ताजा समाचार

आज    |   

युवाहरूलाई होटलमा सोचेजस्तो सहभागी गराउन सकेका छैनौं : सना सैंजु



सना सैंजु
सचिव
होटल एसोसियसन काभ्रे

पर्यटकीय संभावना बोकेका विभिन्न जिल्लाहरुमध्ये काभ्रे जिल्ला निकै प्रचुरता बोकेको जिल्ला मानिन्छ । काभ्रेको धुलिखेल, पनौति लगायतका क्षेत्रहरु पर्यटकीय रुपले निकै प्रसिद्ध क्षेत्र हुन् । यहाँ वर्षेनी हजारौं पर्यटकहरुले भ्रमण गर्ने गर्दछन् । पछिल्लो समयमा यी क्षेत्रहरुमा विदेशीभन्दा स्वदेशी पर्यटक बढी आएको बताउनुहुन्छ होटल एसोसियसन काभ्रेकी सचिव जोसना सैंजु । उहाँसँग मीना घोरसाइनेले लिएको अन्तर्वार्ताको पुरा अंश ।

 

हाल होटल एसोसियनमा कतिवटा होटलहरु सम्मिलित गर्न सकिएको छ ?

हाल काभ्रेमा ३५ वटा होटलहरु सम्मिलित गरेका छन् ।

काभ्रे जिल्लामा थुप्रै होटलहरु छन् । तर यतिमात्र होटल सम्मिलित हुनुको प्रमुख कारण के हो ?

हामीले अन्य पनि होटलहरुलाई एसोसियसनमा सम्मिलित गराउन नखोजेका हैनौं । तर उहाँहरु आफैं सम्मिलित हुन नचाहेर नै हामीले सम्मिलित गर्न नसकेका हौं । काभ्रेमा थुप्रै होटलहरु बन्ने क्रममा नै छौं । ३ वर्षको दौरानमा यतिसम्म सम्मिलित गराउन सक्नु नै ठूलो कुरा हो ।

हाल होटलमार्फत पर्यटकहरुलाई आकर्षित गर्न के कस्ता कामहरु गरिरहनुभएको छ ?

हाल एसोसियसनले फुड फेस्टिबल लगायत विभिन्न संस्थाहरुसँग सहकार्य गरेर पर्यटनसँग सम्बन्धित गतिविधिहरु गराइरहेका छौं । पर्यटकहरुलाई सहभागी गराएर विभिन्न समयमा हाइकिङ पनि गराइरहेका छौं ।

हाइकिङका लागि पर्यटकहरुलाई कहाँ कहाँ लिएर जानुभइरहेको छ ?

विशेष धुलिखेलदेखि गरेर नमोबुद्ध, धुलिखेल–देवीस्थान लैजाने गरेका छौं । कोही पर्यटक पनौति पनि जान रुचाउनुहुन्छ, हामीले त्यहाँ पनि लैजाने गरेका छौं ।

होटल एसोसियनको प्रमुख काम के हो ?

एसोसियसनको प्रमुख काम भनेको जिल्लामा भएका होटलहरुलाई ल्याउनु लगायत पर्यटकहरुको तथ्यांक संकलन गर्नु हो ।

एसोसियसनमा हाल कुन कुन क्षेत्रहरु सम्मिलित छन् ?

अहिले एसोसियसनमा धुलिखेल क्षेत्रका होटलहरु बाहेक अन्यलाई सम्मिलित गर्न सकेका छैनौं । अझ धुलिखेल भित्रकै सबैलाई सम्मिलित गराउन सकेका छैनौं ।

होटलमा नेपाली युवालाई सोचेजस्तो सहभागी गराउन सकिएको छ कि छैन ?

होटल क्षेत्रमा युवालाई त सहभागी गराउन सकेका छौं । तर होटल सम्बन्धि युवालाई भने सोचेजस्तो सहभागी गराउन सकेका छैनौं ।

यसको विशेष कारण चाहिँ के हो नि ?

विशेष गरेर त युवाहरुको धारणा नै मान्नुपर्छ । पढेलेखेका सबैलाई म्यानेजरको काम त दिन सकिँदैन । किनकि त्यसमा सीमित युवा मात्र आवश्यक पर्छ । भनेजस्तै तलब दिँदा पनि वेटर र कुकिङमा युवाको रुचि नै छैन । नेपालमा बसेर यही काम गर्न नरुचाउने युवा विदेशमा गएर भने जे काम पनि गर्न रुचाउँछन् । तर नेपालमा त्यही कामलाई सानो सम्झिएर गर्दैनन् ।

हालको तथ्यांक अनुसार काभ्रेमा कस्ता पर्यटक बढी आएको पाइन्छ ?

हालको तथ्यांक अनुसार काभ्रेमा विदेशीभन्दा स्वदेशी नै बढी आउने गरेका छन् । पछिल्लो वर्षको तथ्यांक हेर्ने हो भने विदेशीको संख्या राम्रो थियो । तर हाल फोहोरमैला व्यवस्थापन गर्न नसकिएर नै विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिएको छैन ।

फोहोरमैला व्यवस्थापनका लागि चाहिँ एसोसियसनले काम गर्दैन ?

पहिले एसोसियसनले फोहोरमैला व्यवस्थापनको काम पनि गरेको हो । तर पछिल्लो समयदेखि एसोसियसनले यसलाई निरन्तरता दिएको छैन । किनभने फोहोरमैला व्यवस्थापन गरेको केही दिनमा उति नै फोहोर थुप्रिन्छ । सर्वप्रथम त फोहोरमैला व्यवस्थापनका लागि समुदाय स्वयम सचेत हुनु आवश्यक छ ।

Write your Comment


Related News
  • भ्रमण वर्ष : काभ्रेमा पर्यटकलाई स्वागत गर्न आतुर छौँ – कृष्ण श्रेष्ठ
  • प्रदेश २ पर्यटनको मुख्य आधार ‘४० बाह् १ चार’
  • होटल व्यवसायीले राज्यलाई कर तिर्ने मात्र हो ? – अध्यक्ष उप्रेति
  • रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा शोखरमान श्रेष्ठ निर्वाचित
  • © 2019: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी