के हो होमस्टे ? पर्यटन प्रवद्र्धनमा होमस्टेको भूमिका के ?



होमस्टे अंग्रेजी शब्द हो । नेपालीमा यसलाई घरवास भनिन्छ । तर पनि अहिले होमस्टेको शब्दनै बोल्ने क्रममा चल्तीमा आएको छ । होमस्टेले यात्राका क्रममा ग्रामीण भेगका घरमाबास बस्ने भन्ने अर्थ दिन्छ । चाहे जुन शब्द प्रयोगमा भए पनि होमस्टेले ग्रामीण क्षेत्रमा भ्रमणमा जाने पर्यटकहरुका लागि घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । यसलाई हाम्रो परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । पहिले पहिले अध्ययनका लागि परदेश हिडेका व्यक्ति, नुन तेल लिन जाने आउनेहरुले रात परेपछि बाटैमा बास बस्नुपर्ने अवस्था थियो । त्यतिबेला अहिलेका जस्ता होटेल थिएनन् । यसरी बास बस्ने पाहुनालाई घरधनीले केहि रुपिया लिएर भाँडाकँुडा, दाउरा, पानी, नुन, तेल दिने प्रचलन थियो । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरुलाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ त्यहि खान दिने प्रचलन पनि थियो । त्यसबापत न्यूनतम रकम मात्र लिने चलन थियो । यही चलनको आधुनिक रुप होमस्टे हो ।

होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । अर्को तर्फ होमस्टे संचालन गरी ग्रामिण क्षेत्रका जनताहरुलाई पर्यटनको सेवामा सहभागि गराउने पनि हो । जुन कारणले गर्दा ग्रामीण समुदायको आयश्रोत बढदै जान्छ र जीवनस्तर मा सुधार आउछ ।

अहिले मुलुक नयाँ परिवेशमा पुगेको छ । स्थानिय तह, प्रदेश र संघले जनप्रतिनिधी पाएको छ । शहर बजार गाउँघर, टोल छिमेक जहा भएपनि बिकासका कुरा उठने बित्तीकै पर्यटनका कुराहरु उठने गर्दछन । पर्यटनको बिकास गर्नु पर्दछ । पर्यटनको बिकासले नै आर्थिक विकास हुन्छ । बिकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष आर्थीक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । गाउँमा होमस्टे सन्चालनमा ल्याएर पर्यटकहरुलाई सेवा दिनु पर्दछ भन्ने कुराहरु सुन्ने गरिन्छ । यो विकासको लागि नयाँ सोच मान्नु पर्दछ ।

स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । स्याङजाको सिरुबारीबाट नेपालमा होमस्टे पर्यटनको आरम्भ भएको मानिन्छ । सिरुबारीपछि भने होमस्टे पर्यटन लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ आदि गाउँहरु र रसुवाको बृद्धिम तथा इलामको श्रीअन्तुतिर विस्तार भएको हो । त्यसपछि क्रमश तराई र पहाड अनि हिमाली जिल्लाहरु मा पनि होमस्टे खोल्ने क्रम सुरु भयो । अहिले नेपालभरि करिब ४५ जिल्लाका बिभिन्न गाउँमा होमस्टे सन्चालनमा आएका छन । हाल देशभर करिब १ हजार ८ सय घरले होमस्टे सन्चालन गरेका छन् । यो बर्ष मात्र धेरै स्थानिय तहहरुले होमस्टे सन्चालनका लागि गाउँमा तालिम समेत दिने गरेका छन । होमस्टे पर्यटनप्रति धेरै गाउँठाउका बासिन्दाहरु आकर्षित हुन थालेका छन् । होमस्टेमा न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेमा पुग्ने गरेका छन् ।

होमस्टेले पर्यटकलाई आवास प्रदान गर्ने काममा मात्र होइन, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका निभाएको छ । तर होमस्टे सन्चालन गर्न चाहनेहरुका लागि यथेष्ट ज्ञान र सीपको अभाव रहेको छ । अहिले सम्म सन्चालनमा आएका होमस्टेहरुमा भ्रमण गर्दा त्यहाँका अधिकाशं सञ्चालकहरुसँग होमस्टेका आधारभूत ज्ञान पनि नभएको पाइयो । होमस्टे सन्चालनका लागि जुन स्थानीय संस्थाले सहजीकरण गरेका छन् ती संस्था र व्यक्तिहरुमा नै होमस्टे पर्यटन विकासका लागि अति आवश्यक पर्ने कुरामा सामान्य ज्ञान पनि नभएको पाइयो ।

वि.सं. २०६७ सम्म नेपालमा होमस्टेको स्पष्ट परिभाषा थिएन, कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि र दिशानिर्देश पनि थिएन तर अहिले समय धेरै बदलिएको छ । नेपालको पर्यटन विकासमा होमस्टे एक अभिन्न अङ्ग भएर अगाडि बढेको छ । ‘अतिथि देवो भवः’ भन्ने नेपाली सनातन मूल मान्यतालाई नेपालको होमस्टे पर्यटनले यथार्थमा टेवा प्रदान गरेको छ । नेपाल सरकारले वि.सं. २०६७ मा होमस्टे सञ्चालन कार्यविधि ल्याएको छ । होमस्टे भनेको के हो, कस्तो हुनुपर्छ, कहाँ खोल्न पाइन्छ, खोल्दा के–के प्रक्रिया अपनाएपछि सरकारी मान्यता पाइन्छ, व्यक्तिले खोल्ने हो कि समूहले, एउटा घरमा कतिवटा कोठासम्म होमस्टे राख्न सकिन्छ, सरकारलाई कर तिर्नुपर्छ कि पर्दैन, पर्यटकलाई सुताउने कोठा र खाट कस्तो हुनुपर्छ, भान्सा कस्तो हुनुपर्छ, खानाका परिकार के–के हुन सक्छन, पर्यटकले पालना गर्नुपर्ने नियम र घरमालिक अर्थात् होमस्टे सञ्चालकले पालन गर्नुपर्ने नियम कस्ता–कस्ता हुन सक्छन, जस्ता कुरा होमस्टे सञ्चालन कार्यविधिले दिएको छ ।

होमस्टे पर्यटनका लागि नेपाल सरकारले केही कुरा नियमन गर्न खोजे पनि सकेसम्म रणनीतिगत रुपमा यसलाई खुकुलो र सहज बनाउने प्रयासमा रहेको देखिन्छ । दर्ता गर्दा पनि पाँच घर मिलेर ‘सामुदायिक होमस्टे’ को रुपमा कुनै पनि गाउँमा होमस्टेमा आधारित पर्यटन शुरु गर्न सकिने प्रावधान राखिएको छ । शुरुको अवस्थामा पर्यटन विभाग, पर्यटन कार्यालय वा स्थानीय तहमा दर्ता गर्दा के–के कागजात पूरा भएको हुनुपर्छ र होमस्टे चलाउने घरमा कुन–कुन पूर्वाधार तथा सुविधा पुगेको हुनुपर्छ भन्ने कुराको स्पष्ट जाँचसूची होमस्टे कार्यविधिको अनुसूचीमा उल्लेख गरिएको छ । कम्तीमा साढे छ फिट लम्बाइ भएको र तीन फिट चौडाइ भएको खाट हुनुपर्ने, एउटा कोठामा दुई वटासम्म खाट राख्न सकिने, त्यसमा नरम ओछ्यान, सेतो तन्ना र सुकिलो एवं न्यानो सिरक हुनुपर्ने, ठिक्कको आनन्ददायी सिरानी हुनुपर्ने, एउटा तौलिया, एउटा चिया–टेबल, दुई वटा कुर्सी, एउटा ऐना, चप्पल, डस्टबिन, डोरम्याट, भित्तामा आकर्षक पर्यटकीय नक्सा, पोस्टर वा फोटो, उज्यालोका लागि बिजुली वा मैनबत्ती वा लालटिनको व्यवस्था हुनुपर्ने नियम उक्त कार्यविधिमा उल्लेख छ । साथै, सकेसम्म एट्याच ट्वाइलेट तथा बाथरुम हुनुपर्ने, यदि त्यस्तो नभएमा पर्यटकले प्रयोग गर्न कठिनाइ नहुने गरी सुत्ने कोठाको नजिकै बाहिर सफा ट्वाइलेट तथा बाथरुम हुनुपर्ने प्रावधान पनि त्यस कार्यविधिमा छ ।

होमस्टेमा सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएका वा स्थानीयस्तरमा नै उत्पादन भएका अर्गानिक वस्तु खुवाउनु, स्थानीय सांस्कृतिक रहनसहन र नाचगानमा रमाउने वातावरण बनाउनु र पाहुना हिँड्ने बेलामा घर वा गाउँमै बनेका स्थानीय हस्तकलाका सामग्रीहरु वा अन्य घरेलु उपजका कोसेली लाने व्यवस्था पर्यटकलाई मिलाइदिन पर्दछ । तर अहिले कतिपय ठाउँका होमस्टेका सन्चालकहरुमा पर्यटक भनेका राती बास बस्न आउने र विहानै उठेर जाने मानिस हुन भन्ने खालका साँघुरो सोच रहेको छ । अधिकाशं होमस्टे सन्चालनमा आएका गाउँहरुमा पर्यटकले खाने वस्तुहरु पनि बाहिरबाटै ल्याइएको पाइन्छ ।

ग्रामीण एवँ बाह्य पर्यटकहरुको आगमन गराउन हरेक गाउँ र बस्तीमा होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय तहहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामीण पर्यटनको विकास हुन सक्दछ । अधिकांश हामी नेपालीहरुमा भ्रमण गर्ने बानी छैन र भ्रमण गर्नु फजुल खर्च गर्नु सिवाय केही होइन भन्ने सोचाइ धेरैमा पाइन्छ । भ्रमण एक अध्ययन, अवलोकनको महान् शिक्षा हो । किताबी ज्ञान, ज्ञानमा मात्र सीमित हुन्छ । तर भ्रमण अवलोकनबाट प्राप्त ज्ञान व्यावहार परिवर्तनमुखी हुने गर्छ । अर्कोतर्फ भ्रमणले मान्छेका नराम्रा संस्कार र संस्कृतिको तुलनात्मक विश्लेषण गराई संस्कार र संस्कृतिको विकास र परिमार्जन गराउने माध्यम पनि बन्दछ ।

गाउँमा अहिले अधिकारसम्पन्न स्थानीय सरकार छन् । बजेट पनि सबैको राम्रै छ । पर्यटन विकासको आशा गर्ने हो र साँच्चैको पर्यटकीय सम्भावना भएको गाउँठाउँ छ भने पर्यटन प्रवद्र्धनको बिकास होमस्टेबाटै गर्नु राम्रो हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टान पश्चिमाञ्चल क्षेत्रीय संघको सराहनीय प्रयास, खुलायो बन्द भएका पदमार्ग
  • गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी
  • ‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’
  • पर्वतका एघार स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी