन्दिर

बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ बजारदेखि पूर्वमा कालीगण्डकी र काठेखोलाको सङग्मको उच्च समस्थली (टार) हात्तीसडँुे जङग्लभित्र कालिका देवीको मन्दिर छ । यो मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोको रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति नै मन्दिरमा स्थापना गरिएको हो भन्ने जनश्रुति छ । धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरमा विशेष रुपमा चैत्र अष्टमिका दिन विशेष पुजा गर्ने गरिन्छ । धार्मिक पर्यटनको रुपमा रहेको यो मन्दिर जानको लागि सहज रुपमा गाडि पाईन्छ ।

बन्दीपुर

ग्रामीणा पर्यटन तथा एक सुन्दर बस्तिको रुपमा रहेको बन्दीपुर धार्मिक तथा प्राकृतिक दृष्टिले रमणीय स्थल मानिन्छ । यहाँ छिम्केश्वरी मन्दिर, खड्गदेवी मन्दिर, गुफा छन् भने बन्दीपुरको मिश्रित ग्रामीण संस्कृति, उत्तरतर्फको मस्र्याङ्दी उपत्यका हिमाली पर्वतशृङ्खला, ससाना पर्वत चुचुराहरू, गणेश हिमाल, माछापुच्छ«्रे आदि हिमशृङ्खलाको मनोरम दृश्यालोकन यहाँबाट गर्न सकिन्छ । बन्दीपुरबाट पदयात्रा सुरू गरी देवघाट हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुगिने हुँदा पनि यसको पर्यटकीय महत्व बढेको छ ।

मनकामना देवी मन्दिर

गण्डकी प्रदेशको गोर्खा जिल्लामा अवस्थित मनकामना दवी मन्दिर एक धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिरमा दुर्गा भवानीको मूर्ति राखिएको छ । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा जाने गर्दछन् । यस ठाउँमा पुग्न केवलकार चढेर पुग्न सकिन्छ । यदि पैदल यात्रा गरेर पनि जान चाहानुहुन्छ भने आँबुखैरेनी मस्र्याङदी नदीको सानो पुल तरेर करिब ४ घण्टाको उकालो हिडेपछि मनकामना मन्दिर पुग्न सकिन्छ ।

ल्हो मन्थाङ (मुस्ताङ)

photo by Nepal Journal

दुरीको हिसावले टाढा तर ग्रामीण पर्यटनको लागि महत्वपूर्ण पर्यटकीय स्थल हो ल्हो मन्थाङ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा अवस्थित ल्हो मन्थाङ समुद्री सतहदेखि करिब १२००० फिटको उचाइमा अवस्थित एक गाउँ हो । यो गाउँ किल्ला वा पर्खालभित्रको शहर भनी चिनिएको छ । यस ठाउँमा ल्हो मन्थाङ् चारैतिर स–साना सुख्खा डाँडाहरूले घेरिएको उब्जाउ योग्य समथर रहेको छ। पन्ध्रौँ शताब्दीतिर स्थापित यो बस्ती प्राचीन ल्हो राज्यको राजधानी पनि हो । ल्हो मन्थाङ्को आकर्षण पुरानो दरबार र पुराना ३ वटा गुम्बाहरू नै हुन् । सन् १३८७ मा राजा अमेपालले स्थापना गरेको अतिप्राचीन झम्पा गुम्बाका भित्ताहरूमा चित्र र अक्षरहरू स्वर्णाक्षरद्वारा अङ्कित गरिएकोले अति आकर्षक र महत्वपूर्ण मानिन्छ ।

घलेगाउँ

photo by विकिपिडिया

पछिल्लो समय ग्रामीण पर्यटनको रुपमा लमजुङ जिल्लास्थित घलेगाउँ होमस्टेका प्रसिद्ध रहेको छ । यस ठाउँबाट मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े, लमजुङ हिमाल शीरको टोपीजस्तै देखिन्छन् । यस ठाउँमा हेर्नको लागि चियाबगान, भेडीखर्क, उत्तरकन्याको मन्दिर रहेका छन् । घले गुरुङको आत्मीय आतिथ्य र घाँटु नाँचको प्रदर्शनले स्वदेशी र विदेशी पर्यटकलाई मोहीत गराउँछ । घलेगाउँको होमस्टे पार्क मुलुककै उत्कृष्ट मानिन्छ ।

सिरुबारी

photo by TimeKhabar

होमस्टेको सुरुवात भएको ग्रामीण पर्यटकीय स्थत सिरुबारी एक पर्यटकीय स्थल हो । स्याङ्जाको पञ्चमुल मा पर्ने सिरुबारी ’होमस्टे’ का रुपमा प्रख्यात छ । गुरुङ जातीहरुको संस्कृती भएको गाउँले परिवेशको सिरुबारीमा आन्तरिक पर्यटकहरुबो भिड लागि रहन्छ । यहाँ पुग्ने पर्यटकहरुलाई बुढापाकाले छोरा–नाती जस्तै माया र सत्कार गर्छन । पाहुना सत्कार गर्ने राम्रो शैली छ यहाँ । हिँडेर आउनेलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा उनीहरू स्वागत गर्छन । गुरुङ पहिरनमा सजिएका महिला र पुरुषले फूलमाला लगाइदिन्छन भने दलित समुदायले पञ्चै बाजा बजाउँछन । यस ठाउँमा पुग्नलाई पोखराबाट गाडी पाइन्छ ।

Write your Comment


Related News
  • पर्या-पर्यटनको एक नमुना : अन्नपूर्ण इको भिलेज एण्ड रिसोर्ट (भिडियोमा हेर्नुहोस्)
  • एक पटक हेर्नै पर्ने से–फोक्सुन्डो यात्रा (भिडियो मा हेर्नुहोस्)
  • एक पटक पुग्नै पर्ने ठाउँ कालिन्चोक भगवती मन्दिर तथा जिरी
  • कति सुन्दर छ हिमालपारीको जिल्ला मुस्ताङ
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी