गन्तव्य कालावाङ घरेडी




   तिलकप्रसाद पुन ‘पुर्जा’

हेर्दा राम्रो माछापुच्छ्े मादी राम्रो माछा, कान्छा हे कान्छा, कान्छी हे कान्छी, हितको कुरा बोलन, मनको कुरा खोलन, म मादल घनघन घन्काउँला, तिमी जुरेली जस्तै नाचन, बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल, कुनै जामानका चर्चित यी लोकगीत र चलचित्रका गीत । अझै पनि कालजयी लाग्छन् । सिद्धार्थ राजमार्गलाई तिलहारबाट छाडेर बस पुम्दीभुम्दीको कालावाङ घरेडीतर्फ उकालिँदै गर्दा बसभित्र गीत बजिनै रह्यो । मेरो मधेश परासी, बुटवल, भैरहवातिर भए हिन्दी गीत बजेर कानै खान्थ्यो । यो पहाडी भुभागमा भने ठेट नेपाली गीत जहाँकही बजेको सुन्दा बल्ल नेपाली हुनुको गर्व भरिएर आउँछ, मनमा ।

घुमफिरमा साथीभाइ जुटाउनै गाह्रो । प्रायः मर्निङ वाकमा पोखराको रंगाशाला अघिल्तिर मगर संघको भवनमा हामी तीनको समसामयिकी गफको गुड्डी हाँक्दै चियाको चुस्की लिने रुटिन । माओवादी बैद्यका स्थानीय नेता भीमबहादुर श्रीस, गजलकार रुद्र सन्देश मगर र म । नैजनाको राजनीतिक आस्था मिल्थ्यो या मिल्थेन म भन्न सक्तिनँ । परन्तु, आमनेसामने हुँदा धरै हदसम्म आकाशका बादलहरु एकापसमा फाटेर जाने रहेछन् । अझ विस्तृत रुपले कतै नजिकको होमस्टेमा गएर भलाकुसारी गर्ने हामीबीच सहमती कायम भएको पनि ८ महिना भयो । अहँ, रुद्रजीलाई फिटिक्कै समय मिलाउनै गाह्रो । अन्तिममा भीम दाइ र म मात्र । अघिल्लो दिनमात्र एक कल के गरेको थिएँ, धिप्राङका शिक्षक साथी मनबहादुर पुन राजी भएरै छाडे । उनी वचनका पक्का छन् । उनी पुन समाज, कास्कीका सचिव समेत हुन् ।

पोखराको पृथ्वीचोकमा हिमालय पेट्रोल पम्पको पारि १२ बजेको पुम्दी जाने बस भेट्ने मनशायले भीम दाइ, मनबहादुरजी र म घरि ठिङ्ग उभिन्छौँ त घरि बिसौनीमा थचक्क बस्छौँ । कालावाङका होमस्टे सञ्चालक प्रकाश गुरुङ र रवीन्द्र गुरुङलाई फोनबाट जानकारी दिइसकेकाछौँ । एक बज्नै लाग्यो बस बल्ल आइपुग्यो । आधा घन्टामै कालावाङको गुम्बानेर ओर्लेको केही बेरमा होमस्टे सञ्चालक रवीन्द्र गुरुङ हाम्रो स्वागतमा आइपुगे ।
गाउँभरमै रवीन्द्रका होमस्टे उत्कृष्ट रहेछ । आँगनमा ढुङ्गाका छपनी । ढुङ्गाकै छानो । दलिनका खम्बा सबै काठका । घरका भित्ता सेता चुना र राता गेरुले सिनित्त गरी पोतेका । ठाउँठाउँमा नीला रङका लालटीन झुण्ड्याइएका । कोक र स्प्राइटका प्लाष्टीकका बोतल कोटर त्यसैमा लसुन र फूलका बेर्नाहरु उमारिएका । ती देख्दा कम्ती आकर्षक त थिएन । टाढैबाट निकै लामो देखिने यो घरको आँगनीमा टेक्दा माघ महिनाको पारिलो घामले न्यानो प्रदान गरिरहेको थियो । पिठ्युमा डोको बोकेका गाम्लेहरु गोरेटामा उक्लिरहेका भेटिन्थे । कतै घरका रक्षक कुकुर हामीलाई देखि ह्वाङ–ह्वाङ भुक्दै थिए ।

यो घर ८५ वर्ष पहिले बाजेको पालामा निर्माण भएको रवीन्द्र बताउँछन् । रवीन्द्रले दुईचोटी दुबै मृगौला प्रत्यारोपण गरेका छन् । पाहिलोचोटी प्रत्यारोपण गरेको उन्नाइस वर्ष भइसक्यो । विगतमा उनले दुबईको एक क्याटरिङ्गमा चौध वर्ष काम गरेकाले अचेल होमस्टेमा कुक गर्न सघाउँ पुगेको छ ।

दुबईबाट फिरेवापत पोखराको छोरेपाटनमा न्यू डे फास्ट फुड रेष्टुरेण्ट र रविन चिप्स समेत खोलेका छन् । उनका पत्नी बच्चा पढाउन भनी पोखरातिर नै बस्छिन् । उनी भने एकवर्ष अघि जन्मथलो फिरेर डाँडा माथिका जून जस्ती आमासँगै होमस्टेमा एकोहोरिएका छन् । उनका बुवा थमबहादुरको अचानक निधन भए पश्चात बुवाकै पदछाप पछ्याउँदै यसो गरेका हुन् ।

अरु गाउँबाट शहर झर्छन् । देशबाट परदेश लाग्छन् सुनौलो भविष्यको खोजी गर्दै । परन्तु, शहरका चल्ती रेष्टुरेण्ट छाडेर उनले गाउँमै इलम गरेर देखाउँछु भनी फर्कँदा गाम्लेले खिरीटिउरी समेत गरे, बौलाहा भने । तैपनि, उनले हरेश फिटिक्कै खाएनन् । किनभने मनमा चट्टाने इरादा थियो । तयसैले त अचेल मासिक डेढ लाखसम्म आम्दानी गर्न सक्षम भएका छन् । बीचमा कहिलेकसो निराशा नछाएको पनि हैन । तर, ‘तँ आँट म पूरा गर्छु’ भन्ने मूलमन्त्रको माला जपी नै रहे ।

उनले आफ्ना भावी लक्ष्यको फेहरिस्त नै सुनाए । प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत डेढ सय रोपनी जग्गामा अग्र्यानिक खेती गर्ने । तरकारीमा आत्मनिर्भर मात्र हैन, निर्यात समेत गर्ने । उसो त ४ नं. प्रदेशको उत्कृष्ट गाउँ बनाएरै छाड्ने ध्याउन्नमा लागि परेका छन्, एकतमासले । एक घर, एक मौरी, एक उत्पादन गर्ने । फलफूलका बेर्ना रोपेर हराभरा गाउँ तुल्याउने । होमस्टेलाई आवश्यक पर्ने तरकारी गाउँमै उत्पादन गर्ने । उनी नारा मात्र तय गर्दैनन्, कार्यान्वयनमा समेत खरो रुपले लागि पर्छन । त्यसैले त उनलाई हिजोसम्म हरिलम्फु ठान्नेहरु ‘तै चुप मै चुप’ भएका छन् । बरु उनीसँगै नारिएर आफूहरु समेत सफल कृषक बन्ने ध्याउन्नमा छन् ।

झमक्क साँझ पर्दा पोखराकै व्यवसायीका एक हुल समेत आँगनमा टेक्न आइपुगे । घरमुली आमाले हत्तपत्त गलाभरि आफ्नै बारीका फूलका माला पहि¥याइदिइन् । दायाँ हात आगन्तुक पाहुनाका शिर माथि राखेर आशिष दिइन् । पाहुनाले समेत आमाको दीर्घायु र सु–स्वास्थ्यको कामना गरे । त्यो समूहले त मध्यरातसम्म गितार र मादल ठोकेर रमाइलो नै ग¥यो । उनीहरु उत्तरतर्फका रुममा बसेका थिए भने हामीचाहि दक्षिणका ।

गाउँमा शिक्षाको टुकी बाल्दै
आफ्नो चाहि भरसक बेलुकीमा खाना सात बजेभित्र लिएर नौ बजे नै सुतिहाल्ने बानी । घर छाडेर हिँड्दा सबै ठाउँ कहाँ आफूले भनेजस्तो हुन्छ र ! मनबहादुरजीलाई झवाइ खट्टे आइपुग्यो भने भीम दाइ र मलाई भने ब्ल्याक टी । हामी गफिदैँ गर्दा प्रकाश गुरुङ समेत टुपुल्किए मलाई खोज्दै ।

उनी एन.आइ.डि.सी.को पूर्व प्रबन्धक समेत हुन् । उनीसँग गफिदै गर्दा धेरै कुराको जानकारी प्राप्त भो । धैर्यताका साथ बोल्ने उनको वाकपटुकता देख्दा गुरुङका सन्तान हुन् उनी भन्नै सकिन्थ्यो । कतै ब्राम्हण नश्लका त हैनन् भनेझैँ भान हुने । यो सब करामत आखिर शिक्षा कै हो ।

उनी समेत पोखराबाट जन्मथलोको माया मुटुभरि संगाली गाउँ फिरेका हुन् । एन.आइ.डि.सी.का पोखरा शाखाबाट निवृत्त हुनासाथ छ्यास्छ्यास्ती खुल्न थालेका धेरै फाइनान्स, बैंकले आकर्षक सुविधा सहित उनलाई बोलाए । तर, पैसा मात्र सर्वोपरी ठानेन्, उनले ।
उनका बाजे, बाले समेत शिक्षाको महत्व बुझिसकेका थिए । पल्टनिया बाजे बीचमा चटक्क छाडेर गाउँ आए । प्रकाशका बालाई समेत शैक्षिक मार्गमा प्रोत्साहन दिइनै रहे ।

गाउँ उनको घर परिवार सम्पन्नतामा दरिन्थ्यो । अरु गाम्लेका भन्दा जग्गा–जमिन अलि प्रशस्तै थियो । स्वदेशमै जागिर खाने, भ्रष्ट नहुने शिक्षा प्रकाशले समेत बा, बाजेबाट बाल्यकालदेखि प्राप्त गर्दै आएका थिए । उनका वंश अलि धर्मकर्ममा बढी विश्वास राख्ने किसिमको थियो । दायाँबायाँ गर्दा पाप उल्टिन्छ भन्ने मानसिकता थियो ।

प्रकाश गर्वका साथ बताउछन् जागिर खाँदा कसैका एक कप चिया समेत नखाएको । उनी पैसाको मरिहत्तेपनबाट मुक्ति लिँदै सामाजिक क्षेत्रमा स्थापित हुन चाहन्छन् ।

गाउँकै भगवती आधारभूत विद्यालयमा सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी उनैलाई प्रदान गरेपछि गाम्लेका आशाका किरण चहक बन्दै गएका छन् । बिदेशी दातृ निकायहरुले सहयोगको हात फैलाएका छन् । विद्यालयको स्तरोन्नति भई विद्यार्थीको चाप बढ्दो छ । हिजोसम्म स्थानीयका बाल बच्चा उठाउन पोखरा देखि २÷४ वटा स्कुल बस दैनिकी आउँथे । त्यो सब अचेल बन्द भएको छ । पोखरामा हाल बन्द अवस्थामा रहेको बुद्ध हस्पिटलका सञ्चालक जापानी नागरिक डा.ताकाजी यामागोसीले उक्त विद्यालयलाई धरै सहयोग गरेकामा उनले मुक्त कण्ठ साथ प्रशंसा गर्छन् । बास्तवमा विश्वास आर्जन गर्न सक्नु नै ठूलो कुरो हो । उनले विद्यालयको शैक्षिक अभियान अवगत गराउँदा धेरैले सहयोग गर्ने चासो देखाएका छन् । यसरी होमस्टे र स्कुलमा दत्तचित्तका साथ लागी परेका हुन् ।

पशुपालन समेत उनको पुख्र्यौली पेशा हो । पुख्र्यौली कागते जातको भेडा पाल्दै आएका छन् । विगतमा प्रत्येक घरमा ८÷१० भेडाको बथान हुन्थ्यो । त्यसैलाई निरन्तरता दिँदै डेढ सय जति भेडा पालन गर्दै आएका छन् प्रकाश सरले । भेडा जंगल जाँदैनन् पाखामा चर्छन् । गाउँ मास्तिरको भयर थानमा पूजा गर्नलाई सबै जातिले भेडाको पाठो लान्छन् । भाकल गरी वर्षेनी एकचोटि मनोकामना पूरा गर्नलाई । गुरुङको पितृ कार्य, अर्घौँमा समेत भेडा आवश्यक पर्छ । प्रति पाठा सात हजार देखि १२ हजारसम्म बिक्री हुनाले राम्रै मुनाफा हुन्छ ।

चक्र हाल्ने डाँडा पुग्दा
ठीक सातै बजे भगवती आ.वि.का शिक्षक जमप्रसाद गुरुङ आइपुगे रवीन्द्रजीको आग्रहमा । उनैले हामीलाई डाँडामा पु¥याएर सनराइज र पोखरा, फेवाताल वरिपरिको दृश्यावलोकन गराउन । हिजो बेलुकी पोखराबाट आएका बोर्डिङ्ग स्कूलका एक हूल चाहि पहिले नै उक्लिसकेका रहेछन् ।
आलडाँडा पुग्दा ढुङ्गे चौतारी देखियो । चौतारीको रुखको प्रजाति जात खोज्दा सही उत्तर पाउन सकिएन । चौतारीको ढुङ्गा म्याग्दीबाट ल्याइ स्थापना गरको कहावत सुन्न सकिन्छ । उहिले भोटतिर नून लिन जाँदा यात्रा सफल रहोस् भनी यही चौतारामा भयरको पूजा गर्ने चलन रहेछ । चोताराको रुखको विरुवा चाहि वटुवाले अन्त कतैबाट ल्याएर रोपेका हुनसक्ने गाम्ले अनुमान लगाउछन् ।

यहाँबाट पञ्चासेको डाँडो चाहि छेकिदो रहेछ । उत्तर पश्चिम परेको बस्ती भने कास्कीको चापाकोट हो । चापाकोट मास्तिरको टापुमा ब्राम्हण जातिको बसोवास रहेको छ । गाउँको नाम भने तारेभीर हो ।

पश्चिमतिरको पाखोलाई चक्र हाल्ने डाँडा भनिन्छ । यहाँबाट मौसम सफा भएको खण्डमा फेवातल, पोखरा उपत्यका र हिमालका लर्कनलाई एकसाथ आँखा नझिम्काइकन हेरीरहुँ झै लाग्छ । दिनभर बस्दा समेत धित मर्दैन । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु सबै हिमाल देख्न सकिन्छ । यहाँबाट पामे बजार पदयात्रा गर्न डेढ घन्टा लाग्ने गर्छ । यही डाँडामा १ हजार चार सय पच्पन्न फिट अग्लो बिशाल बुद्धको मूर्ति निर्माण हुने योजना छ ।

असिनाबाट बालीनाली जोगाउन लामा आली बस्छन् । यस क्रममा ठाउँ–ठाउँमा चक्र हाल्दा मुख्य चक्र हाल्ने ठाउँ यही भएको शिक्षक जामप्रसाद बताउँछन् ।

वनभित्रको भयर थानमा अझै पनि पुरुषले पूजा गर्ने चलन छ । हुरीवतास, चट्याङ, असिना, दैवीप्रकोपबाट बालीनालीको बचाव गर्नलाई । यो स्थानमा महिलाको प्रवेश भए अशुभ हुने जनविश्वास छ ।

पश्चिमतिर गगनमा अर्ध चन्द्रमा छिन् । सवा सात बजे घामको मुख देख्न पाइयो बल्ल पूर्वी दिशामा । तैपनि, पोखरा उपत्यका सफासँग देख्न सकिएन । हिमालका लर्कन त तुंवालोले डम्मै ढाकेको थियो ।
आलडाँडामै भेटिए नागरिककर्मी सन्तोष पोख्रेल । उनी पश्चिमाञ्चल बोर्डिङ्ग स्कूलमा पत्रकारिता विषय पढाउँछन् । विद्यालयका शिक्षक र विद्यार्थी लिएर हिजो साँझ नै बास बस्न आएका रहेछन् ।

चक्र हाल्ने डाँडामै परिचय भो तारा घिमिरेसँग । उनी पश्चिमाञ्चल बोर्डिङ्ग स्कूल्का प्रिन्सिपल । उनी सहकारीको अध्यक्ष हुँदा धेरैचोटी पत्रिकाको निम्ति फोनवार्ता समेत भएको थियो । हामीले एकअर्कालाई ठम्याइ हाल्यौँ । प्रिन्सिपल सर प्रकृति, सामाजिक जनजीवनसँग नजिक हुन खोज्ने बहु आयमिक व्यक्तित्व हुन् । इतिहासतिर समेत तर्कनापूर्ण रुपले फर्कन्थे । विश्लेषण गर्न सक्ने क्षमता घनीभूत रहेछ, उनमा । बुंकी फूल, प्याउली फूल उनैले चिनाइदिए मलाई । सरसँग दिनभरसँगै रहेर भलाकुसारी गर्नुपर्ने मैले, भने । त्यही सामूहिक फोटो खिचायौँ ।

दीपकजीको टोलीलाई विदाई
हामी बसेको होमस्टेमा हिजो राती बस्न आएका टोलीमा दीपक गौचनलाई मैले नै बोलाए । पोखराको सृजनाचोक स्थित एकै घरमा धेरै वर्ष हामी बसेका थियौँ । त्यसपछि उनी आफ्नै व्यवसायमा ब्यस्त, म आफ्नै । कालावाङमै भेट हुने साइत जुरेछ ।

उनका समूह नाइके थिए दुर्गाबहादुर शाह ‘बाबा’ । उनले विदाईमा महादेव रिफ्रेस हुने गोसाइकुण्ड पुगेझैँ हामी चाहि कालावाङ आयौ भन्दा हाँसोको फोहरा नै छुट्यो, पररर ताली बज्यो । आमाले फूलमालामा साथ आशिष दिइन् । उनको समूहले होमस्टे सञ्चालक रवीन्द्रलाई पाल्पाली ढाका टोपी शिरमा लाइदियो । फेरि पररर ताली बज्यो । ‘बाबा’ को वाककला प्रशंसनीय थियो ।

दही भन्दा बाक्लो मोही
किन एकै ठाउँ गृजधम्म परेर बसिरहने । गाउँ घुम्ने मात्र हैन, स्थानीयसँग भलाकुसारी गर्दा आत्मीयता बढ्छ, ज्ञानको भण्डार फराकिलो हुन्छ । त्यसैले गाउँ घुम्न निस्कियौँ हामी । भीम दाइ समेत घुलमिल हुन खोज्ने ।

रवीन्द्रजीको होमस्टेबाट गोरेटोको केही ख्ड्किलो ओर्लना साथ पोखराकै छिमेकी बहिनी भेटिन । उनको माइती यतै रहेछ । रवीन्द्रका उनी भान्जी रे । चेलीबेटी भोज खान माइती देश फिरेका ।

मोटरबाटो छेवैको समाज घरमा चेलीबेटीको भोज चल्दै थियो । बौद्ध गुम्बामा शान्तिमा गीत गुन्जदै थियो – ‘ज्ञानको वीउ रोपेर सुन्दर बनाउ फूल जस्तो ।’

गुम्बा छाडेर पश्चिमतिर लाग्यौँ, हामी । फर्कने क्रममा सीता बरालको होमस्टेमा पाइला टेक्यौँ । प्लाष्टीकका कुर्चीले अचेल होमस्टेमा समेत स्थान पाएका छन् । यहाँ पनि थुचुक्क बस्यौँ । बारीमा सागपातको हराभरा । आँगनमै महादेवको मन्दिर । मोही ल्याइन बुहारी बिनीता पोख्रेलले, दही भन्दा बाक्लो । थपी–थपी खायौँ । फेरि चियाको आग्रह भो । मैले भनेझैँ बाक्लो दूघ, कडा रङ, घेरैबेर भुक्लुक्क उमाल्ने । भने जस्तै आयो चिया । गोठमै पालेको भैँसीका दूधका । बाहुन र मगर, गुरुङका आनीबानी बारे विमर्श ग¥र्यौँ । फर्कने बेलामा पैसा लिन मानिनन् । सय रुपैयाँ जबर्जस्ती थमायौँ ।

कप्तानको गोलो घर
नरबहादुर गुरुङ (८१) र ध्रुबराज पौडेल आँगनमा बसेर कागजपत्र मिलाउँदै थिए । यही गोलो घरमा नरबहादुर जन्मेका हुने । बाजेकै पालमा निर्माण भएको हो, यो भवन । कालावाङको विरासत धानिरहेको छ, यही घरले । अचेल कोही बस्दैनन् । फिल्मी टोली सुटिङ गर्न आउने भनी उनकी पत्नीले सफा गर्दै थिइन् । आँगन मुन्तिर बजारबाट थरिथरिका मौसमी फूलहरु समेत ल्याएर रोप्न भ्याएकी रहिछिन् ।

विगतमा सबैको यस्तो गोलोघर भएपनि अचेल यही घर मात्र संरक्षित छ । करिब एक शताब्दी पुरानो यो घर मानिन्छ । विगतमा यो घरमा ओदान, ढिकी, जाँतो भएपनि अचेल देख्न सकिएन । घरभित्र चाँपको खाट यद्यपि रहेको छ । त्यसैमा घरमूली सुत्थे ।

छेवैमा अर्का दुई घर समेत जोडिएका छन् । ती घरमा समेत ताल्चा ठोकिएका छन् । नरबहादुरका कान्छा र ठूल्दाइका घर । उनीहरु पोखरातिर बस्ने गर्छन् ।

नरबहादुरले यो गोलो घरमा बस्न छोडेको पनि छत्तिस वर्ष भइसक्यो । अचेल तिलाहारको पश्चिमतर्फ खाडे खोलामा छोरा बुहारीसँगै बस्छन् । उनका छोराले त्यही राइस मिलमा धान कुटेर गाउँतिर आपूर्ति गर्छन् । जेठा छोरा भने अफगानिस्तानमा कार्यरत छन् । त्यसतै माइला र साइला कोरिया । काइला अमेरिकामा छन् ।

नरबहादुर इण्डियाका अनरेरी कप्तान हुन् । उनी अस्वस्थ भएको पनि ६ वर्ष भयो । उक्त रक्तचापले घरिघरि सताउछ । मृगौलाले राम्रोसँग काम गरेको छैन । उमेर ढल्कदै जाँदा सबै रोगले चाप्दै लगेछ ।

उनको जिउमा बल छँदा के गरेनन् सवथोक गरे । गाउँको कफी संकलन गरी वितरण गर्दा वर्षेनी अढाइ लाखसम्म मुनाफा हुन्थ्यो । अचेल प्रतिस्पर्धाले मूल्यमा भारी गिरावट आएको छ । उहिले ५ हेक्टर जग्गामा धान खेत थियो । आजभोलि मान्छे छिर्न नसक्ने जंगल भएका छन्, ती सब । युवाहरु विदेश पलायन हुने, हुनेखानेहरु शहर चाप्ने भएपछि कसले गर्ने खेतीपाली । ज्याला मजदूरी गर्ने समेत पाउनै मुश्किल । उनले कफीका १७ साय बोट बारीमा रोपे पनि चिसोपनले गर्दा सफल भएनन् । टिमुर, सुन्तलाका समेत ५० बोट जति रोपे पनि त्यसमा समेत सफल हुन सकेनन् ।

पुग्नै पर्ने ठाउँ कालावाङ
कालावाङको नामाकरण कसरी हुनपुग्यो भन्ने सन्दर्भमा रोचक किंवदन्ती छ । पारिबाट हेर्दा यो ठाउँ कालो वनको रुपमा देखिएकोले कालु वन भन्दाभन्दै कालान्तरमा कालावाङ नामाकरण हुन पुग्यो । कालावाङलाई गुरुङ भाषामा कल्वुङ भनिन्छ । स्याङजाको कोल्मा बाकोटबाट गुरुङका पुर्खाहरु यहाँ बसाइ सरी आएको मानिन्छ । त्यसैले कोल्मा थेमे (कोल्मावासी) भन्दाभन्दै कल्वुङ रहन गएको हो । उसो त कालावाङका गुरुङ थरका मानिसहरु कोल्मामा समेत भेटिन्छन् । कोल्मा बाकोटमा डाँडास्वारा भन्ने ठाउँ छ, कालावाङमा पनि छ ।

चापाकोटमा लामिछाने वंशका गुरुङहरु छन् भने कालावाङमा घोताने वंशका । बाटो मास्तिरको ठाउँलाई कालावाङ त मुन्तिरकोलाई घरेडी भनिन्छ । घरेडीबासी घेरै पछि आएकाले उनीहरुका घरबाहेक खेतबारी छैन । घोतानेले उनीहरुलाई घरेडी गर्न दिएकाले घरेडी भन्न थालिएको हो ।
कालावाङमा १५६ घर परिवार बस्छन् । विगतमा २८२ घर परिवार भएपनि धेरैले बसाइ सरे । कामी, दमाईलाई आवश्यकताले ल्याइएको हो भने पौडेल बाहुनलाई पूजाआजा गर्न । कालावाङमा गुरुङका ६४, बाहुन २८ र दलित ६४ घर छन् ।

यो बस्ती अढाइ सय वर्ष पुरानो ठानिन्छ । प्रायः गुरुङ गाउँमा गुजुमुच्च परेका घरहरु भएपनि यहाँचाहि छिरोलिएको छ । २०१७ सालतिर घरेडीमा ठूलो आगलागी भएकोले बस्ती यसरी सुरक्षाको दृष्टिकोणले छिरोलिन पुगेको हो ।

खाद्यान्नतर्फ थकाली, मार्से धान र जौ उब्जनी हुन्छ । फापर र तोरी खेती अलिकम हुन्छ । विगतको तुलनामा बस्तुभाउ अलि कम पालन गरेका छन् । लिवर्डबाट सीप सिकेर च्याउ खेतीतर्फ समेत लहसिएका छन् ।

यहाँका वनजंगलमा कटुस, चिलाउने (घर बनाउने कुकाठ) पाइन्छ । घाँसबोटमा पाखुरी, राईखाने, बडहर, नेवार (पोप्पा), वरेन्ल भेटिन्छन् । काग, जुरेली, गिद्ध, चिल, मृग समेत सहजै भेट्न सकिन्छ ।

पूर्वतिरको बाहुन गाउँलाई पुम्दी र पश्चिमकोलाई भुम्दी भनिन्छ । विगतमा दुइवटै गाविसलाई गाभेर पुम्दी भुम्दी भनिएको हो । कालावाङको उत्तरमा मार्गी गाउँ र दक्षिणमा फुर्सेखोलाको गाउँ देख्न सकिन्छ ।

कालावाङ नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङको जन्मथलो समेत हो । उनको जन्म घरलाई संग्रहालय बनाउने सोच छ । गाउँमा २०७१ सालबाट १८ घरमा होमस्टे शुरु गरिएको छ । एशियनमा फोरमले उनीहरुलाई सघाएको हो ।

गाउँमा तीवनटा शिवालय मन्दिर र एउटा गुम्बा छन् । १५ मिनेट जति माथि चक्र हाल्ने डाँडा उक्लिने हो भने अन्नपूर्ण हिमश्रृङ्खला, धौलागिरी देख्न सकिन्छ । त्यस्तै फेवातालको उपल्लो भेक, पोखरा भ्याली मात्र हैन, सनराइज र सनसेटको रोमाञ्चक दृश्य समेत आँखामा कैद हुन्छ ।
गाउँमा बाहुन, गुरुङ र दलितका घरमा होमस्टे सञ्चालन गरेको देख्दा समावेशी नामाकरण गरिदिए पनि कत्ति फरक नपर्ने । गुरुङका लोक सँस्कृति लोप भएपनि ब्राम्हणका भजनलाई भने पुनर्जीवित गरेर पाहुनालाई देखाउँछन् ।

विगतमा गाम्लेले होमस्टे सम्बन्धि तालिम लिएपनि दुई वर्ष अघिसम्म खासै चाँसो देखाएका थिएनन् । पोखराको नजिक, यातायातको सुगम भइ घरका आँगनमा ग्वारग्वार्ती देशी बिदेशी पर्यटक ओइरिन थाले । मिडियाले समेत प्रचासप्रसारमा उत्तिकै सघाउन थाल्यो । त्यसपछि अनायास गाम्लेका मनमा जाँगर चल्यो । घरमै बसी–बसी खाडी मुलुकको भन्दाबढी आम्दानी हुन थालेपछि उनीहरु फुरुङ्ग भए ।

होमस्टेमा ढिकीमा कुटेको गुर्दी चामलको भात, कोदोको ढिँडो र बारीकै हरियो परियो तरकारी, लोकल कुखुराको मासु खान पाइन्छ । चरेशको थालीमा ८÷९ भेराइटीका तरकारी देखेपछि त थकालीका भान्छा घरलाई समेत माथ गर्छन् । गलामा फूलका माला पहिरिन पाउँदा हर्ष उन्मादको सीमा नै रहन्न । फरासिला छन् गाउँवासी । यति नजिकको होमस्टे तपाईंले छुटाउनु भो भने जीवनभर थकथक मान्नुपर्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • नेपालको पर्यटन प्रर्वधन गर्न टान पश्चिमाञ्चलको टोली इन्डोनेसिया प्रस्थान
  • पर्यटन विकासको सम्भावना र अवसरहरु : प्रदेश नम्बर ५
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी