धार्मिक पर्यटनको केन्द्र : जनकपुर



प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र बनेको छ । भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिकस्थल हो । राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर ।

धार्मिक पर्यटकका लागि जनकपुर पशुपति पछिको द्रोस्रो ठूलो केन्द्र हो । जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर’, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदाननजिकैको हनुमानको ‘सङ्कटमोचन मन्दिर’, स्वर्गद्वारीलगायतका धार्मिकस्थल एवम् तालतलैया सरोवर र दैनिक रूपमा हुने गङ्गा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रूपमा चिनाएको छ ।

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ । गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त छन् ।

विवाहपञ्चमी, रामनवमी, जानकीनवमी, छठ, झुला, मिथिला परिक्रममाजस्ता धार्मिक उत्सव एवम् गतिविधिले जनकपुरलाई झनै चर्चित बनाएको छ । बृहत् विष्णुपुराण, वायुपुराण, शतपथ, भागवत्, बाल्मीकि, रामायण, बृहदारण्यकोपनिषद्जस्ता धार्मिक ग्रन्थहरूमा पूण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रूमा जनकपुरलाई उल्लेख गरिएको छ । जनकपुरक्षेत्रमा रहेका धनुषाधाम, जलेश्वर, गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्त्वपूर्ण स्थान छ ।

धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ । जनकपुरका मठमन्दिर र मूर्तिहरूबारे प्रचारप्रसार गरेर संसारभर चिनाउन सके जनकपुरको मात्र नभई नेपालकै पर्यटन क्षेत्र फस्टाउन सक्छ ।

पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारले चासो दिएको छ । नेपाल सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत् जनकपुर क्षेत्र विकास परिषदमार्फत लगानी गर्दै आएको छ । यसले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीय स्थल, प्राकृतिक सम्पदाहरूको संरक्षण सम्वद्र्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ ।

धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा अवस्थित सम्पूर्ण हिन्दू धर्मावलम्बीकै पौराणिक महत्त्वको क्षेत्रको रूपमा रहेको जानकी मन्दिर, राममन्दिर, जनकमन्दिरसहित ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गरे यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ । धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि उक्त क्षेत्र सोचेजति प्रख्यात हुन सकेको छैन ।

जनकपुरको कला, संस्कृति, भेषभूषा तथा मिथिला कलालाई जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन सके पर्यटनका साथै अन्य व्यवसायसमेत फस्टाउनेमा दुईमत छैन । जनकपुरको हिन्दू धार्मिक, चितवनको वन्यजन्तु, लुम्बिनीको बौद्ध धार्मिक र पोखराको प्याराग्लाइडिङलगायत आकर्षक पर्यटकीय सम्भावनालाई अन्तरराष्ट्रिय क्षेत्रसम्म चिनाउन पर्यटन व्यवसायीबीच समन्वय आवश्यक देखिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको गन्तब्य इलाम
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी