पर्यटनमा युवालाई समावेश गर्न नसक्नु हाम्रा लागि लज्जास्पद विषय हो : उप-मेयर रेखा दाहाल



काभ्रेको बनेपा नगरभित्र पर्यटनमा सम्भाव्यता कस्तो छ ?

बनेपा नगरपालिकाभित्र पर्यटनको प्रशस्त सम्भावना छ । बनेपा नगरपालिका प्राकृतिक स्रोत र साधनमा समेत निकै धनी छ । यहाँ पुराना मठमन्दिर पनि भएकाले धार्मिक पर्यटन पनि उत्तिकै महत्वपूर्ण छ । बनेपा नगरपालिका ४ स्थित नाला भगवती निकै प्रचलित मानिन्छ । त्यसैगरी करुणामय मन्दिरको औचित्य पनि उत्तिकै छ । बनेपा नगरपालिकाको क्षेत्र नगरकोटसम्म फैलिएको छ । नगरकोटसम्म फैलिएको जलजले सामुदायिक वनभित्र ढ्याम खनेर त्यसले नाला क्षेत्रका लागि सिँचाइ गर्न र त्यसैमा बोटिङ गराएर विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि ढ्याम खन्ने काम सुरु भइसकेको छ । साथै अन्य साँस्कृतिक क्षेत्र पनि प्रशस्त छन् । त्यसैले तिनीहरुका लागि पनि काम गर्नका लागि वडाहरुबाट प्रस्तावहरु आइसके ।

बनेपा नगरपालिकामा पर्यटनका लागि कति बजेट विनियोजन भएको छ ?

बनेपा नगरपालिका क्षेत्रभित्र पर्यटनका लागि रणनीतिहरु तयार भइसके पनि पर्यटनकै लागि भनेर बजेट विनियोजन भइसकेको अवस्था छैन । अब प्रदेशको चुनावपछि बजेट विनियोजन हुन्छ ।

पर्यटनमा युवालाई संलग्न गराउन कस्तो रणनीति ल्याउनुभएको छ ?

पर्यटनका लागि भनेर रणनीतिहरु तयार भए पनि युवालाई नै सहभागी गराउने भन्ने कुनै रणनीति चाहिँ तयार भएको छैन । यो हाम्रा लागि एउटा दुःखदायी स्थिति हो । हिजो हामीलाई चुनावमा जिताउन युवाहरुको नै ठूलो हात छ । तर पनि उनीहरुका लागि केही गर्न नसक्दा आफैंलाई दुःख लाग्छ । अहिले उपमेयर भनेर महिलालाई पद दिए पनि निर्णय लिने अधिकार छैन ।

बनेपा नगरपालिकाभित्र अहिलेसम्म पर्यटकहरु बस्नका लागि कुनै पनि भौतिक पूर्वाधारहरु छैनन्, त्यसका लागि चाहिँ के योजना छ ?

बनेपा नगरपालिकाभित्र पर्यटकहरु बस्नका लागि बनेपा नगरपालिका ३ ले उक्त क्षेत्रमा होमस्टेको निर्माणका लागि प्रस्ताव ल्याएको छ । त्यसका लागि पनि अब बजेट विनियोजन भएपछि नै कामको थालनी हुन्छ । त्यसलगतै पर्यटकहरुलाई बसाउने कामको थालनी हुन्छ ।

हाल बनेपा नगरपालिकाभित्र पर्यटनका लागि केकस्ता चुनौतिहरु छन् ?

पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव नै पर्यटनका लागि प्रमुख समस्याको विषय बनेको छ । पर्यटनका लागि काम त नभएका हैनन् । अहिले पनि थुप्रै पर्यटकहरु बनेपामा आउने गर्छन । तर पनि उनीहरु बस्नका लागि भौतिक पूर्वाधारहरु चाहिँ छैनन् । जति पनि होटलहरु छन्, प्रायः ती सबै धुलिखेलमा मात्र छन् । बनेपामा भएका होटलहरु प्रायः बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटकका लागि मात्र प्रयोग भएका छन् ।

ती चुनौतिको समाधानको प्रमुख उपाय के हुन सक्छ ?

त्यस्ता चुनौतिको समाधान भनेको त भौतिक पूर्वाधारको निर्माण नै हो । भौतिक पूर्वाधारको निर्माणबिना उक्त समस्याको समाधान सम्भव छैन र त्यसका लागि नगरपालिका स्वयम् लाग्नु आवश्यक छ । त्यतिमात्र नभई स्थानीयको सक्रियता पनि ।

तपाईंले स्थानीयको सक्रियताका बारेमा कुरा उठाउनुभयो । तपाईंलाई पर्यटनमा चाहिँ स्थानीयको सक्रियता कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

स्थानीयको सक्रियताबिना कुनै पनि काम सम्भव हुँदैन । पर्यटन त झनै स्थानीयस्तरबाट नै सुरु गर्नुपर्छ जस्तो मलाई लाग्छ । पर्यटनबाट नै स्थानीयको आयस्रोतको समेत विकास हुन्छ । त्यसैले सर्वप्रथम यसका लागि स्थानीय नै सक्रिय हुनु आवश्यक छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दुल्लु नगर प्रमुखको आँखामा दैलेखको पर्यटन विकास
  • पर्यटन यातायत व्यवसायीको समस्या : कर तिर्ने मात्र हो कि ? सुविधा पनि दिने हो ?
  • कर्णाली प्रदेशको आर्थिक स्रोत ‘पर्यटन’ : कल्पना थापा
  • होमस्टे संचालन गर्न जति सहज छ,त्यतिनै चुनौतिपूर्ण छ : संस्थापक अध्यक्ष तारानाथ पहारी
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी