कुकुरले देखाएको बाटो पछयाउदै :खप्तड यात्रा



खप्तड नेपाली समाजमा अत्यन्त चर्चित नाम हो । सन् १८८० को फेब्रूअरी १० मा कास्मीरमा जन्मिनु भएका खप्तड स्वामी पेशाले एक मेडिकल डाक्टर हुनु हुन्थ्यो । एक पटक एक जना बालकको ज्यान बचाउन अथक प्रयास गर्दा पनि बचाउन असम्भव झैं देखिएको बेला कस्मीरमा आउनु भएका एक जना सिद्घ पूरुषले हिमालयको जडीबूटी र योगाको माध्यमबाट उक्त बालकको ज्यान बचाउन सफल भए पश्चात आफ्नो पेशाबाट निरास भएर नेपालका विभिन्न धार्मिक स्थलहरु कालिञ्चोक, स्वर्गद्घारी, मूसीकोट र चन्दननाथ हुंदै खप्तड क्षेत्रमा आएर करिब ५० वर्ष बसोबास गनर्् भएका श्री १००८ परमहंश सचिदानन्द खप्तड बाबाको नामबाट नै सन् १९८४ मा यस क्षेत्रलाई खप्तड राष्ट्रिय निकूञ्जको रुपमा स्थापित गरिएको थियो । खप्तड राष्ट्रिय निकुञ्जको मूख्य आकर्षण भनेको समून्द्री सतह देखि करिब १०५०० फिट उचाइमा रहेको खप्तड भ्यालि हो जुन बझाङ्ग, डोटी, आछाम र बाजूरा गरी चार वटा जिल्लाको संगम स्थल पनि हो । यस क्षेत्रको यात्रा गर्दा जति प्राकृतिक छटाह मनमोहक दृश्यहरुको आनन्द लिन सकिन्छ त्यतिनै यात्राका कठिनाई तथा जोखिमको सामाना गर्नु पर्ने हुन्छ ।

नेपाल टेलिकमले उपलब्ध गराएको पर्यटन विदालाई सदुपयोग गदै २०७३ चैत्र २३ गते खप्तड भ्रमणमा जाने उद्येश्यले म लगायत १० जना साथीहरु संगै बसेर भ्रमण कार्यक्रम तय गर्यौ । तर अन्तिम समयमा आएर धेरै साथिहरुले भ्रमणमा सहभागि हून नसक्ने जानकारी दिए पछि भ्रमणमा जान चार जना साथीहरु म, गोपाल दुलाल, विष्णु माया जि.सी र वेन तिमल्सिना मात्र बांकी भइयो र बढो दोधारमा परियो । आपसमा छलफल गर्दा जिवनमा एक पटक पूग्नै पर्ने ठांउमा आंट गरेर हिड्न नसके कहिल्यै पनि पुग्न सकिदैन भन्ने लाग्यो र चैत्र २३ गतेको दिउंसो रात्री बसको टिकट काट्यौं ।

चैत्र २२ गते बेलुकी म हिंडन सक्छु कि सक्दैन भनेर मनमा गजबको बेचैनी आयो । तर पनि दिपायल सम्म पुगौं अनि विचार गरौंला र कम्तीमा दिपायल सम्म त पुगिन्छ अनि जे होला त्यहि गरौला भन्ने लाग्यो । मनमा गुनथुन गर्दा गर्दै भूसुक्कै निदाइएछ र विउझदा त उज्यालो भैसकेछ । दिउंसो २ बजे काठमाण्डौ बाट डडेलधूरा सम्मको रात्रि बसको यात्रा थाल्यौं । एकातिर अनेक आशा, उत्सुकता तथा अपेक्षा, खप्तडको कल्पनाका ज्वारभाटाहरुले मन तिब्र रुपमा फूरुङ्ग भइरहेको थियो र अर्को तिर हिडनु पर्ने सकसको सम्झना आंउदा एक किसिमको निरासा पनि छाइरहेको थियो । यस्तै दोधारका विचमा लड्रदै लड्दै भोलि पल्ट विहान कैलालीको अत्तरिया पुगिएछ । सोहि दिनको विहानबाट डडेलधुराको यात्रा सुरु गरियो र नौलो ठांउ भएकोले यात्राका क्रममा देखिएका विभिन्न दृश्यहरुको अवलोकन गर्दै सांझ ५ बजे तिर डडेलधूरा बजारमा उत्रियौं । डडेलधूराबाट खप्तड जाने दुईवटा बाटा रहेछन् । एक बझांङ्ग हुदै र अर्को दिपायल हुदै एक छिनको छलफल पश्चात दिपायल हुदै जाने निधो भयो र तत्काल दिपायलको लागी जिप चढ्यौं । बेलुकि करिब ८ बजेको हाराहारी दिपायल पुगियो र दिपायल कार्यालयका साथिहरु संग भेटी खानपिनको व्यवस्था गरी बेलुकी दिपायल कार्यालयको पाहुना घरमा बास बसियो ।

चैत्र २३ गते विहान जे परेको व्यहोरौला भनि झिंग्राना सम्म जिपमा जाने र सो दिन विचपानी भन्ने स्थानमा बास वस्न सकिने भन्ने स्थानीयहरुको सुझाव अनुसार एउटा जिप रिर्जव गरेर झिंग्रानाको यात्रा तय गरियो । बाटोमा पर्ने शैलेश्वरी मन्दिरको दर्शन गरेर करिब २ किलो मिटर माथि पुगे पछि सिमसिम पानी पर्न थाल्यो र सवारी चालकले यसरी पानी आएमा जिप उकालो चढ्न सक्दैन भन्दै बेला बेलामा त्रास देखाइ रहन्थ्यो । नभन्दै बाटो कच्ची भएकोले जिपले उकालो चढ्न सकेन चालक तथा सहचालकले माटो हाल्दै जीपलाई उकालो चढाउने प्रयास गर्दै थिए मेरो मनमा हिडनु पर्ने भयो भन्ने तनाबले मन भारी भइरहेको थियो तर पनि हामी चार जना साथीहरु मौकाको फाईदा उठाएर एैसेलु टिपेर खान थाल्यौ । उता चिप्लो बाटोमा जिप उकाल्ने प्रयास निरर्थक हुदै थियो । दूई घण्टाको अथक प्रयासका बाबजुद पनि जीप अगाडि बढ्न सकेन र हाम्रा झोलाहरु झिकेर हामी आफ्ना आफ्ना सामानको भरिया आफै बन्दै अगाडी बढ्न बाध्य भयौं । सवारी साधनलाई करिब आधा घण्टा लाग्ने बाटो पाँच घण्टाको कठिन पैदल यात्रा पश्चात दिउसो २ बजे तिर झिंग्राना पुगियो र एउटा सानो होटलमा खाना बनाउन लगाएर खाना खाइसक्दा करिब ४ बज्न लागी सकेको थियो । सवारी साधनले त चुनौति दियो दियो मौसमले पनि बहुत चुनौति थपिरहेको थियो । म हिडन सक्छु कि सक्दीन भन्ने मनमा जसरी बादल मढारिरहेको थियो ठिक त्यसै गरी आकासमा पनि कालो बादलले जिस्काइ रहेको थियो । लाग्थ्यो मेरै मनका प्रतिविम्ब आकासमा देखिइरहेको छ । आजको दिन यहि बस्ने की विचपानी पुग्ने भनि हामी विच लामो वार्तालाप भयो र आजको लक्ष्य विचपानीनै हो तपाई धन्दा नमान्नूहोस् विस्तार हामी लिएर जान्छौ भन्ने साथीहरुको भनाई आए पश्चात अगी बढ्ने निश्चय गरियो र हिंडियो । खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाका जवानहरुले आज जीव जन्तुको डर हुन्छ र आज नजान सुझाव दिएका थिए तर त्यसलाई वेवास्ता गर्दै केही अगाडी मात्र के बढिएको थियो अघि मडारिएको आकास खनिन थाल्यो र फर्केर झिंग्रानामा नै बास बसियो । रात परे पछि आकाश गडगडाउन थाल्यो र मुसलधारे पानि पर्न थाल्यो । यसले हाम्रो यात्रा र गन्तव्यलाई असहज बनाउदै थियो । जे होला भोलि हेरौला भनि निश्चय गरेर सुतियो र थकानले गर्दा भूसुक्कै निदाए छु ।

चैत्र २४ गते बिहान पनि पानी रोकिने छाटकाटनै थिएन अब के गर्ने खप्तडको यात्रा तय गर्ने कि काठमाण्डौं फर्किने भनेर मन छटपटाउन थाल्यो । म त फिर्ता आउने मनस्थितीमा थिए तर साथिहरु गोपाल दुलाल, बिष्णू माया जि. सि. र बेन तिमल्सिना अगाडि बढने सोचमा थिए अन्तमा साथिहरुको सोचको बिजय भयो र म पनि जे होला होला भनेर संगै जाने निधो गरे । हामी रेनकोट, छाता ओडेर गन्तब्य तिर लाग्यौं । खप्तड राष्ट्रि निकुञ्जको प्रबेश द्धावारमा खटिएका नेपाली सेनाका जवानहरुलाई हाम्रो विवरण टिपाएर हामी जंगलको बाटो लाग्यौैं अलि माथिबाट साथमा एउटा कुकुर पनि हामी संगै आयो । हामी जता जता जान्छौं उतै त्यो कूकूर आएको देखेर यो कूकूरले किन यसो गरिरहेछ र यस्को गन्तव्य काहां सम्म होला भनी हामिले चर्चा पनि ग¥यौं । यात्राको साथी कूकूर राम्रै हो भनेर हामी संग जो भएको खाना दिंदै त्यसलाई पनि संगै लगियो । अषाढे मासको झरी झैं झम झम असिना पानी परिरहेको छ त्यस माथि घना जंगल र त्यस जंगलमा रहेको बंदेलको डर अनि खूट्टाको दूखाई सायदै यो जिवनमा भूल्न सकिन्छ होला । पांच घण्टाको निरन्तर र कठिन यात्रामा असिना पानी, हिंउ, घना जंगलमा पनि ठूला निंगालाका घारी, हामी चार जना साथी र त्यो निरिह कूकूर बाहेक अन्य कोही पनि भेटिएन । पानि रोकिने छाटकाट नै छैन ! बाटोमा चरो, मूसो केहि भेटिदैन, घरको नाम निशाना भेटिदैन ओत लाग्ने ठांउ भेटिदैन थाकेर लखतरान भै सकियो उकालो चढदा चढदा सांस फूलिसक्यो तर पनि गन्तव्यको कूनै ठेगाना देखिदैन ।

पढेको थिएं प्रकृति अत्यन्त कोमल र सून्दर हून्छ तर मलाई लाग्यो प्रकृति सून्दर हून सक्छ तर सधै कोमल होइन कठोर पनि हुन सक्छ । प्रकृतिले पनि निर्मम रुपमा हामी संग परिक्षा लिइरहेको छ र जसरी पनि यो परिक्षामा उत्तिर्ण हुनु छ भन्ने अठोटले मनमा साहस र हौसला मिलिरहेको थियो । सूनेको थिएं सुनसान् जंगलमा हिंडदा करांउदै हिड्यो भने जंगली जनावारको डर हुदैन त्यसैले हामी करांउदै करांउदै उकालो लाग्यौं । मूसा झैं भिजेको अवस्थामा विचपानीमा एक कच्ची घर भेटियो । विचपानीको त्यो थली र त्यसमा हांसिरहेको असिना, हिंउ र हामीलाई चूमि रहेको त्यो प्राकृतिक निर्मलताले एकै छिन त थकान मेटाउंदै मन मन्द मूस्कानले ओतप्रोत भएको थियो ।

म त हलचल गर्न नसक्ने अबस्थामा थिए । साथीहरुले दाउरा खोजेर आगोको ब्यबस्था गरे सलाई हामिले लिएर गएका थियौ । साथमा लगेको चाउचाउ पकाएर खानको लागि तयार भयो अब खाने के मा समस्या भाडांको थियो । तहां कसैले खाएर फालेको जूठो प्लाष्टिककोे ग्लांसलाई धोएर त्यसैमा चाउचाउ खायौं र आगो ताप्दै सबैले एकछिन थकाई मार्यौं । साथमा गएको कूकूर लाई पनि बिस्कूट दियौं । गन्तब्यमा पुग्नु पनि थियो चाहेर पनि धरै बेर अलमलिन सकेनौं । मुसलधारे पानी र हिउं पर्दापर्दै पनि अगाडि बढनु पर्ने बाध्यता संगैे बाटो छोटयाउन लागियो ।

पानी परेको बेला जंगलमा निगालो खान जंगली बंदेल आउछ अलि सर्तकता पूर्वक हिडनुहोला भनि अगाडि नै हामीलाई स्थानीय बासिन्दाले सचेत गराएका थिए । त्यसै अनूरुप हामी आफ्ना आवाज रुपी हतियार प्रयोग गर्दै कराउदै बदेंल भगाउने निरर्थक प्रयास जारि राख्यौं । गजबको कूरो के भने हाम्रा अगाडी अगाडी भर्खरै बंदेल हिंहेको पाइला हिंउमा देखिन्थ्यो मानौं कि बंदेललाई हामीले लखेटि रहेका छौं वा हामीलाई बंदेलले सावधान रहन सचेत गराई रहेको छ । जेहोस् बंदेल हाम्रो समिपमा नै भएझैं आभास हुन्थ्यो । मनमा अनौठो किसीमको त्रासले बास गरेको थियो । समुहका साथिहरु मध्ये म अरु भन्दा धेरै गलि सकेको थिए, मेरो भारि आफै बोक्ने हिम्मतै थिएन साथिहरुले पालै पालो मेरो भारि बोक्दै अगाडि बढ्न सघाईरहेका थिए । धेरै बेरको हिडाई पछि पानी पर्न रोकियो र आकाश पनि खुल्यो । विहान पखमा घाम झूल्किएझैं खप्तडका पाटनमा घामका किरणले हिमाल एक्कै पटक उठेर आएर पाटनमा आराम गरी हांसिरहेका छन् भन्ने आभास् दिन्थे । केही समय अगाडी परेका हिंउले सेता चमेलिका फुलहरु पृथ्वि भरी पोखिएर रमाई रहेका झैं दिखिन्थे । अस्ताउन लागेका सूर्यका किरणहरु अटाई नअटाई, तछाड मछाड गर्दै ठूला ठूला रुखका काप बाट हामिलाई स्पर्श गर्न आतूर देखिन्थे । हामी पनि के कम ति क्षण आफना मोबाईलमा कैद गर्न प्रतिस्पर्धा चल्न थाल्यो । केहि समयको तस्बीर खिचाई पछि फेरी लागियो गन्तब्य तिर र अलिक पर त्रिबेणी मन्दिर देखियो त्यहा दर्शन गरेर फेरी बाटो लाग्यौं ।

त्रिवेण्ीको दर्शन गर्दावर्दा सांझ झमक्कै परिसकेको थियो । चराहरु पनि बास बस्न आफना गुंड तिर उडदै थिए हामी पनि हाम्रो बांस खोज्दै अगाडि बढदै थियौं तर हिंउले बाटो पुरिएको थियो, रातमा बाटो पत्ता लगाउन हम्मे हम्मे परिरहेको थियो । कून बाटो जांदा बासमा पुगिने हो कुनै पत्तो थिएन । धेरै बेरको अलमल पश्चात संगै आएर अगि लागेको कूकूरको पाइला हेर्दै अघि बढ्ने निधो गरियो र सोही अनुसार निरन्तर अगाडी बढियो । घण्टौ जांदा जांदा पनि बासको अत्तोपत्तो हून सकेन । रात छिप्पीदै गयो जूनको उज्यालोको सहारामा बाटो पहिल्याउदै गयांै तर बास बस्ने ठांउ त आउदै आउदैन् । संगै गएको कूकूरले पनि साथ छोडीसकेको थियो । अब हामी चार जना बाहेक साथमा कोहि छैन छ त केबल अध्यारो रातमा सेताम्य खप्तडका पाटनहरु, सुनसान रात र मनमा अकल्पनिय परिस्थितीको डर । मन मनै डरले कराउन मन लाग्यो, चिच्याउन मन लाग्यो, रुनमन लाग्यो । कोहि छ …….? कोहि छ…….. ? भन्दै चिच्यायौं अंह कसैको केहि आवाज आउदैन । साथीहरु हामीलाई ढाढस् दिंदै अगाडी बढांउदै अघी लागि रहे ।

मनमा केहि आशा र धेरै डर । हिडनुको बिकल्क थिएन हाम्रा सामु र पनि आशा मरेको थिएन । यसै बिच टाढा कतै नेपथ्यमा पिल पिल बत्तिको उज्यालो देखियो । अब त बांचिन्छ भन्ने आश लाग्यो । अलिक मन उज्यालो र राहत महशूस भयो । फेरि करायौं सहाराको खोजिमा उताबाट आवाज आयो तेहि बाटो आउनुस भनेर । हिलो र नालामा खुटट गाडिदै अगाडि बढियो । भएको एउटा मात्र होटलमा पुगेपछि नेपाली सेनाका सैनिकहरु भेटिए जो हामीलाई खोज्न जानको लागी निश्कने तयारी भइरहेको कुरा थाहा पायौं । हामी छक्क पर्यौ र सोध्यौं कसरी थाहा पाउनु भयो कि हामी आइरहेछौं । तल झिंगा्रनाबाट चारजना मान्छे खप्तडको लागी हिंडको भनि रिपोर्टिङ्ग भएको थियो राती सम्म पनि तपाईंहरु अइनपुगेको कारण खोज्न हिंड्न लागेको सेनाका जवानहरुले उत्तर दिनु भयो । अझ आश्चर्यको कुरो के भने दिउंसो हामी संगै आएको कुकुर व्यारेकको रहेछ जुन हाम्रै सूरक्षार्थ पठाइएको रहेछ । सांच्चिकै त्यसै कुकुरको सहायतामा हामी पनि गन्तव्य सम्म पुग्न सकियो ।

अन्तमाः

देश नडुली बुझिन्न भन्ने बुढा पाकाको उखान झैं खप्तड नपुगि त्यहाँको सुन्दरता र आनन्द प्राप्त गर्न सकिदैन । बस यात्रा गर्दा थोरै ब्यवस्थित भएर गर्नुहोस् । खप्तड जानु पहिला खप्तडको बिषयमा राम्ररी बुझेर जानुहोस् । साभार रारासंचार बाट

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • पर्यटनको गन्तब्य इलाम
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • नेपालको पर्यटन प्रर्वधन गर्न टान पश्चिमाञ्चलको टोली इन्डोनेसिया प्रस्थान
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी