ताजा समाचार

आज    |   

विमलनगर उर्फ विम्लिङटार



पाहुनाके कान्कोई झोर्ले है
कानुङ ढुट कानुङ्ग रोह ईजारम होर्ले है
(पाहुनाहरुलाइृ हाम्रो नमस्कार छ
हाम्रो भाषा, हाम्रो सँस्कृति यसै गरी हुकँर्दै छ है)
पाहुनाके स्वागत जातिङ्ग है कानुङ्ग लाङ्घु बोई मोईको पट्टकोन खाटिङ्ग है
(पाहुनाहरुलाई स्वागत गरौँ है
हाम्रो गाउँका बा–आमा लगायत सबैजना मिलौँ है)
लाफाकोके होङसम यानी है
विमलनगर डेच ठवाङ्ग होमस्टे लेनी है
(साथीहरुलाई सुनाइदिनुस है विमलनगर भन्ने ठाउँमा होमस्टे छ)
सिद्ध गुफा ङोस्म नुनिस है
कान्कोके आर्मित्न फेरि फेरि रानिस है
नाम्सु सरर नाम्सु सरर
विमलनगर सिद्ध गुफुङ नामसु सरर
(वतास सरर वतास सरर, विमलनगरमा सिद्ध गुफाको वतास सरर)

गोडामा छमछम खाँखर बजाउदै खुर्खुती दगुर्दै पाँचटी युवती झुल्किन् । कतिवेला चुड्का गरुवाको ओदश आउला र छमछामी नाचुँला भन्ने व्यग्रतामा छन् सवैजना । भित्रबाट आए चुड्का झिक्ने र खैजडी ठोक्ने पाको उमेरका पुरुषहरु । पाहुना दर्शकतिर फर्केर ‘झोर्ले’ (नमस्कार) गरे । भूईंमा थुचुक्क के बस्नु भ्याएका थिए । युवतीहरुले हाँस्दै उनीहरुका हातमा खैजडी थमाइदिए ।

गुरुवाले पहिलो चरणमा पाहुनालाई स्वागत गर्दै मगराती भाषाको चुड्का गाउन थाले । दमौली यता कौरा भन्छन् । पाल्पातिर करुवा पनि भन्ने गर्छन् । दमौली उता भने चुड्का भन्दा रहेछन् । उसो त मगर गाउँका छिमेकी दरै, गुरुङ गाउँ तिर समेत चुड्का भनेर नाच्ने गरिन्छ । एक आपसमा साँस्कृतिक आदानप्रदान गर्नाले नै सद्भावको विकास भएको छ । हाम्रो समाजमा विविधतापूर्ण संस्कृति अरु समृद्ध बनेको छ ।
अक्सर चुड्कामा अविवाहित युवती नचाइन्छ । यहाँ भने विविध समस्याले गर्दा होमस्टेमा आउने पाहुनाहरुलाई मनोरञ्जन दिलाउन र मौलिक संस्कृति लोप हुनबाट नयाँ जुक्ति झिकेछन् । विवाहित छोरी र वुहारीलाई नै नचाउने । उसो त उनीहरु संस्थागत हिसाबले समेत उत्तिकै अग्रसर छन् ।

शिरमा शिरफूल, गलामा पहेल्पुरपोते र कण्ठहार । दुईतिरका कानमा चेप्टो बडेमानका सुन लर्काएका । हरमा मखमली चोली । कम्मरमा टिमिक्क बेरेका पहेला पटुकी । छिट्को गुन्युमाथि कम्मरनेर छड्के पारेका खुर्पेटो । सेतो पछ्यौरी काँधदेखि कमर मुनितर सम्म लरक्क लर्काएका । घरि दायाँ ढल्कलन्छन् त घरि बायाँ । घरि बसेर नाच्छन् त घरि उठेर । त्यस्तै कहिले लामो परिधिमा घुम्दै नाच्छन् । खुरखुर्ती दगुर्दे नागवेली आकारमा समेत नाच्छन् । पुरुषको सवालको जवाफ हात र आँखाले ईशारा दिँदै फार्काएका छन् ।

खैजडी ठोक्ने पुरुषहरुले जोडसँग खैजडीमा ताल दिएका छन् । कहिले छातीनेर त कहिले युवतीतिर फर्काउदै खैजडी रन्काएका छन् । उमंगको पारो ह्वात्तै बढेको छ । पहिलो चरणमा मगराती भाषामा स्वागत गीत गाएर विट मारे ।
दोस्रो चरणमा भने माया पीरतिका फँुदाहरु जोड्दै गाउन थाले । पाहुनाहरुलाई समेत ननाची धरै दिएनन् । पोखराबाट गएका म लगायत फरेन्द्र थापा, मानबहादुर पुन, देवान श्रीस, हरि शर्मा, बम गुरुङ सबै जना धित मरुञ्जेल नाच्यौँ ।

अन्तिममा ‘गोरखा मनकामना’ को भाकामा धौलागिरि गाउँ पालिकाबाट होमस्टे अवलोकन भ्रमण टोलीमा आएकी कलाकार महिलासँग होमस्टेका केशरबहादुर गरम्जा मगरको मज्जाको दोहोरीको खाल जम्यो । शायद, दुबैको घरबार नवसेको भए के हुन्थ्यो भन्न सकिन्थेन !
मस्र्याङदी आमा सहकारीको तीनतले भवनको भूईंतलामा वातावरण रंगिलो बन्दै तात्दैछ । ११ बजेसम्मको समय सारिणी । बल्ल रातको १० बजेबाट प्रारम्भ भएको छ । आफ्नो त नौ बजे सुती हाल्ने बानी । केही बेर त आँखामा निंद ओर्लेर झुमुक्क होलाझैँ भो । परन्तु, रंगीन वातावरणले निदरी सबै भागेर गयो । साँढे १२ बजेसम्म सबै तरंगीत बन्यौँ ।

चुड्का नृत्यका टोलीका नामावली यसप्रकार थिए– संयोजक बेनीबहादुर थापा सिँजाली, गुरुबा बलबहादुर थापा, सदस्यहरुमा मुक्तिबहादुर थापा, ऋषिराम आले, खेमबहादुर थापा, पुष्प थापा, उर्मिला थापा । त्यस्तै सोम थापा, नन थापा, विमला थापा, सर्मिला थापा, निरु थापा, बविता थापा, सीता थापा र राजु थापा ।

परम्परागत खाजा
विमलनगर स्थित सामुदायिक होमस्टेका पाहुना हामी । सेता अछेताका टीका र फूलका मालाले स्वागत गरे हामीलाई । सामुदायिक भवनमा होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष सीता थापा मगरले समुचित चाँजोपाँजो मिलाएकी रहिछिन् । भित्र प्रवेश गराए पश्चात लहरै प्लाष्टिकका कुर्सीमा आराम ग¥यौँ । एकैछिनमा हाजिर भो सालका पातले खुटेका दुई÷दुई टपरी । एउटामा फुल उठेको भुटेको मकै र अर्कोमा निउरोको तरकारी अनि सिल्टुङको बिरौला । स्थानीय जातको मकै रे । कस्तरी भरल्ती फुल उठेका । तनहूँ जिल्ला आफैमा निउरोको लागि प्रख्यात छ । उसो त खैरो भटमास र दल्हनमा सिल्टुङ, मास, गहतमा समेत । लोकल खाजा खान पाउँदा जङ्क फूड खाएर वाक्क भएकाहरुलाई अमृत मिले सरह हुन्छ । हामी पछि र्आका समूह धौलागिरि गाउँपालिका र पोखराका लघु उद्यम समूहका कर्मचारीलाई समेत यही खाजा खुवाए लगत्तै आपसमा परिचय समेत आदानप्रदान ग¥यौ ।

डुम्रे नजिकैको पुरानो बजार विमलनगर । पृथ्वी राजमार्ग यसैको वक्षस्थलमा टेकेर गएको । परन्तु, धेरैलाई अनौठो लाग्छ यो नाम सुन्नमा । विगत प्रमुख व्यापारिक केन्द्र समेत । समयक्रममा यसको रौनकमा खिया लाग्दै गयो । र, गुमनाम बन्यो विमलनगर । त्यसो भएको हुनाले यसको रौनक पुनः फर्काउन तल्लीन भएका छन् होमस्टे सञ्चालन गरेर ।
सीता थापा सामाजिक अभियन्ता समेत हुन् । उनकै अध्यक्षतामा २०७४ साउनबाट एघार घरमा होमस्टे सञ्चालन गरेका छन् । होमस्टे समूहमा भने उन्नाइस घर सञ्चालित छन् ।

उनीहरु पहिलैदेखि नै सहकारीको माध्यमबाट हरेक व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने क्रममा अमलटारी, सिरुवारी र रानागाउँको होमस्टे अवलोकन भ्रमणमा समेत पुगे । जसमा लघु उद्यम समूहले समेत उत्तिकै सघाउ पु¥यायो । त्यहाँबाट फिरेपश्चात आफ्नो गाउठाउँमा समेत होमस्टे सञ्चालन गरेरै छाडे ।

होमस्टे सञ्चालन पश्चात छोटो अवधिमै समूहगत रुपमा विभिन्न जिल्लाबाट पाहुनाहरु ओइरिन थालेका छन् । रुपन्देही, रसुवा, नुवाकोट, कास्की, स्याङजा, काठमाण्डौं, ललितपुर, काभ्रे, म्याग्दी, चितवनबाट समेत आएका छन् । प्रायजसो स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुले समेत आफ्नो क्षेत्रमा कसरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्दै आउने गरेको अध्यक्ष थापाले बताइन् ।
प्रतिघरमा दुईजनाको दरले पाहुना राख्छन् उनीहरु । ५ प्रतिशत रकम होमस्टेको कोषमा जम्मा गर्छन् । मस्र्याङदी आमा बचत सहकारीको भवनमै सामूहिक रुपले पाहुनाहरुलाई स्वागत गर्छन् । चुड्का नचाउँछन् । पाहुनासँग अन्तरक्रिया गर्छन् । भरिसक्ये अग्र्यानिक खुवाउछन् । स्थानीय प्रजातिको चामलको भात, निउरो, कुरिलो, सिल्टुङ, भटमास, सटिया मकै, कोदोको ढिँडो, गुन्द्रुक, लोकल कुखुरा, मस्र्याङदीको माछा खुवाउछन् । प्याकेजमा २ छाक खाजा, बेलुकी मासु भात र सुतेको सहित ८ सय तिरे पुग्छ ।

बन्दीपुर, सिद्ध गुफा अवलोकन गराउन गाइडको समेत व्यवस्था छ । यसको भने अतिरिक्त भुक्तान गर्नुपर्ने हुन्छ । पातालद्वारी गुफा, बन्दीपुर थानीमाई दर्शन, बन्दीपुर बाख्रा फर्म, नेपालमै नमूना गाई फर्म, खुशीयाली बाख्रा फर्म, दाना उद्योग समेत अवलोकन गर्न सकिन्छ ।
मस्र्याङ्दी आमा साकोस त तनहूँ जिल्लामै उत्कृष्ट हुन समेत सफल भएको छ । जसको वर्तमान अध्यक्ष निशा थापामगर हुन् ।

एशियाकै ठूलो गुफा
२० मिनेटजति मास्तिर उक्लिने हो भने एशियाकै ठूलो सिद्ध गुफा पुग्न सकिन्छ । सिद्ध गुफा हुँदै बन्दीपुरसम्म उक्लिन सिंडीको समेत छ जसमा रेलिङ समेत राखिएको छ । जुन गुफा २०४३ सालतिर चन्द्रबहादुर मगर, नारायण कुमाल, नरबहादुर पुन लगायत पाँच जनाले पत्ता लगाएका हुन् ।

गुफा पत्ता लगाएपश्चात यहाँ आगन्तुकहरुको ठूलो भीड नै लागेको समाजसेवी होमबहादुर थापामगर बताउछन् । उनका अनुसार १ रुपैयाँको दरले सहयोग रसीद काटेर चन्दा संकलन समेत गरियो । बोकाले पूजा गरियो । तत्कालीन सिडिओ, अञ्चालधिशलाई बोलाएर भोज समेत खाएछन् खुशीयालीमा । बजारका व्यापारी साहूहरुका आपसी मनमुटाव गुफा समितिमा समेत परेछ । परिणाम बीस वर्षसम्म समिति निस्कृय झै भयो ।

२०६३ सालमा पुनः पर्यटक भित्र्याउन भनी एकजुट हुन थालेछन् । लालकुमार श्रेष्ठको अध्यक्षतामा बेनी थापामगर, होमबहादुर थापा, भानुभक्त थापा लगायतकाहरु सकृय हुन थाले । झाँक्री बाबाले नै उनीहरुलाई एकजुट गराएका हुन् ।
शुरुमा गुफा पत्ता लाग्दा त्यहाँभित्र कैयन बोरा हीराजस्ता टल्कने रुद्राक्ष मालाजस्ता पत्थरहरु भएपनि २०६३ सालमा प्रवेश गर्दा ती सबै गायव थिए भनी सुनाउछन् होमबहादुर थापा । गुफा प्रवेश गर्नेहरुले जथाभावी भित्तामा इनामेलले लेखेका थिए । तोडफोड गरेका थिए ।
गुफाको माथिल्लो खण्ड मुखलाई हावा आइरहने हुनाले बतास फुंगा भनिन्छ । गुफाको लम्बाइ ५ सय मिटर लामो छ । गुफाभित्र ९५ मिटर तलसम्म ¥याफ्लिङ गर्ने गरिन्छ । शिरको ह्याटको लाइटको सहाराले अँध्यारो चिर्दै डोरीमा सररर तल झर्दै भरेङबाट गुफा बाहिर निस्कने गरिन्छ ।
हालसम्म आन्तरिक तथा बाह्य ७ लाख जति पर्यटकले गुफा अवलोकन गरेको सिद्ध गुफा विकास समितिका कोषाध्यक्ष बलबहादुर थापामगर ‘राजु’ले जानकारी दिए । भन्छन्– ‘बन्दीपुरसम्म उक्लिने सिँडीको स्तरोन्नति, शिवालय मन्दिरको निर्माण, गुफाभित्र लाइटको समेत व्यवस्था गरिने योजना छ ।

साहसिक रक क्लाम्बिङ
विमलनगरमै पृथ्वी राजमार्गको छुवैमा छ विशाल पहिरो । त्यही नै रक क्लाम्बिङ समेत गराइन्छ । जसलाई नेपालकै सुविधायुक्त स्थान मानिन्छ । रक क्लाम्बिङलाई आवश्यक सामग्रीहरु आफैले लग्नुपर्छ । दिनभरको निम्ति एकजनाले यस रुपैया शुल्क तिर्नुपर्ने हुन्छ । हप्ता दिन अघि खबर गरेको खण्डमा भने काठमाण्डौंबाट मगाइन्छ । शुल्क प्रतिव्यक्ति २ हजार लाग्छछ । त्यस्तै एकचोटिमे न्यूनतम १० जना हुनुपर्छ । रक क्लाम्बिङको शुरुवात २०६४ सालदेखि भएको हो । २७ वटा रुटमा ५४ जनाले एकैचोटि रक क्लाम्विङ गर्न मिल्छ ।

इतिहास झल्कने घरेलु तान
विमलनगरमै प्रेमकुमार श्रेष्ठ (५५) ले सञ्चालनमा ल्याएको घरेलु तान समेत देख्न सकिन्छ । तानमा पछ्यौरा, कछाड तैयार हुन्छ । विगतमा कामदाहरु राखे पनि अचेल पति पन्तिले नै खटनपटन गर्छन् । विगतमा तीन तान भए पनि अचेल दुई तान मात्र राखेका छन् ।
उद्योगले उत्पादन गरेका सामाग्री फिस्लिङ, गैंडाकोट, मुग्लिङ, कुरिनटार, खैरनी, भीमादसम्म पठाउँछन् । सेतो प्रिण्टेड पछ्यौरा लिनलाई बन्दीपुर, आंबुखैरेनीबाट उद्योगमै आउँछन् । चार हात (२ मीटर) को एउटा पछ्यौराको मूल्य ४ सय रुपैयाँ पर्छ ।
सरासर गरेमा दैनिक २५ मिटर सम्म बुन्न सकिन्छ । यही रफ्तारमा काम गरेमा मासिक १८ हजार जति फाइदा हुने श्रेष्ठले बताउछन् ।
उनको व्यापार विगतमा धेरै राम्रो थियो । अचेल काठमाण्डौंबाट कमसल खालको सस्तो मूल्यमा उपलब्ध हुनाले उनको उद्योगलाई समेत मार परेको छ । कलकत्ताबाट धागो काठमाण्डौं आयात गरेर उनले आफ्नो उद्योग चलाएको बताए ।

मनै ह¥यो चून पहराले
बाटो मुन्तिर मस्र्याङदीको सुसाहट । बाटो मास्तिर अजङ्गको चूना पहाराको भित्ता । पहराको शिरमाथि हरिया बुटाबुटी । पहराकै भित्तामा चराले गुँड बनाएका । त्यही चिरिविरी गर्छन् पखेटा पिरफिर गर्दै । यो दृश् देख्दा बटुवा अनायास टक्क अडिन्छन् । पहराकोा भित्तातिर दृष्टि पु¥याउछन् । दिनभर मुन्तिर बसेर हेरुँ–हेरुँ झै लाग्ने । मस्र्याङदी नदीले मास्तिर चिसो बतास सोहोरेर फ्याकिदिँदा यो गर्मीमा पंखाको काम पो गर्छ ।
चार वर्षअघि सम्म पहरो मुन्तिर सिस्नुघारी थियो । मानिसले शौच गर्थे त्यही । नाक थुनेर हिँड्नुपर्ने । चुना पहरा प्राकृतिक रमणीय स्थल संरक्षण समति गठन भयो हरिबहादुर थापामगरको अध्यक्षतामा । समितिले छोटो अवधिमै प्रशंसनीय कार्यहरु गर्दै आएको छ । जाँते पिङ, लुठे पिङ, चर्खे पिङ निःशुल्क रुपमा मच्ची–मच्ची खेल्न पाइन्छ । बस्नलाई सार्वजनिक बेन्चको व्यवस्था छ । त्यस्तै सार्वजनिक शौचालय र चमेना गृहहरु सञ्चालनमा छन् । प्रकृतिको मनोरम यही काखमा टक्क रोकिन्छन् मोटरहरु ।
पहरा माथि चराका बासस्थान छन् । कल्चौडा, कोकले, गौथली, मलेवा, सारी, माटोकोरे (दमाई चरा), धोविनी चरी, लामपुच्छ्रे, तित्रा सबैको चर्तिकला देख्न सकिन्छ । समितिले पार्क निर्माणका साथ दीर्घकालीन योजना बनाउने सोच भएको कोषाध्यक्ष बबिता थापामगरले भनिन् ।

गुमनाम विम्लिङटार
विमलनगरलाई पहिले ढाप्रे विम्लिटार भन्ने गरिन्थ्यो । यहाँको रैथाने मगरहरु हुन् । होमबहादुर थापामगर (६४) २०२८ सालतिर साविकको बन्दीपुर ६ वटा झरेका हुन् । बन्दीपुरको सुसिलिङ थर गाउँमा ३५ घर मगर थिए । हाल बेसी झर्नाले गाउँमा १५ घर मात्र रहेका छन् ।
२०२५ सालमा पृथ्वी राजमार्ग खुल्दा पायक पर्ने ठाउँहरुमा नेवारहरु बसाईं सरी व्यापार गर्न थाले । यसै क्रममा विम्लिटारमा समेत पुराना व्यापारी बिष्णुलाल प्रधानलाई मगरहरुले प्रतिहातको ७० रुपैयाँमा घरेडी बिक्री गर्दा एकैचोटि २५ घर नेवारहरु भित्रिए । सो समय बेसीको खेतीपाती स्याहार्न आफूहरु गोठमा सुत्ने गरेको होमबहादुर थापा सुनाउछन् । उनका अनुसार लेखापढी कानूनमा पछि पर्नाले आफूहरुका धेरै आवादी जग्गालाई समेत झाडी भनेर मुखियाले उल्लेख गरिदिएको गुनासो गर्छन् । उसो त मालले पहुँचको आधारमा कसैलाई भने झाडीभित्रको सार्वजनिक जग्गा समेत व्यक्तिको नाममा दर्ता गरिदिएको आरोप लगाउछन् ।

बजार गुल्जार हुनु अघि विम्लिङटारमा राति प्रशस्त जूनकीरीको पिलपिलले बाटो नै उज्यालो हुन्थ्यो । विम्लि भनेको झिलिक–झिलिक गर्ने किरा हो मगर भाषामा । त्यसैले विम्लिङटार भन्ने गरिएको हो ।
विम्लिङटारमा अन्यत्रबाट समेत व्यापार गर्न भनी अन्य जातिका आगमन हुनासाथ यस ठाउँको नाम नै परिवर्तन गराइदिए । अब भने विम्लिङटारले विमलनगरको जामा पहिरियो । उतिबेला गण्डकी अञ्चलकै प्रमुख व्यापारिक केन्द्र थियो । पोखराबाट समेत साहू महाजनहरु व्यापारिक सामाग्री खरीद गर्न नारयणघाट नपुगेर यही नै ओइरिने गर्थे । खच्चड र भरियाको त बजार नै लाग्थ्यो । सबै घर सालका काठले बनेका । छानो बन्दीपुरे स्लेटले छाइएका । व्यापारबाट नेवार साहूमहाजनले राम्रै आय आर्जन गरे । सात पुस्तालई मनग्गे पुग्ने सम्पत्ति समेत जोडे । रैथाने मगरहरुले भने खासै प्रगति गर्न सकेनन् । रैथाने मगरहरु सिँजाली, सुस्लिङ, मसराँगी हुन् ।

मोटरबाटो खुलेपटि त यहाँ खाद्य गोदाम, वन कार्यालय, कृषि सामाग्री र जनकपुर चुरोट काराखानाको डिपो समेत बस्यो । गोर्खाको च्याङली जाने झोलुङ्गे पुल बन्यो । खानेपानीको बिस्तार भयो । जब डुम्रे बेशीशहर मोटरबाटो खुल्यो तब विमलनगरको व्यापार ओरालो लाग्न थाल्यो । आगन्तुक नेवारहरुले समेत विस्तारै बसाइ सर्न थाले । अचेल सात घर मात्र नेवारका छन् । बाहुनहरु एक, गुरुङ तीन दलितका सात घर छन् । कुल १ सय दश घरघुरीमा नब्बे प्रतिशत मगरका नै छन् ।

यसरी डुम्रे भन्दा अघि नै चम्किएको पुरानो बजार विमलनगरको चहक धुमिल बन्दै गयो । डुम्रेको छिमेकी बजार, जसको बक्षस्थल भएर पृथ्वी राजमार्ग निर्माण गएको छ । परन्तु यो नाम समेत धेरैलाई उच्चरण गर्न सकस पर्ने गर्छ हिजो आज ।

यहाँका रैथाने जाति मगर भएकाले आफ्ना थाततलोलाई बेसी माया स्नेह पोखिनु स्वभाविकै हो । बजार नजिकै मास्तिर सिद्ध गुफा भएर पनि बन्दीपुरले जति लाभ लिन सकिरहेको छैन । यिनै चुनौति र सम्भावनाबीच यहाँका रैथाने मगरहरुले सामुदायिक होमस्टे सञ्चालन गरेर पुरानो साँख फिर्ता गर्न कम्मर कसेर लागिपरेका कछन् । व्यावसायिक सीप सिकेर आर्थिक रुपमा छलाङ मार्दैछन् । सन्तानलाई शिक्षाको पथमा अग्रसर तुल्यादैछन् । विभिन्न संस्थामा आवद्ध भएर सशक्तिकरण बन्दैछन् । पुरानो हुँदैन माया भनेझै हामीसँग गरेका अन्तरक्रियामा अब विम्लिङटारलाई नै प्रचलनमा ल्याएरै छाड्ने इरादा समेत लिए ।

Write your Comment


Related News
  • भ्रमण वर्ष सचिवालयमा आर्थिक पारदर्शीता र आर्थिक शुद्धिकरण हुन्छ : उप सचिव निलम न्यौपाने
  • TAAN Suggests Policy Reforms to Tourism Minister
  • होसानको निर्णय : भ्रमण वर्ष अवधिभर होमस्टेहरुमा बस्न आउने पर्यटकहरुलाई २० प्रतिशत छुट दिने
  • भारतीय पर्यटक माथि भएको दुव्र्यवहार प्रति पश्चिमाञ्चल होटल संघको गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी