ताजा समाचार

आज    |   

‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’



बाँकेको नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले चार करोडचन्दा बढी लागत अनुमानसहित गुरुयोजना तयार गरेको जनाएको छ ।वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले मन्दिरको विकासका लागि गुरुयोजना तयार गरी स्रोतको खोजीमा लागिपरेको जानकारी दिए ।‘स्रोत भेटिएअनुसारका काम अगाडि बढाइसकिएको छ,’ पछिल्ला दिनमा आयस्रोत हुने गरी विभिन्न विकासका काम भइरहेको जानकारी दिँदै नगर प्रमुख समेत रहेका गुठीका अध्यक्ष डा. राणाले भने, ‘वागेश्वरी मन्दिर क्षेत्रलाई देशकै आकर्षक धार्मिक गन्तव्य क्षेत्रका रुपमा विकास गर्ने योजना छ ।’ राजपा नेपालका नेता तथा वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष विजय कुमार गुप्ताले समिति गठनपछि उदाहरणीय ढंगबाट काम भइरहेको जानकारी दिए । सतसङ्ग भवन बनाउनेदेखि मन्दिर परिसरका झोपडपट्टी हटाउने काम पूरा भएको छ, ३० लाख बढीको लागतमा चिल्ड्रेन पार्क निर्माण भइरहेको उनले जानकारी दिंए ।

मन्दिर व्यवस्थापनका लागि उत्साहित हुँदै उपाध्यक्ष गुप्ताले भने, ‘अव्यवस्थित पसलेहरुलाई व्यवस्थित मात्रै गरिएको छैन, सटर निर्माण गरी आयस्रोतको व्यवस्था पनि गरिएको छ ।’ उपाध्यक्ष गुप्ताका अनुसार, प्रतिसटर चार हजार रुपैयाँ मासिक भाडा लिनेगरी २० वटा सटर वागेश्वरीको पूर्व गेट छेउ निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ । मन्दिरको सौन्दर्य बिगार्नेगरी राखिएका झोपडपट्टी हटाएर सटरमा राख्दा व्यापारीहरुलाई सुरक्षित स्थानको सुनिश्चितता भएको छ’ उपाध्यक्ष गुप्ताले भने । वागेश्वरी मन्दिर परिसरमा ठूलो समस्या बनिरहेका मगन्तेहरुको व्यवस्थापनमा पनि गुठीले अग्रसरता देखाएको छ । निल सागर ज्येष्ठ तथा असहाय सेवा केन्द्रका संरक्षकसमेत रहेका गुप्ताले मन्दिर परिसरमा रहँदै बस्दै आएको बेवारिसे मगन्तेहरुलाई व्यवस्थित गरिएको जानकारी दिए । उनीहरुमध्ये ३० जनालाई निल सागरमा पुनर्स्थापित गरिएकोमा अधिकांश परिवारसँग आश्रित रहेकाले पुनर्स्थापित गरिएको उपाध्यक्ष गुप्ताले बताए ।

वागेश्वरीमा नबस्ने गरी गृह पुनस्र्थापन गरिएको छ,’ उपाध्यक्ष गुप्ताले भने, ‘यद्यपि मगन्तेहरुको समस्या अझै पूर्णतया समाधान भएको छैन ।’ बागेश्वरी मन्दिर परिसरमा रहेका जुंगे महादेवको मूर्तिमा जलधारा लगाउने कामसमेत भएको छ । मन्दिर सुधारका लागि रंगरोगन, शौचालय निर्माण, सडक विस्तारलगायतका योजना पनि अघि सारिएको छ । वागेश्वरी मन्दिर परिसरमा विभिन्न सौन्दर्यकरणका लागि परमेश्वर लाल चाचानले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि विभिन्न संरचनाहरु निर्माण गर्न लागिएको हो । त्यस्तै घरबारीटोल सडक चौडा गर्ने क्रममा बागेश्वरीले छोड्नुपर्ने सडक क्षेत्रफल छोड्न लागिएको छ । बागेश्वरी मन्दिरसँगै प्रदेश सरकारले पर्यटन विकासका लागि दिएको डेढ करोड रकमबाट पुरैनीस्थित तालमा बोटानिकल गार्डेन बनाउन लागिएको छ । नगर प्रमुख डा. राणाका अनुसार, रानी तलाउ सुधारका लागि पनि १५ लाख रुपैयाँ बजेट थप प्राप्त भएको छ । (आर्थिक दैनिकबाट)

Write your Comment


Related News
  • अहिले सम्मकै खतरनाक त्रिशुली नदिको र्‍याफ्टिङ (भिडियोमा हेर्नुहोस्)
  • रात्रीकालिन समय- इन्डोनेसियाको बाली मा यसरी रमाउछन पर्यटक
  • रौतहट र सर्लाही बिना बन्यो, नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
  • यस्तो छ प्रदेश १ को नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन समिति
  • © 2019: आओर टुरिजम न्युज All Rights Reserved. Designed by: GOJI Solution
    माथी