आज    |   

मुक्तिनाथमा के छ ? कसरी जाने ?



के.वि.मसाल
तीर्थाटन पर्यटकहरुको लागि मुक्तिनाथ गन्तब्य बनेको छ । मुस्ताङको सदरमुकाम जोमसोम देखि २६ कि.मि.पूर्व करिब १२ हजार फिटको उचाईमा रहेको मुक्तिनाथ मन्दिर सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थाटन स्थल हो । हिन्दूहरुले तीर्थाटन गर्नु पर्ने क्षेत्र मुक्ति क्षेत्र, बराह क्षेत्र र कुरु क्षेत्रमध्ये मुक्तिनाथ पनि हो । प्यागोडा शैलीको तीनतले मुक्तिनाथको मन्दिर १०८ वटा ढुंगेधाराद्धारा घेरिएको छ । मुक्तिनाथ क्षेत्र नीलगिरी हिमशिखरदेखि उत्तरपट्टी र धवलागिरीदेखि दक्षिाणपट्टि रहेको छ । हिमवत्खण्डको नेपाल महात्म्यमा यो क्षेत्रको ठूलो महत्व रहेको छ । ब्रह्माले पनि सृष्टि र शक्ति प्राप्त गर्न मुक्तिनाथमा बसेर तपस्या गरेका थिए ।

मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले गराएको मानिन्छ । अहिलेको मन्दिर भने वि.सं. १८७१ सालमा शाहराजाहरुले गराएका हुन् । बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र मुक्तिनाथको दर्शन नगरी भगवानको दर्शन नपाइने जनविस्वास भएकोले मुक्तिनाथको धार्मिक महत्व बढी रहेको छ । मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेह्रौ–चौधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो । यसका लागि वि.सं. १९५५ सालमा गुठी राखिएको प्रमाण पनि पाइएको छ । म्याग्दीको सदरमुकाम वेनी बाट ७६ कि.मि.को दुरीमा रहेको जोमसोम जादा बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाउँ र मुस्ताङ जिल्लाको घाँस, लेते, कोवाङ र मार्फा हुदै जोमसोम पुगिन्छ । म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै मुक्तिनाथ पुग्दा मोटर मार्गबाट देखिने नांगा पहाड माथि दौडिरहने गाडी, गाडीभित्रबाट देखिने अग्ला पहाड र हिमालले सबैको मन लोभ्याउँछ । कच्ची बाटोमा उफ्रिँदै मुक्तिनाथ पुगेको पत्तै पाइन्न ।

मुक्तिनाथलाई हिन्दुहरुले मुक्तिक्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा “जस्को अर्थ हो सयपानी” भन्दछन । तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थान मध्य छुमिङ ग्यात्सा पनि एक हो । हिन्दुहरुले मानिएका संसार भरीका ५ धाम मध्ये मुक्तिनाथ एक धाम हो । मुक्तिनाथ मन्दिर गोरङगा हिमालको फेदिमा ३७ सय १० मिटरको उचाईमा पर्दछ । मुक्तिनाथ नजिकै मुस्ताङ र मनाङ जिल्लाको सिमा बनेको थोराङलेक पर्दछ । यहाँबाट सफा वातावरणमा धवलागिरी हिमाल देख्न सकिन्छ । हिन्दुधर्म अनुसार मुक्तिनाथको दर्शन गरेमा सबै पापहरुबाट मुक्ति पाइन्छ र वैकुण्ठवास भइन्छ भन्ने विश्वास छ । खासमा मुक्तिनाथ विष्णुको मन्दिर हो । मन्दिरभित्र विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति छन् । हिन्दु र बौद्धमार्गीको साझा तीर्थ पनि हो मुक्तिनाथ । हिन्दूका पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा गर्ने प्रचलन छ । मुक्तिनाथ र गुम्बामा झुमाले पूजा र रेखदेख गर्छन् । हिन्दु पण्डितले आरती र पुष्पाञ्जली गर्छन् । मोक्ष प्राप्त हुने पवित्र ठाउँ मुक्तिनाथलाई मानिन्छ । मुक्तिनाथमा पाइला टेक्ना साथ आफूलाई पवित्र ठान्छन् तिर्थाटनका पर्यटकहरु । मुक्तिनाथ मन्दिर अगाडि दुई पोखरी बनाइएका छन् । त्यहाँ एकसय आठ धाराको पानी संकलन गरिएको छ । धारामा नुहाउन नसक्ने तिर्थाटन पर्यटकहरु पोखरीमा डुबेर पुण्य कमाउँछन् । मुक्तिनाथमा चैतदेखि जेठसम्म भीड लाग्छ । दसैंको सोह्र श्राद्धका बेला तीर्थाटनका पर्यटकहरु थेगिनसक्नु भीड हुन्छ । मोटर बाटो खुलेपछि तीर्थाटनका पर्यटकहरु बढन थालेका छन । मुक्तिनाथ पुग्ने तीर्थाटनका पर्यटहरुमा नेपाली र भारतीय बढी हुन्छन् । मुक्तिनाथको मन्दिरमा बिहान ६ देखि साढे ७ बजेसम्म र बेलुका ६ देखि ७ बजे नियमित पूजा आजा हुन्छ ।

मुक्तिनाथ मन्दिरको उत्तरपूर्वमा ज्वालामाईको मन्दिर छ । त्यहाभित्र ढुंगाको कापबाट निस्केको ज्वालाअग्नी (आगाको ज्योति) ले तीर्थाटन पर्यटकहरु आश्चर्य चकित हुन्छन । मुक्तिनाथको मन्दिर भित्र चार हातमा शंख, चक्र, गदा, पद्म धारणा गरेको तामाको पूर्ण कदको नारायणको आकर्षक मूर्ति छ । यतिखेर देखिने मुक्तिनाथ मन्दिरको निर्माण वि.सं.१८७१ अर्थात दुई सय चार बर्ष अगाडि भएको हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णु शिलारुप शालिग्राममा भएको विश्वासले गर्दा सबै तीर्थस्थलको दर्शन गरे पनि मुक्तिनाथ नपुग्दासम्म मुक्ति मिल्दैन भन्ने धार्मिक विश्वास रहेको छ । बौद्ध धर्मावलम्बीहरुले तान्त्रिक सिद्धगुरु रिम्पो छे संग जोडेर हेर्ने हुदा मुक्तिक्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थल बनेको हो । मन्दिरमा मुक्तिनाथ लक्ष्मी सरस्वती र गरुडका तामाका मूर्ति रहेका छन् । मुक्तिनाथमा १ सय आठ धाराहरु छन् । ती धाराहरुमा सबै तिर्थाटन पर्यटकहरुले नुवाउँछन् । सबै धाराहरुमा साडेको मुख आकृती रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन भन्ने कुरा इतिहासमा उल्लेख छ ।

टिवेटन धर्म दर्शन अनुसार गुरु रिन्पो चे ९च्ष्लउयअजभ० टिवेटन बुद्धधर्मका जन्मदाता यहि मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका थिए । कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङ्गा शालिकग्राम पाइन्छ । जुन ढुङगालाई हिन्दुधर्ममा भगवान नारायणको साक्षत रुप मानिन्छ । मुक्तिनाथ हिन्दु, बौद्ध, जैन र वैष्णव धर्मालम्बीको आस्थाको केन्द्र मानिन्छ । मुक्तिनाथको १ सय ८ धारा आफ्नै विशेषता छ । हिन्दु खगोंल शास्त्र अनुसार समाजमा जम्मा १२ राशी नौ ग्रह छन् । जसले १ सय ८ धारालाई प्रतिनिधीको रुपमा लिएको छ । जुन कुरालाई धार्मीक शास्त्रमा उल्लेख गरिएको पाइन्छ । मुक्तिनाथलाई भगवान विष्णुको शालिग्राम शिलाको रुपमा पूजा गरिन्छ ।

मुक्तिनाथको १ सय ८ धाराबाट निस्किएको पानी र दामोदरकुण्डबाट आएको मुस्ताङ खोला कागवेनीमा मिसिएपछि कालीगण्डकीको नामाकरण हुन्छ । मुक्तिनाथ जाँदा कागबेनी बाटैमा पर्दछ । कागबेनी संगममा शिला खोज्ने, सुन, शिला फुटाउने, श्राद्ध गर्ने गरिन्छ । पितृलाई तर्पण दिन नेपाली र भारतीहरु पुग्छन् । कागबेनीको अर्थ यस्तो छ– ‘का’ भनेको ‘काली’ ‘ग’ भनेको ‘गण्डकी,’। ‘वेणी’को अर्थ ‘संगम’। किंवदन्ती अनुसार भुसन्डु ऋषिले तिलिचोमा तपस्या गरेका थिए । त्यहाँ गर्मी भएपछि उनी कागखोलामा आएर स्नान गरेर पितृका लागि तर्पण दिएका थिए । संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । आगो, पानी, पृथ्वी, हावा र मुक्तिनाथको मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ । यहाँको ज्वालामाई परापूर्वकालदेखि अहिलेसम्म निरन्तर रुपमा पानी माथी बलिरहेको छ । मुक्तिनाथमा कुनै महत्वपूर्ण प्रसाद इच्छा अनुसार चढाइने प्रचलन छ । त्यहाँ पुगेपछि आपूmले खान पिन गरेको खाद्य पदार्थ मध्ये एक चिज छोड्ने प्रचलन पनि छ । नेपालको कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगी त्रिशुली नदीमा विलय भएपछि नारायणी नदीको नाममा त्रिवेणी भैसालोटन हुदै सिमा पार भएपछि भारतमा गंगा नामले परिचित भै गंगा सागरमा गएर मिसिन्छ ।

मुक्तिनाथ बसपार्कबाट मन्दिर पुग्न आधा घन्टा उकालो चढ्नुपर्छ । मोटो ज्यान भएकाहरु फतक्कै गल्छन् । कसैलाई अक्सीजनको कमी भै हिडन सक्दैनन् । हिडन नसक्नेहरु का लागि मोटरसाइकल र घोडा भाडामा पाइन्छ । मोटरसाइकलले डेढ सय रुपैयाँ र घोडाले ३०० रुपयाँ लिन्छन् । मुक्तिनाथ मुन्तिर रानीपौवा बजार छ । तीन सय वर्षअगाडि सुवर्ण प्रभाले ‘धर्मपौवा’ बनाएको हुनाले रानीपौवा नाउँ रहेको हो । अहिले रानीपौवामा बजार बिस्तार भएको छ । तिर्थाटन पर्यटकहरुलाई खान र बस्न होटल लज रेस्टुराँहरु छन् । तर होटलको सुबिधा भएपनि धेरै महगा छन । सादा खानाको ४ सय ५० र सामान्य कोठाको २ हजार तिर्नु पर्दछ ।

मुस्ताङ नेपालको प्रदेश नम्बर ४ को हिमाली पारीको जिल्ला हो । म्याग्दीको बेनीबाट मुस्ताङ जादा धौलागिरी हिमाल र निलगिरी हिमाल पार गरेर जान पर्ने भएकाले मुस्ताङलाई हिमालपारीको जिल्ला भन्ने गरिन्छ । अहिले मुक्तिनाथ अर्थात मुस्ताङ जानको लागी पोखराबाट हवाई उडानको मात्र भर पर्न पर्दैन । पोखरा वाग्लुङ हुदै म्याग्दीको वेनी देखि मुस्ताङ जान मोटर मार्ग खुलेको छ । मोटर मार्गले गर्दा मुक्तिनाथ जानेहरुको लागी म्याग्दीको तातो पानीको स्नान गरेर मुक्तिनाथ सम्मको यात्रा गर्नपनि सजिलो भएको छ । पोखराबाट बस चढेपछि नाउडाडा, लुम्ले, बिरेठाटी हुदै मोदी खोलाको किनारको सडकबाट पर्वतको सदरमुकाम कुश्मा बजारको बाटो प्राकृतकि दृष्य, काली र मोदीको नागवेली पानीको वेग, अनि नेपालकै अग्लो पुल, कुश्मा वलेवा जोडने कालीगण्डकीको केवुल पुल, पर्वत र वाग्लुङ जिल्लाका अनगिन्ती ऐतिहासिक स्थल, हरिया डाडाकाडा अवलोकन गर्दै म्याग्दी जिल्लाको सदरमुकाम वेनी पुगिन्छ ।

यात्रामा मुक्तिनाथ प्रवेशद्धारको रुपमा परिचित गलेश्वर धाम पर्दछ । म्याग्दीको सदरमुकाम वेनीदेखि तीन किलोमिटर उत्तरमा गलेश्वर धाम रहेको छ । स्कन्द पुराणका अनुसार भगवान शिवकी पत्नी सतीदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण गरिएको धार्मिक विश्वास छ । प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको सिङगामा रहेको तातोपानी कुण्डमा पनि मुक्तिनाथ जादा नुहाउन सकिन्छ । प्राकृतीक मुल जमिनभित्रबाट निस्कने तातोपानी ५० डिग्री सेल्सियस तातोपानी कुण्डमा जम्मा गरिएको छ । बिरेनुनको गन्ध आउने कुण्डको पानीमा एक हप्तासम्म नियमित स्नान गरेमा हाड जोर्नी, चर्म, ग्याष्ट्रिक र नशासम्बन्धी रोग निको हुने जनविश्वास रहेको हुनाले मानिसहरु तातोपानी कुण्ड जाने गर्दछन । म्याग्दीको सिङगा, सदरमुकाम बेनी बजारदेखि ९ किलोमिटरको दुरीमा पर्दछ ।

मुक्तिनाथ पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहल पहललाई नै मुस्ताङ सझिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन । मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ अर्थात लोमाथाङ पुगेन भने मुस्ताङ जिल्लाको महत्वनै थाहा हुदैन । उपल्लो मुस्ताङको जनजीवन, धर्म, सस्कृतीका बारेमा अध्यन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केहि अर्थ हुदैन भन्दा पनि हुन्छ । नेपालको नक्सामा स्वसासित तिब्बत तिर फैलिएको अर्थात नक्सा हेर्दा टोपि लगाएको जस्तो देखिने भाग नै मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङन्थाङ हो । उपल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेर को केन्द्र अर्थात उपल्लो मुस्ताङको राजधानी लोमान्थाङ गाउ हो । प्राचिन कला सस्कृती, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङ को बिशेषता हो । उपल्लो मुस्ताङमा गुम्वा र काचोमाटोबाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बाट ८३ कि.मि. उत्तर पर्ने लोमान्थाङमा कच्ची मोटर मार्ग पुगेको छ । अहिले पोखरा देखिनै मोटरबाट लोमान्थाङ पुग्न सकिन्छ । लोमान्थाङ क्षेत्र मानव बस्तीको ऐतिहासिक स्थल मानिन्छ ।
उपल्लो मुस्ताङ को लोमान्थाङ दरवार र गुम्वाको अवलोकन गरेपछि पुग्नै पर्ने अर्को स्थल हो दामोदर कुण्ड । धार्मीक अथवा प्राकृतीक रुपले अति मनमोहक सुन्दर हिमाली श्रृखलाको कुण्ड हो दामोदर कुण्ड । हिन्दुहरुको आस्थाको पवित्र कालीगण्डकी को उदगम स्थल दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोम देखि करिव १२० कि.मि. को दुरीमा रहेको दामोदरकुण्ड उपल्लो मुस्ताङको चराङको घारागाउँ बाट २ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घारा गाउँबाट दामोदरकुण्ड सम्मको भूगोलमा मानव बस्ति नभएकोले त्यहा जाने जो कोहिले पनि सबै खाद्यान्न लगायत बन्दाबस्तिका सबै सामान साथमा लिएर जानु पर्दछ ।

दामोदर कुण्ड जानको लागी श्रावर्ण र भाद्र महिना उपयुक्त मानिन्छ । दामोदरकुण्ड प्राकृतिक मनोरम स्थल छ । जहा हिमाली श्रृङखलामा उपत्यका बनेको छ । हजारौ हिमाली फुलहरुले उपत्यकालाई सजाएको छ । दामोदरकुण्ड वरपर अन्य साना तिना कुण्डहरु पनि छन । छिन–छिनमा रातो, निलो, सेतो रङ्गको पानी देखिने कुण्डले त्यहा पुग्ने सबैलाई रोमाञ्च बनाउछ । पौराणिक कथा अनुसार दामोदर कुण्ड भगवान कृष्ण संग जोडिएको छ । बालकको अवस्थामा कृष्ण चनचले स्वभावको भएको कारणले आमा यसोधाले कृष्णलाई नाम्लोले कम्बरमा बाँधेर ओखलमा बाधिन आफुलाई बाँधेको नाम्लोको डोरीले ओखललाई घिसार्दै जादा अहिले दामोदरकुण्ड भएको स्थानमा रुखमा अल्झेर रुख लडन गयो । त्यो रुख लडेको ठाँउ नै कुण्ड बनेको हुदा कुण्डको नाम दामोदर हुन गएको धार्मिक विस्वास छ ।

Write your Comment


Related News
  • Khaptad National Park-The Best Trek in Nepal
  • Paragliding Begins In Eastern Nepal
  • रसुवागढी नाका हुदै मानसरोवर जाने बढे
  • Mardi Himal Trek-The Best Short Trek in Nepal
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी