प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास



संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । प्रदेश नम्वर ५ मा १२ वटा जिल्लाहरु पर्दछन । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया रहेका छन् ।

विकास भनेको परिवर्तन हो । संघीय संरचनामा अब राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि बिकासको खोजी हुनु पर्दछ । वर्तमान समयमा विकास र पर्यटनलाई संगसंगै लैजान सके आर्थिक समृद्धि हुन जानेछ । पाचँ नम्वर प्रदेश हिमाल देखि तराई सम्मको प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता र साँस्कृतिक सम्पदा भएको प्रदेश हो ।

प्रदेश नम्बर ५ पर्यटकीय हिसाबले अधिकाशं स्थल धार्मीक क्षेत्र रहेको छ । मुक्तिनाथ देखि बग्दैआउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सिमा पालुङखोला देखि पाल्पा र नवलपरासीको पूर्वीभाग संग सिमा बनेको घुमाउरीघाट सम्म कालिनदीको किनारमा दर्जनौ धार्मीकस्थलहरु रहेका छन । यस प्रदेशमा बुद्धको जन्मस्थल लुम्बिनी, नारायणिको त्रिवेणी, दाउन्नेदेवी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार, रानीमहल प्युठानको स्वर्गद्वारी, अर्घाखाचीको खाची र अर्घाकोट, सुपादेउराली गुल्मीको रेसुङगा, रिडी लगायतका सम्पदा रहेका छन् । पुर्वी रुकुममा सिस्ने हिमाल, ढोरपाटनको पश्चिमीभाग, कमलदह रोल्पामा जलजला, खाम मगरहरुको ऐतिहासिक बस्ती, दाङ जिल्लामा धारापानी, रिहार, बाह्रकुनेदह बर्दियाको ठाकुरद्वार बाके जिल्लाको वागेश्वरी जस्ता पर्यटकिय सम्पदा रहेका छन ।
पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरु हुन्छन् । पर्यटनको क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । तर पनि प्रदेश नम्वर पाचँमा अनगिन्ती अवसरहरु रहेका छन् । जलयात्रा, तिर्थाटन पर्यटन, ग्रामीण पर्यटन र पुरातात्विक स्थलहरु छन् । यो प्रदेश प्रकृतिको धनी छ । तराई, पहाड र हिमाली भूबनोटकै कारण पनि पर्यटकहरुलाई आकर्षण गर्ने कयौं सम्पदाहरु छन । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः प्रदेशको आर्थिक विकास हुन जान्छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । अब स्थानिय तह र प्रदेश सरकारले यस तर्फ लगानी बढाउदै जानु पर्दछ ।

जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नती हुन्छ । प्रदेशको आर्थिक उन्नतीलाई सफल बनाउने हो भने सबै भन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटक कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवासुविधाहरुमा पैसा खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै प्रदेशको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउछ । प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकै रुपमा लैजान पर्दछ ।

लुम्बिनीमा आजभोली आन्तरिक पर्यटक मात्र होइन तेस्रो मुलुकका धेरै पर्यटकहरु जाने गर्दछन । तेस्रो मुलुकका पर्यटक मध्ये जापान, श्रीलंका, थाइल्यान्ड, म्यामार, चीनका पर्यटकहरु लुम्बिनीमा पुग्ने गरेका छन । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा आउने विदेशी पर्यटकको सख्यामा पछिल्ला वर्षमा क्रमशः वृद्धि हुँदै गएको छ । लुम्बिनीको प्रमुख पुरातात्विक आधारहरु भनेका अशोक स्तम्भ शिलालेख, पुष्करिणी अर्थात पोखरी, बुद्ध जन्मेको सकेंत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपाहरु, तेलार नदी तथा लुम्बिनी गाउँको भग्नावशेषहरु नै हुन् । यो स्थान नेपालको मात्र नभएर विश्वकै धरोहर भएको छ । अहिले लुम्बिनीमा श्रीलंका बौध्द स्तुपा, जापानीज बौध्द स्तुपा, दक्षिण कोरिया बौध्द स्तुपा,थाईल्याण्ड बौध्द स्तुपा,म्यान्मार बौध्द स्तुपा, शान्तिदीप र मायादेवीको मन्दिर निर्माण गरिएको छ । पर्यटकहरुले लुम्विनीमा पुगेपछि विभिन्न देशका प्रतिनिधित्व गर्ने गुम्बाहरुको अवलोकन गर्न पाएका छन । यीनै पुरातात्विक सम्पदा अवलोकन गर्न तेस्रो मुलुकका पर्यटकहरु नेपाल आउने गर्दछन । तर धेरै पर्यटकहरुले लुम्विनीको भ्रमण गरेपनि बौद्धसंग जोडिएको कपिलवस्तुको पुरातात्विक सम्पदामा भने अवलोकन गर्न सकेका छैनन् ।

कपिलवस्तुको सदरमुकाम तौलिहवा नजिकै रहेको तिलौराकोट ऐतिहासिक पुरातात्विक संग्रहालय स्थल हो । प्राकृतिक संम्पदाले सिंगारिएको कपिलवस्तुमा पुग्ने पर्यटकका लागि समथर मैदानदेखि चुरे पहाडका उच्च टाकुरा, जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व सांस्कृतिक संम्पदामा सूचिकृत हुन तयार सांस्कृतिक एवं पूरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न पाउने स्थलहरु रहेका छन । कपिलवस्तुको वाणगंगा देखि पश्चिम, भारतीय सीमा र उत्तर महेन्द्र राजमार्ग देखि दक्षिण भित्र मात्रै १ सय ३६ वटा बुद्धसंग सम्वन्धित ऐतिहासिक पुरातात्विक स्थल रहेका छन । पुरातात्विकस्थल मात्र होइन कपिलवस्तु सांस्कृतिक हिसाबले पनि धनी छ । कपिलवस्तुको तिलौराकोट, अरौँराकोट, कुदान, निगलिहवा, सगरहवा, गोटिहवा, दोहनी, प्राचीन स्तुप, सिसहनियालगायत स्थल ऐतिहासिक महत्वका पुरातात्विकस्थलको रुपमा लिइएको छ ।

लुम्विनी आउने पर्यटकहरुको गन्तब्य ढोरपाटन पनि हुने गर्दछ । लुम्विनी आएको पर्यटकहरुलाई अहिले ढोरपाटन जान पोखरा नपुगेर पनि ढोरपाटन जान सकिन्छ । रुपन्देहीको सालझण्डी बजारदेखि पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र बाग्लुङको बुर्तिवाङ हुदै ढोरपाटन पुग्न सकिन्छ । सालझण्डी देखि ढोरपाटन सम्म कुल १९३ कि.मी.यात्रामा पर्यटकहरुले फरक सस्कृति, स्वच्छ हावापानीको मनोरम वातावरणको यात्राबाट धेरै हिमालको दृष्यावलोकन गर्न पाउछन । हिमाली शिकार आरक्षण ढोरपाटन सम्म सालझण्डी ढोरपाटन सडक सन्चालन भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिक स्थलमा रमाउदै ढोरपाटनसम्म पुग्न सक्ने भएका छन । पर्यटकले तराई, पहाड र हिमाली क्षेत्रको यात्राको आनन्द एकै दिन लिन सक्दछन । सालझण्डीबाट सुरु हुने यात्रामा अर्घाखाँचीको मैदान, पाली, वाङला, सन्धिखर्क, अर्घा, बाँगी, हंशपुर, प्यूूठानको सौतामारे, गुल्मीको पुरकोटदह, सिर्सेनी, मदानेको लेखको अध्ययन अवलोकन गर्न सक्दछन ।

ढोरपाटन पुगेपछि पर्यटकहरुले हाइकिङ अर्थात पैदल भ्रमण पनि गर्न सक्दछन । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । रुकुम र रोल्पामा पर्यटकहरुले हाइकिङ अर्थात पैदल भ्रमण गर्न सक्दछन । हिमालपारीको जिल्ला त होइन पुर्वी रुकुम तर पनि हिमाल भएकै कारण हिमाली जिल्ला भएको छ । सिस्ने हिमाल, मैकोटको पुथा हिमाल र सामझाङ हिमचुली पुर्वी रुकुममा पर्ने सम्पदा हो । जुन सौन्दर्यता गर्दा रुकुमकोट पुग्ने पर्यटकहरु रमाउने गर्दछन । रुकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो । रुकुममा होचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका रहेको छ । जुन ठाउमा पर्यटकहरु पुगेपछि त्यहाको दृष्यबाट आनन्द लिन सक्दछन ।

प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्ययनको लागी महत्वपूर्ण स्थल मानिन्छ । थुम्काहरुबीच–बीचमा लुकेका साना ठूला पोखरी र सुन्दर बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने पर्यटकहरु प्रकृति संग रमाउछन । रुकुम दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल पर्दछ । खामबस्ती भाषा, सस्कृतीको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागी महत्वपूर्ण मानिन्छ । भाषा, संस्कृतिसँगै प्राकृतीक सम्पदाको खानी रहेको र पर्यटकहरुको लागि आकर्षण कै केन्द्र बिन्दु भन्दा पनि हुन्छ । पुर्वी रुकुम खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले श्रृगारिएको भूगोल हो ।

प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पुर्वी रुकुममा पर्यटकहरु घुमघामको लागि जाने पर्यटकको सख्या क्रमश वृद्धि हुन थालेको छ । पुर्वी रुकुममा युद्ध पर्यटन अर्थात द गुरिल्ला ट्रेकिङको कारणले पनि आजभोली धेरै पर्यटकहरु पुग्ने गरेका छन । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेषहरु अब पर्यटकीयस्थल बनेका छन । गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातीको संस्कृति अध्ययनका लागिसमेत उपयोगी छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेष समेत पर्यटकहरुको लागि आकर्षणका केन्द्र बनेका छन् । गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारेमा शिक्षासमेत पर्यटकलाई दिने गर्दछ ।

कुनै बेला रोल्पा भन्ने बितिक्कै मानिसहरु झस्किन्थे ! नझस्किउन पनि किन ? माओवादी द्वन्द्वकालीन समयमा रोल्पामा घुमफिर गर्न त्यति सजिलो थिएन । द्वन्द्वको समयमा रोल्पा घर भने पछि काठमाण्डौमा घर धनिहरुले डेरा समेत दिन डराउथे । समग्रमा रोल्पाली भनेपछि हेर्ने र बुझने दृष्टिकोण नै भिन्न बनाउने गर्दथिए । द्वन्द्व समाप्त भै सकेपछि आजकल रोल्पाको त्यो बुझाई कथा मात्र बनेको छ । रोल्पामा बिकास निर्माणका काम हुन थालेका छन । जनयुद्वको समयमा घटना घटेका गाउँहरु आजभोली ग्रामीण पर्यटकियस्थल बनेका छन । गाउँ–गाउँमा सडक निर्माण भएका छन । रोल्पा भ्रमणमा जाने ग्रामीण पर्यटकहरुको सख्या पनि बढन थालेको छ । अहिले माओवादी द्वन्द्वकालीन समयमा घटना घटेकास्थल,छापामार हिडेका बाटो, बास बसेका गाउँ सबै पर्यटनको गन्तब्य भएका छन । अहिले रोल्पामा नेपाली मात्र होइन बिदेशि पर्यटकहरु समेत पुग्ने गरेका छन । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्र का विद्यार्थीहरुका लागि अध्ययन, अनुसन्धान र खोज गर्नको लागि गुरिल्ला पदमार्ग गन्तब्य भएको छ । विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटकहरु भेटिएका छन । पर्यटकलाई गाउँमा बासको राम्रो व्यवस्था छ भने स्थानीय वासीको आतिथ्यता समेत पर्यटकलाई हुने गर्दछ ।

रोल्पामा तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको छ । जनयुद्ध संग्रहालयले पर्यटकहरुलाई रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया पछिको अवस्थाबारे जानकारी दिन र लिन सकिने संरचना निर्माण हुन लागेको छ । रोल्पामा जाने ग्रामीण पर्यटकहरुले प्रकृतिक सौन्दर्यता अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, सस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरुको बारेमा पनि अध्यन गर्न रुचि राख्दछन । रोल्पामा भ्रमणमा पुग्ने मानिसको पहिलो रोजाइनै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा राखेको पाइन्छ । थवाङ ऐतिहासिक खाम जातीको बसोवास भएको गाउँ हो । परम्परागत शैलीका घर ढुङगाका छाना एउटै गाउँमा तीन सय ३४ घर पहिलो पटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ । जुन गाउँ २०१२ साल देखि कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थवाङ गाउँ जान आजभोली धेरै बाटोहरु छन । तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी, दहवन, भागोवारी हुदै नुवागाउँ भएर थवाङ पुगिन्छ ।

थवाङबाट चलावाङ र तिरिवाङ हुदै करिवन ५ घन्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३१९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुरासका फूल पाइन्छ । पौराणिक कथा अनुसार वाह्रभाई वराहको जन्म धौलागिरीमा भएको र त्यहि बाट जलजला पहाडमा २२ वहिनी बजुको आगमन भएको विस्वास गरिन्छ । त्यसैले कैलु वराहको पुजा गरेपछि २२ वहिनी रानी वज्यूहरु को पुजा गर्ने प्रचलन छ । यहा तिन बटा वराहको मन्दिर रहेका छन । जसलाई कैलु वराह, वजु वराह, र सहदे वराह भन्ने गरिन्छ । प्रत्येक बर्षको वैशाख, जेष्ठ र जनैपूणिमाको दिन यहा मेलापनि लाग्ने गर्दछ । जलजला पहाडमा दुर्लभ पंछी र वन्यजन्तुहरु को वसोवास पनि छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रुकुमको सिस्ने हिमाल र अनगिन्ती लेक, वेसी र प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ ।

प्युठान जिल्ला धार्मिक तथा पर्यटकीय स्थलहरुमा देश भित्र र वाहिर सम्म चर्चित भएको धार्मीक पर्यटकिय स्थल स्वर्गद्वारी पर्दछ । त्यस पछि ऐरावती, गौमुखी, कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाक्रीस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह, त्रिवेणी जस्ता सम्पदाहरुले समेत पर्यटनको लागि गन्तब्य बन्दै गएको छ । प्युठानको स्वर्गद्वारीमा प्रत्यक बषइ लाखौको सख्यामा भारतिय तिर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । दाङमा चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका–मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर, मन्थोर्या मन्दिर जस्ता पर्यटकिय सम्पदा रहेका छन । बाँकेमा बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा सम्पदाहरु रहेका छन । पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि पर्यटकहरुको लागि गन्तब्य स्थलहरु हुन । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, सीक्टा पनि पर्यटनको रोजाइमा पर्दछ । बर्दियामा सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाटको पुल, बर्दिया राष्ट्रिय निकुन्ज, कर्णाली चिसापानी पुल, पुरातत्वले महत्वपुर्ण ठाकुरबाबा मन्दिर यहाको पर्यटकियस्थल हुन ।

अर्घाखाँचीमा पाणिनि तपोभूमि (पणेना), सात्तले गुफार दुर्वाशेश्र्व गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, छत्र मन्दिर (छत्रगञ्ज), नर्तनाचल पर्वत (नरपानी), परसुरामेश्वर, ऐतिहासिक पौवा (बल्कोट) अर्घाकोट (अर्घा), पाली पन्थीटोलको लाकुरीरुख मा अबस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकिय स्थलहरु हुन् । गुल्मी जिल्ला प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र, पौराणिक, ऐतिहासिक स्थल, जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र गुल्मीमा रहेकोछ । धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्ब्रुङ दह, थाप्ले, कङे देउराली, सत्यवती, शालिमेदह जस्ता सम्पदाहरु छन । पाल्पामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, रैना देवी, सत्यवती ताल, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा, महामृत्युन्जय शिबासन बराङदी जस्ता पर्यटकीय स्थलहरु छन् ।

कपिलवस्तुमा पर्यटकीयस्थलहरुमा अधिकाशं पुरातात्विक र ऐतिहासिक स्थलहरु पर्दछन । अठ्कुनीयाँ, अमौलीकोट, अरौराकोट, इटवा डरवा धनगढवा, कपिलवस्तु संग्राहलय, कुदान, गोटिहवा अशोक स्तम्भ, गौरीगंज, चंघाट, चेतरादेही, जगदीसपुर ताल, जोडी स्तुप, डंगरी, डेरवा स्तुप, तिलौराकोट, तौलेश्वर मन्दिर, दलदलवा, दुमुनियाँ, दोहनीकोट, धानखोला, निगालीकोट, पडसडवा, पिपरा स्तुप, लौहसरिया स्तुप, विजुवा, श्रृङ्गीऋषि धाम, सगरहवा ताल, समयमाईकोट आनन्दवाग, सरकुप पोखरी, सिसेनियाँ, सिसेनियाँ दरबसवा, सेमरा शिवमन्दिर, सोनवागढ, हर्देवा जस्ता सम्पदा रहेका छन । रुपन्देहीमा गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण रहेको छ । यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, सिद्धबाबा जस्ता सम्पदा रहेका छन । गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा परिचित रुपन्देही पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ । नवलपरासीमा रामग्राम स्तुप, त्रिबेणीधाम, पाल्हीभगवती, दाउन्ने देवी जस्ता पर्यटकिय सम्पदा छन । प्रदेश नम्वर ५ का सबै पर्यटकियस्थलमा पुग्नको लागि राष्ट्रिय, जिल्ला र ग्रामीण सडक सञ्जालले जोडिएका छन । भैरहवा, नेपालगंन्ज र दाङबाट हवाई सेवा भएपनि ती सबै काठमाण्डौ केन्द्रित छन । घुमफिरको लागि केहि स्थान बाहेक खानबस्नको लागि होटलको सुबिधा छ ।

आर्थिक विकास, सामाजिक एकीकरण र आबद्धताको माध्यम पर्यटन हो । पर्यटन पूर्वाधारहरु होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेलजस्ता क्षेत्रको विकास पर्याप्त मात्रामा हुनु पर्दछ । संघीय आर्थिक विकासको कुरा गर्दा कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै आर्थिक बिकासको मूल आधार हुन्छ । भौगोलिक तथा साँस्कृतिक विविधता पाच नम्वर प्रदेशको पर्यटन उद्योगहरुका स्रोतहरु हुन् । यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवम् मानव निर्मित सम्पदाको संरक्षण तथा संवद्र्धधन गर्दै आकर्षक, रमणीय र सुरक्षित पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्न सकिन्छ ।

पर्यटनको बिकास त्यसैहुने होइन । सर्व प्रथम प्रदेशका सबै जिल्लाहरुलाई सडक यातायातको सुबिधा हुनु पर्दछ । गाउँमा पर्यटक पुग्नको लागि आवास, सञ्चार, सुरक्षा र स्वास्थको लागि सुबिधा जनक भएको हुनु पर्दछ । ग्रामीण पर्यटकिय बिकास गर्न होमस्टेको सुरुवात गर्न पर्दछ । लुम्निीमा आएका पर्यटकलाई पाल्पा, गुल्मी र अर्घाखाची मात्र नभएर दाङ, प्युठान, रोल्पा, रुकुमका समेत प्राकृतिक र धार्मीक र ऐतिहासिक स्थलको अवलोकन गराउने सोच सबैमा हुनु पर्दछ । त्यसैगरी बाके बर्दियामा रहेका निकुञ्जका वन्यजन्तु हेर्नलाई समेत पर्यटक पु¥याउने बातावरण श्रृजना गर्नु पर्दछ ।

गाउँको विकास र युवाहरुलाई रोजगारी दिन अबको विकल्प एग्रो टुरिज्म नै हो । सबै गाउँहरुमा कृषि पर्यटनको विकास गर्न पर्दछ । गाउँमा पशुपालन र कृषि फर्म हुने हो भने ग्रामीण पर्यटक पुग्ने गर्दछन । कृषि–पर्यटनको एकिकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार हुन्छ । कृषि पर्यटनले गाउँमा रोजगारीको सृजना गर्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कर्णाली प्रदेश : पर्यटनका सम्भावना र चुनौतिहरु
  • HUNGER NO LONGER
  • पर्यटनको सम्भावना बोकेको प्रदेश दुई
  • ‘साहसिक पर्यटन ’ प्रदेश नम्बर एक
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी