ताजा समाचार

आज    |   

फेवा नव बर्ष महोत्सव सुरु, उद्घाटनमा कस्ले के भने ?



पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको उद्देश्यसहित महोत्सव संचालन गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।  महोत्सव आइतबारसम्म चल्ने छ ।
सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई महोत्सव नै महोत्सवको शहर बनाउँदै बढी भन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताए । प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उनको भनाई थियो । जीवनमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण यहाँ बनाउन जरुरी छ– उनले भने ।
गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको पनि उनले सो अवसरमा स्मरण गराए । पोखरामा एक हजार भन्दा बढी जना अट्न सक्ने ठूलो क्षमताको सभाकक्ष आबश्यकता भएको भन्दै उनले पोखरा क्षेत्रमा धेरै शैया भएको ठूलो अस्पतालको समेत जरुरत परेको भनाई राखे ।
लेखनाथको पचभैयामा चिडियाखाना निर्माण, पोखरामा दुई आधुनिक बसपार्कको विकास, दुई बर्ष भित्रमा पोखरा–कोरला मार्ग कालोपत्रे गर्ने र प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको निर्माण गर्ने जस्ता शोच र कामहरु समेत प्रदेश सरकारले अगाडि बढाउन लागेको सो अवसरमा मुख्यमन्त्रीले सुनाए । फेवा तालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले दुई बर्ष भित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने र त्यसले प्रदेशको समृद्धिमा बल पुर्याउने भनाई राखे ।
गण्डकी प्रदेशका सभासद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको स्मरण गराउँदै लेकसाइडलाई २४ घण्टा नै खुलाउने विषयमा छलफल आबश्यक रहेको भनाई राखे । लेकसाइड मात्र पर्यटकीय क्षेत्र होइन भन्दै उनले समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको भनाई राखे ।
सो अवसरमा पोखरा महानगर वडा नम्बर छ का अध्यक्ष जगतबहादुर पहारी, प्रगतिशिल आमा समूहकी अध्यक्ष विष्णु केसी र नेपाल पत्रकार समहासंघ कास्कीका सभापति दिपेन्द्र श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रमका अवसरमा होटल संघद्वारा प्रकाशित टेवल क्यालेण्डर विमोचन गरिएको थियो । संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक लक्ष्मण सुबेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
उद्घाटनका अवसरमा आयोजित झाँकी प्रतियोगितामा कूल ३६ समूहले प्रतिस्पर्धा गरेका थिए । महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ । नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन् । सेफ एशोसिएशन सँग मिलेर महोत्सवमा विविध नेपाली खानाको विक्री र प्रदर्शनी पनि राखिएको छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी